
उठानः
नेपालमा सबैभन्दा बढ्ता बोलिने, लेखिने, पढिने र प्रकाशन गरिने भाषा नेपाली नै हो । यही भाषालाई सरकारी कामकाजको भाषा बनाइएको छ । अन्तरराष्ट्रिय ठानिएको अङ्ग्रेजी भाषासँगै नेपाली भाषा पनि प्रारम्भिक कक्षादेखि माध्यमिक तहसम्म अनिवार्य विषयका रूपमा सबैले पढ्दै आएका छन् तर अन्य धेरैजसो विषय अङ्ग्रेजी माध्यमबाट पढाइने र नेपाली विषय मात्र नेपाली माध्यमबाट पढाइने गरिएकाले हाम्रा विद्यार्थीहरू नेपाली विषयमा विद्यालय तहदेखि नै कमजोर हुँदै गएका हुन् । त्यसका अतिरिक्त कतिपय संस्थागत विद्यालयहरूले नेपाली विषयको कक्षाबाहेक अरू बेला विद्यालयभित्र नेपाली बोलेमा जरिवाना तिराउने दुष्प्रवृत्तिले गर्दा पनि विद्यार्थीका मनमा नेपाली भाषाप्रति बाल्यकालदेखि नै वितृष्णा पैदा भइरहेको हुन्छ । त्यसका साथै हामी धेरैजसो अभिभावकले पनि आफ्ना बालबच्चाले अङ्ग्रेजी राम्रोसँग बोल्न र लेख्न सकून् भन्ने चाहना राख्छौँ । जसका कारण पनि हाम्रा विद्यार्थी नेपालीमा कमजोर हुँदै गएका हुन् । तिनै कमजोर विद्यार्थीले जसोतसो गरेर उच्च शिक्षा हासिल गरी नेपाली विषय शिक्षकको जिम्मेवारी पनि सम्हाल्न पुग्छन् तर उनीहरूका मनमा नेपाली भाषाप्रति सच्चा सम्मानभावको उदय नै हुन सकिरहेको हुँदैन । यस परिस्थितिमा हामी र हामीजस्ता नेपाली गुरुहरूको भाषा शुद्ध हुन नसक्नु स्वाभाविक हो तापनि हामी आफैले आफ्ना गुरु र आफ्नो समेत आलोचना गर्दै भाषिक शुद्धताका बारेमा सचेत भइरहनु आवश्यक छ ।
प्रा. मोहनराज शर्माको अनुनासिक लेखिने त्रुटिपूर्ण नियमको पुनरावृत्ति:
भाषाविज्ञानका दृष्टिले नेपाली भाषा र व्याकरणलाई नयाँ पद्धतिमा डोऱ्याउनका लागि प्रा. मोहनराज शर्माले दिएको योगदान महत्त्वपूर्ण र अविस्मरणीय छ । उनको ‘शब्दरचना र वर्णविन्यास’ नामक पुस्तक २०३६ सालदेखि दुई दशकभन्दा बढ्ता आदर्श र मानक नेपाली व्याकरण मानेर पछ्याउने शिक्षक र विद्यार्थीहरू धेरै भए । त्यसमा उल्लिखित अनुनासिक वा चन्द्रविन्दु लेखिने ठाउँहरूको विवरण नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा २०७१ मा प्रकाशित ‘प्रज्ञा नेपाली सन्दर्भ व्याकरण’ नामक पुस्तकको पृष्ठ ५१५ मा पुनरावृत्ति भएको छ । त्यसमा विशेष गरी डिकामाथि ई, ए, ओ र औ मात्रा नभएमा अनुनासिक वा चन्द्रविन्दु लगाउने र डिकामाथि ई, ए, ओ र औ मात्रा