हट्टाकट्टा ज्यान, राता गाला, फुल्न थालेका कपाल र दृढ आँखा भएकी मामेले ओरेली खेतमा जाँदा लोग्नेमान्छेले लगाउँथिन्, जाडो हुँदा नीलो ओभरकोट अनि कहिलेकाहीँ अग्लो बुट पनि ।

मामेले ओरेलीलाई विवाह गर्ने विचार कहिल्यै आएन । उनी कहिल्यै प्रेममा पनि परिनन् । बीस वर्षको उमेरमा उनलाई विवाह प्रस्ताव आएको थियो तर उनले त्यस बेला तुरुन्तै अस्वीकार गरेकी थिइन् । अनि अहिले पचास वर्ष पुग्दासम्म पनि उनले कहिल्यै यसमा पछुतो मानेर जिउनुपरेको थिएन ।

यसरी उनी संसारमा नितान्त एक्ली थिइन्, केवल उनको कुकुर पोन्टोबाहेक । अनि ती हब्सीहरू जो उनको घरको कोठामा बस्थे र खेतमा काम गर्थे । अनि ती हाँसकुखुरा, केही गाईबस्तु, दुईचार खच्चडहरू, बाजका चल्ला मार्न उनले प्रयोग गर्ने गरेका बन्दुक र उनको धर्म ।

कुनै एक बिहान मामेल ओरेली कम्मरमा हात राखेर सोचमग्न हुँदै आफ्नो बार्दलीमा बसिरहेको बेलामा एकाएक आकाशबाट टप्केझैँ एक हुल धेरै सानासाना केटाकेटीहरू तिनीकहाँ देखा परे । अनपेक्षित रूपमा भएको तिनको आगमन वास्तवमै कुसमयमा आएको पाहुना भनेझैँ भएको थियो ।

ती केटाकेटी ओडिलीका थिए जो खासै नजिककी छिमेकी भने थिइनन् । जवान ओडिलीका पाँच मिनेटअघि नै आफ्ना छोराछोरीसहित आइपुगिसकेकी रहिछन् । सानी इलोडीलाई उनले बोकेकी थिइन्, टी नुमेलाई उनले मन नलागीनलागी हात समाएर तान्दै थिइन्, अनि मार्सलिन र मार्सलेट भने अनिच्छुक भएर पछिपछि आउँदै थिए ।

ओडिलीको अनुहार आँसु र उत्तेजनाले गर्दा रातो र विकृत भएको थियो । उनकी आमालाई कुनै डरलाग्दो राेगले च्यापेपछि छिमेकी गाउँमा उनलाई डाकिएको थियो । उनका श्रीमान् पनि साथमा थिएनन्- टेक्सास गएका थिए । उनका लागि टेक्सास त हजारौँ मिल टाढा थियो । भाल्सिनले खच्चड गाडी हाँकेर उनलाई स्टेसनसम्म पुर्याइदिनका लागि पर्खिरहेको थियो ।

‘केही कुरा होइन मामेल ओरेली, म नआउन्जेल यी बच्चाबच्ची तिमीले राखिदिनुपर्छ ल ! मसँग अरू उपाय हुँदो हो त म तिमीलाई यति दुःख नै दिन्नथे । यिनलाई आफ्नै बच्चाझैँ गर्नू, अनि गल्ती गरे भने छोड्नचैँ नछोड्नु नि यिनलाई । म त यिनका पीरले नै बौलाइसकेँ । अनि बूढा पनि घराँ छैनन्, बिचरी आमैलाई जिउँदै भेट्नसम्म पनि पाउँदिनझैँ लागिराछ ।’ एउटा दुःखद सम्भावना थियो त्यो जसले गर्दा आफ्ना बच्चाबच्चीलाई यसरी हतारहतार बिचल्ली पारेर बिदा लिनुपरेको थियो ओडिलीले ।

