प्रख्यात कवि कुँवर नारायणको जन्म सन् १९२७ सेप्टेम्बर १९ मा भारतको फौजाबाद, उत्तर प्रदेशमा भएको थियो । आधुनिक कविता आन्दोलनको सशक्त हस्ताक्षर कुँवर नारायण `तीसरा सप्तक´(१९५७) का प्रमुख कवि थिए । उनी आफ्नो रचनामा इतिहास र मिथकको माध्यमबाट वर्तमानलाई प्रतिबिम्बित गर्न सक्षम लेखकमा गनिन्छन् । कविता सँगसँगै कथा, समसामयिक लेख, समीक्षा, फिल्म र रङ्गमञ्चमा पनि उनको हस्तक्षेपकारी उपस्थिति पाइन्छ । उनको कविता र कथा विभिन्न विदेशी भाषामा अनूदित छन् । उनी सर्वोच्च सम्मान ज्ञानपीठ पुरस्कारद्वारा सम्मानित छन् । उनको मृत्यु सन् २०१७ को १९ डिसेम्बरमा भएको थियो ।

अचेल एउटा अचम्मको दुविधामा छु
मेरो भरपुर घृणा गर्न सक्ने ताकत
दिनदिनै क्षीण हुँदैछ ।

मुसलमानलाई घृणा गर्छु भनेर हिँडे
गालिब आएर सामुन्ने उभिइदिन्छन्
अब तपाईं नै भन्नुस्
कसको के लाग्छ, उनको सामु

अङ्ग्रेजलाई घृणा गर्छु भनेर हिँडे
जसले दुई शताब्दी हामीलाई राज गरे
त्यतिबेला शेक्सपियर आडैमा आउँछन्
थाहा छैन
उनले मलाई कति उपकार गरेका छन् ।

अनि त्यो प्रेमिका
जोसँग मेरो पहिलो बिछोड भएको थियो

कुँवर नारायण

सोच्छु भेटेँ भने उसको हत्या गरिदिन्छु
भेटघाट पनि हुन्छ
तर, कहिले मित्र
कहिले आमा
कहिले बहिनीजस्तै भएर
अनि मायाको घुटकी पिएर बिर्सन्छु

प्रत्येक पल
पागलजस्तै भट्किरहन्छु
कोही त यस्तो भेटियोस्
जसलाई भरपुर घृणा गरेर
मेरो मन हल्का गर्न सकूँ
तर, हुन्छ ठीक उल्टो

कोही न कोही, कहीँ न कहीँ
कुनै न कुनै यस्ता भेटिन्छन्
जसलाई प्रेम नगरिरहन सक्दिनँ ।

दिनदिनै मेरो यो प्रेम रोग
बढ्दै जाँदैछ
अनि यो भ्रमले, बलियो जरा गाडेको छ
यो प्रेमले कुनै दिन मलाई स्वर्ग देखाएरै छोड्छ।

अनुवाद : जनक कार्की