श्रीमती म्यालर्ड मुटुको रोगी भएको थाहा पाएरै उनका श्रीमान्को मृत्युको खबर उनलाई सक्तो कम धक्का पुग्ने किसिमले दिनका लागि निकै ध्यान पुऱ्याइएको थियो ।

खबर दिने काम उनकी बहिनी जोसेफाइनले फत्ते पारेकी थिइन् । सकेसम्म अधुरा वाक्यहरूमा अनि कुरा चपाउँदै केही सङ्केत मात्र हुने गरी । उनका श्रीमान्कै साथी रिचर्ड्स पनि सँगै थिए, उनी नगिचै । रेलरोड काण्डको सूचना उनले अखबारको कार्यालयमा बसिरहेको वेलामा पाएका थिए । त्यो सूचनामा ‘दिवङ्गत’ हुनेहरूको सूचीको सुरुमै ब्रेन्टली म्यालर्डको नाम उल्लेख भएको थियो । सूचनाको सत्यता पुष्टि गर्नका लागि उनले दोस्रो टेलिग्राम पाउन्जेलसम्मको समय मात्र पर्खेका थिए । तत्पश्चात् कम सावधान र कम भावुकहरूले त्यो नराम्रो खबर पहिल्यै सुनाउलान् भनेर आफैँ हतारिएर त्यहाँ पुगेका थिए ।

खबरको महत्ता स्विकार्न सक्ने क्षमता नै जड भएजस्तो गरी अन्य महिलाहरूले यस्तो घटना जुन किसिमले सुन्ने गरेका छन्, त्यस्तो किसिमले श्रीमती म्यालर्डले त्यो घटना सुनेकी थिइनन् । उनी त खबर सुन्ने बित्तिकै एक्कासि हातखुट्टै छाडेर आफ्नी बहिनीको अँगालोमा रुन पुगेकी थिइन् । वेदनाको आँधी अलि मत्थर भएपछि उनी एक्लै आफ्नो कोठातर्फ लागेकी थिइन् । अन्य कसैलाई पनि उनले आफ्नो कोठामा छिर्न दिइनन् ।

खुला झ्यालतिर फर्किएर बस्न मिल्ने गरी एउटा आरामदायी हात भएको फराकिलो कुर्सी कोठामा राखिएको थियो । थिलथिलो नै हुने गरी आत्मासम्मै फत्रक्क गलेको शरीरलाई त्यही कुर्सीमा बिसाएकी थिइन् उनले ।

घर अघिल्तिरको खुला आँगनका रूखका टुप्पाहरू जीवनको नयाँ वसन्तसँगै प्रकम्पित थिए । हावामा पानी परेपछिको मीठो सुगन्ध फैलिएको थियो । तलको सडकमा भाँडा बेच्ने मान्छे ठुलो आवाजमा कराइरहेको थियो । पर कसैले सङ्गीत अभ्यास गर्दै गरेको तालबद्ध अलङ्कारको मधुरो आवाज उनको कानमा कता कता ठोक्किरहेको थियो । बलेसीमा अनगिन्ती भँगेराहरू चिरबिर गरिरहेका थिए ।

झ्यालबाट हेर्दा पश्चिमतिर पत्रैपत्र परेर थुप्रिएका बादलहरूबिचमा कतैकतै नीलो आकाशका टुक्रा देखिन्थे ।

उनी जवान थिइन्, अनुहार सफा र शान्त थियो । मुखाकृतिले दबाबको साथसाथै एक किसिमको दृढशक्तिको छनक दिन्थ्यो । तर उनका आँखामा चमकहीन एकोहोरो हेराइ थियो र ती आँखा निरन्तर आकाशको कुनै नीलो टुक्रामा केन्द्रित भएर टोलाइरहेका थिए । यो एउटा चिन्तनशील हेराइ थिएन तर कुनै मनीषी विचारको स्थगनतिरको सङ्केत भने थियो ।

केही चीज उनी तिरै आइरहेको थियो र उनी त्रसित भएर त्यसैलाई पर्खिरहेकी थिइन् । तर त्यो के थियो ? उनलाई केही थाहा थिएन, त्यो सूक्ष्म थियो र यही हो भन्नै नसकिने भ्रामक थियो । तर उनी अनुभूत गर्न सक्थिन्, हावामा मिश्रित सुगन्ध, ध्वनि र रङको माध्यमबाट आकाशबाट घस्रिँदै त्यो उनैलाई छुन आइरहेको थियो ।

उनको छाती अशान्त भएर स्वाँस्वाँ गर्दै तलमाथि गर्न थाल्यो । उनलाई आफ्नो वशमा राख्नका लागि नजिक आइरहेको चीजलाई उनी चिन्न थाल्दै थिइन् । आफ्नो इच्छाशक्तिले त्यसलाई पछारेर धपाउन उनी प्रयत्नरत थिइन् तर त्यो इच्छाशक्ति उनकै दुई शक्ति नभएका लिखुरे सेता हातझैँ शक्तिहीन थियो । उनले लत्तो छाडेपछि उनका केही खुलेका ओठबाट साउतीको स्वरमा एउटा सानो शब्द फुत्कियो । सासैले उनले त्यो शब्द पटक पटक दोहोऱ्याइन् “मुक्ति, मुक्ति…” उनको त्यो शून्य हेराइ र तत्पश्चात्को त्रसित भाव आँखाबाट छुमन्तर भए । ती आँखा अब उत्साही र उज्याला भए । नाडीले गति लिन थाल्यो र शरीरको कणकणमा रगत प्रवाह भएर न्यानो र आराम तुल्यायो ।