लामो तर होचो घरको बरन्डाको साँघुरो छहारीमा कोचिएर बसेका केटाकेटीलाई उनले त्यहीँ छोड्दिरहिन् । सेता फल्याकहरूमा चर्को घाम टिलिक्कै परेको थियो, केही कुखुराका चल्लाहरू भर्याङ तलको घाँस ठुङ्दै थिए । एउटा चल्ला भने बहादुरीपूर्वक बार्दलीमा चढ्न भ्याएको थियो र बार्दलीभरि गह्रौँ पाइलाले गम्भीरतापूर्वक र उद्देश्यहीन हिँडिरहेको थियो । हावामा गुलाफी फूलको सुगन्ध फैलिएको थियो । हब्सीहरूको अट्टाहासको आवाज सेतै फुलेका कपासका खेत पार गरेर आइरहेको थियो ।

केटाकेटीहरूबारे सोचमग्न हुँदै मामेल ओरेली उभिइरहिन् । भुकुल्ले इलोडीलाई बोक्नुपर्दा उसको तौलले थिचिएर लडखडाउँदै गरेकी मार्सलिनतिर उनले आलोचनायुक्त दृष्टि फ्याँकिन् । त्यस्तै हिसाबकिताबका साथ उनले टी नुमेको सस्वर वेदना र विद्रोहमा आफ्ना निःशब्द आँसु मिसाइरहेकी मार्सलेटको शान्त राख्दै गर्नुपर्ने कार्यदिशा निर्धारण गरिन् । यो कार्यदिशा आफूले पूरा गर्नुपर्ने जिम्मेवारीअनुरूप नै हुनुपर्ने थियो । केटाकेटीलाई खाना खुवाएर उनले कार्यारम्भ गरिन् । मामेल ओरेलीका जिम्मेवारी त्यहीँ त्यतिमै सुरु र अन्त्य हुने भए सजिलै हुन्थ्यो होला । उनका भान्सा-भकारी यस्तो किसिमका कैयन् आपत्कालीन अवस्थामा यथेष्ट पुर्याउन सक्ने थिए । तैपनि साना केटाकेटी सुँगुरका छाउरा त पक्कै थिएनन्, उनीहरूलाई ध्यान र हेरचाहको आवश्यकता पर्दथ्यो तर मामेल ओरेलीले न त त्यस्तो हेरचाहबारे सोचेकी थिइन् न त त्यो दिनका लागि उनी राम्रोसँग तयार नै थिइन् ।

सुरुका केही दिनमा ओडिलीका केटाकेटीको व्यवस्थापनमा उनी वास्तवमै अक्षम भइन् । हुन पनि मार्सलेटसँग चर्को र आदेशात्मक स्वरमा बोल्यो भने तिनी रुन थाल्छिन् भन्ने उनलाई कसरी थाहा होस् ! त्यो त मार्सलेटको विशेषता थियो । बगैँचाभरिका राम्रा गार्डेनिया र गुलाफी फूल वनस्पतिका संरचना पढ्न खोज्ने टी नुमेको फूलप्रतिको लगावसित पनि उनी परिचित भइन् ।

‘यल्लाई भनेर मात्र लाग्दैन मामेल ओरेली !’ मार्सलिनले प्रशिक्षण दिइन्, ‘यल्लाई त कुर्सीमा ‘बाध्नु’ पर्छ । आमैले यो बदमास हुँदा सधैँ कुर्सीमै बाँध्नुहुन्थ्यो ।’ मामेल ओरेलीले टी नुमेलाई बाँधिदिएको कुर्सी फराकिलो र आरामदायी थियो । घाम न्यानो भएकोले उसले पनि एक झप्को निदाइहाल्ने मौका छोप्यो ।

