(२१)

 

 

घिनलाग्दो एउटा व्यक्ति, जसलाई म चिन्दछु ।

केही आन्दोलनकारीहरु आएर मलाई अदालतमा त्यो व्यक्तिको विरोधमा साक्षी बसिदिने आग्रह गर्न थाले ।

त्यो व्यक्ति भित्ताकै राक्षसको प्रतिमूर्ति थियो । वर्षौँदेखि मेरो र मजस्ता दयालाग्दा जनताको टाउकामा टेकेर थिलथिलो पारिरहेको शोषक र सामन्त थियो त्यो । त्यसैले मैले आन्दोलनकारीहरुको कुरा स्वीकार गरेँ । म उनीहरुसित जुलुसमा सामेल भएँ । त्यसका विरुद्ध नारा लगाएँ । मुर्दावाद भनेँ । बयान दिएँ ।

तर त्यसपछि मलाई केही अप्ठ्यारा स्थितिहरुसित जुध्नु पर्‍यो ।



उसको उपस्थिति अहिले मेरो निम्ति निकै असह्य र गह्रुँगो अनुभव भइरहेछ । ऊ अहिल्यै उठेर गैदिए म उन्मुक्त सास लिन सक्ने थिएँ भन्ने लागिरहेछ । स्वतन्त्रताको मीठो अनुभूति गर्ने थिएँ जस्तो पनि लागिरहेछ । साँच्चै भन्ने हो भने उसको उपस्थितिले मेरो वरिपरिको वातावरणलाई नै प्रदूषित पारिदिएको छ । उसको पाइरियाले ग्रस्त दाँतमा पहेँलो मयलको निकै बाक्लो तह जमेको छ । जिब्रोमा पनि सेतो काईको बाक्लो तह जमेको छ । उसको शरीरबाट आइरहेको पसिनाको अमिलो दुर्गन्धले पनि मलाई निकै छट्पटीको अनुभव भइरहेछ । उसको सम्पूर्ण व्यक्तित्वबाट गन्ध आइरहेछ । शासक गन्ध ।

म उसलाई एउटा घिनलाग्दो व्यक्तिबाहेक अन्य कुनै रुपमा कल्पनासमेत चित्रित गर्न सक्दिनँ । पोहर साल मात्र उसको दुर्गन्धलाई रुचाउनेहरुले उसको पच्चिसौँ रजत जयन्ती मनाएँ । उसको राजकीय अभिनन्दन गरे । उसको स्तुति गाए । उसलाई प्राणभन्दा प्यारो भने । हृदय सम्राट पनि भने ।
अरुले जस्तै म पनि उसलाई विगत पच्चीस वर्षदेखि नै चिन्दछु । तर उसको बारेमा मेरो कल्पना एकै अवस्थामा स्थिर भइदिएको छ— ऊ निकै घिनलाग्दो व्यक्ति हो । म उसको दूर्गन्धलाई बास्ना ठानेर बस्न सक्दिनँ ।

जुन व्यक्तिलाई एकदमै घृणित सम्झिइन्छ, त्यही व्यक्तिसित समय बिताउनु पर्दा हुने पीडाको अनुभूति झन्झन् तीव्र हुँदै गएको छ मलाई । म उसको उपस्थितिदेखि मुक्ति चाहन्छु । तर मलाई थाहा छ, ऊ त्यसै यहाँबाट जाने खाले मान्छे हैन ।

पहिला त ऊ जुन चीजको निम्ति यहाँ आएको छ, त्यसको निम्ति निकै नम्रतापूर्वक माग गर्नेछ । तर जब ऊ मेरो नकारात्मक प्रत्युत्तर पाउनेछ, त्यतिखेर ऊ क्रमशः हिंस्रक पशुमा परिणत हुनेछ ।



ऊ सकेसम्म आफूलाई निकै परिपक्व र बलिष्ठ देखाउने प्रयास गर्छ । तर एकछिन ध्यानपूर्वक नियालेर हेर्ने हो भने ऊसित फोक्से मासुबाहेक केही छैन । उसको शारीरिक अवस्था हेरेर भित्रभित्रै एकदमै खोक्रो र जर्जर भइसकेको छ भन्ने सहज अुनमान लगाउन सकिन्छ ।

—‘कृपया दया गरेर अदालतमा तपार्इँले मेरो विरुद्धमा दिनु भएको बयान फिर्ता लिइदिनु भए म निकै अनुगृहित हुने थिएँ,’ उसले निकै चिल्लो घसेर आफ्नो माग राख्यो ।

