फ्राञ्ज काफ्काको कृति पढ्दा अधिकांश मानिस ट्वाल्ल पर्छन् । धेरैले उनको कृति पढेका छन्, उनको प्रशंसकहरू पनि निकै छन् । तर उनलाई पढेर आफूले केही न केही त सिक्न सक्छु भन्ने कुरा हत्तपत्त कसैको दिमागमा आउँदैन । उनको लेखन शैली नै यति अनौठो छ कि कसैको मनमा यस्तो विचार छिर्दै छिर्दैन । उनको कृतिबाट केही कुरा सिक्न सकिन्छ भनेर कसैले सोध्यो भने यसको प्रतिक्रिया कस्तो होला ? ‘मान्छे कीरा फट्यांग्रा बनेको वा कर्मचारीतन्त्रमा अनुहारविहीन अस्तित्वविहीन भएर बसेको म हेर्न चाहन्न,’ भन्ने नै हुन्छ कि ! काफ्का यति अजीब छन् कि उनीबाट केही सिक्नै सकिन्न भन्नेमा धेरै विश्वस्त भेटिन्छन् । तर यही अनौठोपना नै उनले कसैलाई सिकाउन सक्ने सबैभन्दा ठूलो पाठ हो । यही विचित्रताकै कारण पनि ‘कसरी लेख्ने ?’ सिक्न चाहनेका लागि उनी अहं बनेका छन् ।
निश्चित हास्यरसको साथमा काफ्कालाई पढ्ने हो भने फाइदा नै हुन्छ । उनलाई अन्धकार मात्रै देख्ने अनि चिन्ताग्रस्त लेखकको रुपमा हेरिन्छ । उनका नायकहरू कुनै अधिकारीसँग भेट्न वा नजिकैको गन्तव्यसम्म पुग्न पनि आफ्नो भएभरको बल लगाउँछन् । सानो कामका लागि पहाडै छिचोल्नुपर्ने नियति उनका पात्रहरूको छ । अचम्मको कुरा यति सहज र तुच्छ काम पनि उनीहरू फत्ते गर्न सक्दैनन् । द थर्ड ट्रायल (१९२५) मा नायक बिनाकारण पक्राउ पर्छन् । यो मामिला सल्ट्याउने प्रयासमा अनवरत रुपमा युक्ति लगाइरहन्छन् । तर उनको कुनै पनि युक्तिले काम गर्दैन । हरेक प्रयासमा उनी असफल हुन्छन् ।
महलभित्र कसरी छिर्ने भन्ने नायकको प्रयासकै वरिपरि द क्यासल (१९२६) घुमेको छ । तर मुख्य पात्रले महलभित्र खुट्टै नराखी सकिन्छ पुस्तक । ‘द मेटामोर्फसिस (१९१५) मा मुख्य पात्र कीरामा परिणत हुन्छ । ऊ किन कीरा बन्यो भन्ने भेउ नै पाइँदैन । यो कथा धेरैलाई हास्यास्पद पनि लाग्न सक्छ ।
यस्तो महसुस गर्ने पुलित्जर पुरस्कार विजेता लेखक फिलिप रथ एक मात्रै पक्कै होइनन् । रथ काफ्काबाट निकै नै प्रभावित थिए । ‘मैले कतै पढेको थिएँ कि उनी आफैं पनि लेख्दालेख्दै खित्खिताइरहन्थे । पक्कै पनि ! यो यस्तो रमाइलो छ, सजाय अनि अपराधबोध प्रतिको रुग्ण चिन्ता ! घृणित छ तर हास्यास्पद पनि छ,’ द मेटामोर्फसिसबारे रथ भन्छन् । रथको यो टिप्पणीमा अमूल्य अन्तरदृष्टि भेट्न सकिन्छ । हरेक कुरुपताभित्र ठट्टा र परिहासको पर्याप्त भाव छ भन्ने बुझ्न सक्ने हो भने काफ्काबाट लेखकहरूले लेखाइलाई रमाइलो र हाँस्यास्पद कसरी बनाउने भन्ने मात्रै होइन कथालाई रुपकात्मक शैलीमा कसरी लेख्ने भन्ने पनि सिक्न सक्छन् ।
