बडाहाकिमले उनीहरूसित सोधे, “होइन, बडाहाकिम साहेब नि कता पाल्नुभयो ?”

सिपाहीहरूले भने, “हामीले त यहाँ कुनै बडाहाकिम नीलाई देखेनौ ।”

बडाहाकिम तेङले भने, “कस्तो उदेकलाग्दो कुरो !” यति भन्दै उनले शान-चीलाई डाक्न पठाएर भने, “अहिले भर्खरै तिम्रा आदरणीय बुबाले ढोकामा आफै आएर मेरो सत्कार गर्नुभयो । यति बेरसम्म यहीँ बसी मसित कुरा पनि गर्नुभयो । उहाँले भन्नुभएका कुरा त तिमीले सुनेकै होउँला ?” शान-चीले भन्यो, “अहँ, श्रीमान्, मैले त केही सुनिन ।”

बडाहाकिमले भने, “अग्लो कद, लामो मुख, गालाका हाड अलि उठेका, बदामी बान्कीका आँखा तानिएका आँखीभुइँ, ठुल्ठुला कान र सफा चाँदीको जस्तो पातले दाढी भएका ती को हुन् त ? उनले सरकारी दर्जावाल टोपी, काला जुत्ता, रातो अलखा र सुनौला कम्मरपेटी लाएका थिए । उहाँ बडाहाकिम साहेब नि नै हुनुहुन्न र ?”

सबैलाई चिटचिटी पसिना आयो । तिनीहरूले डर र आदरपूर्वक घुँडा टेके ।

तिनीहरूले भने, “जिउँदो हुँदा त उहाँको रूप-रङ त्यस्तै थियो !”

तिनका कुरा सुन्दै नसुनेझैँ गरी बडाहाकिम घोरिएर भुतभुताउन लागे, “यति चाँडो कता बिलाउनुभयो त । उदेकै लाग्छ ! लौ, भइहाल्यो, यहाँ जमिनदारीमा दुइटा ठुला घर छन् भन्नुभएको छ । त्यसैका पूर्वपट्टि अर्को एउटा सानो घर पनि छ अरे । साँचो हो ?”
शान-चीले भन्यो, “ठिकै हो, छ ।” उसलाई कुरा लुकाउने साहसै भएन । बडाहाकिमले भने, “जाऊँ त, त्यो सानो चाहिँ घर हेरूँ । मलाई त्यहाँ गएर तिमीसित केही जरुरी कुरा गर्नुपर्‍यो ।”

बडाहाकिम साहेबले त्यतिका बेर एकोहोरो कुरा गरेको सुन्दा र त्यसरी विस्तारपूर्वक बडाहाकिम निको रूप रङको वर्णन गरेको देख्ता त्यहाँ भएका सबले पक्का पनि बडाहाकिम निकै भूत त्यहाँ प्रकट हुन आएको होला भन्ने विश्वास गरे । भयले अलमल्ल परी तिनीहरूले आफ्नो जिभ्रो काढे ।

त्यस धूर्त हाकिमले त केवल आफूसित भएका तस्बिरकै भरमा यी सारा कुरा गरेको हो र त्यसले भनेको एउटा कुरो पनि साँचो होइन भन्ने विचार कसैले गर्न सकेन ।

 सुन्छन् असाध्यै कम साधु-वाक्यह 

भाग्छन् सबै भूत अगाडि पर्दा । 

                                             यस्तो बुझी हाकिमले चलाकी

खेली हराए शठ दाजुलाई ॥

बाटो देखाउँदै नि शान-ची अघि लाग्यो, अरूहरू त्यसका पछि लागे । तिनीहरू ठुला घरका पूर्वपट्टिको सानो चाहिँ घरमा पुगे । जाँचपास गर्नुअघि बडाहाकिम नि त्यसै घरमा बसेका थिए । पछि उनले नयाँ घर जोरेका हुनाले यसमा अब अन्नपातहरू मात्र राख्ने गरिन्थ्यो । त्यसको हेरविचार गर्न छुट्टै एउटा मानिस खटिएको थियो ।

घरका वरिपरि डुलेर हेरिसकेपछि बडाहाकिम साहेब त्यसका बिचका कोठामा आएर बसे ।

उनले शान-चीसित भने, “घर वरिपरिका सारा कुरा गरी आफूले अह्राएबमोजिम गरिदिनू भनेको हुनाले त्यो तिम्रै बुबाको आत्मा होला भन्ठान्दछु । उहाँले मलाई भन्नुभए अनुसार यो थोत्रो घर अब शान-शुले पाउने भयो । तिमी के भन्छौ, मन्जुर छ ?”