(शासकहरु मीठो बोल्छन् ।)

म सहजै अनुमान लगाउन सक्छु, अब घटनाको ‘क्लाइमेक्स’ आइपुगेको छ । यतिखेर उसको मुहारमा विचित्र किसिमको भाव देखा पर्छ । ओठमा कुटिल मुस्कान । आँखामा आक्रोश र निधारमा चिन्ता । एकसाथ यी तीन प्रकारका भावहरु मैले उसको अनुहारबाहेक अरु कसैको अनुहारमा कहिल्यै देखेको छैन । यो उसको व्यक्तित्वको एउटा अनौठो र विचित्र विशेषता हो ।

म नकारात्मक प्रत्युत्तर दिन्छु । किनकि म उसको व्यक्तित्वबाट कुनै हालतमा पनि अँचेटिन चाहन्न ।



अब ऊ हिंस्रक पशुमा परिणत हुँदैछ । नाकका दुवै प्वालको आकार परिवर्तन हुन सुरु भइसकेका छन् । दाह्रा किट्न थालिसकेको छ । हत्केला मुठ्ठीमा परिणत हुँदैछ । अब ऊ मलाई झम्टिने मुद्रामा उभिइसकेको छ तर मैले उसको त्यस किसिमको हिंस्रक व्यवहारबाट मलाई कुनै डर उत्पन्न भएको छैन भन्ने भाव अनुहारमा एकत्रित गरिसकेको छु ।

अनि ऊ मेरो कोठाबाट निस्कन थाल्छ । ढोकालाई क्षतिग्रस्त हुने गरी हटाउँछ (यस्तो गर्नु उसको बानी भइसकेको छ) र फुत्त बाहिर निस्कन्छ ।
“साला ! घिनलाग्दो मान्छे,” अनि म आक्रोश पोख्छु ।



यथार्थमा ऊ मेरा समस्त पीडाहरुको जड हो । मेरो व्यक्तित्वको अगाडि उभिएको पर्खाल हो ।

यो डायरी लेखुन्जेलसम्म उसको शरीरको नमीठो दुर्गन्ध कोठामा यथावतै थियो । शासक गन्ध । तानाशाह गन्ध ।
यो गन्ध देशभरि व्याप्त छ ।

(२२)

 

 

साहित्यमा टेबुल र रक्सी एकअर्काका परिपूरक भइसकेका छन् ।

र, अहिले म साहित्यका पात्र बन्न सक्ने किसिमका व्यक्तिहरुसित बसेको छु । र तिनीहरुका बीचमा टेबुल छ । टेबुलमा बोतलहरु छन् । र बोतलभित्र के छ, त्यो भनिरहनु पर्ने कुरा होइन ।

यहाँ उपस्थित कसैलाई पनि एकअर्काको वा आफ्नो इज्जत बेइज्जतको मतलब छैन । यिनीहरुको बहस सुन्दा लाग्छ, यहाँ कसैको इज्जत छैन र भए पनि कतै लुकाएर वा मिल्काएर आएका छन् । बहसको क्रममा यिनीहरु थुप्रै पटक नीचताको सबैभन्दा तल्लो स्तरमा ओर्लिसकेका छन् र ओर्लिँदैछन् ।

बहसमा कहिलेकाहीँ प्रत्यक्षतः यिनीहरुसित कुनै सम्बन्ध नराख्ने खालका वाहियात विषयहरु पनि उठाइन्छ तर यस्ता वाहियात विषयमा पनि यिनीहरु घन्टौँ बहस गर्न सक्छन् ।

रक्सीको स्वाद मैले आज पहिलोपल्ट लिँदैछु तर रक्सी जिन्दगीभन्दा तीतो लागेन । मलाई लाग्यो, जिन्दगीभन्दा रक्सीलाई सरलतासँग पिउन सकिन्छ ।

टेबुलको वरिपरि बसेका व्यक्तिहरु आफूलाई सम्पूर्ण रुपमा रक्सीमा डुबाउन चाहन्छन् । तिनीहरुका कुराबाट जिन्दगीका कम्तीमा पनि बीस–पच्चीस वटा पर्यायवाची शब्दहरु संकलन गर्न सकिन्छ । जस्तै, जिन्दगी भनेको विष हो । जिन्दगी भनेको निल्नु न ओकल्नुको तातोभात हो । जिन्दगी भनेको अँध्यारो हो । जिन्दगी भनेको विषालु साँप हो । जिन्दगी भनेको मृत्यु हो । आदि आदि ।
जिन्दगीको परिभाषा दिने क्रममा मैले भनेँ—