काफ्काको जन्म सन् १८८३ मा प्रागमा भएको थियो । उनका ख्यातिप्राप्त कृतिमा द ट्रायल, द क्यासल र अनि लघुकथा द मेटामोर्फसिस आदि पर्दछन् । उनका अधिकांश कृतिमा नायकहरू वाक्कैलाग्दो कर्मचरीतन्त्रको पासोमा फँसेका हुन्छन् । उनको यो शैली ‘काफ्क्यास्क’का रुपमा परिचित छ । यो भनेको भयानक सपनाजस्तै जटिल अनि चरम कर्मचारीतन्त्रमा जकडिएको अवस्था हो । काफ्काको मृत्युपछि उनका तीनै जना बहिनीलाई नाजीको कन्सन्ट्रेशन क्याम्पमा भयावह मृत्यु दिइयो । उनले त्यो विभत्स दृश्य त देखेनन् तर आफ्नो कृतिमा उनले हिटलर युगको भयानक पक्षमाथि पहिल्यै प्रहार गरिसकेका थिए ।
काफ्काको लेखनबारे चर्चा शुरु गर्नुअघि हामीले मान्नै पर्ने कुरा के हो भने उनी विचित्रका लेखक हुन् । सामग्री, ढाँचा अनि शैली हरेकमा उनी पृथक् छन्, नवप्रवर्तनमुखी छन् । काफ्काले जस्तो न त उनी भन्दा अगाडि कसैले लेखे, न त उनी गएपछि कसैले लेखेका छन् । तर उनी शून्यबाट अचानक आएका भने होइनन् । उनले पनि कसैको नक्कल गरेका छन् । वास्तवमा उनी चार्ल्स डिकेन्सबाट प्रभावित थिए । अरु केही रुसी, जर्मन, फ्रेन्च, चेक र अमेरिकी लेखकहरूको छाप पनि उनमा परेको थियो । काफ्काबाट प्रभावित हुने आधुनिक लेखकको अग्रपंक्तिमा भने जे.डी. स्यालिञ्जरको नाम अगाडि आउँछ ।
काफ्काको सफलताको रहस्य
काफ्का साहित्यिक रुपमा त सफल छन् नै, कलात्मक प्रस्तुतिमा पनि उनी त्यत्तिकै सफल नाम हुन् । उनको उपलब्धिले असंख्य आधुनिक लेखकलाई लेखक बन्न प्रेरित गरेको छ । भविष्यमा पनि गर्नेछ । स्यामुअल बेकेट, फिलिप रथ, ड्याग सोल्ष्टाड आदि यसका केही नाम हुन् । एक पटक सोच्नुस् त, तपाईंले आफ्नो कथा काफ्काले जस्तै गरी शुरु गर्नु भयो भने शुरुआत कत्तिको गत्यात्मक र स्फूर्त होला । काफ्काले जस्तै धमाकेदार परिचयबाट कथा वा उपन्यास शुरु गर्न सक्नु भयो भने पाठक त आश्चर्यले ट्वाल्लै हुनेछन् । तपाईंको कथा पढ्दापढ्दै बीचमा छाडेर जानै सक्दैनन् । तर काफ्काले जस्तै गरी शुरु गर्ने हिममत छ तपाईंमा ?
