प्रख्यात बाल उपन्यास चार्ली एन्ड द चकलेट फ्याक्ट्रीमा रोआल्ड डालले लेखेका छन्, ‘टेलिभिजनले बालबालिकाको सिर्जनशील कल्पनाशिलता मार्छ ।

उनीहरुले धेरै समय टेलिभिजनमा व्यतित नगरुन् । टेलिभिजन अगाडि घण्टौं बालबालिका बस्छन्, एक टकले हेरिहन्छन् र त्यतिञ्जेल हेरिरहन्छन्, जबसम्म उनीहरु त्यसबाट मुग्ध हुँदैनन् । यसले उनीहरुको मस्तिष्क भुट्छ । यसले कल्पनाशिलता मार्छ । तिनको मस्तिष्क नौनीजस्तो कोमल बनाइदिन्छ । उनीहरुको सोच्ने शक्ति बरफजस्तो जमाइदिन्छ ।’

बरु यसको साटो किताबमा मुग्ध होऊन् भन्ने डाल चाहन्थे । पछिल्लो पटक गरिएको एउटा अध्ययनले डालको सो अध्ययनलाई पुट दिएको छ ।

अध्येताहरुले बालबालिकाहरुलाई दुई भागमा बाँडे । एउटा समूहलाई उनीहरुले मारधाडवाला भिडियो क्लिप देखाए ।

अर्को एउटा समूहलाई भने निबन्धको एउटा पाटो पढ्न दिए । जसले जसले भिडियो हेरे तिनको तुलनामा निबन्ध पढेकाहरुको सोच्ने र कल्पना गर्ने क्षमता र शक्ति निकै कम थियो । एक किसिमले डालले भनेजस्तो बरफजस्तो गरी जमाइदिएको थियो ।

युनिभर्सिटी अफ योर्कका प्राध्यापक सेबास्टियन सगेटद्वारा अगुवाई गरिएको यस अध्ययनमा २४० जना युवाहरुले सहभागिता जनाएका थिए । उनीहरुको उमेर २१ वर्षसम्मको थियो । उनीहरुलाई एक मिनेटको भिडियो क्लिप देखाइएको थियो । सो भिडियो क्लिप ज्यादै उत्तेजक खेलकुदको थियो । र, त्यसमा क्लासिक रक संगीतको पार्श्वधुन थपिएको थियो ।

अर्को समूहलाई चाहिँ फेन्टासी कथाको एउटा अनुच्छेद पढ्न दिइएको थियो । यो दुवै समूहलाई उत्तिनै समय छुट्याइएको थियो । यसपछि भिडियो हेर्ने र अनुच्छेद पढ्ने दुवै समूहलाई मज्जाले कल्पना गर्नोस् भनी लेख्न दिइएको थियो । लेख्ने लम्बाईको कुनै सीमा तोकिएको थिएन ।

यस्तोमा जसले भिडियो हेरेका थिए, उनीहरुको सोच्ने शैली पढ्नेभन्दा सात प्रतिशत सुस्त रहेको पाइयो । उनीहरुको कल्पनाशक्ति २५ सेकेन्डसम्म मात्र रहेको पाइयो । रोचक त, एक मिनेटको भिडियो हेर्दा उनीहरुको कल्पनाशक्ति प्रोसेस गर्ने क्षमता २० देखि ३० प्रतिशतले कमी भएको पाइयो ।

एक मिनेटको भिडियोले यस्तो सुस्तता जन्माउँछ भने घण्टौं पर्दामा मात्र आँखा टिकाउनेहरुको कल्पनाशक्ति घट्ने प्रतिशत कहालीलाग्दो हुनसक्ने अध्येताहरु बताउँछन् ।

यसअघि पनि एउटा यस्तै अध्ययनमा २६६ बालबालिकाहरु सहभागी थिए । त्यसमा तीन देखि नौ वर्ष उमेर समूहका बालबालिका थिए । उनीहरुले जति बढी समय स्क्रिनमा समय दिन्थे, तिनको कल्पनाशक्ति उति कमजोर भएको पाइएको थियो ।

साइकोलजी अफ एस्थटिक्स, क्रिएटिभिटी एन्ड द आर्ट नामक जर्नलमा प्रकाशित सो अध्ययन निष्कर्षमा भनिएको छ, ‘पर्दामा बढी समय बिताउनेहरुको कल्पनाशक्ति कम हुने त पक्का नै हो तर पनि जसले पर्दा र बाहिरी जगत्मा सन्तुलन मिलाउँछ, उसको कल्पनाशिलता र सिर्जनशिलता कम नहुने पनि हुनसक्छ । यसमा अझै लामो अध्ययन गरिनु आवश्यक छ ।’

उता भिक्टोरियाजस्तो चर्चित टेलिभिजन शृंखलाकी लेखिका तथा टेलिभिजन कार्यक्रम निर्माता डेजी गुडविन भने टेलिभिजनमा के हेर्ने र के पढ्ने छनोटले मात्र गुणस्तरीय चिज हेर्न÷पढ्न सकिने बताउँछिन् । लियो टोल्सटोयको ‘अन्ना करेनिना’ पढ्दा जे पाइन्छ, त्यो होम्स अन्डर द ह्यामर’ हेर्दा पाइँदैन अनि ‘द सोप्रानोज’ हेर्दा जे कुरा बुझिन्छ, ‘सेक्स विद एल्भ्स’ पुस्तक पढ्दा पाइँदैन । तसर्थ, गुणस्तरीय चिज छान्न सक्दा मात्र पनि हेर्नु र पढ्नुबीचको सन्तुलन मिलाउन सकिने उनको तर्क छ ।

द टाइम्स अखबारमा उनी भन्छिन्, ‘गज्जबको स्क्रिनप्ले अथवा टेलिकार्यक्रम यति सुन्दर हुन्छ कि त्यसले उपन्यास वा पुस्तकमा नभनिएका वा भन्न नभ्याइएका कुराहरुलाई समेत उजागर गर्नसक्छ ।’

उनी भन्छिन्, ‘अध्ययन गर्नु एउटा निजी आनन्दको मामिला हो तर यसको अर्थ टेलिभिजनले कल्पनाशक्ति बढाउँदैन भन्नु चाहिँ बेइमानी पनि हुनसक्छ । कसैले टेलिभिजनबाटै कल्पनाशक्ति बढाउँछन्, कसैले पढेर ।’