पारिजातको ‘शिरीषको फूल’ र शङ्कर लामिछानेको भूमिका — यी दुई बेग्लाबेग्लै पदार्थलाई पाठकले आफ्नो मस्तिष्कमा यसरी हुँडलेको छ, आज तिनको वैयक्तिक अस्तित्व समाप्त भएको छ ।

आजै मैले पारिजातमाथि केही लेख्न थालेँ भने सबैले त्यसलाई ‘शिरीषको फूलको’ परिशिष्ट ठान्ने भय छ । यसको शिकार हामी दुवै भइसकेका छौँ ।

पारिजातले एक पटक मलाई लेखी—

…“उपन्यासको चर्चा र सफलता (भनूँ ?) – ले अब धेरै व्याप्त भइसकेँ । सोचेकी थिएँ, त्यसको पनि केही माने लाग्छ, तर निस्सारता शायद मानिसको अन्तिम खुड्किलो हो र जहाँबाट साटिने ठाउँ छैन । जब एउटा तरुण तथा आधुनिक ठिटो आउँछ र उत्सुकतासाथ भन्छ, “… तपाईं सकमबरी ?” मलाई लाग्छ कि भनिदिउँ, ‘त्योभन्दा हतभागिनी पारिजात ।’ तर त्यसो भन्दिनँ र ठट्टा गर्नपट्टि लाग्छु, “तपार्इंलाई कस्तो लाग्यो ?” मानिसहरू मलाई सकमबरीमा देख्न थालिसके, आत्मसात गर्न थालिसके । तर, चौबीस वर्षको उमेरमा ऊ एउटा सफल मृत्यु मरी र म तीस वर्षको छेउछाउमा सुयोगवीरको जीवन बाँच्दैछु…।”

ठीक हो, पारिजातले जन्माएका पात्रहरू अब हुर्किसके । तिनको आफ्नो स्थान समाजमा भइसक्यो– आज तिनको हत्या न पारिजात गर्न सक्छे, न म गर्न सक्छु, न पाठक नै ।

तथापि, तीन आयाममा उभिएर हामी तीन पक्षले ती पात्रहरूका जुन रूप प्रतिष्ठापित गरेका छौँ, त्यो उनको खास रूप होइन । तिनलाई अवतरित गर्दा पारिजातले चरित्रका केही अंश निश्चय पनि पूर्ण रूपले प्रयोग गरिन्, र आज ती फर्की फर्की आफ्नो अंशबण्डाको मुद्दा गर्छन् उसित ।

पारिजात

यसकारण पारिजात अभियुक्त हो । यस्तो अभियुक्त जसलाई वर्णन गर्न ‘अज्ञेय’ भन्छन्, “प्रायः उनीहरूसँग मेरो कुराकानी भइरहन्छ, र म ती सबका लागि अभियुक्त हुँ, ती जस्तो बन्न पुगे त्यस्तो बनाइदिने उत्तरदायित्व मेरो हो । तथापि, ती जस्तो पाठकलाई देखा पर्छन्, जस्तो मलाई देखा पर्छन् र जस्ता ती स्वयं आफ्ना नजरमा छन्, के तीन यी रूप अलग–अलग होइनन् ? …”

मेरो कुराकानी भइरहन्छ र म ती सबका लागि अभियुक्त है, तो वह माता पार अलग–अलग होइनन् ?

यसै कुराको बोध पारिजातलाई हुन गएको छ, र पो ऊ भन्छे,

“कहिलेकाहीँ म आफैँसँग पनि बिभत्स कामहरू गर्छु
यसलाई म आफ्नो सुकिलो अवस्थामा बिर्सन पनि खोज्छु
यही बिन्दूमा शायद मेरा जीवनहरू
खण्डित हुन थाल्छन्
एकदेखि बढ्दै असङ्ख्य अवस्थाहरूमा
म हेर्छु, छाम्छु र खोज्छु
त्यसपछि आर्तनाद गर्छु
कि कहाँ लुकेको छ मेरो निर्दिष्ट ‘म’
यसरी खण्डित बाँचेको मेरो जीवन
यतिका भाग लागिसकेको मेरा अवधिहरू
मेरो अनुभवमा सीमित समय, युग र शताब्दी
त्यही बीच हराएको ‘म’
लाग्छ यो महाज्ञान अवश्य होइन ।
यत्ति ठूलो शून्यकी म छाडा सामन्ती
यत्ति ठूलो खोक्रयाइँको म एक्लो स्वच्छन्द घोडा
एउटा नौलो परिपाटीको नाउँमा
एक औँलो ठड्याउँन म यहाँ व्यवधानहीन बाँचेकी छु
दिशाहीन बाँचेकी छु
हुरीभरि, ईथरभरि, डाइमेन्सनभरि
मलाई पढ्नेहरू ! यो ढाडमा झुन्ड्याएको साइनबोर्डमा मलाई हेरिदिनु ।
(नयाँ कविता–वर्ष : १, अंक : ३–बाट ।)