‘कसैले जोसेफ केको निन्दा गरेको हुनुपर्छ, एकाबिहान केही गल्ती गर्दै नगरी ऊ पक्राउ पर्यो,’ द ट्रायलको शुरुआती वाक्य हो यो । यही एउटा वाक्यले सारा कथानक र द्वन्द्वलाई समेटेको छ । यसमा बाल्जाकको जस्तो कहिले नसकिने दृश्य वर्णन छैनन्, न त डिकेन्सको जस्तो पात्रहरूको लमतन्न विश्लेषण छ । न थोमस हार्डीको जस्तो जटिल प्रारम्भिक दृश्य नै ।
‘मेटामोर्फसिस’ पल्टाउने जो कोहीलाई पहिलो वाक्यले हिर्काउँछ । ‘एक बिहान ग्रेगर साम्सा अप्ठ्यारो सपनाबाट उठ्दा आफूलाई ओछ्यानमा विशाल कीराका रुपमा पाउँछ,’ यो साहित्यमा सर्वाधिक चर्चित वाक्य हो । विश्वविद्यालयमा अंग्रेजी साहित्य लिएर पढेकाहरूलाई यो वाक्य भन्नुस् त उनीहरूले ‘काफ्का’ भनिहाल्छन् । काफ्का कसैलाई मन पर्लान् वा कसैलाई मन नपर्लान् (मन नपराउने त विरलै होलान् कि !) तर सबैलाई यो वाक्य काफ्काको हो भन्ने थाहा हुनेछ ।
शुरुआत नै अद्भूत छ । एउटै वाक्यमा उनले कथाको सार उमालेर पोखेका छन् अनि सारा द्वन्द्वको सारांश पस्किएका छन् । धेरैजसो लेखकहरू यस्तो दुस्साहस गर्न डराउँछन् । कथाको मुख्य द्वन्द्व र अवधारणा उजागर गर्ने उचित मौकाका लागि उनीहरू पछिसम्म कुर्छन् । तर केही अवस्थामा, जस्तो कि भूतको कथा, साइन्स फिक्सन वा रहस्यमय उपन्यासमा पहिलो वाक्यले मुटु कमाउन सक्छ ।
कथानकप्रतिको दृष्टिकोण
काफ्का मिथक वा पुराणका रचयिता हुन् । उनको हरेक कृतिको चुरो मिथक नै भएको मिथक र कथासम्बन्धी विज्ञ एलिजार मिलिटिन्स्की बताउँछन् ।
‘काफ्काका कथानक अनि मुख्य पात्रहरू ऐतिहासिक समयरेखा भन्दा पनि परका हुन्छन् । उनीहरूको महत्त्व सर्वव्यापी छ । ‘काफ्क्यास्क’ पात्रले सम्पूर्ण मनवताको प्रतिनिधित्व गर्छ अनि कथाको दुनियाँलाई कथानक निम्त्याउने घटनाका आधारमा वर्णन र व्याख्या गरिएको हुन्छ । मुख्य पात्रको दैनानुदिनको जीवनमा उनले सपना जस्तै देखिने गुणहरू पोतिदिएका छन्ः छायाँमा चम्किलो धब्बा के छ भने, मुख्य पात्रमा कुनै पनि चिजमा ध्यान केन्द्रित गर्ने क्षमता अनि एकाग्रता हुन्छ, उनीहरूको गुप्त स्वभाव, कार्यकथाको स्थानमा अनुपर्युक्त हुन्छ अनि कामुक अभिप्रायहरू स्वतः विष्फोट भइरहन्छन् ।’
काफ्का मिथक रचयिता हुन् भनेर टम वुल्फले पनि भनेका छन् । तर उनले यो टिप्पणी अमेरिकी आख्यानको खराब पक्षबारे सामान्य छलफल गर्दा दिएका हुन् । आधुनिक मिथक रचनालाई उनी जोगिनु पर्ने त्रुटिका रुपमा हेर्छन् । तर काफ्काले जुन हदसम्म मिथकलाई कथामा ल्याएका छन्, त्यसले राम्रो काम गरेको छ, खोट लगाउने ठाउँ छैन । तथ्यपरक र यर्थाथवादी तत्त्व हटाएर बेग्लै संसार बनाउन पनि उनी सफल भएका छन् । कथा प्रस्तुतिको नांगो शैलीले पनि उनको कथा थप शक्तिशाली बनेको छ । यस्तो अवस्थामा काफ्काको शैलीलाई जायज नमानी धर पाइन्छ र ?