लागेमा शिरविन्दुको प्रयोग गर्नुपर्छ भन्ने आशयको नियम उल्लेख गरिएको छ । तदनुसार अँगार, हाँडी, सुँगुर, आएँ, हेरुँला, गाउँछ जस्ता शब्दमा मात्र चन्द्रविन्दु लगाउने र ढिंडो, गैंडा, छामें, गयौं, समातौंला, छौं आदिमा शिरविन्दु लगाउन निर्देश गरिएको छ । शीर्षकमा ‘अनुनासिक लेखिने ठाउँ’ भनेर उदाहरणमा अनुस्वारसमेत लेखिने शब्दहरू दिनु युक्तिसङ्गत देखिँदैन । तसर्थ डिकामाथि मात्रा लागे पनि गैँडा, छौँ जस्ता शब्दमा चन्द्रविन्दुको प्रयोग गर्नु युक्तिसङ्गत देखिन्छ । अपवादका रूपमा ‘तपाईं’ शब्दमा दीर्घ ईकारसँग चन्द्रविन्दु स्पष्ट नदेखिने भएकाले शिरविन्दु लगाउन सकिन्छ भने अन्य मात्रा लागेका शब्दमा मात्रा नदेखिने फन्टको प्रयोगबाट बचेर मात्रा देखिने फन्टको प्रयोग गर्नु उपयुक्त हुन्छ । उक्त पुस्तकमा अनुनासिक लाग्ने शब्दकै चर्चा गर्ने क्रममा ‘देखाउँनेछ, देखाउँनेछौ, देखाउँनेछु, देखाउँनेछौं, देखाउँनेछस्’ जस्ता शब्दमा समेत उकारमाथि चन्द्रविन्दु लगाइएको छ । वास्तवमा नेपालीमा छ, थ र द आदिमा हुने प्रत्यय पछाडि भएमा मात्र धात्वन्त उकारका ठाउँमा चन्द्रविन्दुको आगम हुन्छ । त्यसैले गाउँछ, गाउँथ्यो, गाउँदै जस्ता शब्दमा चन्द्रविन्दु स्वाभाविक भए पनि ‘न’ आदिमा हुने प्रत्यय पछाडि भएमा चन्द्रविन्दुको आगम अस्वाभाविक भएकाले उपर्युक्त ‘देखाउँनेछ’ जस्ता उदाहरणहरू अनुपयुक्त ठहरिन्छन् । मोहनराज शर्मा गुरुकै त्रुटिपूर्ण नियमको हुबहु अनुकरण गर्दै जाँदा केही नेपाली गुरु र लेखकका लेखहरूमा समेत ‘देखाउँनेछ’ जस्ता अनुपयुक्त शब्दहरूको पुनरावृत्ति भइरहेको देख्न सकिन्छ ।
प्रा.डा. हेमाङ्गराज अधिकारीको लेखमा प्रयुक्त त्रुटिपूर्ण शब्दहरू:

प्रा.डा. हेमाङ्गराज अधिकारी नेपाली भाषा–व्याकरणका क्षेत्रमा सक्रिय भाषाविशेषज्ञ हुन् । जसले बढ्ता काम गर्छ त्यसको बढ्ता आलोचना हुनु पनि अस्वाभाविक होइन । नेपाली वर्णविन्यासका क्षेत्रमा नयाँ धारको नेतृत्व गर्दै आएका कारण उनको बढ्ता आलोचना पनि हुँदै आएको छ । उनले आफ्नै मान्यताका आधारमा आफ्नो नामलाई ‘हेमाङ्ग राज अधिकारी’ भनी पदवियोग गरेर लेख्न रुचाउँछन् । ‘हेमाङ्गराज’ तत्सम शब्द हो र तत्सम शब्दको वर्णविन्यास संस्कृतकै नियमानुसार हुन्छ भन्ने कुरामा पनि उनको विमति देखिँदैन तर ‘हेमाङ्गराज’ शब्दलाई पदवियोग गरी लेख्नुको आधार भने