सहन गाह्रो भएछ, हरिले मुख खोल्यो । “दाइ ! मैले तपाईँको पैसा छोरीसँग साट्न ल्याएको हैन, मेरो छोरी तपाईँकी पनि छोरी कसरी तपाईँले यस्तो बोल्न सकेको ?”, हरिका आँखा राता थिए । अनुहार निलो थियो र दुबैहात कस्सेर मुठ्ठी पारेको थियो ।

गरिबले आफ्नो श्रम बेच्छ, स्वाभिमान सायदै बेच्ला । हरिका आफ्ना समस्या थिए, घर व्यवहारका, समाजका यस्तै यस्तै । घरखर्च चलाउन् हरि कैले साहु माहाजनको हली जान्थो । कहिले गोठाला गएको छ । कतिका त गोठको मल पनि बोक्छ । यति गर्दा पनि उसको जीवन सामान्य अवस्थामा फर्केको छैन । दैबलाई सराप्न मन उसलाई नभएको हैन, दैब रिसाएर यो भन्दा अझ कठिन दुःखमा धकेल्दिए भने ! भन्ने सोचेर सराप्न सकेको छैन ।

एकदिन बिहानै कसैलाई थाहा नदिइ घर छोड्ने मन बनाएको थियो । यसो गर्नुमा अरु कारण केही थिएन । घर

भोजराज घोडासैनी

परिवारमा गरिबी भएपनि खुसी नै थियो, सुख त उसको पोल्टामा छँदै थिएन । भोकै कहिल्यै राखेन उसले आफ्ना जहानलाई । मीठो खुवाउन सकेन होला । सन्तोषले स–परिवारसँग खाँदा अन्न त्यसै पनि मीठो लाग्थ्यो उसको परिवारलाई । यति हुँदाहुदै पनि बेखबर घर छोड्ने कुचेष्टा आए एकदिन । किन ? किनकि साहु कृष्ण प्रसादको अत्याचारले । कसरी हो कसरी उसको मन फर्कियो । त्यस बिहान उसले घर छोडेन । आज सोच्छ, यदि मैले घर छोडेको भए के गर्ने थि पुतलीकी आमा ? कसरी थाम्ने थिई कृष्णको ऋण ?

घरमा ५ जनाको परिवार, एकहल गोरु, ३ भैंसी र गोटा ५ बाख्रा छन् । कुखुरा त हरिको घरमा कहिल्यै खाली भएनन् । कुखुरा खाली नहुनाले गाँउलेले उसलाई भन्थे यसलाई कुखुरा फापेका छन् । त्यही पालेर व्यापार गर । उसलाई गाँउलेका कुरा सुन्दा त्यस्तै गरौँ जस्तो पनि हुन्थ्यो । किन हो किन उसलाई कुखुरा माथिमात्रै निर्भर हुन मन लाग्दैन थियो ।

अचेल हरिलाई कृष्ण प्रसादको नियतमाथि शंका लाग्न थालेको थियो । त्यही शंकाले गर्दा उसले आफू बेलामा अक्षर चिन्ने हुन नसकेकोमा पछुतो मानिरहेको छ ।

२२ वर्षको हुँदा हरिले बिहे गर्यो । बिहे गर्दा सबै खुसी थिए । केबल हरि बाहेक । सबैभन्दा खुसी त झन् हरि पो हुनु पर्ने हो ! तर हरि खुसी थिएन । बेखुसी हुनुमा एउटै कारण थियो । जीवनमा एक पटक गरिने बिहेमा पनि ऋण काड्नु परेको थियो । अरुबेला यदि ऋण लिएको भए सायद उसलाई यति दुःख लाग्ने थिएन कि ? भन्न त अरुले भन्छन् “जग्गा किन्दा घर बनाउदा र बिहे गर्दा नलागेको ऋण कहिले लाग्छ ?”, भनेर । हरि भने बिहे ऋण काडेर गर्ने पक्षमा थिएन । सबैकुरा आफूले चाहे अनुसारको नहुने रहेछ । समयले हरिले जे चाहँदैन थियो आखिरी त्यही गराएर छाड्यो । उसले यही नगर्नका लागि गाँउका अरु भन्दा ढिलो गरि बिहे गर्यो । हुन त घरका समस्या अरु पनि हुँदा हुन् तर बिहेकै लागि भनेर वर्ष दुई दिन परदेशमा बस्यो । अन्ततः कृष्ण प्रसादसँग तीनहजार तीन सय सापटी नगरी बिहे फत्ते नहुने भयो ।

