पछिल्लो समय सार्वजनिक पुस्तकालय तथा विद्यालयहरूमा कतिपय पुस्तकहरू प्रतिबन्धित हुन थालेका छन् । प्रतिबन्धित पुस्तकहरूले विद्यालय र पुस्तकालयका बजेट कटौती भएपछि तिनलाई आफ्नै निजी खर्चमा कयौँ पुस्तकालयहरूमा दान दिने क्रम बढ्न थालेको छ ।

यस कार्यमा प्रख्यात पप गायिका पिंक सबैभन्दा अग्रभागमा देखापरेकी छन् । उनले पेन अमेरिका र फ्लोरिडा बुकसेलर बुक्स एन्ड बुक्ससँगको सहकार्यमा दुई हजारभन्दा बढी पुस्तकहरू किनेर वितरण गरेकी हुन् । उनको हालै एउटा कन्सर्टको अवसर पारेर फ्लोरिडामा उनले पुस्तक दान गरेकी हुन् ।

पेन अमेरिकाले हालै प्रतिबन्धित पुस्तकहरूको एउटा सूची नै जारी गरेको छ । सन् २०२२-२०२३ का लागि प्रतिबन्धित पुस्तकहरू खोजी खोजी पिंकले दान गरेकी हुन् ।

पेन अमेरिकाले यसअघि पनि सन् २०२१-२०२२ मा प्रतिबन्धमा परेका पुस्तकहरूको सूची जारी गर्दै ती पुस्तकलाई विद्यालय तथा सार्वजनिक पुस्तकालयलाई दान गर्न आग्रह गरेको थियो । पिंकसँगको सहकार्य सोही कार्यक्रमको निरन्तरता भएको पेन अमेरिकाले जनाएको छ ।

कुनै समयका प्रख्यात पुस्तकहरू टोनी मोरिसनको बिलभिड, अमान्दा गोरम्यानको द हिल वि क्लाइम्ब, रेश्मा सौजानीको गर्ल्स हु कोड तथा टोड पारको फ्यामिली बुक समेत रहेका छन् ।

गत साता उनले इन्स्टाग्राममा एउटा भिडियो हाल्दै भनेकी छन्, ‘यसरी पुस्तकलाई प्रतिबन्ध लगाउनु दुविधाजनक, आक्रोशपूर्ण र विचार रोधक प्रतिक्रिया हो । यस्ता क्रियाकलाप तुरून्त रोकिनुपर्छ । पेन अमेरिकाकी अध्यक्ष सुजान नोसेललाई समेत सो भिडियोमा देख्न सकिन्छ । सो भिडियोलाई ३३ हजारले मन पराएका छन् ।

गायिका पिंकले भिडियोमा भनेकी छन्, ‘मेरो जीवनमा किताबले ठूलो भूमिका खेलेको छ । विद्यालयले किताब प्रतिबन्ध लगाउने कुरा म सोच्न पनि सक्दिनँ । विषयवस्तुका हिसाबले के पढ्ने भन्ने छनोट विद्यार्थीहरूलाई नै गर्न दिनुपर्ने भन्दै उनले जातिभेद, लैंगिक भेदजस्ता कुरा विद्यालयमा छिर्न दिनु नहुने टिप्पणी गरेकी छन् । हरेक विषयलाई देशले उत्तिकै महत्त्व दिनुपर्ने भन्दै उनले त्यसैले आफू यो अभियानमा सरिक भएको बताएकी छन् ।

हालैको एक अध्ययनअनुसार, अमेरिकामा सबैभन्दा बढी किताबमाथि सेन्सर हुने राज्य टेक्सस थियो । अहिले टेक्ससलाई उछिनेर फ्लोरिडा सबैभन्दा बढी किताब प्रतिबन्ध गर्नेमा उक्लिएको छ । यसले १४०६ वटा पुस्तकलाई प्रतिबन्ध लगाएको छ । टेक्ससमा ६२५, मिजोरीमा ३३३, उटाहमा २८१ र पेन्सिलभेनिया राज्यमा १८६ वटा किताबको सूची प्रतिबन्धमा परेका छन् । अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले किताब प्रतिबन्ध बढेको पेन अमेरिकाले जनाएको छ ।

उता पेन अमेरिकाको सूचीमा फ्लोरिडा उक्लिएपछि राज्यका गभर्नर रोन डिसान्टिसले किताब प्रतिबन्धको आरोप हल्ला मात्र भएको प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्, ‘किताब प्रतिबन्धको हौवा फैलाउनेहरूको षडयन्त्र विफल पार्न जरूरी छ । विषाक्त चिज रोकिनुपर्छ र सार्वजनिक विद्यालयमा त अझ बढी रोकिनुपर्छ ।’