हिन्दी फिल्म जगतमा सन् ६० र ७० को दशकमा ज्यादै चर्चित साहित्यकार थिए, उनको नाउँ थियोः गुलशन नन्दा । उनले लेखेका उपन्यासमाथि बनेका फिल्महरूले सिल्भर, गोल्डेनजस्ता कीर्तिमान बनाए । तर मूलधाराको साहित्यले उनलाई कहिल्यै पनि साहित्कार मानेन । उनलाई जहिल्यै घृणित नजरले हेर्यो ।

एकातिर मुगल ए आजम (१९६०)की अनारकली छाती ठोकेर जब प्यार किया तो डरना क्या गाएर आफ्नो प्रेममाथि गर्व गर्ने पात्र थिए भने लगभग त्यै बेला उनले जन्माएका पात्र भने मन पराएको केटोसँग चुपचाप घरबाट भाग्ने किसिमका थिए ।

त्यो बेला गुलशन नन्दा साधारण युवाका आराध्य देव जत्तिकै थिए । उनका कृतिहरू युवाहरू लुकीलुकी पढ्थे । उनीहरूका उपन्यास कसैले फेला नपारोस् र घरका ठूलाबडाबाट गाली र कुटपिट नहोस् भन्नेमा सचेत हुन्थे ।

कुनै समय गुलशन नन्दा दिल्लीको बल्लीमारानस्थित एउटा चस्मा पसलमा दिनभर काम गर्थे र रातभर उपन्यास लेख्ने गर्थे । साँवली रात, रक्त और अंगारे, कलंकिनीजस्ता उपन्यासमा यति भावुकता हुन्थे कि किशोर किशोरीहरू ती उपन्यास पढेर आँखाभरि आँशु पार्थे । कतै कसैले ती नदेखून् भनेर एकान्तमा पढ्थे ।

गुलसन नन्दाको समयमा जासुसी उपन्यास निकै लोकप्रिय थिए तर उनले सामाजिक प्रेमकथा लेखे । उनले असम्भव प्रेममाथि सम्भव कथा जोडे ।

धनी केटा–गरिब केटी, गरिब केटा–धनी केटीको सूत्र उनलै हिन्दी उपन्यासमा छिराएका थिए । उनले उपन्यासमा संयोगहरूलाई आधार बनाए । धनी गरिबसँगै जुम्ल्याहा सन्तान उनका उपन्यासका कथानक हुन्थे । यी कथा यति रूमानी हुन्थे कि त्यो बेला उनका उपन्यासले कतिपय जासुसी उपन्यासको चामत्कारिकतालाई नै बिर्साइदिएको थियो ।

त्यो बेला उनले एउटा उपन्यास लेखेको जम्मा एक सयदेखि दुई सय रूपैयाँ मात्र पाउँथे । तर त्यो बेला त्यो रकम पनि कम थिएन । बिस्तारै उनका उपन्यास सर्वसाधारणले मन पराउँदै गए । खासगरी नीलकण्ठ र गेलार्डजस्ता दुई वटा उपन्यासको सफलताले उनलाई फिल्मी लेखकका रूपमा समेत बाटो खोल्यो ।

कुनै बेला उनले लेखेर खासै चर्चा नबटुलेको उपन्यास माधवीमा आधारित फिल्म काजलबाट उनको फिल्मी लेखन पनि शुरू भयो । यो फिल्म सुपरहिट भएपछि भने उनको फिल्मी लेखन पनि उत्तिकै चल्यो । यसपछिका २० वर्ष उनले फिल्म लेखेरै बिताए । ती वर्षमा दुई दर्जन फिल्महरू लेखे । तिनमा अधिकांश फिल्मका कथा उनकै पूर्वप्रकाशित उपन्यासका कथा नै हुने गर्थे ।

‘काजल’ (1965), सावन की घटा’ (1966), ‘पत्थर के सनम’ (1967), ‘नील कमल’ (1968), ‘खिलोना’ (1970), ‘कटी पतंग’ (1970), ‘शर्मिली’ (1970), ‘नया ज़माना’ (1971), ‘दाग़’ (1973), ‘झील के उस पार’ (1973), ‘जुगनू’ (1973), ‘जोशीला’ (1973), ‘अजनबी’ (1974), ‘भंवर’ (1976), ‘महबूबा’ (1976) तीमध्ये केही नाम हुन् । त्यो समय गुलशन नंदाको युग थियो भन्दा हुन्छ ।

कतिसम्म भने कुनै समय गुलशन नंदाको नाउँ नै फिल्म हिट हुने सुनिश्चित बन्न पुग्यो । उनीसँग काम गर्नेहरूमा यश चोपड़ा, शक्ति सामंत, प्रमोद चक्रवर्ती, एल.वी.प्रसाद, रामानन्द सागरजस्ता नाम छन् ।

