उनले विचार गरे, “यो बच्चा पक्का पनि शान-शु नै हो । बडाहाकिम साहेबले भुईँतिर देखाएको मतलब – म माटोमुनि गइसके पनि अर्को बडाहाकिमले आएर मेरो इच्छा पूरा गर्ला – भन्ने हो कि ? उनले आफ्नै हस्ताक्षरले इच्छा पत्र लेखेर दिइसकेका छन् । अब त्यसबारे केही गर्न सक्नु त गाह्रै छ । होइन – उनले यस तस्बिरमा एउटा गुह्य कुरो छ – भनेका छन् । तसर्थ यो मामुली तस्बिरै हो भन्न पनि सकिन्न । यो रहस्य मैले फेला पार्न सकिनँ भने कमाएको नाम त्यसै जानेछ ।”
सधैँका कामकाज सिद्ध्याइसकेपछि उनी दिनहुँ त्यसै तस्बिरलाई खोलेर जाँच्ने गर्दथे । धेरै दिन मगज खियाउँदा पनि कुनै मर्म बुझिएन । तर, त्यो रहस्य आखिरमा खुल्नै पर्ने भएको हुँदा एउटा बाटो पनि भेटिन आयो ।
एक दिन दिउँसो खाई पिई फुर्सतका बखत उनी त्यही तस्बिर हेरिरहेका थिए । एउटी सुसारेले चिया ल्याएर टक्र्याई । यसो लम्केर भाँडो समातूँ भन्दा छचल्किएर अलिकति चिया तस्बिरमा पनि पर्न गयो । भाँडो त्यहीँ राखेर ‘तस्बिर घाममा सुकाउनुपर्यो’ भनी बडाहाकिम बाहिर बरन्डामा निस्के । भिजेका भागमा घाम पर्दा तस्बिरका तल केही लेखिएको जस्तो लागेर उनलाई आश्चर्य लाग्यो । टाँसिराखेका कागजबाट उनले तत्कालै त्यो तस्बिर उप्काए । कागजका दुई पत्रका बिचमा लेखोटसहितको एउटा अर्को कागज घुसारिएको रहेछ । झिकेर हेर्दा त्यो त बडाहाकिम निको इच्छा पत्र पो रहेछ । त्यसमा लेखिएको रहेछ-
यो इच्छा पत्र असी नाघिसकेको र तसर्थ कुनै दिन पनि मर्न सक्ने एउटा बुढो बडाहाकिमको हो । कान्छी स्वास्नीपट्टिको मेरो छोरो शान-शु अहिले भर्खरै एक वर्षको भएको छ । बालिग भइसक्न उसलाई अझै निकै वर्ष लाग्नेछ । यस कुराले मलाई साह्रै पिर परेको छ । जेठीपट्टिको मेरो छोरा शान- चीमा मातृपितृभक्तिको नामै नभएको हुनाले त्यसले पछिपरन्तु भाइ चाहिँको कुनै अपकार गर्ला कि भन्ने मलाई ठुलो डर छ ।
सारा जग्गा जमिन र हालै किनेका आफ्ना दुई ठुला चीलाई नै दिन्छु । शान-शु देब्रेपट्टिको सानो घर मात्र पाओस् । त्यो घर ठुलो नभए तापनि त्यसका देब्रेपट्टिका गाह्रामन्तिर पाँच घडामा गरी पाँच हजार टेल चाँदी गाडिएको छ । त्यसैका दाहिने गाह्राका तला गडिएका छ घ्याम्पामा पाँच हजार टेल चाँदी र एक हजार टेल सुन छ । जमिनका सट्टा शान-शुलाई त्यति दिए पुगी पनि हाल्ला ।