पाठकहरूले प्राप्त गर्न सकेका छैनन् । यसरी पदवियोग गरेर लेख्ता ‘राज’ शब्दको अर्थ पनि समन्वय हुन सक्तैन । उनले लेखेको ‘भाषा शिक्षणका लागि रचनामुखी व्याकरणको खोजी’ शीर्षकको लेख शत्रुघ्नप्रसाद गुप्ताले फेसबुकमा राखेका छन् । उक्त लेखमा ‘भाषाका बारेमा’ तिर्यक् कारकको प्रयाग हुनुपर्नेमा ‘भाषाको बारेमा’ भएको छ । त्यसैगरी मद्दत, हरू, भर्खर, बिस्तार बिस्तार, छुट्ट्याउने र आवाज हुनुपर्नेमा यिनका ठाउँमा क्रमशः मदत, हरु, भरखर, विस्तार विस्तार, छुट्याउने र आबाज शब्दहरूको प्रयोग गरिएको छ । सर्वसाधारण लेखकका लेखमा यस किसिमका भाषिक कसरहरू रहनु सामान्य ठान्न सकिएला तर नेपाली भाषाका विशेषज्ञ अग्रज गुरुका लेखमा यस्ता भाषिक त्रुटिहरू रहनुलाई सामान्य कमजोरी मान्न सकिँदैन । यस लेखमा नयाँ धारको वर्णविन्यास प्रयोग गरिएका कारण पुराना धारका पाठकलाई अप्ठ्यारो लाग्नु अस्वाभाविक होइन तर उपर्युक्त भाषिक कमजोरीहरू भने नयाँ र पुराना दुवै धारका दृष्टिमा कमजोरी नै ठानिन्छन् ।
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको निबन्धमा प्रयुक्त त्रुटिपूर्ण शब्दहरू:
‘बृहत् नेपाली शब्दकोश’ (२०६०) को सम्पादन सहयोगीदेखि मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको अध्यक्षमा रहेर त्रुटिपूर्ण ‘बृहत् नेपाली शब्दकोश’ (२०७२) को खारेजी र पाठ्यपुस्तकहरूमा अन्योल रहेको वर्णविन्यासलाई निराकरण गर्ने दिशामा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले पुऱ्याएको नेतृत्वदायी भाषिक योगदान स्मरणीय छ । यसरी भाषिक शुद्धताको नेतृत्व वहन गरिरहेका भाषाविशेषज्ञ अग्रज गुरुहरूका लेखरचनामा पाठकहरूले भाषिक त्रुटिहरू नरहिदिऊन् भन्ने अपेक्षा राख्नु अस्वाभाविक होइन तर २०७७ श्रावण १६ गते ‘बिआरटी नेपाल डट कम’ नामक अनलाइन पत्रिकामा प्रकाशित ‘खामरण अनसन’ शीर्षकको व्यङ्ग्य निबन्धको शीर्षकमै त्रुटिपूर्ण शब्दको प्रयोग भएको देखिन्छ । शीर्षकमै मात्र गल्ती भएको रहेनछ, निबन्धभरि ५७ ठाउँमा प्रयोग गरिएको ‘अनसन’ शब्दको अर्थ कुनै शब्दकोशमा भेटिँदैन । अनलाइन पत्रिकामा युनिकोडमा प्रकाशन हुँदा फन्ट नै बदलिएर ‘अनसन’ भएको पो हो कि भन्न पनि सकिँदैन र लेखक स्वयंद्वारा फेसबुकमा सेयर गर्दा पनि ‘अनसन’ शब्दको प्रयोग गरिएको छ । ११६ ओटा टिप्पणीहरू आउँदा एकजनाद्वारा मात्र ‘अनशन’ शब्दको प्रयोग गरिएको र १२ जनाले सेयर गर्दा पनि एकजनाद्वारा मात्र ‘अनशन’ शब्दको प्रयोग भएको देखिन्छ तर ‘हार्दिक धन्यवाद’को प्रत्युत्तर दिइरहँदा ती दुई जनाद्वारा प्रयुक्त ‘अनशन’ शब्दले लेखकको ध्यान आकृष्ट गर्न सकेको देखिँदैन । यसका आधारमा आहारत्याग वा उपवासका सन्दर्भमा लेखकले ‘अनशन’ शब्दको सट्टा अनुपयुक्त ‘अनसन’ शब्दको प्रयोग गर्न रुचाएको बुझिन्छ । संस्कृत पृष्ठभूमिको अध्ययनबाट विमुख हुँदा यस किसिमको असावधानी हुनु स्वाभाविक मानिए पनि वरिष्ठ भाषाविशेषज्ञले सार्थक ‘अनशन’ शब्दको सट्टा निरर्थक ‘अनसन’ शब्दको प्रयोगबाट बच्न प्रयास गर्नु आवश्यक छ । ‘अनशन’ शब्दका साथै सोही लेखमा हुन त हुनुपर्नेमा हुनत, भइहाल्छ र भइहाल्थ्यो हुनुपर्नेमा भैहाल्छ र भैहाल्थ्यो, नित्यक्रियामा समेत हुनुपर्नेमा नियत्यक्रियामासमेत, हिँडे हुनुपर्नेमा हिंडे, जान पाऊँ हुनुपर्नेमा जानपाऊँ, वर्षौं हुनुपर्नेमा वर्षौ, पार्टी कार्यालय हुनुपर्नेमा पाटी कार्यालय, आफू हुनुपर्नेमा आफु, एकवर्ष, एकदिन र एकसूत्रीय हुनुपर्नेमा एक वर्ष, एक दिन र एक सूत्रीय, निर्लज्ज हुनुपर्नेमा निर्र्लज्ज, क्यारे हुनुपर्नेमा क्या रे, होइन हुनुपर्नेमा हैन, सांसद हुनुपर्नेमा सांसद्, बूढीकन्या हुनुपर्नेमा बुढीकन्या, करङ हुनुपर्नेमा करङ् र राति हुनुपर्नेमा राती शब्दको प्रयोग गरिएको छ । ‘दो’ कृत् प्रत्यय लागेका शब्दका साथमा ‘छ’ क्रियापदको पदवियोग हुनुपर्नेमा हुँदोछ, बढ्दोछ जस्ता शब्दको समेत प्रयोग गरिएको छ । सामान्य लेखकका लेखमा यस किसिमका त्रुटिहरू रहनु आश्चर्यको कुरा नभए पनि नेपाली भाषाविशेषज्ञकै लेखमा यस किसिमका त्रुटिहरू पाठकका लागि क्षम्य मानिँदैनन् । फेसबुकमा राखिएको लेख पढ्ने र टिप्पणी गर्नेमध्येमा नेपाली विषयकै प्राध्यापकहरूसमेत भए पनि उनीहरूको ध्यान व्यङ्ग्यतिर गयो तर भाषिक त्रुटिहरूतिर जान सकेन । यसरी भाषाविद्का लेखनमा विद्यमान त्रुटिहरूप्रति आँखा चिम्लिँदै जाने हो भने यस्तै लेखमा प्रयोग गरिएका शब्दलाई मानक वा शुद्ध शब्द ठानेर सर्वसाधारण प्रयोक्ताहरूले अनुकरण गर्दै जाँदा नेपाली भाषामा शुद्धता कायम गर्न निकै कठिनाइ उत्पन्न हुनेछ । तसर्थ यस्ता लेखहरूमा विद्यमान त्रुटिहरू निराकरण गर्दै जाने दिशामा लेखक स्वयं र प्रबुद्ध पाठकहरूको समेत बेलैमा ध्यान जानु आवश्यक देखिन्छ ।
