अचेल मेरो दिनचर्या बडो कठोर र स्मरणहीन भएर बितिरहेछ । यसमा कुनै आलङ्कारिक शब्द वा कुनै व्यञ्जना छैन । यो सत्य हो । म यथार्थमा बेकारी जीवन बोकेर दौडिरहेछु । कहाँ ? अब यो प्रश्नचाहिँ नसोध्नुहोला । मसँग यसको कुनै टीठलाग्दो उत्तर छैन । म…बेकारी…एक निहत्था नागरिक…एक निरीह जन…जसको कुनै महत्त्व छैन र हुने पनि छैन, कुनै पनि इतिहासमा, कुनै पनि देशमा, कुनै पनि परिवारमा ।

हो, कथा भने धेरै हुन सक्छन्, जस्तो मेरो पनि कथा छ । म पनि पात्र हुन सक्छु । उसो भए आउनुहोस् महोदय म तपाईंलाई मेरो कथा सुनाउँछु । एकादेशमा होइन, यही देशमा एउटा पात्र रहेछ र ऊ…!

० ० ० ०

बाँच्नुको कथासँगै दिनचर्या

ऊ एक फेर बाहिर निस्केपछि सधैँजसो आकाशतिर हेर्छ । आकाशमा अचेल बादलैबादल देखिन्छ । बादल देख्ता उसलाई कस्तोकस्तो लाग्न थाल्छ । कस्तो ? यसको कुनै ठेट उत्तर भने छैन, किनभने यस प्रश्नमा उसको कुनै पनि मोह देखिने छैन । त ऊ यति बेला बाहिर पुगेको छ । आकाश हेरेपछि सडक हेर्न थाल्छ ।

सडक सधैँझैँ जाम, हूल, ध्वनि कर्कश प्रवाहमानले युक्त । ऊ यी सबबाट निर्लिप्त भएर हिँड्न थाल्छ एक्लै फटाफट । आज पनि उसको यात्रा भनेको काम खोज्नु नै हो ।

हातमा झोला बोकेर हिँड्न थालेको पनि कति भइसकेको छ । पूर्वसत्ताका खुँखार कपटसिंहले उसको खानु खोसेपछि यथार्थमा ऊ शिक्षित भएर पनि अति नै दयनीय अवस्थामा बाँच्नुपर्ने भएर बाँच्तै जीवन भोग्दै छ ।

आज पनि यस समयमा ऊ र उसको झोला सँगसँगै यात्रा गरिरहेछ । यस्तो क्रम कति भएछ, चली नै रहेछ, ऊ हिँडिरहेछ । थाकेको छैन । हेर्नु छ, देश र भाग्य अझ कति कठोर हुने हो !

अपसोच, आजको यात्रा पनि उसको सकिनै लागेको छ । सफलता आज पनि उसको हात लागेको छैन । ऊ निराश होइन, क्लान्त भएर हिँडिरहेछ । आजको उसको युद्ध सकिएको छ । फर्कंदा उसको त्यो झोलाबाहेक उससँग अरू केही पनि छैन । मुटुमा असफलताका जँघारहरू जस्तातस्तै बढिरहेकै छन् । बाँच्नुको नियति जति कठोर होस्, बाँच्न भने छोडिन्न, यो प्रण सधैँ उसको मुटुभित्र यथावत् रहने गरेको छ ।

० ० ० ०

एउटा बिम्बको प्रकट

ऊ थाकेर थुम्कोमा बस्न पुग्छ । विशाल रूखको छहारीमा एकछिन आनन्दले आँखा चिम्लेर बस्छ । शीतल हावा पनि मानौँ उसका लागि नै चलेका हुन् । यति त छ उसका लागि उपलब्ध आनन्द, अरू त खोइ के नै छ र ? हावाले उसको थकाइलाई विश्रान्ति दिइरहेछ । उसका आँखा लोलाउन थाल्छन् । उसको यस लोलाइमा ऊ आफूलाई बिर्सन थाल्छ ।

यो छहारी, यो ठाउँ ऊ प्रायशः बाहिरबाट वा कतै गएर फर्केपछि बस्ने ठाउँ हो । उसको फिर्ती प्रक्रिया प्रायशः यही हुने गर्छ । यति बेला काम खोजेर त आएको नै हो र यसका साथै ऊ एक कार्यक्रमबाट पनि फर्किएको हो । कार्यक्रम साहित्यको रहेछ । महाकवि देवकोटाको शतवार्षिकी समारोह कार्यक्रम रहेछ ।

कार्यक्रमभन्दा पनि आफ्ना अति नै महनीय सर्जकको कार्यक्रम भएकाले ऊ भाग लिएर फर्किएको हो । कति दुखको कुरा छ, यस आडम्बरी समाजमा महाकवि एक त्यस्ता सर्जक परेका हुन्, जसले लेख्न पनि त्यही नै लेखेका छन्, जस्तो उनी छन् अर्थात् छलकपटरहित भएर लेखेका सिर्जनाहरू साँच्चै प्रेरणायुक्त, उनै महाकविले आफ्नो मृत्यु धेरै पीडादायकमा वरण गर्नुपरेको । ऊ देवकोटाका सिर्जनामा, जब आफू एक्लो र क्लान्त हुने गर्छ, रमाउन वा विचरण गर्न थाल्छ । एउटा बेग्लै आनन्दको लहरमा पुग्छ ।