(“कुनै पनि घृणा बोधमा म ईश्वरलाई गाली गर्दिन म ध्यानस्थ हुन्छ, भुसिया कुकुर मेरो गोडामा घुम्दै तीन पटक मुतेर जान्छ म त्यो निरीहतालाई यहाँ स्पष्ट गर्दिन, मेरो सम्भोगको नाङ्गोपनमा ‘त्यो निरीहता सधैँ विस्मृत हुन्छ कृत्रिम वीर्यपातमा’ म सृष्टिलाई बदनाम गर्दिन जम्मामा म त्यो ‘निरीहता’ लाई कहिले छुदिन । जहाँ कतैपछि सम्भावित ईश्वरत्वका बन्द कचौराहरू हुन्छन् म खोलेर हेर्दिनँ मलाई पूर्वाभास भइसक्छ कि त्यहाँ केही पनि भएको हुन सक्दैन ।”)

पारिजातले ती पात्रहरूलाई ‘भुस्याहा कुकुर’ बनाई ध्यानस्थ अवस्थामा तीनपटक गोडामा मुत्न दिन्छे भने, मैले उसको पोट्रेट गर्न तम्सेको यस क्यानभासलाई पखाल्न किन नसक्नु ?

पारिजात असलमा कुलटा हो । नैतिकता उसमा लेस मात्र छैन । उसैको चित्रअनुसार ऊ “स्वास्नीमानिस स्वास्नी हुनुभन्दा जननी पहिले भइहोली ।” आफैँ ऊ स्वीकार गर्छे, “मेरा आदर्शहरूले घेरा हालेर मलाई थुनेका छन् । म आमा भइसकेँ कि क्या हो कुन्नि ? मेरो स्वभाव बदलिसकेको छ ।”

उसको सन्तति— “आजसम्मका… सीमाहरूलाई पार गरी… नयाँ युगको सृजना गर्दै निस्केको छ । यो जन्मिनु एउटा नयाँ युगको सृजना र नयाँ परिपाटीको उत्थान हुनु हो । यो… आजसम्मका मान्यता, परम्परा र मूल्याङ्नहरूलाई बगाल लगाएर अघि बढ्ने छ ।”

शारीरिक अस्वस्थताको अवगुन्ठनमा बेरिएर उसले आफ्ना यौन–आकाङ्क्षाहरूको तृप्ति मानसिक उचाइमा गरेकी छ । एक प्रकारले योग साधनाको यो अन्तिम स्तर हो । स्वयंको आकाङ्क्षा स्वयंबाट पूर्ति गर्नु जस्तो कष्टसाध्य तथा चरम साधना अन्य छैन ।

यसैको बोध गरेर उसले मलाई लेखेकी हो, ‘निस्सारता – स्वयंको सार स्वयंमा सन्निहित हुनु जस्तो निस्सारता के छ अरू ! शायद मानिसको अन्तिम खुड्किलो हो र जहाँबाट साटिने ठाउँ छैन ।’

ठीक पनि हो ! उसका मस्तिष्कको गर्भमा सारा हाम्रा जागरुकता समावेश गर्छन् र ऊ तिनलाई एक कुनामा बसेर गर्भाधान मात्र गरिदिन्छे । यस अर्थमा ऊ कुलटा हो— ऊ जगज्जननी हो । र, यसै अर्थमा ऊ अन्योलमा पर्छे र भन्छे, ‘म आमा भइसकेँ कि क्या हो ?’

उसको त्यो महान भावनालाई नबुझ्नेहरूका लागि उसको प्रश्न छ, “प्लास्टिकको गोलीलाई ओथार्न खोजेकी निर्लज्ज कुखुरीको माउ जस्ती म एउटा कोरा भावनामा आफैँलाई पिल्साएर हिँड्ने तर त्यो कुखुरीको आवेश एउटा सत्यता अनि मेरो कुन्नि सत्य कि झूठ ।”

यो भावना नबुझ्ने धेरै छन्, त्यसमध्ये नाउ चलेका प्रकाण्ड विद्वान पनि उनको रायअनुसार म हेनरी मिलरको चेलो हूँ र मेरो सम्बन्ध पारिजातसँग ‘पञ्च मकार’ को छ । ‘पञ्च मकार’ शब्दको अर्थ ती निरीह विद्वानले त्यस बेलासम्म बुझ्दैनन्, जबसम्म तिनको विद्वता सांध्यभाषा छिचोल्न सक्दैन ।