उक समय त उनका प्रकाशकले भने जति पैसा दिने भनेर उपन्यास लेखाउन थाले । लेखाउनैका लागि भनेर भने जति पेस्की र महँगा होटलमा बसाएर उपन्यास पूरा गराउन हत्ते गर्थे । उनले पनि त्यस्तो अवसरको सही सदुपयोग गरे ।

उनले पछि फिल्म र उपन्यासबाट यति कमाए कि त्यो बेला एउटा ठूलो घर किने । त्यो विशाल घर छेउछाउ त्यस बेलाका प्रख्यात कलाकारहरू बस्थे । मुम्बईको ज्यादै महँगो ठाउँमा उनको सुन्दर घरको नाउँ शिशमहल राखेका थिए ।

गुलशन नन्दाका उपन्यास वर्षमा चार वटा छाप्न पाए हुन्थ्यो भन्ने सोच्ने प्रकाशकहरू नभएका होइनन् तर उनी भन्थे, वर्षमा चार वटाले कमाउने पैसा एउटैले कमाए भइहाल्यो नि ! त्यसैले उनी वर्षमा एउटा लेखेर तयार पार्थे ।

एक वर्षयता गुलशनको नयाँ उपन्यास आउँदैन भन्ने थाहा पाएपछि विक्रेताहरूले आफ्नो पसलमा चार सय मात्र बिक्री भए पनि हजार प्रति पहिल्यै किनेर राख्ने गर्थ्यो । वर्षभरिमा ती सारा किताब बिक्री भइसक्थे र अर्को नयाँ उपन्यास ठिक्क बजारमा आइपुग्थ्यो ।

उनको सबैभन्दा बढी बिक्री हुने उपन्यासमा झील के उस पार पर्ने गर्छ । त्यो उपन्यास त्यही बेला पाँच लाख प्रति बिक्री भएको थियो । उनी यस्ता उपन्यासकार थिए, उनको कटी पतंगको चिनियाँ अनुवाद यति धेरै बिक्री भयो कि त्यहाँ पनि कीर्तिमान बनाएको थियो ।

यसका बाबजुद पनि उनलाई मूलधारका उपन्यासकारहरूले उपन्यासकार नै मान्दैनथे । एक किसिमले उनलाई अछुतको व्यवहार गरिन्थ्यो । यसबाट उनलाई ज्यादै चित्त दुख्ने गर्थ्यो ।

उनले आफ्नो जीवनकालमा ४७ उपन्यास लेखे । उनले आफैँ उपन्यासको मोल तोक्थे । आफ्नै शर्तमा बेच्थे । र, उनको त्यो शर्त मान्न प्रकाशकहरू राजी पनि थिए ।

बलिउडमा उनको चमत्कारले काम गर्न छाडेको चाहिँ सलीम जावेदको जोडी चम्कन थालेपछि हो । उनीहरूको प्रवेशपछि गुलशनका फिल्महरू अंग्रेजी उपन्यासबाट उडाइएको भन्दै आलोचना हुन थाले । भनिन्छ, थोमस हार्डीको उपन्यास द मेयर अफ केस्टरब्रिजलाई गुलशनले दाग नाममा फिल्म बनाए । त्यस्तै कटी पतंग फिल्म चाहिँ विलियम आइरिसको आई म्यारिड ए डेड म्यानबाट कथा उडाइएको भनिन्छ । त्यस्तै जोशिला फिल्म चाहिँ भेरी ट्रान्सग्रेसर नामक उपन्यासबाट उडाइएको भने । सो उपन्यास जेम्स हेडले चेजको उपन्यास हो ।

तथापि उनका उपन्यास हुन् या फिल्मले एक समय बिक्री र प्रदर्शनमा राम्रै कीर्तिमान बनाए । उनले लेखेका उपन्यासमा आधारित फिल्म बनाउँदा पनि हिट हुने त्यो जमाना थियो । यस्तो भाग्य निकै कम लेखकको भागमा पर्ने गर्छ । अचम्म त, हिट भएका उनका फिल्मलाई पछि उपन्यासमा परिणत गर्दा पनि ती उपन्यास हिट भएका उदाहरणहरू छन् ।

‘महबूबा’, ‘नया ज़माना’जस्ता फिल्मको फोटो उपन्यास पनि त्यो बेला खुब बिक्री भएको थियो ।

सन् १९८७ मा रिलिज भएको राजेश खन्ना र श्रीदेवी अभिनित नजराना फिल्म उनले लेखेको अन्तिम फिल्म थियो । सन् १९८५ नोभेम्बर १६ मा उनको मृत्यु भइसकेको दुई वर्षपछि सो फिल्म रिलिज भएको थियो । उनको मृत्यु हुँदा ५६ वर्षका मात्र थिए ।

भनिन्छ, उनको मृत्युपछि जासुसी उपन्यासको क्रान्ति आयो र एउटा सामाजिक प्रेम कथा उपन्यासको युग समाप्त भयो ।