यो कुरा मिलाइदिने बुद्धिमान् हाकिमलाई शान-शुले ती सय टेल चाँदी पुरस्कार दिनू ।
वर्ष एकसिको नी शाओ-चीन।
वर्ष एकासिको
नी शाओ-चीइन ।
इच्छा पत्रमा दस्तुरबमोजिम मिति र बडाहाकिम साहेबको छाप पनि थियो ।
आफू एकासी वर्ष पुगिसकेको र उता शान-शु भर्खरै वर्ष दिनको मात्र भएको देखेर बडाहाकिम नीले यो इच्छा पत्र साहै दूरदर्शिताका साथ तयार पारिसकेका रहेछन् । बुढा पुरानाहरूले – बाबुसिवाय छोरो चिन्ने को होला ? – भनेको ठिकै हो ।
बडाहाकिम तेङ अवसरको लाभ लिइहाल्न सक्ने खालका ज्यादै चतुर मानिस थिए । यतिका सुनचाँदीका कुराले उनको याल चुहुन थाल्यो । निधार खुम्च्याई खुम्च्याई विचार गर्दा उनका मगजमा एउटा उपाय फुर्यो र उनले नि शान-चीलाई तुरुन्तै अड्डामा हाजिर हुनू – भन्ने खबर दिन एउटा सिपाही दौडाइहाले ।
शान-ची एकलौटी भेट्टाएका आफ्ना जायदातमा आनन्दसाथ ढलीमली गरिरहेको थियो । अड्डाखानामा तुरुन्तै हाजिर हुन् भन्ने बोलावट भएकाले ऊ तर्यो । तर, नगई नहुने भएकोले त्यसले सिपाहीकै साथ हिँडी पनि हाल्नुपर्यो । ऊ अड्डाखानामा पुग्दा बडाहाकिम साहेब कचहरीमै रहेछन् ।
सिपाहीले नि शान-ची हाजिर भएको खबर पुऱ्याउनासाथ बडाहाकिमले त्यसलाई हाजिर गरिहाल्ने आज्ञा दिए ।
बडाहाकिमले सोधे, “तिमी नै बडाहाकिम नीका जेठा छोरा हौ ?”
“हुँ श्रीमान् ।”
“तिम्री कान्छी आमाले तिम्रा नाममा उजुर गरेकी छन् । कान्छी आमा र भाइलाई घरबाट धपाएर तिमीले बाबुको जम्मै जग्गा गमिन र धन सम्पत्ति एकलौटी पार्यौ रे – कसो भन्छौ ?”
शान-चीले भन्यो, “कान्छी आमातर्फको भाइ शान-शुलाई मैले वर्ष दिनको हुँदैदेखि पाली पोसी हुर्काएको हुँ । हालसाल मात्र ती आमाछोरा आफैँले छुट्टिएर बस्ने इच्छा गरे, मैले धपाएको त होइन । सम्पत्तिका हकमा भने – स्वर्गे हुनुअघि बुवाले आफ्नै हस्ताक्षरले लेखे दिनुभएको इच्छा पत्रबमोजिम बाँडिएको हो । उहाँको इच्छा विरुद्ध चल्ने साहस मैले गरेको होइन ।”
“त्यो इच्छा पत्र खोइ ?”