‘महामुद्रा’ शीर्षकअन्तर्गत मैले एकपटक लेखेको छु, ‘तत्वयोग प्राप्त गर्ने सबभन्दा सहज उपाय साधकका लागि एउटै छ– आफ्नो जन्मदिने माता, आफ्नै छोरी र भान्जीसँग उसले यौनसम्बन्ध राख्नु पर्दछ ।’ …

‘प्रज्ञोपायन विनिश्चय सिद्धि’ बाट लिइएको यस अंशको सोझो अर्थ साह्रै घिनलाग्दो छ । तथापि, जो यसको अर्थ बुझ्ने क्षमता राख्छन्, तिनका लागि यसको अर्थ यसरी लाग्दछ, ‘तत्वयोग प्राप्त गर्ने सबभन्दा सहज उपाय साधकका लागि एउट छ– आफ्ना आन्तरिक नारीतत्व, लोभ, मोह, स्नेह, प्रेम, अहम् इत्यादि तत्वहरू, जो मानिसभित्र अवस्थित हुन्छन् (पारिजातको ‘मेरो नजन्मेको छोरो’ पढ्नुस् ।) र जसलाई मानिसले आमा, बहिनी, छोरा र भान्जी जत्तिकै अपनत्व प्रदान गरेको हुन्छ ती तत्वलाई आफ्नो पुरुषतत्वसँग समन्वय नगरी उसले आफ्नो साधना प्राप्त गर्न सक्दैन !’

यी अर्धपण्डितले मलाई तथा पारिजातलाई एक भिन्न पृष्ठभूमिमा लिए । तर, ती जान्दैनन्, पारिजातको समक्ष पुग्नुअघि नै म नाङ्गिसकिएको हुन्छु । मलाई यस्तो अनुभव हुन्छ, ऊ मेरी इम्पल्सहरू वा अझ प्रष्ट भनूँ, मेरो साहित्यिक इम्पल्सहरूकी जन्मदाता हो ।

उसको मस्तिष्कको गर्भ देखेर म निश्चय पनि हेनरी मिलर जस्तै सोच्छु र भन्छु यहाँबाट कति जन्मे होलान् ! र म स्वयम् त्यहाँ जन्मेको अनुभव गर्छु, पुनः मलाई लेख्ने प्रवृत्ति जागेर आउँछ यो यदि पाप हो भने, यस्तो पाप जीवनमा रोज गर्ने सौभाग्य मलाई प्राप्त होओस् ।

‘कुलटा’ शब्द मैले क्यानभास पखाल्न प्रयोग गरेँ । मलाई लाग्छ, अर्धपण्डितका लागि त्यसले असर पनि गरिसक्यो ।

अब म क्यानभासमा नयाँ रङ भर्छु । पारिजात वास्तवमा स्वच्छ, स्निग्ध, श्वेत हो । उसलाई जसरी प्रयोग गरे पनि हुन्छ । प्रयोग गर्ने दृष्टि तथा क्षमता हाम्रो आफ्नो स्तरमा मात्र निर्भर गर्दछ । मलाई खुशी छ म उनको समकालीन भएर जन्मेँ । नत्र उसको अनुहार, अनेक रूपमा मेरो समक्ष आउँथे ।

अर्को खुशी छ, म आज जन्मेको भए मैले उसँग मेरो अंश माग्न धाई रहनुपर्ने थियो । त्यो पनि कष्ट मलाई भएन । एक प्रकारले म भाग्यमानी छु ।

कारण यो कि, मेरो जीवन कृष्णको छ, म डिप्लोम्याट पनि उत्तिकै छु, र उसको सामू दहीको रूपमा चिया चोर्न पनि जान्छु ।

थाहा छैन, पारिजातलाई एउटा कुराको अनुभव भयो भएन ! म उसको सामू भूमिका कहिल्यै बाँध्दिनँ । ऊ बुझ्छे– म बुझिएको अनुभव गर्छु ।

यहाँ मलाई कसो कसो उसको ऐतिहासिक पत्रको सम्झना आउँछ । ऊ भन्छे–

“सुकन्या,

‘ऐतिहासिक चिट्ठी लेख है’ मलाई सम्झना आइरहेछ, तर यो दिन तिमीलाई शायद भन्ने मौका नै पाइनँ कि मलाई इतिहासमा विश्वास छैन । हामी इतिहासका ती निर्धा दिनहरूमा बाँचेका छौँ जसको उल्लेख कसैले पनि गर्दैन । यो चिट्ठी मात्र एउटा सन्तुष्टि, एउटा सम्झौता हो ।

