तिम्रो रूपको वर्णन गरी म आफूलाई कञ्जुस सावित गर्न चाहन्नँ । तिमी राम्री छ्यौ- सायद यति नै काफी छ। नारी रूपको वर्णनमा विश्व-साहित्यको अनगिन्ती पृष्ठ खर्च भएका छन् । म पुनरावृत्ति गर्न चाहन्नँ। अँ, आजकल नारी रूपको मात्र वर्णन गर्दा अन्य क्षमताको अनदेखा गरियो भन्ने पनि सुनिन्छ । संक्षिप्तमा भन्दा तिम्रो रूपलावण्यले म जस्तो कमलो मनकाहरूले धैर्यता गुमाउन सक्छन्। त्यसैले तिमीसित एक्कासि भेट हुँदा हेर्न नसकी मन तिमीतिर नै भए पनि नजर अन्तै लान्छु तर चुम्बकले फलाम झैँ तानिएको हुन्छु ।
निद्रा नपरेको रात तिम्रै कल्पना गर्दागर्दै निदाउँछु । अल्लारे युवक हुन्छु र औपन्यासिक प्रेम प्रारम्भ गर्छु । सत्य, तिम्रो र मेरो वन, पाखा, पखेरा, खोलानाला, झरना, पार्क, रेष्टुरेण्ट तथा एकान्त वन्य-प्रान्त कैयौं ठाउँमा भेट भएको छ । तिमीलाई मैले थरिथरिका उपहार दिएको छु। तिमीले मलाई भएभरको अर्थात् एउटी नारीले पुरुषलाई दिन सम्भव माया दिएकी छौ । म सैनिक बनी युद्धभूमिमा जाँदा, उच्च शिक्षाको लागि बेलायत, अमेरिका वा रुस जाँदा, राजनीतिक बन्दीको रूपमा जेल पर्दा अथवा म पैसा कमाउन खाडी देश जाँदा तिमीले वर्षौँवर्ष प्रतीक्षा गरेकी हुन्छ्यौ । कहिलेकहिले त म रोगले ग्रसित भई (बाँच्ने आसा कम र मर्ने सम्भावना बढी) महिनौँ हस्पिलाइज्ड हुँदा अहोरात्र मेरो सेवा गरेकी हुन्छ्यौ । यसो हेर्दा मैले बेहोरेको पीडा तिम्रो मुहारमा प्रतिबिम्बित भइरहेको हुन्छ । कुनै रात त तिम्रो परपुरुषसँग विवाह हुँदैगर्दा तिमीले मण्डपबाट नै विद्रोह गरेकी हुन्छ्यौ । अनि कुनै रात त जब भ्रष्टाचारी वा दुई नम्बरी गुन्डो छोरो हरतरहले तिमीलाई छोप्न राक्षसी पञ्जा फैलाउँछ, मैले बडो मुश्किलले उसको पञ्जाबाट छुटाएको हुन्छु ।
हो, तिमीलाई मैले कैयौँ पटक भगाएको छु । भागेर हामी कहिले पोखरा, कहिले सुर्खेत, कहिले धरान त कहिले धनकुटा पुगेका छौँ। कैयौँ पटक त हामी मनाङ, मुस्ताङ, रोल्पा, डोल्पामा शिक्षक बनेका हुन्छौँ । कुनै रात त तिमीलाई भगाउने चाँजोपाँजो मिलाउँदा मिलाउँदै निदाउँछु र रातभर सपनामा हामी भागिरहेका हुन्छौँ। तिमीलाई लिएर हिँड्नु पनि कम खतरा छैन। एक इतिहासकारले भनेका छन्-विश्वविख्यात सुन्दरी क्लियोपेट्राको नाक अलिकता मात्र लामो भएको भए आजको विश्वको राजनीतिक भूगोल नै अर्कै हुन्थ्यो। त्यसैले म हरबखत चनाखो हुन्छु। गुन्डा त के तिम्रो सुरक्षार्थ म कुनै पनि भौतिक वा अभौतिक शक्तिसँग लड्न तयार छु। मसँग त्यो आत्मबल छ र त्यसको श्रोत तिमी नै है।

रामबाबु घिमिरे
म प्राय:अनिदो झैँ देखिइन्छु । कारण तिमीले रिसाएको वाहाना गर्दा तिमीलाई फकाउँदा फकाउँदै रात बितिसकेको हुन्छ । मनमा फगत तिमी हुनाले म भ्रमित भइसकेको छु सायद । त्यसैले लाग्छ, म यथार्थ र कल्पना विभेद गर्न असक्षम भइसकेको छु । थाहा छ, तिमी मेरो प्राप्ति भन्दा धेरै पर छौ । आफ्नो सीमा बुझेर नै म कहिल्यै तिम्रो सामु अभिव्यक्त हुन सकिनँ । मलाई यो पनि थाहा छ, तिम्रो कल्पना गर्नु वा स्वर्गकी कुनै अप्सरा अथवा चलचित्रकी कुनै नायिकाको कल्पना गर्नु उस्तैउस्तै हो । तर अहँ होइन, स्वर्गकी अप्सरा कोरा वर्णनमात्र, चलचित्रकी