रामलालको नजर माथि फ्यानतिर थियो । उसलाई आफू पङ्खामा झुन्डिए जस्तो लाग्यो … र उसको श्रीमती कोठाभित्र चिच्याइरहेकी थिइन्… । बिस्तारै उनको चिच्याहट … हट्दै गयो । वर्षौँपछि आज रामलाललाई त्यो बस्तीको याद आइरहेको थियो जहाँ उसले दुई दशक आफ्नो परिवारसँग बिताएको थियो । उसको आँखाअगाडि छिमेकी हेमराजको धमिलो तस्बिर घुमिरहेको थियो । ऊ रामलालको कोठाअगाडि आएर बस्न थालेको थियो । त्यस दिनदेखि ऊ रामलालको सच्चा साथी बन्यो ।

हेमराजको साना-ठुला धेरै छोराछोरी थिए । समय चराजस्तै पखेटा फैलाएर छिटो छिटो उडिरहेको थियो । हेर्दा हेर्दै केही समयमै छोराछोरी हुर्किए । हेमराजको जेठो छोरा जो २०-२२ वर्षको थियो ऊ नराम्रो सङ्गतमा परेर बरालिन थालेको थियो । घरमा कोलाहल मच्चाउँथ्यो । साना भाइबहिनीलाई हरपल पिटिरहन्थ्यो । उसलाई सम्झाउँदा सम्झाउँदा हेमराज थाकेको थियो ।

रामलालले पनि उसलाई कैयौँ पटक बुझाउन खोज्यो तर उसमाथि खासै असर भएन । यसबारेमा जहिले पनि हेमराजसँग कुरा गर्दा रामलालले उसलाई नै दोषारोपण गर्दै लामो भाषण गर्थ्यो । सायद हेमराजको मनको घाउ निको बनाउनुको सट्टा झन् नुनचुक छर्के जस्तो हुन गएको थियो ।

= = =

त्यो दिन रमाइलो साँझ थियो । सबै आ–आफ्नो काममा व्यस्त थिए । त्यसै बेला हेमराजकी छोरी आफ्नै बस्तीको एउटा केटासँग भागेको थाहा भयो । हेमराज हतारिँदै र काँप्दै रामलाल कहाँ आएर यो खबर सुनाउँदा रामलालले उसको घाउमा नुन छर्केर भनेको थियो, “कस्तो बाउ हो तिमी ? आफ्ना छोराछोरीको अलिकति पनि ख्याल नगर्ने । केही खोजखबर गर्‍यौ कि गरेनौ ? ल हिँड् सँगै जाऔँ र खोजौँ । कम्तीमा प्रहरीचौकीमा हराएको उजुरी त दिनुपर्छ ।”

हेमराज चुपचाप उभिएर रामलाललाई हेरिरह्यो । रामलालले उसको हात समातेर तान्यो तर ऊ टसमस भएन । जब रामलालले यो कुरा आफ्नो श्रीमतीलाई सुनायो, उनले रुन्चे अनुहार बनाउँदै भनिन्, “गरिब बाउआमाले आफ्नी छोरीलाई सजाएर राम्ररी बिहे गरिदिनु पर्ने वा उसको इच्छाको मलामी बन्नु पर्ने रहेछ …।”

रामलालले श्रीमतीको अनुहार हेरिरह्यो, केही बोल्न सकेन । जङ्गलमा आगो फैलिएजस्तै यो खबर गाउँभरि फैलियो । मानिसहरूले विभिन्न लाञ्छना लगाउन थाले । दाँत फुक्लेका बूढाबूढीले पनि अफवाह फैलाएर हेमराजलाई बदनाम गराई रमाइलो मानिरहेका थिए । कसैले पनि गरिब असाहय बाउको पीडा बुझ्ने प्रयास गरेनन् । कसैले पनि आएर सहानुभूतिको दुई शब्द बोलेनन् ।