तिमी जिउँदै छौ, र यहाँ जुन वर्तमान अवस्थित छ, यो यत्तिभरिको सार्थकता हो, र लाग्छ–सार्थकताको परिभाषा रङ्गीन किरा र सुन्दर पशुहरू जस्तो लाग्छ । सम्झन्छु म प्राग् ऐतिहासिक युगको सर्वश्रेष्ठ कलाकार हुँ र जानवरहरूको भित्ति चित्र लेख्न खोज्दा–खोज्दै मेरो हात अनायास टक्क रोकिन्छ ।

अहिले मेरो कोठाभरि तरुण अनुहार हाँसिरहेका छन्, अनि यत्तिका कलिला मुस्कानहरूलाई म एकसाथ अस्वीकार पनि गर्न सक्तिनँ । क्रमशः मेरो स्वयं घोषित सर्वश्रेष्ठ कलाकारको मान्यता आफैँमा मर्छ । आखिर यो जीवन मनस्थितिको कमारो न हो ।

सुकन्या, आजभोलि मेरो केही पनि सिद्धान्त छैन, कुनै पनि उद्देश्य छैन र यो वर्तमान म ओढिरहेछु वास्तवमा त्यो संस्कार हो कि विडम्बना पनि थाहा पाउँदिनँ … आजको यो युग र यो मेरो देश जहाँ आत्ममर्यादा कि त प्राग् ऐतिहासिक कथा हुन्छ कि त अनुपलब्ध परिकल्पना । तिमीलाई थाहा छ यहाँ बौद्धिकताको नाउँमा अज्ञानता र पारखको नाउँमा नकाब उपयोग गरिन्छ । पारिजात र आत्ममर्यादा ।

(छैन, पारिजात, छैन ! तिम्रा पुत्रहरूले त तिमीलाई आमा भन्न अन्कनाए !)

“तिमी हाँस्लेउ या सबै हाँस्लान्, तर आत्ममर्यादाको मेरो आफ्नै परिभाषा छ ।’ (हुनैपर्छ पारिजात, हुनैपर्छ । नत्र हाम्रो स्थान के ?)

“जाँ पाल सात्र्रको रूटलेस फ्रिडम तिमीलाई सम्झना आउँछ होला ।” (आउँछ पारिजात, निश्चय पनि आउँछ !)

“छनोट गर्नलाई हामी यदि स्वतन्त्र छौँ भने मलाई क्याक्टस र गुलाफ कहिल्यै मन परेन, यसो भनौँ अल्टरनेटिभ भएसम्म फूलहरू म छान्दिनँ ।”

(किन छान्ने ? ती एक्सट्रीम हुन् । तिमी निस्सारतामा प्लास्टिकको फूल ओथार्न बसेकी, तिमीलाई वास्तवमा फुलको के आवश्यकता ?)

कसैले भरखर जन्मेको फुल देखेको छ ? त्यसमा आमाको चुच्चो लागेन भने त्यो फस्टाउँछ ? त्यो फूल जन्मेन भने कुहिन्छ ।

‘पारिजात’ शब्दको अर्थ हो – (शब्दकोशलाई क्षमा माग्दै !) – रातभरिको प्रक्रियाले सूर्योदयअधिको भूमिमा गरेको आत्मदान ! यदि त्यो भूमिको आत्मसात हो भने, त्यस कालसम्म हाम्रो जीन ‘शिरीषको फूल’ नै बनोस्, जबसम्म पारिजातको फूललाई भूमिकामा कसैले बटोल्दैन ! जीवन–जीवनपर्यान्त म तेस्रो व्यक्तिका लागि भूमिका नै रहुँ र पारिजात सकमबरी भै पडोस् ।

तर, पारिजात अझ आफूलाई विस्तृत गर्दैछे । भन्छे, “तिमी मेरो चिट्ठीमा इतिहास न खोज ! सुकन्या, शायद म हराउँदैछु, शायद टुङ्गिदैछु । लाग्छ, म फाँट भएर पल्टिरहेको छु र राल्फाहरू ममाथि बुर्कुसी खेलिरहेका छन्, लाग्छ म गोरेटो भएर पल्टिएकी छु र राल्फाहरू ममाथि जुलुश भएर हिँडेका छन् ।”

तिमी, पारिजात, गोरेटो जस्ती पल्टिदिएको भएर त तिमीलाई अरूले कुलटा ठानेको । तर ती बुझ्दैनन्, ती स्वयम् तिम्रो गर्भबाट जन्मिएका हुन् ।

त्यसैकारण तिम्रो मित्रलाई विभिन्न ढङ्गले लिपपोत गरिदिएको कारण क्लियर–कट– इमेजमा त्यसको केही माने छैन । निस्सारताकी जननी तिमी, तिम्रो सार हुनु राम्रो पनि होइन !

(लामिछानेको ‘बिम्ब–प्रतिबिम्ब’ बाट ।)