“घरैमा छ, नजर गराउन जहिले पनि हाजिर गर्न सक्तछु ।”
“परेका उजुरअनुसार जमिनदारी दश हजार लच्छा नगदी मोल पर्ने छ । यसलाई चानचुने रकम भन्न सकिन्न । त्यसो हुँदा, इच्छा पत्र सक्कली, नक्कली क्या हो – नजाँची पनि भएन । एउटा हाकिमकै छोरो भएकाले तिमीलाई नाहक अप्ठेरोमा पार्ने इच्छा पनि छैन । तिम्री कान्छी आमा र उनका छोरालाई समेत डाक्न पठाएर भोलि आफ्नै आँखाले तिम्रो जग्गा जमिन हेर्न म खुद तिम्रा घरमा आउँला । अंशबन्डामा कुनै किसिमको अन्याय पर्न गएको देखेमा इन्साफ गर्दा कसैको मुख हेर्ने खालको मानिस म होइन, बुझिराख ।”
यति सुनाएर बडाहाकिम साहेबले शान-चीलाई बाहिर लैजाने आज्ञा दिए । त्यसपछि उनले भोलि बिहानै शान-शुका आमाछोराले मुद्दामा हाजिर हुनू भन्ने खबर दिन सिपाही खटाई पठाए ।
घुस बकस पाएका सिपाहीहरूले कुनै टन्टा बखेडा नझिकी शान- चीलाई सरासर घर फर्कन दिए र आज्ञानुसार खबर दिन पूर्वेगाउँतिर दौडी पनि हाले ।
बडाहाकिमले ठाडै हप्काउने भाव देखाएका हुनाले शान-ची अतासिएको थियो । जग्गा जमिनमा साँच्ची नै अंशबन्डा भएको होइन । नाताकुटुम्बीहरूले गुहाई बकी नदिएसम्म इच्छा पत्र भएरै मात्र पनि सबै कुरा त्यसै मिलिहाल्ने खण्ड थिएन । त्यसो हुँदा बडाहाकिमले भोलि आएर इच्छा पत्रका विषयमा जाँचबुझ गर्न थाले भने आफ्ना पक्षमा गुहाई बहिदिने अनुरोध गरी ऊ त्यस रात धेरै बेरसम्म आफ्ना नातागोताका सबै हाँगाका थकालीहरूलाई चाँदीका उपहार साथ भोलि बिहान आइपुग्ने खबर पठाउन व्यस्त रह्यो । बाबु मरेदेखि यता शान-चीले तीमध्ये कसैलाई पनि कुनै किसिमको सरसौगात पठाएको थिएन । चाडपर्वका मौकामा आएर एक डबका रक्सी नै पिएर गइहाल्नुहोस्
न त भनेर पनि त्यसले कसैलाई बोलाइटोपलेको होइन । आज भने ऊ सबैलाई चाँदीका साँप्लाका साँप्ला पठाउँदै छ ! सुखका दिनमा एउटा धूपसम्म नबाल्ने र दुःख आइपर्दा बुद्धका पाउ पक्री रुन जाने धेरै हुन्छन्, शान-ची पनि त्यस्तै खालको मानिस थियो । नातादारहरू त्यसको यस्तो चाला देखेर मनमनै हाँसे । पाएको चाँदी खल्तीमा घुसार्दै उनीहरूले भोलि बडाहाकिमले आएर कस्तो चालामाला देखाउँदो रहेछ ? – हेरी केही भन्नै परे भन्दै गरुँला भन्ने विचार लिए । एउटा समकालीनले भनेको पनि छ-
आफ्नै विमाता अनि भाइ आफ्नै-
दुःखी भए ती, अपराध तिम्रै ।
दिन्थ्यौ हिजो रेसम भाइलाई
पर्दैनथ्यो खर्चन आज चाँदी ।।
सिपाहीहरूलाई बोलावटको खबर पाउँदा शान-शुकी आमाले बडाहाकिम साहेबले हाम्रो भलो गर्न लाग्नुभयो भन्ने बुझी । तसर्थ छोराका साथ ऊ भोलिपल्ट बिहानै अड्डाखानामा हाजिर भई ।
बडाहाकिम तेङले भने, “तपाईँ र बाबु नभएको तपाईँको टुहुरो छोरोलाई देख्ता मलाई साहै माया लाग्दछ । स्वभावतः म तपाईँको केही भलो गर्न चाहन्छु । तर, शान-चीले आफ्ना बाबुकै हातले लेखेको इच्छा पत्र बमोजिम काम गरेको हो भन्ने सुन्दछु । त्यसमा अब मैले के गर्न मिल्ला ?”