आफूले कुखुराका चल्लालाई खोरभित्र हुल्ने गरेझैँ ढङ्गमा उनले राति ती सबै केटाकेटीलाई एकैपल्टमा सुत्न जाने आदेश दिइन् । उनीहरू भने केही नबुझेर वाल्ल पर्दै उनकै अगाडि बसिरहे । अनि तकियाको खोलभित्र हालेर त्यहाँ ल्याएको सेता रात्रि पोसाकहरूचाहिँ नि ? तिनीहरूलाई खोलभित्रबाट निकालेर कोर्रा हानेझैँ स्वाइँस्वाइँ आवाज आउन्जेल झट्कार्नु पर्थेन ? अनि कोठाको बीचमा पर्ने गरी राख्नका लागि एक टब पानी नि ? उनीहरूमध्ये प्रत्येकले त्यस्तो पानीमा आफ्ना सानासाना थकित धूलाम्मे अनि घामले डढेका खुट्टा धोएर सफा राम्रो पार्नु पर्थेन ? अनि मार्सलिन र मार्सलेट कुन कुरामा रमाउँदै हाँस्न थाले भने टी नुमेलाई बुगीम्यान राक्षस अथवा ब्वाँसो-मान्छे अथवा दुवै कथा नसुनाएसम्म निदाउन सक्ला भनेर मामेल ओरेलीले कसरी ठान्न सकेकी होलिन् ? अनि गीत गाउँदै नझुलाएसम्म इलोडी कसरी सुत्न सक्थी र !

‘रुबी काकी ! म, अहिल्यै भन्छु, बरु खेतमा एक दर्जन बाली लगाएर व्यवस्थापन गर्न सक्छु तर चार जना केटाकेटी, उफ् ! मसँग केटाकेटी कुरै नगर्नुस् । बित्याँसेहरू ! हत्तेरिका भगवान् !’ उनले आफ्नी भान्सेसँग मनको कुरा साट्दै भनिन् ।

‘तपाईंले तिनीहरूको त्यस्तो उटपट्याङ कुराहरूको बारेमा थाहा पाउनुहोला भनेर कसैले आस गर्ने कुरा पनि त भएन नि । यो कुरा हिजो मैले सुटुक्क यी केटाकेटीले तपाईंको साँचोको झुप्पा खेलेको देखेरै चाल पा’को थेँ । केटाकेटी भएर साँचोको झुप्पा खेल्छन् त ? ज्याद्रा बन्छन् त्यसो गर्दा । यो त ऐना धेरै हेरे भने बोल्न सक्दैनन् भन्या जस्तै हो, यस्ता सबै कुरा बच्चाबच्ची हुर्काउँदा थाहा पाइराख्नुपर्ने कुरा हुन् ।’

आफ्ना जमानामा पाँचलाई हुर्काएकी र छको सद्कत गरेकी रुबी काकीको जस्तो यस विषयको सूक्ष्म अनि गहिरो ज्ञानको आकाङ्क्षा वा त्यस्तो ज्ञानको झूटो स्वाङ मामजेल अर्लीले कहिल्यै गरिनन् । उनी त त्यस क्षणमा उब्जिएको आवश्यकता पूरा गर्नलाई ‘आमा’ वाला केही चालहरू जान्न पाएकैमा दङ्ग थिइन् ।

टी नुमेको च्यापच्याप परेका औँलाको कारण वर्षौँदेखि नलगाएर थन्क्याएको सेतो ‘एप्रन'(तहबन्दी) खोतलेर खोज्न बाध्य भइन् तिनी । अनि टी नुमेले स्नेह र चञ्चलतामिश्रित भाव प्रकट गर्दै गालामा थुकै लाग्ने गरी खाने म्वाइँप्रति पनि उनले आफैँलाई अभ्यस्त बनाउनुपर्यो । ठूलो भित्ते दराजको माथिल्लो खण्डबाट उनले विरलै प्रयोग गर्ने गरेको सिलाइबट्टा निकालिन् र च्यातिएको जामा अनि कमिजका टाँक सिलाउन चाहिनेबित्तिकै सजिलै भेट्न सकिने ठाउँमा राखिन् ।

घरमा चारैतिर दिनभरि गुन्जिरहने खित्का, रोदन, गफगाफसित अभ्यस्त हुन उनलाई केही दिन लाग्यो । इलोडीको तातो घपुल्ले ज्यानसित टाँसिएर अनि त्यो फुच्चीको मधुरो सासफेराइले गर्दा उनको गालामा चराले पखेटा फरफराएझैँ गरी फुरफुर हावा ठोकिन आएर आरामपूर्वक निदाउन नपाएको यो पहिलो वा दोस्रो रात थिएन ।

तर दुई हप्ता बित्नै लाग्दा मामेल ओरेली यस्ता सबै कुराहरूसित पूरै अभ्यस्त भइन् र उनको अब कुनै गुनासो बाँकी रहेन ।