नायिका मात्र छायाङ्कन तर तिमी प्रत्यक्ष सजीव सग्लो नारीसुन्दरताको जीवन्त प्रतिमूर्ति । यथार्थमा तिमीसँग मेरो मनोवाद भए पनि सम्वाद भएको छैन। सम्वाद नै भए पनि म अभिव्यक्त भएको छैन। यस्तो सोचे पनि हुन्छ- म वर्षौँदेखि तिमी वाचाल हुनुको प्रतीक्षामा छु। यसको अर्थ हामी टाढा छौँ भन्ने होइन। यति मात्र कि हाम्रो प्रेमले भाषिक सहुलियत प्राप्त गरेको छैन। तिम्रो स्वनिर्णयको सम्मान गर्दै म हाम्रो प्रेमलाई मौन प्रेम भन्न रुचाउँछु । आत्मीयताका लागि शारीरिक निकटता नै हुनुपर्छ भन्ने हुँदैन। धर्तीको मान्छेले स्वर्गका देवताको उपासना गर्छ भने हामी त एउटै गाउँका एउटै ठाउँका । तिमी हिँडेको बाटो म पनि हिँडेको छु, तिमी रुझेको झरीमा म पनि रुझेको छु । अनि तिमीले चुल्ठोमा सिउरेको सयपत्रीको सुगन्ध मैले पनि अनुभव गरेको छु।
भनिन्छ – पागल, प्रेमी र कवि अनिंदा हुन्छन् । यतिखेर अर्थात् यो कालरात्रीमा म तिम्रो उपासना गर्दै छु। थाहा भएन किन देवीको उपासना कालरात्रीमा गरिन्छ। जुनेली रात आउने आशा र भरोसा भएपछि कालरात्रीको कहर पनि केही झैँ लाग्दो रहेनछ । सम्भवत: यतिबेला तिमी मस्त निद्रामा हौली । तिम्रो निद्रामा मैले आफ्नो सपना देख्ने गरेको छु। विपनामा हाम्रो दुरत्व भए पनि सपनामा हामी साथ-साथ हुन्छौँ, आसपास हुन्छौँ।
मेरा लागि मोक्ष प्राप्ति भनेको नै तिमी हौ। तिमी नै विषय वासना हौ भने म कल्प-कल्पान्तर विषयवासनामा रुमलिन तयार छु।
म लामो गन्थन गरेर तिमीलाई दिग्दार पार्न चाहन्नँ । कति सुनाऊँ- आत्मपलायनका कुरा । म अब हिम्मतिलो, आँटिलो र साहसिलो बन्ने तरखरमा छु। गोपालप्रसाद रिमालको अनुयायी हुँ म । अबको भेटमा रिमालको निर्देशानुसार प्रष्ट प्रस्ताव राख्ने छु – म तिमीलाई गर्भाधान गर्छु । एउटा जिउँदो पुत्रप्राप्तिको चाहना तिमीमा पनि होला । सम्भवत: यस्तै क्रान्तिकारी कुराले रिमाल बौलाए, बौलाएको आक्षेप लाग्यो। मलाई पनि आक्षेप लाग्नसक्छ तर मलाई किन्चित पर्वाह छैन । किनकि तिम्रो प्रेममा मलाई बौलाउन मञ्जुर छ। मलाई तिम्रो प्रेम रक्सीजस्तै वा गाँजाजस्तै लागोस् र मलाई तिमीबाहेक कुनै कुराको हेका नरहोस्।
म तिम्रो प्रेममा उत्सर्गित हुन चाहन्छु, आफ्नो अस्तित्व तिमीमै समाहित गर्न चाहन्छु। शिवजीले जस्तै अर्धनारेश्वरको रूप धारण गर्न तयार छु। तर प्रिय ! म मिलनको लागि आतुर छैन। म वर्षौँवर्ष प्रतीक्षा गर्न प्रतिबद्ध छु, युगयुग प्रतीक्षा गर्न प्रतिबद्ध छु। यदि तिमीलाई पुनर्जन्ममा विश्वास छ भने म पटक पटक जन्मन तयार छु। जब कि तिमीलाई थाहा छ, हिन्दूहरू सांसारिक विषय वासनाबाट मुक्त हुन पुनर्जन्मबाट मुक्ति चाहन्छन् । मेरा लागि मोक्ष प्राप्ति भनेको नै तिमी हौ। तिमी नै विषय वासना हौ भने म कल्प-कल्पान्तर विषयवासनामा रुमलिन तयार छु। होइन, तिमीलाई आत्माको अमरतामा विश्वास छैन भन्ने यो नश्वर चोला कुनै पनि बेला त्याग्न तयार छु, यति मात्र कि त्यो तिम्रो खुसीको लागि हुनुपर्छ।
तर प्रिय ! तिमीलाई किन ढाटूँ- अथाह यातनामा छु । कमसेकम मेरो मानसिक सन्तुलनका लागि तिमी त्यति राम्री नहुनुपर्ने।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