यति बेला पनि ऊ आफ्नो असफलता, निराशा र थकाइलाई छोडेर महाकविको कल्पनामा झुम्दै बसेको छ ।  घरपरिवारका गुनासाहरू सबै बिर्सिएको…। आँखा अर्धमुदित जस्तो भएको, मुटु आनन्दले कतै विचरण गर्दै रहेको, हावा पनि मन्दमन्द चलिरहेको, पूरै मौसम महाकविकै सम्झना गर्दै बसेको जस्ता ।

आँखामा अनेक बिम्बहरू आइरहेछन–गइरहेछन् । दिन हुन त घुर्मैलो जस्तो लागे पनि उसका लागि भने अनुकूल नै जस्तो देखिन्छ ।

० ० ० ०

एउटा अनागत बिम्ब

उसको कल्पनाले कतिकति उडान लिएपछि सोचाइको तरङ्ग पृथ्वीमा ओर्लनै मात्र के लागेको…त्यही बेला अलि परको ढिस्काको माथि केही घुर्मैलो धुवाँका आकार सुरुरु आएर बस्छ । उसले देख्छ र अनौठो मानेर हेर्न थाल्छ । त्यो ढिस्को धुवाँ एकछिन थुम्कोमा बसेपछि फेरि चलायमान हुन थाल्छ । चलेपछि बेतोड गतिमा ऊ भएनिर हानिँदै आउँछ । एक फेर झसङ्ग हुन्छ ।

यो के हो फेरि ? सोच्न पनि पाएको हुन्न, त्यो धुवाँ ढिक्का ऊ भएको ठीक अगाडि आएर रोकिन्छ । ऊ ट्वाल्ल र सशङ्कित भएर हेरिरहन्छ । अब के हुने हो वा केही अनागत त्रासले उसलाई घेर्न थाल्छ र भन्न लाग्छ केही, तर ऊ बुझ्न सकेको भावमा रहेको छैन, जे भए पनि एउटा मिर्याकल त हुनै पर्छ जीवनमा भने किन त्रास र आतङ्कमा भासिने ? यस सोचले उसलाई मानौँ निडर नै बनाउँछ । यसैले ऊ हेर्न थाल्छ त्यस ढिक्काको चटक…।

धुवाँ…धुवाँ…बिस्तारै उठ्छ । अनि मानवाकृतिमा परिणत हुँदै जान्छ । यो के ? ऊ झन् चकित…। धुवाँ पूरै मानिसको रूपमा परावर्तन भएपछि एकछिन टक्क अड्छ र त्यसपछि ऊ भएको ठाउँमा आइपुग्छ । ऊ एकटक अझै हेरिरहेकै हुन्छ ।

मधुर वाणीमा वार्ता प्रारम्भ

– बाबू, जनार्दन !

– … … …!

ऊ झस्केर हेर्छ त देख्छ, यो के ? चिनेचिनेको अनुहार । निधार चौडा । नेपाली पहिरन लगाएको । हातमा चार मिनारको चुरोट । गम्भीर मुद्रामा उसलाई हेर्दै गरेको ।

– मलाई चिनेनौ, बाबू ?

– हजुर को हुनुहुन्छ बुबा ?

– म, म लक्ष्मीप्रसाद देवकोटा ।

ऊ त के, त्यसपछि त के गरूँ, के गरूँ भन्ने भावमा पुग्छ । महाकवि चुरोटको धुवाँलाई स्वादले तान्दै उसको छेउमै बस्न पुग्छन् । ऊ हक्कबक्क भएर हेरिरहन्छ ।

– महाकविज्यू, यहाँ कताबाट त ?

– म तिम्रो जीवन देखेर आएको हुँ ।

– किन त महामानवज्यू ?

– हेर बाबू, जीवन छउन्जेल बाँच्ने मान्छे मात्र हो । जीवनपछि पनि बाँच्ने महामानव हो । म तिमी जस्तो होनहार युवकको जीवन दाल-भात-डुकूमै सङ्घर्षरत भएर सकेको देख्न चाहन्नँ ।

– के गरूँ त पितामह, यहाँ राजनीति बिग्रेर म जस्ता सबै दास हुन बिदेसिइसके । म छु, सङ्घर्षरत ।

– हो, यही एउटा कुरा म सम्झाउन आएको हुँ ।

– के कुरा हजुर ?

– हेर, राजनीति भनेको एउटा अजरअमर राक्षसयोनी हो । यो अनिवार्य पनि छ र भयावह पनि । यसलाई राम्रै सदुपयोग गर्न सकिए, अनिवार्य वा राम्रो पनि हुन्छ, तर दुरुपयोग गरिए, भयावह पनि हुन्छ ।

– तर महामनाज्यू, हाम्रो मुलुकमा त भयावह नै छ नि होइन र ?