एउटा भयानक खुसीले पो उनलाई अँचेटेको हो कि भनी सोध्न उनी थामिइनन् । त्यो सोचाइलाई नै झीनो मसिनो हो भनेर अर्कोतिर पन्छाउन उनलाई एउटा सुस्पष्ट र उन्नयित भावले सक्षम तुल्याइरहेको थियो । उनलाई यति थाहा थियो कि मृत्युपश्चात् दोब्रिएका ती कमला दयालु हात, उनीतिर जहिल्यै मायाले मात्र हेरेको त्यो अचल, सेतो र मृत मुहार फेरी देख्नु पर्‍यो भने उनी रुनेछिन् । तर त्यो तीतो क्षणभन्दा सुदूर उनले आउने लामा वर्षहरू, सर्वथा उनका आफ्ना वर्षहरू, दृष्टिगत गरिन् । अनि उनले तिनको स्वागतमा आफ्ना हातहरू फैलाइन् । ती आउने वर्षहरूमा उनले कसैका लागि बाँच्नुपर्ने छैन, उनी केवल आफ्नो लागि बाँच्नेछिन् । आफ्ना व्यक्तिगत इच्छा र चाहना वरिपरिका अन्य प्राणीजनमाथि थोपर्ने अन्धहठलाई आफ्नो अधिकारै ठान्ने मानिसहरूले, त्यस्तो कुनै पनि तीव्र चाहना उनीमाथि थोपर्ने छैनन् । त्यस्तो कृत्यलाई उनले निमेषभरका लागि देखिएको प्रकाशमा नियालेर हेरिन् । नियतको खोटोपन या सङ्लोपनले त्यस किसमिको कृत्यमा निहित अपराधलाई कम वा बेसी गर्न सक्तैनथ्यो ।

आखिर जे भए पनि यदाकदा उनले तिनीसित प्रेम गरेकी थिइन् । प्रायजसो भने गर्ने गरेकी थिइनन् । तर त्यसले के फरक पर्थ्यो र ? आफ्नो अस्तित्वको सबैभन्दा दरो अन्तः प्रेरणाको रूपमा यस्तो आत्मनिश्चय आफूमा विद्यमान रहेको छ भन्ने उनलाई अकस्मात् बोध हुन गएको यो अवस्थामा प्रेम जस्तो अनुत्तरित रहस्यको के नै गणना हुन सक्थ्यो र ?

‘मुक्ति ! शरीर र आत्माको मुक्ति !’ उनले साउतीको स्वरमा उच्चारण गरिरहिन् ।

जोसेफाइन भने बन्द ढोकाअगाडि घुँडाले टेकेर साँचो छिराउँने प्वालैमा ओठ टाँसेर भित्र पस्ने अनुमतिका लागि अनुनय गर्दै थिइन् । ‘लुइस ! ढोका खोल, बिन्ती छ, खोल भन्या । बिरामी पर्छौ तिमी अब ! भगवान्का लागि खोलिदेऊ !’

‘जाऊ त्यहाँबाट गइहाल ! म बिरामी पर्दिनँ क्या ‘ तर केको हुनु । उनी त खुल्ला झ्यालबाट प्रवाहित जीवन-पीयूष पान पो गर्दै थिइन् ।

उनको परिकल्पना आउँदा दिनहरूकै वरिपरि उथलपुथल गर्दै थियो । वसन्तका दिनहरू, गर्मीका दिनहरू अनि सबै किसिमका ती दिनहरू उनका आफ्नै हुनेछन् । आफ्नो आयु लामो होस् भनेर उनले एउटा छरितो प्रार्थना गरिभ्याइन् । हिजै मात्र त हो, जीवन लामो होला भन्ने भयले कामेकी ।

लामो समयपछि उनी उठिन् र आफ्नी बहिनीको आग्रह मान्दै ढोका खोलिदिइन् । उनका आँखामा एक उष्ण विजय उल्लास थियो र उनी आफैँलाई पनि अनजानमै विजयकी देवीझैँ प्रस्तुत गरिरहेकी थिइन् । उनले आफ्नी बहिनीलाई कम्मरमा च्याप्प समातिन् र दुवै जना भऱ्याङबाट सँगै तल ओर्लन थाले । भऱ्याङतल रिचर्ड्स दुवै जनालाई पर्खिरहेका थिए ।

साँचो घुमाउँदै कोही अगाडिको ढोका खोल्दै थियो । भित्र पस्ने व्यक्ति ब्रेन्टली म्यालर्ड थिए । उनी अलि थकानले मैलिएका शान्त भावमा ठुलो हाते झोला र छाता समातेका थिए । दुर्घटना स्थलभन्दा उनी निकै पर थिए र कुनै दुर्घटना पनि भएको थियो भन्नेमा अनभिज्ञ थिए । जोसेफाइनको तीखो रुवाइ अनि रिचर्ड्सले श्रीमती म्यालर्डको नजरबाट आफूलाई छेकिदिनका लागि हतारमा दौडेको देखेर उनी छक्क पर्दै उभिए ।

चिकित्सकहरू आएपछि उनीहरूले तिनलाई मृत घोषित गरे-उनी हृदयाघातले बितेकी थिइन्- प्राणै चुँडालेर लैजाने खुसीले गर्दा ।

केट चपिन

जन्म : सन् १८५०, फेब्रुअरी ८ फेब्रुअरी, संयुक्त राज्य अमेरिका । 

लेखन विधा : उपन्यास र लघुकथा । द स्टोरी अफ एन आवर, द स्टर्म, रिग्रेट, द किस, अ पेयर अफ सिल्क स्टकिड्स आदि चर्चित कथाहरू । नारीशक्तिमा विश्वास झल्किने कथाहरू । 
मृत्यु : सन् १९०४, अगस्ट २२ मा ५४ वर्षको उमेरमा ।