शान-चीले दण्डवत् गर्दै भन्यो, “श्रीमान्को आज्ञा शिरोधार्य छ ।” त्यसपछि बडाहाकिम साहेब जमिन जायदातको तफसिल बही हेर्न लागे । बिच बिचमा उनी – बडो राम्रो जमिनदारी रहेछ ? – पनि भन्दथे । बहीका आखिरीमा भएको अंशबन्डाको पत्रमा पुगेर उनले एक पटक मुसुक्क हाँसेर भने, “कुरा त सब लेखेरै जानुभएको रहेछ – ठिक हो । तर, उहाँले अहिले भर्खरै मलाई शान-ची लायक छोरो होइन पनि भन्नुभयो । बुढा आफ्ना कुरामा अलि नअड्ने खालका रहेछन् ।”

शान-चीलाई अगाडि डाकी उनले भने, “लेखौटै भएको हुनाले जग्गा जमिन जति सारा तिम्रै हुने भयो । शान-शुले त्यसबारे कुनै झगडा झिक्न पाउन्न ।”

मेइ यस फैसलाका विरुद्ध केही भन्न अघि सर्ने लागेकी थिई, बडाहाकिम साहेबले कुराको सिलसिला जारी नै राखेर भने, “यो थोत्रो घर अब शान-शुको भयो । त्यस कारण पछि शान-चीले यसमा भएका कुरामध्ये यो त भाइको हक लाग्दैन भनी टन्टा झिक्न पाउने छैन ।” .

शान-चीले विचार गर्‍यो, “यहाँ भएका थोत्रामोत्रा चिजबिज काम नलाग्ने भइसकेका छन् । तीन चौथाइ अन्नपात पनि एक महिनाअघि नै ओसारिसकेको छु । यहाँ अब त थोरै मात्र बाँकी होला । तसर्थ । यस फैसलाले मेरो कुनै विशेष क्षति हुने भएन ।” त्यसले तुरुन्तै जवाफ दियो, “यो त साहै विवेकपूर्ण फैसला भयो, श्रीमान् !”

बडाहाकिमले भने, “तिमीहरू दुवै थरीको मन्जुरी भइसकेको हुनाले पछि कसैले भर्खरै बुढा बडाहाकिम साहेबले मलाई यस घरको देब्रे गाह्रामुन्तिर  पाँच घडामा गरी पाँच हजार टेल चाँदी गाडिएको छ भन्नुभएको छ । त्यो कान्छो छोरालाई दिने अरे ।”
शान-चीले कुरा नपत्याएको हुनाले निर्धक्कै भन्यो, “दसैँ हजार टेल भए पनि त्यो भाइकै भयो, मेरो नाइँनास्ति छैन ।”

बडाहाकिम साहेबले भने, “नाइँनास्ति गौ भने पनि तिम्रा कुरा सुन्ने होइन ।”

उनले आफ्ना मानिसलाई पिक, कोदालो आदि खन्ने ज्यावल ल्याउन अह्राए ।

मेइका आमाछोराले तिनलाई घरको पूर्वपट्टिका गाह्रामा पुऱ्याइदिए। खनेर हेर्दा नभन्दै त्यहाँ चम्किलो चाँदीले भरिभराउ पाँच घडा भेटिए । एउटाको चाँदी जोखेर हेर्दा साँच्चिकै साढे बैसठ्ठी कैटी अर्था ठिक एक हजार टेल पुग्यो ।

देख्ने जति सबै छक्क परे । बडाहाकिमले सारा कुरा साँच्चै भनेका रहेछन् भन्ने कुरामा शान-चीसुद्धाको चित्त बुझ्यो । त्यसले विचार गयो, “बुवाको आत्माले स्वयम् आएर नभनेको भए बडाहाकिमले यो चाँदी यहाँ गाडिएको छ भन्ने कुरै कसरी थाहा पाउँथे । यो त खुद हामीलाई नै थाहा नभएको कुरा हो ।”

पाँच घडा आफ्ना अगाडि लहरै राख्न लगाएर बडाहाकिमले मेइलाई भने, “दाहिने गाह्रोमन्तिर पनि पाँच घडामा पाँच हजार टेल चाँदी छ । एक घडा सुन पनि त्यहीँ छ । तपाईँका लोग्नेले त्यो सुन चाहिँ मैले उपहार लिनू भन्नुभएको छ । अनेक गर्दा पनि करै लाउनुभएको हुनाले मैले मन्जुर नगरी धरै पाइनँ।”

शान-शु र त्यसकी आमाले दण्डवत् गर्दै भने, “देब्रे गाह्रोबाट निस्केको पाँच हजार टेल चाँदी नै हामीले खुब चिताउन सकेभन्दा बढी भइसक्यो । दाहिनो गाह्रामा पनि यस्तै घडा छन् भने हजुरका हुकुमका बर्खिलाफ केही भन्ने हाम्रो साहसै छैन ।

बडाहाकिमले भने, “मेरो हुकुमको कुरो होइन, मैले त केवल तपाईँका श्रीमान्ले भन्नुभएको कुरो दोहोर्‍याएको हुँ । हेर्नुपर्‍यो – उहाँले झुटो कुरा त गर्नुभएको होइन ?”

