आख्यानकार, कवि, बाल साहित्यकार तथा पत्रकार रुड्यार्ड किप्लिङ ३० डिसेम्बर १८६५ मा भारतको बम्बई सहरमा जन्मेका थिए । उनी एक निर्भीक कवि, कुशल कथाकार र सफल उपन्यासकार मानिन्छन् । उनका पिता कलाकार थिए । किप्लिङ भारत, बेलायत र अमेरिकामा बरोबर आवत जावत गरिरहन्थे । उनले एक अमेरिकाली पत्रकारकी बहिनी केरोलाहान भन्ने युवतीसँग विवाह गरेका थिए । किप्लिङ अत्यन्त जाँगरिला साहित्यकार थिए । उनले उपन्यास, कथा र बाल साहित्यका धेरै पुस्तक लेखेका छन् । उनले आफ्ना कृतिमा अङ्ग्रेज र भारतीय सैनिकको क्रियाकलाप, स्वभाव र रहनसहनको सजीव चित्रण गरेका छन् । उनी एक आदर्शवादी व्यक्ति पनि थिए। यो कुरा उनको पुस्तक गोराहरूको उत्तरदायित्व (The Whitemen’s Burden) मा प्रस्तुत युवकलाई शुद्ध मानवीय शिक्षा दिने विचारबाट स्पट हुन्छ ।

निम्नलिखित उनका केही महत्त्वपूर्ण कृति यी हुन्ः

उपन्यास: १) जङ्गल बुक (The Jungle Book 1894), २) किम (Kim 1901)

कथा: राजा हुने मान्छे (The Man Who Would Be King (1888)

कविताः १) मन्डाले (Mandalay (1890), २) गुञ्जा दिन (Gunga Din 1890), ३) कपीबूक शीर्षकका देउताहरू (The Gods of the Copybook Headings 1919), ४) गोराहरूको उत्तरदायित्व (The White Man’s Burden 1899)

उनका बाल साहित्यका थुप्रै रोचक पुस्तक प्रकाशित छन् । विश्वमा भएको सामाजिक रूपान्तरण र राजनीतिक परिवर्तनका साथै किप्लिङलाई हेर्ने मानिसको दृष्टिकोणमा पनि परिवर्तन हुँदै गयो । कतिले उनलाई बेलायती साम्राज्यवादप्रति समर्पित संयुक्त अधिराज्यका अत्यन्त प्रभावशाली साहित्यकार मानेका छन् भने जर्ज अरवेलले उनलाई समर्पित साम्राज्यवादी भनेका छन् । जे होस् किप्लिङ आफ्नो विशिष्ट पहिचान बनाएका अतुलनीय अङ्ग्रेजी साहित्यकार मानिन्छन् ।

उनले ४१ वर्षको उमेरमा सन् १९०७ को विश्व प्रसिद्ध नोबेल पुरस्कार प्राप्त गरे । यो पुरस्कार प्राप्त गर्ने उनी पहिलो अङ्ग्रेजी भाषी साहित्यकार हुन् । किप्लिङले १८ जनवरी १९३६ मा लण्डनमा यस सन्सारलाई छाडे ।