दुई हप्ताकै अन्त्यतिर एक साँझ मामेल ओरेलीले गोठमा गाईहरूले खाएको हेरिरहेकी वेलामा भाल्सिनको निलो गाडी बाटोको मोडैमा घुमेर आउँदै गरेको देखिन् । निग्रो र गोरोको वर्णसङ्कर भाल्सिनको छेवैमा ओडिली सीधा र चनाखो भएर बसेकी थिइन् । उनीहरू नजिकै आउँदै गर्दा ओडिलीको धपक्क बलेको अनुहारले उसको गृह आगमन सुखद रहेको सङ्केत गरिरहेको थियो ।

तर यो अघोषित र अनपेक्षित आगमनले मामेल ओरेलीलाई एउटा छटपटीतिर हुत्ताइदियो । यस्तो सबै केटाकेटीलाई एक ठाउँ भेला पार्नुपरेको थियो । टी नुमे कता थियो ? ऊ! त्यहीँ रूखको छहारीमा बसेर चक्कुलाई ढुङ्गामा घोट्दै साँध लगाइरहेको । अनि मार्सलिन र मार्सलेट ? बार्दलीको कुनामा बसेर पुतलीका थोत्रा लुगा शैली-शैलीमा काट्दै मिलाइरहेका । इलोडी भने मामेल ओरेलीको अँगालोमा सुरक्षित बसेर आफ्नी आमालाई उनीसम्म ल्याइदिने परिचित नीलो गाडी देख्ने बित्तिकै खुसीले चिच्याएकी थिई ।

सबै उत्साह समाप्त भइसकेको थियो । उनीहरू सबै जना गइसकेका थिए र उनीहरू गएपछि कस्तो चकमन्न भएको । बार्दलीमा उभिएर उनले हेरिरहिन, सुनिरहिन् । त्यो गाडी बिस्तारै देखिन छोड्यो । रातो सूर्यास्त र नीलो-नीलो, खैरो खैरो, गोधूलिले खेत र सडकमा हुर्‍याएर ओछ्याइदिएको प्याजी तुवाँलोले त्यो नीलो गाडी उनको दृष्टिबाट ओझेल पारिदियो । त्यसको पाङ्ग्राको चुइँचुइँ पनि उनले अब सुन्न छोडिन् । तर अझै पनि केटाकेटीको तीखो र हर्षित स्वरहरू उनले मधुरो मधुरो सुनिरहेकी थिइन् ।

उनी घरतर्फ लागिन् । कामको थुप्रोले उनलाई कुरिरहेको थियो । केटाकेटीले एउटा उदास लथालिङ्ग घरमा छोडेर गएका थिए । तर उनी त्यसलाई समेट्नतिर लागिहालिनन् । उनी टेबुल छेउमा बसिन् । कोठाको चारैतिर उनले बिस्तारै आँखा घुमाइन् । त्यो कोठाभित्र साँझको छाया उनको एक्लो ज्यान वरिपरि घिस्रिँदै र क्रमशः गहिरिँदै थियो । आफ्नो दोब्रिएको हातको पाखुरामा टाउको अड्याएर उनी रुन थालिन् । अहो ! उनी रोइन् । स्वास्नीमान्छेहरूले झैँ सुस्तरी होइन, उनी त लोग्ने मान्छेले झैँ रोइन् । आफ्नो अन्तरात्मा नै हल्लिने गरी सुँक्कसुँक्क ! पोन्टोले उनको हात चाटिरहेको समेत उनले पत्तै पाइनन् ।

 

केट चपिन 

जन्मः सन् १८५०, फेब्रुअरी, संयुक्त राज्य अमेरिका । 

लेखन विधाः  उपन्यास र लघुकथा । द स्टोरी अफ एन आवर, द स्टर्म, रिग्रेट, द किस, अ पेयर अफ सिल्क स्टकिङ्स आदि चर्चित कथाहरू । नारीशक्तिमा विश्वास झल्किने कथाहरू । 

मृत्युः १९०४, अगस्ट २२मा ५४ वर्षको उमेरमा ।