सहप्रा. डा. धनप्रसाद सुवेदीको लेखमा प्रयुक्त त्रुटिपूर्ण शब्दहरू:
पाटन संयुक्त क्याम्पसमा प्राध्यापनरत सहप्राध्यापक डा. धनप्रसाद सुवेदीको पनि नेपाली भाषा–व्याकरणका क्षेत्रमा विशेष योगदान रहेको छ । भाषाविशेषज्ञ र पाठ्यपुस्तक लेखकका रूपमा सुपरिचित उनका लेखरचनाहरूमा पनि भाषिक त्रुटिहरू हुँदैनन् भन्ने अपेक्षा पाठकहरूले राखिरहेका हुन्छन् तर यस्ता लेखकका लेखरचनामा पनि भाषिक त्रुटिहरू हुन्छन् भनेर पाठकहरू सचेत हुनु आवश्यक छ । घनश्याम ढकाल स्मृतिग्रन्थमा प्रकाशित ‘घनश्याम ढकालका उपन्यासमा जनयुद्ध’ शीर्षकको उनको ‘लेख नेपाली समालोचना डट कम’ नामक अनलाइन पत्रिकामा समेत सन् २०२० जुलाई ३० मा प्रकाशित भएको छ । लेखको प्रारम्भमै लेखकको पद ‘सहप्राध्यापक’ हुनुपर्नेमा ‘सह प्राध्यायपक’ भएको छ भने ‘मार्क्सवादी’ हुनुपर्नेमा ‘माक्र्सवादी’ पनि उल्लेख गरिएको छ । नामको वर्णविन्यास जसरी गरे पनि हुन्छ भन्ने बेथिति बढेकै कारण ‘वसन्त’ हुनुपर्नेमा बसन्त भएको छ । षड्यन्त्र, विस्तार, अन्याय, न्युटन, दशक, महत्त्व, रणनीतिक, भन्डाफोर, उपन्यासले, महान्, राष्ट्रियताको, नउठाई, एक ठाउँमा, तत्त्व, सुरु, स्थापनाका लागि, दुष्प्रचार, खतरा, अरू, युगयुगसम्म, हो तर, नाङ्गो, उत्रँदैछौँ, शोषित, सिकार, जनपरिषद्, शोषणका, चित्रण, छ तर, ग्रामीण र वन्दना उल्लेख हुनुपर्नेमा यिनको सट्टा क्रमशः षडयन्त्र, बिस्तार, अत्याय, न्यूटन, दसक, महत्व, रणनैतिक, भण्डाफोर, उपन्यासमले, महान, राष्ट्रियताकोद्ध, नउठाइ, एक ठाउँ, तत्व, शुरु, स्थापनाको लागि, दुस्प्रचार, खतारा, अरु, युगयुग सम्म, हो, तर, नांगो, उत्रदैछौं, शिोषत, शिकार, जनपरिषद, शोषणको, चित्रण, छ, तर, ग्रामाीण र बन्दना वर्णविन्यासगत त्रुटिपूर्ण शब्दको प्रयोग गरिएको छ । नेपाली पाठ्यपुस्तकका लेखक र नेपाली भाषाकै क्षेत्रमा बढ्ता योगदान दिइरहेका अग्रज गुरुका लेखमा यस किसिमका भाषिक त्रुटिहरू रहँदै जाँदा पाठकहरूमा पर्ने नकारात्मक प्रभावका बारेमा लेखकले विचार पुऱ्याउनु जरुरी छ ।
जन्मवंशको जस्तो विद्यावंशको पनि उन्नति र विस्तारका लागि चेलाचेलीले आफूभन्दा बढ्ता जानून् भन्ने चाहना राख्ने गुरुहरू नै सदैव जीवन्त रहन्छन् र उनीहरूको विद्यावंश पनि सदैव जीवन्त रहन सक्छ ।
के गुरुहरूका भाषिक त्रुटिहरू औँल्याउनु अपराध हो ?