— जिन्दगी बूढो रुख हो ।

— जिन्दगी टेबुलघडी हो ।

— जिन्दगी राक्षस हो ।

तिनीहरु जिल्ल परे । जिन्दगीको यस्ता पर्यायावाची शब्दहरु यसअघि तिनीहरुले कहिले पनि सुनेका थिएनन् ।

टेबुलमा प्रत्येक व्यक्ति ग्लानी, पीडा, अभाव आदिका कुराहरु गर्दैछन् र रक्सीमा क्रमशः डुब्दैछन् ।

एउटाले प्वाक्क भनिदियो—

— जिन्दगी भनेको रक्सी हो ।

अनि त के चाहियो ? राम्रै विवाद चर्कियो त्यहाँ । जिन्दगी रक्सी हो भन्ने वक्ताले पुरस्कारमा एकदुई मुक्का पनि खानु पर्‍यो । उनीहरुको भनाइ थियो, जिन्दगी जस्तो पत्रु चीजलाई रक्सीसँग तुलना गर्ने साहस गर्‍यो कसरी गर्‍यो उसले ?

विवाद शान्त भएपछि पुनः सबै रक्सीमा डुब्न थाले मानौँ रक्सीमा पौडन सजिलो हुन्छ ।



त्यहाँ एउटा विचित्रको घटना घट्यो ।

एउटाले भन्यो—

— दसैँ आयो !

विकराल मुख बाएर कुनै राक्षस आउन लागे जस्तो, सबै कुर्सी छाडेर टेबुलमुनि लुक्न थाले ।

(२३)

 

 

समय जसरी पनि बित्दोरहेछ । बितिहाल्दो रहेछ । यसरी त समय कसैले पनि नबिताओस् ।

जुन उमेरमा ठिटाहरु प्रेमपत्र पठाउन थाल्छन् र बाबुआमालाई छोरीको बिहे गर्नुपर्ने चिन्ताले सताउन थाल्छ, आज छोरी त्यो उमेरकी भैसकी भन्ने स्वास्नीको भनाइबाट चाल पाएँ ।

यो एउटा थप चिन्ताको विषय थियो । यसको पूर्ण समाधान छोरीको हत्यापश्चात् नै हुनसक्छ— यस्तो कल्पना पनि गरेँ मैले ।

जब छोरी मेरो आँखाअगाडि आई मैले अनायास छोरीमा पानपसल अगाडिको युवतीको प्रतिबिम्ब देखेँ । मैले छोरीका सम्पूर्ण अंगहरुको आकारको अध्ययन गरेँ । त्यो ठ्याम्मै त्यस्तै थियो, जसको कल्पनापश्चात् कैयन् पटक मलाई कोठाको एउटा कुनामा जानु परेको थियो ।

उफ् ! म कस्तो पशु हुँदै गइरहेको छु ?

(२४)

 

 

सहरमा केही हल्लाहरु चल्न थालेका छन् । यी हल्लाहरु मेरी छोरीको चरित्रहीनतासित सम्बन्धित छन् । अर्थात्—

— ऊ कलगर्ल हो ।

— उसको ‘रेट’ महंगो छ ।

— ऊ आफ्नो परिवारलाई पाल्न यसो गर्छे ।

उपरोक्त किसिमका हल्लाहरु सुनिसकेपछि, यतिका दिनसम्म बिनाकष्ट घरको खर्च कसरी चलिरहेछ भन्ने मेरो प्रश्नको समाधान भयो । स्वास्नीसम्बन्धी हल्ला चाहिँ अझै चलेको थिएन । मैले आफूलाई सन्तुष्ट पार्ने बहाना पाएँ ।



बूढोरुख । टेबुलघडी । भित्ताको राक्षस । यिनीहरुले मलाई आज पर्यन्त छोडेका छैनन् । यी हाँस्छन् । मेरो खिसी गर्छन् । र, मलाई आक्रमण गर्न खोज्छन् ।

तर म विवश छु । सहन्छु ।



म यो सहर छाडेर कहीँ पनि भाग्न सक्दिनँ । यो शहर वरिपरि अग्ला–अग्ला पर्खालहरु लगाइएका छन् । ती पर्खालहरु नाघ्नु कमसेकम मेरा निम्ति असम्भव छ ।