बिचरी विधवाले भनी, “हुन त त्यो इच्छा पत्र उनकै बुबाले लेखिबक्सेको हो । तर त्यसो गर्नुपरेको त मेरो यसै छोरोको रक्षाका लागि हो । त्यसैबाट उहाँको भित्री अभिप्राय सारा बुझी नै हालिने त होइन । श्रीमान्बाट बहीखाता र इच्छापत्रमा जग्गाजमिन सम्बन्धी सबै महलहरू आफैँ नजर भए कुरा स्पष्ट भइहाल्नेछ ।”
बडाहाकिमले भने, “घर झगडा मिलाइदिनु इमानदार हाकिमका लागि साहै गाह्रो काम हो भन्ने उखानै छ । तपाईँ आमा छोरालाई खान लाउन प्रशस्त पुगोस् भन्नेसम्म म विचार गरिदिन सकुँला, त्यसभन्दा बढीको आशा त नगर्नुहोस् ।”
मेइले भनी, “के खाऊँ, के लाऊँ भन्नु परेन भने हामीलाई पुगिहाल्यो । त्यतिले नै सन्तोष गरौँला । शान-ची जस्तै धनी भइहाल्ने कुरा हामी चिताउँदा पनि चिताउँदैनौँ ।”
बडाहाकिमले तिनीहरूलाई शान-चीका घर गई त्यहीँ पर्खिरहनु भनी बिदा गरे ।
यता शान-चीले बैठक कोठा बढारीवरी सिनित्त पार्न लगायो । सम्मानित अतिथिका लागि त्यसले बाघका छालाले मोहोरेको एउटा मेच बैठकमा राख्न लगायो । आफूसित भएकामध्ये सबैभन्दा असल चाहिँ धूप बैठकमा बाल्न लगाइसकेपछि त्यसले नातादारहरूलाई ठिक समयमा पाल्नुहोला भन्ने अनुरोधसाथ फेरि खबर पठायो ।
त्यत्तिकैमा शान-शु र त्यसकी आमा पनि टुप्लुक्क आइपुगे । भेला भएका कुटुम्बीहरूलाई एक एक गरी ढोगेर तिनीहरूले हाम्रा लागि पनि केही भनसुन गरिदिनुपर्छ भन्ने निवेदन गरे । तिनको चालामाला देखेर शान-ची झोक्किनसम्म झोक्कियो । तर, त्यस मौकामा झोक देखाउनु खराब हुने भएकाले त्यसले मनको रिस मनैमा दबाएर राख्नुपर्यो । उता अरूहरूचाहिँ बडाहाकिमका अगाडि भन्नुपर्ने कुराको विचार गर्न लागे ।
त्यत्तिकैमा टाढैबाट अफिसरहरू आउँदा तिनका अघि अघि कराएर हिँडिने आवाज सुनियो । आफ्ना लाएका लुगासुगा स्याहारेर शान-ची बडाहाकिम साहेबको स्वागत गर्न दौड्यो । काइदाकदर जान्ने केही बुढापाका कुटुम्बीहरू पनि त्यसका पछि लागे । ठिटामिटा र सङ्कोची स्वभावका चाहिँ ढोकाका पर्दापछाडि लुकेर सारसले झैँ आफ्ना घाँटी तानी तानी यताउति चियाउन थाले । निशान र झन्डा बोक्ने सिपाहीहरूलाई दुई लाम अघि लाएर आइरहेका ती योग्य र बुद्धिमान् अफिसरको निलो चँदुवावाल तामदान छिटै तिनका दृष्टिमा पर्यो ।
बडाहाकिम साहेब शान-चीका ढोकामा पुग्नासाथ साथ आउने सिपाहीहरूले घुँडा मारेर तिनको नारा लगाए । शाचीका साथै शान-शुका आमाछोराले पनि घुँडा मारेर उनको स्वागत गरे । सिपाही नाइकेले तिनीहरूलाई अब उठे भयो भन्यो । उनीहरू उठिसकेपछि त्यो ठुलो तामदान डोलेहरूले जमिनमा राखिदिए, र बडाहाकिम साहेब बिस्तारै बिस्तारै बडा रबाफसाथ त्यसबाट ओर्ले ।