– हो, अब पनि भयावह नै भइरह्यो भने देश रहला नरहला, नागरिकचाहिँ अवश्यै रहने छैनन् ।

– अब के गर्ने त ?

– यसैले त म आएको हुँ । हेर, ई, यो लेऊ ।

– … … …!

० ० ० ०

यो एउटा प्रतीक

महाकविले आफूले बोकेको एउटा पार्सलबाट केही झिकेर दिन्छन् । ऊ त्यो लिएर हेर्छ त, यो के ? केही नभएर प्रमिथस महाकाव्य पो रहेछ । उसले बुझ्न सकेको छैन, किन ? प्रश्न लिएर महाकविलाई एक पटक हेर्न थाल्छ ।

– यो किन त महामनाज्यू ?

– हेर, प्रमिथसले स्वर्गको विलास किन छोड्यो, थाहा छ ? किनभने क्रूर र निरङ्कुश शासक जिउसले स्वर्गमा बसेर धर्तीका निमुखा नागरिकको बाँच्नुलाई थिचोमिचो गर्यो । प्रमिथस मानवताको पक्षधर प्राणी हो । मैले ००७ सालमा त्यो प्रमिथसलाई आफूमा प्रत्यारोप गरेर जनजनमा के सन्देश पुर्याउन चाहेको हुँ भने हेर नागरिक हो, १०४ बर्से निरङ्कुश राणाशासनबाट खोसेर तिम्रा प्रजातन्त्र फेरि तत्कालीन दरबारभित्रै बन्दी हुन पुग्यो । होसियार भएर आफ्नो स्वतन्त्र अधिकारको रक्षा गर्नुपर्छ । जसरी स्वर्गमा धर्तीवासीको सुखसयल बन्दी भएपछि प्रमिथसले स्वर्गको आगो चोरेर धर्तीमा ल्याई उज्यालो पार्यो, त्यस्तै प्रमिथस बनेर म के भन्दछु भने तिमीहरूको त्यो स्वतन्त्र उज्यालो फेरि दरबारमै बन्दी भएको छ र यस कुराको जानकारी गर्न म प्रमिथस बनेर तिमीहरूको चेतना-चेतनामा, मस्तिष्क-मस्तिष्कमा आइपुगेको छु ।

– तर महाकविज्यू, क्षमा गर्नुहोला, मेरो अल्पबुद्धिले यहाँको कुनै कुरा भेउ पाउन सकेन हजुर ।

– हेर, यस मुलुकमा प्रत्येकपल्टको राजनीतिक परिवर्तनमा सदैव नागरिककै हार भएको छ र राजनीतिको जित भएर नेताहरू नर्तक बनेर फेरिफेरि नागरिकको स्वतन्त्रता आफ्नै लिडे ढिपीमा र जालझेलमा अनि वक्प्रदर्शनमा बन्दी पारेर राख्ने गरेको छ । यस मुलुकको दुर्भाग्य भनौँ वा नागरिकहरूको अभाग्य, सधैँको परिवर्तनपछि जहिले पनि ठगिनेचाहिँ नागरिक नै भएका छन् । यसैले तिमी बाबू, निराशामा दिन बिताउने होइन, प्रमिथस बनेर यस मुलुकको चटके परिवर्तन र पटके नेताका विरुद्ध त्यो स्वतन्त्रता, त्यो चेतनाको आगो, त्यो लोकतन्त्रको भावना लुछेर नागरिकबीच फैलाउनू, तब मात्र तिम्रो बाँच्नुको सार्थकता हुनेछ ।

– … … …!

० ० ० ०

स्वप्नसँगै सत्य

उसको लोलाएका आँखा पूर्ण खोलिन्छ र ऊ अगाडि हेर्न थाल्छ । महाकवि त फेरि धुवाँमा परिवर्तन हुन थाल्छन् र उसले केही बुझ्नै नपाई त्यो धुवाँको पूर्ण चक्का ढिक्का बन्छ र अगि जसरी आएको हो, त्यसरी नै गुडेर जान्छ । ऊ हेरिरहन्छ धुवाँ नबिलाएसम्म ।

० ० ० ०

सत्यसँगै अठोट

ऊ जुरुक्क जोसले उठ्छ । हातमा भएको प्रमिथस एकपल्ट हेर्छ र जोडले समाउँछ । अनि समाजतिर फटाफट लम्कन्छ । उसको लम्काइ हेर्दा लाग्छ, मानौँ अब एउटा अर्को क्रान्ति हुनेछ, प्रमिथस क्रान्ति…।

० ० ० ०

अब म भने कथा भएर होइन, यथार्थ भएर उनीहरूका पछिपछि लाग्छु,, किनभने म पनि वास्तविक यथार्थ भोग्न चाहन्छु,, कुनै कथा वा जादुमय यथार्थ होइन र यति बेला मेरा अगाडि ऊ र प्रमिथस पूर्ण दृढताका साथ हिँडिरहेका छन्…पक्कै पनि मुलुकतिर एउटा अर्को नागरिक क्रान्ति गर्न…।