आफूले बेलामा पढ्न नसकेकोमा हरिलाई पछुतो छ । घरधन्दा दुईजना लोग्नेस्वास्नी मिली गर्छन् । छोराछोरीले सघाउँछन् । साहूको ऋण हरि हुँदा हरिको स्वास्नीलाई कसैले भन्दैनन्, न छोराछोरीलाई नै भन्छन् । उसलाई छोडेर अरुलाई भन्ने कुरा पनि भएन । घरको मूली जो ऊ थियो । हरिकी स्वास्नीले हरि देश गएको बेला उसमाथि हुने अन्याय सुनाउँछे । कृष्णप्रसादले गरेको दुव्र्यवहार सुनाउँछे । साहूको ज्यादतीका विरुद्ध हरिले गाउँका ठूलाबडालाई नगुहारेको पनि हैन । भेला नगराएको हो । गराउन नसकेको हो । गराउन सक्ने हैसियत नभएको हो । जाबो साँझबिहान छाक टार्न नसक्नेले गाउँ भरिकालाई कसरी भेला गराउन सकोस् । सबैले लिएको पैसा पहिले फिर्ता गर अनि अरु कुरा गरौंला भन्छन् ।

आजभन्दा १७ वर्ष अगाडि बिहे गर्दा हरिले कृष्णप्रसाद सँग जम्मा ३३ सय लिएको थियो । फिर्ता गर्दा धेरै पटक त्यो भन्दा धेरै फिर्ता गर्ने गरेको छ । कृष्णप्रसादको ऋण भने अझ सकिएको छैन् । अचेल हरिलाई कृष्ण प्रसादको नियतमाथि शंका लाग्न थालेको थियो । त्यही शंकाले गर्दा उसले आफू बेलामा अक्षर चिन्ने हुन नसकेकोमा पछुतो मानिरहेको छ ।

“दुनियाँमे आकर सब कुछ कमाया, क्या हिरे क्या मोती मगर याद राखो यारो कफनमे गोजी नहि होती”

कृष्णप्रसादसँग ऋण लिएको ६ महिनामा हो क्यारे, उसले खेतको एक टुक्रा बेचेर ४ हजार जति फिर्ता गरेको जस्तो लाग्छ । १७ वर्ष अगाडिको कुरा अहिले ठ्याक्कै सम्झना छैन । यदी लेख्न जान्ने भए लेखेर राख्ने थियो होला । हरिको हिसाबमा कृष्ण प्रसादको ऋण त्यहीँ चुक्ता भएको छ । कृष्णको हिसाबमा भने ब्याज पनि नपुगेको भनेको थियो । बेलाबखतमा आपत विपत्का बेला हात थाप्नु पर्ने त्यसै सँग भएकाले हरिले उबेला मुख फर्काएन । मुख नपर्काए पनि मनमा लागि रहेको थियो । यति पैसा दिँदा पनि कसरी ब्याज पुगेन ? भन्न केही सकेन । त्यो भन्दा पछि धेरै पटक १,२,४,६ र १० हजार सम्म गरेर कृष्ण प्रसादलाई दिँदै आएको छ । जति गर्दा पनि उसको सावाँ त परको कुरा भैगो, ब्याज पनि चुक्ता भयो भनेको छैन् ।

हिन्दीमा एउटा भनाइ छ “दुनियाँमे आकर सब कुछ कमाया, क्या हिरे क्या मोती मगर याद राखो यारो कफनमे गोजी नहि होती”, हरिलाई यति कुरा कृष्ण प्रसादलाई सम्झाउने मन छ । सम्झाउन चाहान्छ । मनमनै यही भनाइलाई कृष्णका अगाडि हुँदा खुब दोहोर्याएको छ । मुख खोल्न सक्दैन् ।

जेठी छोरी १५ वर्षकि पुगेकी छे । बिहे गरेको दुईवर्ष नपुग्दै जन्मिएकी थिई । अहिले ९ कक्षामा पढ्छे । कहिलेकाहीँ कृष्णप्रसादले हरिसँग पैसाको किचलो गरेको सुन्दा उसलाई लाग्छ, “बुवाले ३३ सय मात्रै लिएको कपाली तमसुकमा कति लेखेको रहेछ ? हेर्न पाएको भए ।”, हरिलाई यो कुरा धेरै पटक भनेकी छे । भोलि कुनै आपत् आइलाग्यो भने कृष्ण प्रसादले सहयोग नगर्ने हुन् कि सोचेर कृष्णसँग यो कुरा राख्नै सकेको छैन । हरिकी जेठी छोरी बुझ्ने भएकी छे, उसले कृष्ण घरमा ऋण उठाउन आएको बेला गरेको ज्यादती देखेकी, भोगेकी छे । भन्न केही सकि रहेकी छैन । भन्न सक्ने आँट पनि छैन ।

 