विद्यार्थीरूले मात्र होइन गुरुहरूले पनि सदैव विद्यार्थीले जस्तै सिकिरहने चाहना राख्नुपर्छ किनभने आफ्नो ज्ञानरूपी फलाममा खिया लाग्न नदिन र आफ्नो ज्ञानरूपी हतियारको धार तीखो बनाइरहनका लागि गुरुहरू सदैव अध्ययनशील बन्नुपर्छ । ‘शिष्यादिच्छेत् पराजयम्’ अर्थात् हरेक गुरुले आफ्ना चेलाचेलीबाट पराजित हुने आकाङ्क्षा राख्नुपर्छ । जन्मवंशको जस्तो विद्यावंशको पनि उन्नति र विस्तारका लागि चेलाचेलीले आफूभन्दा बढ्ता जानून् भन्ने चाहना राख्ने गुरुहरू नै सदैव जीवन्त रहन्छन् र उनीहरूको विद्यावंश पनि सदैव जीवन्त रहन सक्छ । त्यस्तै चेलाचेलीले आफ्ना गुरुहरूका त्रुटिहरू औँल्याउने हिम्मत गर्छन् र त्यस्ता गुरुहरू नै आफ्ना त्रुटिहरूलाई सच्याएर अघि बढ्न चाहन्छन् । ‘दोषा वाच्या गुरोरपि’ अर्थात् गुरुका दोष वा त्रुटिहरू पनि बताउनुपर्छ भन्ने कुरा उल्लेख गर्दा ‘संस्कृतका जडसूत्रवादीहरूलाई नेपाली भाषाको मर्म के थाहा ?’ भनेर औँला ठड्याउनेहरू पनि नेपाली भाषाका क्षेत्रमा नभेटिएलान् भन्न सकिन्न । आज कुनै आफ्ना चेलाचेलीले र सहकर्मी साथीहरूले गुरुका दोषहरू ढाकछोप गरिदिँदै गए भने लिखित सामग्रीका त्रुटिपूर्ण प्रयोगहरूलाई भोलि कुनै न कुनै सचेत प्रयोक्ताले अवश्य पनि औँल्याउनेछ भन्ने कुराको गम्भीर चिन्तन र मनन गर्न सकेका खण्डमा हाम्रा गुरुहरूले आफ्ना त्रुटिहरू औँल्याइदिने चेलाचेलीहरूलाई अपराधी ठान्ने छैनन् र चेलाचेलीहरू पनि गुरुका त्रुटिहरू औँल्याउनु अपराध होइन, कर्तव्य हो भन्ने ठानेर भाषाको चिन्तनमा अग्रसर हुन सक्नेछन् ।
बैठानः
मुहानको पानी सङ्लिए धाराको पानी सङ्लिने कुरालाई हृदयङ्गम गरी हाम्रा वरिष्ठ भाषाविशेषज्ञ गुरुहरूको भाषा त्रुटिरहित हुन सक्यो र समयसमयमा नियमका नाममा जारी गरिने निर्देशनहरू आधारहीन अवस्थाबाट मुक्त हुन सके भने हामीजस्ता कनिष्ठ गुरुहरूको भाषा पनि त्रुटिरहित हुन सम्भव छ । साथै हामी कनिष्ठ गुरुहरूले पनि आफूलाई शङ्का लागेका ठाउँमा आफ्नै सहकर्मी साथीलाई र आफ्ना वरिष्ठ गुरुहरूलाई सोध्न अनि आफै त्यस्ता शङ्काको समाधान गर्नका लागि अध्ययन–अनुसन्धानमा प्रवृत्त हुन सक्यौँ भने ‘नेपाली गुरुहरूकै भाषा त्रुटिपूर्ण छ भने हाम्रो भाषा कसरी त्रुटिरहित हुन सक्छ र ?’ भनेर नेपाली भाषाका प्रयोक्ताहरूले गुनासो गर्ने नै थिएनन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 