जसै उनी घरको सँघार नाघेर भित्र पस्न लागेका थिए उनले बारम्बार शून्यमै नम्रतापूर्वक नुहेर कुनै अदृश्य घर मालिकको स्वागत सत्कारको जबाफ दिएको देखियो । त्यहाँ जम्मा भए जति सबै छक्क परेर तिनको त्यो चाला हेर्न लागे । बैठकसम्म पुगुन्जेल बाटाभरि उनी नम्रतापूर्वक नुही नुही कसैसित शिष्टाचारका कुरा गर्दै गइरहेको देखियो । बैठकमा पुगेर एक पटक उनले बाघका छालाले मोहोरेका मेचतिर टाउको फर्काए – मानौँ कसैले उनलाई त्यसमा विराजमान हुन अनुरोध गर्यो । अनि स्वागत गर्ने मानिसले झैँ एउटा अर्को मेच तानेर उनी आफू त्यसैमा बसे । विनम्रतापूर्वक बारम्बार नाइँ नाइँ गरेपछि मात्र उनी आफ्ना लागि राखिएको त्यस विशेष मेचमा बसे ।
बडाहाकिम साहेबले कुनै भूत त देख्नुभएन ? – भन्ने डरले कसैले पनि उनका नजिक पर्ने आँट गरेन । आश्चर्यले अकमकिएका तिनीहरूले दुवैपट्टि त्यसै उभिएर वाल्ल परी हेरि मात्र रहे ।
नम्रतापूर्वक हात बाँधी बसेका बडाहाकिमले अदृश्य व्यक्तिसित भने, – “महाशय, तपाईँकी श्रीमतीले सम्पत्तिका विषयमा मकहाँ उजुर गर्नुभएको छ । त्यसलाई कसरी मिलाइदिने हो, तपाईँको के राय छ ?”
यति भनेर उनी कुरा सुनिरहेको जस्तो गरी बसे । त्यसका निकै बेरपछि उनले टाउको हल्लाउँदै डराएको भाव देखाई जिभ्रो काढे ।
उनले भने, “तपाईँका जेठा छोराको चालचलन त साँच्ची नै नराम्रो हो ।” केही बेर फेरि ध्यानपूर्वक सुनेझैँ गरेर उनले सोधे, “पूर्वपट्टिको सानो चाहिँ घर ? तर, खर्चबर्च केले चलाउला नि ? त्यसै गर्नुपर्ला, म आफैँ गराइदिउँला । अँ, हो, हो । हुन्छ, लौ कान्छो छोराको लागि पनि ? हुन्छ, तपाईँले भनेझैँ नै गरिदिउँला ।
त्यसपछि केही बेर फेरि त्यसै मौन रही बडाहाकिम साहेबले दुवै हात जोरे । अनि साहै अप्ठ्यारो मानेर बारम्बार नामन्जुरी देखाउँदै उनले भने, “यति ठुलो उपहार मैले कसरी स्वीकार गर्ने ? यसमा त मलाई माफ गर्नुपर्दछ ।”
केही बेरपछि अन्त्यमा केही नलागेझैँ गरी उनले भने, “तपाईँको यत्रो आग्रह छ भने हुन्छ, मान्नैपर्यो । कान्छो छोराका लागि सम्पत्तिको अख्तियार पत्र पनि त मैले नै बनाइदिनुपर्यो ।”
त्यसपछि उठेर उनले अनेक पटक नुही नुही बिदा मागे ।
त्यहाँ आएका जति सबै छक्क परेर यो तमासा हेरिरहेका थिए । उनीहरूले देखे – यति सब गरिसकेपछि मात्र बडाहाकिम साहेबले बल्ल अरूतिर हेर्ने फुर्सत पाए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