ऊसँग लिएको ऋण भोलि कुनै समस्या पर्दा उसले सहयोग नगर्ला कि भन्ने पीर

पाँच महिना अगाडिको कुरा हो । पुतली पानी ल्याएर आउदै थिई, फर्कदा कृष्ण प्रसादलाई घरको आँगनमा देखी । कृष्णले बाख्रा खोरबाट सबभन्दा ठूलो खसी निकाल्दै थियो । हरिले के भनेको थियो खै ? उसले सुनेकी छैन । कृष्णले हरिलाई भन्दै थियो, “यो खसी त के १७ वर्षसम्म तैँले लिएको ब्याज मात्रै जोड्ने हो भने तेरो सात पुस्ताले तिर्न सक्दैन । मैले त गाँउको केटो इमान्दार छ, भनेको काम गर्दिन्छ भनेर तेरो उठिबास लाएको छैन ।”, यति भन्दाभन्दै कृष्णले हरिलाई तेरी छोरी खै हलक्क बढेकी छ । बिचार गर है । बढेकी छोरीको भर हुँदैन । बाहिरबाहिर हिन्न नदे भनेको पनि सुनी । यति भन्दै खसी डोर्याएर हिँडेको थियो कृष्णप्रसाद ।

हरिकी स्वास्नी यसैको प्रन्ध दिनपछि भैँसीलाई घाँस हाल्दै हुन्छे । हरि घरमा हँुदैन् । कान्छो छोरो आँगनमा खेल्दै गरेको हुन्छ । पुतली खाना बनाउँदै हुन्छे । यसैबेला कृष्णप्रसाद हरिको घरमा पुग्छ । कृष्णलाई देखेपछि हरिकी जेठी छोरी पुतलीले पानी ल्याएर दिन्छे । पानी समाउँदा उसले अलि अशोभनीय हर्कत गर्छ । हरिकी स्वास्नीले देखेकी हुन्छे । त्यसपछि कृष्णले गरेको व्यवहारको कुरा घरमा हरि र उसकी स्वास्नीबीच हुने गरेका छन् । यसलाई लिएर उनीहरू चिन्तित र गम्भीर पनि देखिन्थे । कृष्ण प्रसादलाई भन्न केही सक्दैन थिए । भन्न नसक्नुको एउटै कारण थियो । उसँग लिएको ऋण भोलि कुनै समस्या पर्दा उसले सहयोग नगर्ला कि भन्ने पीर ।

बाख्रालाई जङ्गलमा लिएर चराउनु पर्छ । धेरै जसो त यो काम केही वर्ष यता हरि आफँैले गर्दै आएको छ । छोराछोरीलाई स्कुल पठाएर । स्कुल बिदाको समय पर्यो भने पुतलीले सघाउँछे । हरि गोठाला गएको दिन कृष्णप्रसाद उसैसँग बाख्रा लगाई दिन्छ । पुतली जाँदा ऊ पनि जान्छ । हरिले सुरुमा यसलाई जति सकारात्मक रुपमा लिएको थियो अहिले त्यसै रुपले बुझेको छैन । कृष्णको व्यवहार उसले फरक किसिमले बुझ्न थालेको छ ।

दाइ, तपाईँसँग ऋण छोरीको जवानी सँग साट्नलाई लिएको हैन ।

मान्छेलाई भोलिले कति सताउने रहेछ । भोलि तिर्न सकि हालिन्छ भनेर लिएको ऋण हरिका लागि त्यो भोलि अझै आएको छैन । तिरेर नसकिने भोलि कस्तो भोलि रहेछ । आज हरिका परिवार माथि त्यही ऋणलाई देखाएर कृष्ण प्रसादले अन्याय गरिरहेको छ । अझ पनि त्यही भोलि जुन भोलि उसलाई घर न घाटको बनायो । हरिले त्यसैमाथि चिन्ता गर्नु परेको छ ।

साँझको समय थियो । दोकानमा नुन लिन भनेर गएकी पुतलीलाई कृष्णले साहुको रवाफ देखायो । रक्सीले मात्तिएको रहेछ । छेउमा हरि बसेको थियो । हरिकै अगाडि उसले पुतलीको वक्षस्थलमा हात पुर्यायो र भन्यो “हरि, आज रात मसँग पठाइ दे तेरो ऋण चुक्ता”, आजसम्म दयाको सागर, सहयोगी हृदयको मालिक भनेर मान्दै आएको कृष्णबाट हरिले अहिले के सुन्नु पर्यो । कुन बुवाले गर्न सक्ला ऋण चुकाउन छोरीलाई देहव्यापारमा संङ्लग्नता ? हरिलाई त्यस बखत के गर्ने के गर्ने भो । उसले आँखा देख्न छोड्यो । आँखा अगाडि एक किसिमको कालो बादल डम्म छायो । त्यसै बखत पुतलिले रुन्चे स्वरमा “बा“ भनेर बोलाई । पुतलीको आवाजले उसका आँखा खोलिदियो । हरिका मनमा धेरै ठूलो हलचल नभएको हैन । यति हुँदा पनि उसले धेरै भन्न सकेन । केबल यत्ती भन्यो । “दाइ , तपाईँसँग ऋण छोरीको जवानी सँग साट्नलाई लिएको हैन ।” कृष्ण प्रसादले यति सुने पछि पुतलीलाई छोडेर हरितिर हेर्यो । हरिले भुइँतिर ।