मलाई यो जिन्दगीलाई यही सहरभित्र गुम्स्याउनु छ । यही सहरभित्र रित्याउनु छ ।

कुनै दिन मेरो जिन्दगी पनि यो सहरको फुटपाथमा चिसो भएर टाँस्सिनेछ । यसमा भने म विश्वस्त छु ।

(२५)

 

 

म गुफाजस्तो डेरामा फर्किँदा कोठा एकदम रित्तो थियो । त्यहाँ कुनै प्राणी थिएनन् ।

गुफाभित्र मैले शोकसभामा हुने मौनता जस्तो स्थितिको सामना गर्नु पर्‍यो । मलाई छोरी र स्वास्नीको लाश पो त्यहीँ कतै छ कि भन्ने पनि शंका लाग्यो । तर मैनबत्तीको प्रकाशमा पनि कुनै लाश देखिनँ मैले ।

अब मेरो निम्ति अहिले एउटै काम बाँकी रह्यो, ढुसी परेको ओछ्यानमा ढल्नु तर निद्रा नलागेकोले गुफामै यताउति डुल्न थालेँ ।

मैनबत्तीको प्रकाशमा मैले देखेँ । मेरो छायाँ मैनबत्तीको प्रकाशसँगसँगै हल्लिइरहेछ । यो कहिले सानो कहिले ठूलो देखिन्छ । जब छायाँ सानो देखिन्छ, मलाई आफ्नो आकृति एकदमै डरलाग्दो लाग्छ । मानौँ म वामपुड्के राक्षस हुँ । र जब छायाँ ठूलो देखिन्छ, अनि आफ्नो आकृति भित्ताको राक्षसझैँ लाग्छ । तर भित्ताको राक्षसको तुलनामा मेरो छायाँको राक्षस नितान्त कमजोर र शक्तिहीन छ भन्ने मेरो विश्वास छ । त्यसैले त मेरो छायाँको राक्षस हरेक स्थितिमा भित्ताको राक्षससित पराजित हुन्छ ।



मलाई अहिले पनि थाहा छ । अब यो गुफामा ती आमा छोरी फर्कने छैनन् । त्यो देवता जो स्वयं श्रापित छ, उसको छहारीमा बस्नु पनि मूर्खता हो । यसैले स्वास्नी र छोरीलाई म बुद्धिमान ठान्छु । यो गुफा र मलाई छाडेर गएकोमा मलाई कुनै पीडा भएको छैन, तपाईँ डायरीको पाठकलाई यो कुरामा विश्वास भयो या भएन म भन्न सक्दिनँ ।

तर यति चाहिँ भन्न सक्छु, छोरी र स्वास्नी यही सहरमा छन् । तिनीहरु अब आफ्नो जिन्दगीलाई अर्कै रुपमा ढालेर जिउन योग्य तुलाउनेछन् । अब तिनीहरु प्रत्येक दिन, प्रत्येक रात जिन्दगीलाई टुक्राटुक्रा पारेर बेच्नेछन् र त्यसको भुक्तानीले बाँकी जिन्दगीको जीर्णोद्धार गर्नेछन् । एउटा छोरो जेलमा छ । ऊ एकदिन जेलबाट निस्कने छ । तर ऊ मनेर आउने छैन । उसले बनाउनेछ आफ्नो कुनै अवैध संसार । त्यसैमा रमाउने छ ऊ । फेरि समातिने छ र फेरि फर्किने छ आफ्नै संसारमा । कान्छो छोरो ? त्यसले मलाई धेरै चिन्ता दिएन । कुपोषणले ग्रस्त थियो । पोहरसाल मर्‍यो । ठीक गर्‍यो ।

जो बाँचेका छन् र बाँच्ने प्रयास गरिरहेका छन्, मेरा ती प्रिया छोराछोरी र स्वास्नीलाई मेरो हृदयदेखिको शुभकामना । तिनीहरुलाई र तिनीहरुले बिताउने नयाँ जिन्दगीलाई ।

जीवनको कुनै कालखण्डमा, कुनै मोडमा उनीहरुसित भेट भएछ भने, म उनीहरुको नयाँ जीवन बाँच्ने साहसलाई सलाम गर्नेछु ।

०००

मेरो कथा यत्ति हो ।

बरु अब सुनाउनुस्, तपाईँको कथा ।

खोल्नुस् तपाईँको डायरी ।

–समाप्त–