हेमराज भित्र भित्रै टुटिसकेको थियो । उसले चिन्ताको सागरबाट बाहिर निस्कन रक्सी पिउन थाल्यो । यसबाट दुःख घट्नुको सट्टा झन् बढ्दै गयो । घरको सुख शान्ति हरायो । हरेक साँझ ऊ रक्सी पिएर घरमा आउँथ्यो र हल्ला गर्ने, गाली गर्ने र झगडा गर्ने गर्दथ्यो ।

हेमराज जस्तो सधैँ प्रफुल्ल रहने मान्छेले पनि अब आफ्नी श्रीमतीलाई कुट्न थालेको थियो । अभद्र भाषा प्रयोग गर्न थालेको थियो । यता उसले काम गर्ने मिलमा हडताल भयो । अन्य मजदुरहरूसँगै हेमराजको घरको आर्थिक अवस्था बिस्तारै बिग्रँदै गयो ।

मध्यरातमा हेमराजले रामलालको ढोका ढकढक्यायो । रामलालको छोराछोरी सुतिरहेका थिए । उसले ढोका खोलेर हेर्‍यो । हेमराज विचलित देखिन्थ्यो, त्यो देखेर रामलाल पनि आत्तियो ।

“के भयो हेमराज ?” रामलालले अचम्म मान्दै सोध्यो । त्यस बेला हेमराज रक्सीले मातिएको थिएन । उसले रुन्चे अनुहार बनाएर भन्यो, “मेरो जेठो छोराले अर्कै जातको केटीलाई बिहे गरेर ल्याएको छ र यही घरमा राख्न चाहन्छ तर म यो घरमा बस्न दिन सक्दिनँ ।”

रामलालले भन्यो, “तिमीले उसलाई अर्को ठाउँमा लैजान भनेनौ ?”

“होइन, ऊ यही घरमा बस्न चाहन्छ । यही कुरामा ऊसँग मेरो लामो विवाद भइसक्यो ।” हेमराजले भन्यो ।

रामलालले उसलाई भन्यो, “अहिले राती छ हल्ला नगर, अहिले सुत्न जाऊ । बिहान हेरौँला ।”

भोलिपल्ट बिहान रामलाल अलि ढिलो उठ्यो । बाहिर भिड जम्मा भएको थियो । रामलाल आत्तिएर उठेर बाहिर आयो । बाहिरको दृश्य निकै भयावह थियो । पङ्खामा झुन्डिएको हेमराजको लास देखेर रामलालको आँखा अगाडि अँध्यारो भए जस्तो भयो । त्यसपछि प्रहरी आउने जाने क्रम सुरु हुन थाल्यो । उनीहरू जुनसुकै बेला आउँथे र मानिसहरूसँग सोधपुछ गरेर फर्किन्थे । हेमराजको मृत्युले मानिसहरू दुःखित भएका थिए भने प्रहरीदेखि दिक्क भएका थिए ।

रामलालको मनमा अनेकौँ नराम्रा विचारहरू घुमिरह्यो । के हेमराजले आत्महत्या गरेको थियो वा कसैले… उसलाई…अनि… कसले…? त्यस्तै धेरै प्रश्नहरू थिए जसले रामलालको निन्द्रा चोरेको थियो । रामलालको श्रीमती र छोराछोरी डराएका थिए । पुलिस बारम्बार आउँथ्यो र एउटै प्रश्न दोहोराउँथ्यो । यो व्यवहारबाट उनीहरू दिक्क भएका थिए । अति भएपछि छोराछोरीको आग्रहमा उनीहरू त्यो बस्ती छोडेर अर्को सहरमा गए र ती तीता सम्झनाहरू भुल्ने प्रयास गर्न थाले ।

तर वर्षौँपछि हेमराजको सम्झना र उसको मलिन अनुहार रामलालको आँखाअगाडि फेरि घुम्न थाल्यो । आज रामलाललाई यसको पीडा महसुस हुन थालेको छ, किनकि आजकल उसको जेठी छोरीको नाम छिमेकीको आवारा छोरासँग जोडिएको थियो । रामलालले आफूलाई अति नै असाहय महसुस गरिरहेको थियो । आज उसले हेमराजको सट्टा आफूलाई पङ्खामा झुन्डिएको देखिरहेको थियो ।