प्रसिद्ध नाटककार तथा अभिनेता ओनिल संयुक्त राज्य अमेरिकाको न्यु योर्क सिटीमा १६ अक्टोबर १८८८ का दिन जन्मेका थिए। उनका बाबु जेम्स ओनिल आफ्ना समयका एक प्रसिद्ध अभिनेता थिए। सन् १९०७ सम्म प्रिन्सटन विश्वविद्यालयमा अध्ययन गरेपछि ओनिल सुनको खोजीमा दक्षिण अमेरिकातिर लागे ।
नाटकमा अमेरिकी लवजको बोल्ने भाषाशैली प्रवेश गराउने पहिलो नाटककार यिनै थिए । चेखोव, इब्सन र स्वीडिस नाटककार अगस्ट स्ट्रिनबर्गबाट प्रभावित यथार्थवादी नाट्य परम्परालाई ओनिलले सर्वप्रथम अमेरिकी रङ्गमञ्चमा प्रवेश गराएका थिए । उनका प्राय सबै नाटक दुखान्त छन् । नाटकमा आफ्नो आशा र उत्साह जगाउन पात्रले जतिसुकै सङ्घर्ष गरे तापनि अन्त्यमा ती हतोत्साहित हुन्छन् र कुनै न कुनै निराशाको खाडलमा जाकिन पुग्छन् । उनले हास्य नाटक धेरै कम लेखेका छन्, ती मध्ये ओहो, कस्तो जङ्गल (Ah, Wilderness!) नाउँको नाटक प्रसिद्ध छ ।
उनी न्यू लण्डन टेलिग्राफका सम्वाददाता पनि भए । सन् १९१२ देखि उनलाई क्षयरोगले भेट्यो । त्यसको उपचारको निम्ति उनी वालिङ्टन गेलार्ड फर्म सेनिटोरियममा भर्ती भए । उनले अमेरिकाबाट पुलिटजर र अन्य कैयौँ पुरस्कार प्राप्त गरे । युजिन ओनिललाई क्रमसः सन् १९२०, २२, २८ र ५७ गरी चारपटक पुलिटजर पुरस्कार प्रदान गरिएको थियो । ती पुरस्कृत कृति यी हुन् : बियोन्ड द होराइजोन, आन्ना किस्टी, स्ट्रेन्ज इन्टरल्युड र लङ् डेज जर्नी इन्टु नाइट ।
ओनिलले सन् १९३५ को नोबेल पुरस्कार जितेका थिए । निम्नलिखित उनका प्रमुख नाटकहरू हुन्ः- १) क्षितिजपारी (Beyond the Horizon), २) हिमाली मान्छेको आगमन (Iceman Cometh), ३) अँध्यारोमा लामो यात्रा (Long Day’s Journey into Night), ४) सुश्री बिगटनको निम्ति चन्द्रमा (A Moon For Miss Bigotten) र ५) माकुराको जालो (Web)
नोभेम्बर २७, १९५३ क्राइस्टाब्दमा संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स, बोस्टनमा उनको देहान्त भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।