उनले आफ्ना मानिसलाई पश्चिमपट्टिको गाह्रोमुन्तिर पनि खन्ने आज्ञा दिए । त्यहाँ निश्चय नै चाँदीका पाँच घडा र सुनको एक घडा गरी जम्मा छ घडा भेटिए । ‘धन देख्ता महादेवका तीन नेत्र’ भएझैँ त्यत्रो सम्पत्ति देखेर शान-चीका आँखा लोभले बल्लान् जस्ता भए । कमसे कम एउटा टुक्रासम्म त टिपिहाल्न त्यसको मन लोभियो । तर, सबैका मुखेन्जी कबुल गरिसकेको कुरो बदल्ने साहस त्यसमा हुन सकेन ।

बडाहाकिम साहेबले शान-शुका लागि चाहिने अख्तियार पत्र पनि त्यहीँ बसी बनाइदिए र त्यस घरको हेरविचारमा खटिएको मानिस पनि उनीहरूलाई नै दिए । मेइका आमाछोराको खुसीको ठेगानै रहने । दुवै जनाले एकैसाथ बडाहाकिमलाई दण्डवत् गरेर कृतज्ञता जनाए । रिसले भित्रभित्रै सल्किरहेको भए तापनि शान-चीले एक दुई पटक दण्डवत् नगरी र लोकाचारअनुसार कृतज्ञताका दुई चार कुरा नभट्याई भएन ।

बडाहाकिम साहेबले कागजका दुईचार धरामा सही गरी हात परेका सुनका घडाका मुखमा टाँस्न लगाएर सिलबन्दी गरे । अनि त्यसलाई तामदानमा राख्न लगाएर घरतिर चलान गरिहाले । सबैको भनाइ थियो – स्वर्गवासी बडाहाकिम साहेबको आफ्नै इच्छाअनुसार यिनले यति त लिइदिनै परेको हो । नलिनु पनि उचित भएन ।

विरोधमा कसैले चुँसम्म गर्ने साहस गरेन । पुरानै उखान हो – भाइ फुटे, गँवार लुटे ।

शान-ची भाइप्रति केही उदार भएको भए र त्यसले अंशमा पाएको जग्गाजमिन दुवै भाइमा राम्ररी बाँडचुँड गर्न मन्जुर गरेको भए त्यो एक हजार टेल सुन दुई भाइकै हुने थियो, परचक्रीले गुटमुट्याएर लैजान पाउने थिएन । तर, कुरा यहाँ बेग्लै हुन गयो – शान-ची त डाहैले सल्किरह्यो । त्यसले गर्दा साराले – यो त साहै निष्ठुर छोरो र दाजु पो रहेछ भनेर त्यसको बदनामीसमेत गरे । शान-शुले आफ्ना जन्मैले पाएको हक मार्ने जुन युक्ति उसले त्यतिका दिन गयो, अन्त्यमा त्यसको कुफल उसैका थाप्लामा आई बज्रियो ।

मेइका आमाछोरा बडाहाकिम साहेबलाई धन्यवाद चढाउन भोलिपल्टै अड्डाखानामा हाजिर भए । बडाहाकिमले तिनले ल्याएर दिएको तस्बिर फिर्ता दिए । त्यसमा भएको इच्छापत्र झिकेर उनले त्यसलाई जस्ताको तस्तै गरी टाँसिइदिइसकेकै थिए । यति भइसकेपछि मात्र शान-शु र त्यसकी आमाले तस्बिरमा बुढाले भुईँतिर औँलाले देखाएको त – जमिनभित्र सुनचाँदी गाडी राखिएको छ भनी बताएको रहेछ भन्ने बुझे ।

पाएका दश हजार टेल चाँदीले मेइका आमाछोराले खेतबारी, बगैँचा किने । ती धनी भए । शान-शुले पछि बिहे गरेर तीन भाइ छोरा पायो । ती तीनै भाइले पढेर नाम कमाए । उनीहरूका वंशमा शान-शुकै घरानाका बढिबढाउ हुँदै गयो । शान-चीका दुवै भाइ छोरा आवारा र फुकाहा भएर गए । बाबु मरेपछि तिनीहरूले दुइटै घर आफ्ना कान्छा बाबुलाई बेचे । तिनका सारा वृत्तान्त जान्ने वरिपरिका सबैले – परमात्माले नि परिवारका ती दुवै दाजुभाइप्रति न्यायै गरेका हुन् – भने ।

दैवी नियम सदा ठिक ठिक न्याय नै गर्छ

बरबाद हुन गयो शान-ची आफ्नै लोभले । 

                                        आफ्नी विमाताप्रति गर्न खोज्दा साहै अन्याय 

हाकिमज्यूले मारे तर भाग्यका भोगले ॥ 

                                         इच्छापत्र थियो लुकाइएको चित्रमा पछिह 

गाह्रो तलको सुन गयो अर्कैका शोधले- 

                                         घरझगडाको त्यो हुन गयो खर्च मुद्दाको । 

 शिक्षा लिऊँ हामी पनि कथा सुनी मोजले ।।