काफ्काको जस्तै शैलीमा लेखेर उनले पाएको जस्तै सफलता चुम्ने लेखकहरूको सूची निकै सानो छ । स्यामुअल बेकेट, मार्गरिट ड्युरा, सोल्स्टाड, अलेन रोब–ग्रिलेट आदि यो सूचीमा अटाउने केही नाम हुन् ।
काफ्काको हिरो कथानकमै बाँधिरहन्छ, कथा अगाडि बढेको विरलै देख्न पाइन्छ । बरु ऊ आफ्नो दुनियाँको कठिनाइ र अपेक्षाहरूमा जेलिइरहन्छ । यस अर्थमा उसले कुनै पनि काम फत्ते गर्न जति नै अथक प्रयास गरोस्, सार्थक हुँदैन । यस अर्थमा ऊ निष्किृय नै रहिरहन्छ । ‘द बरो’को हिरो जस्तै अग्रसक्रिय रहन कोसिस गरे पनि उसले गर्न सक्ने भनेको आफ्नो समस्याको खाडल झन् झन् गहिरो बनाउने मात्रै हो । ‘द ट्रायल’मा केले जति नै जोरजबरजस्ती गरे पनि आफ्नो भाग्य निर्धारण गर्ने उच्च अदालतका न्यायाधीशलाई भेट्नै पाउँदैन । यो निष्किृयता हिजोआजका लेखकहरूलाई मुख्य पात्रलाई कर्ता बनाउनू, यथार्थपरक बनाउनू भनेर दिइने सुझावको ठीक उल्टो हुन जान्छ ।
मुख्य पात्रको काम ‘द ट्रायल’मा बाँचिरहनु हो अनि ‘द क्यासल’मा महलभित्र छिर्नु हो । दुवैमा मुख्य पात्र एक इञ्च पनि अगाडि बढ्दैनन् । ‘द बरो’मा मुख्य पात्र आफ्नो लक्ष्य प्राप्तिमा केही अगाडि जान सक्छ । ‘द मेटामोर्फसिस’मा मुख्य पात्रले आफ्नो बोझिलो शरीरलाई डेग हल्लाउन सक्दैन । काफ्काको पहिलो उपन्यास ‘अमेरिका’ (१९२७)मा हिरोलाई अन्य पात्रले निरन्तर बहकाउँछन् अनि दुर्व्यवहार गरिरहन्छन् ।
यी सबैले सपनाको भयानक गुण देखाएका छन् । काफ्काले कथानकमा सपनाजस्तो गुणलाई कायम राख्न सकेका छन् । यसलाई उनी स्वयं पनि स्वप्नजस्तो आफ्नो निजी जीवनको प्रतिबिम्बको रुपमा हेर्छन् । तर काफ्काले आफ्नो लेखकीय हैसियत देखाउन मात्रै होइन, मावनजातिको अभिव्यक्तिवादी ढंगको प्रतिनिधित्व गर्न पनि स्वप्न परिदृश्यको लचिलो गुणको प्रयोग गरेका छन् । यसले नै उनको कृतिलाई लौकिक बनाएको छ । यसैले पनि उनको कृति आकर्षक बनेको छ । मानवको मस्तिष्क सपना जस्तैगरी चल्छ । सिग्मन्ड फ्रायडले यो मानवीय गुणलाई आफ्नो कृतिमा केलाएका छन् । काफ्काले भने यसलाई चित्रित नै गरेका छन् ।
कथानकप्रति काफ्काको दृष्टिकोण अभिव्यक्तिवादी छ । तर उनले जर्मन अभिव्यक्तिवाद आन्दोलनको जस्तो औपचारिक तरिका अपनाएका छैनन् । धेरै तरिकाले यो जोन बन्यानको ‘पिलग्रिम्स प्रोगेस’ (१६७८)को जस्तै छ । तर काफ्काको उपन्यास आलंकारिक कुन अर्थमा छैन भने एउटा चिज स्पष्ट तरिकाले अर्कोको प्रतीक हुन्न । उनले प्रयोग गरेका अलंकार बहिरहने, परिवर्तनशील खालका छन् । हरेक पाठकले यसको व्याख्या आ–आफ्नै तरिकाले गर्न सक्छन् ।
उनका नायक बाँचेको दुनियाँ जोखिमयुक्त, अजीव अनि अर्कै ग्रहको जस्तो छ । हिरो यो अनौठो संसारको भड्खालोमा झन्झन् फस्दै जान्छ । यसलाई उसले नै वास्तविक दुनियाँको रुपमा स्वीकार गर्छ । यसले गर्दा पाठक पनि विचित्रताको अनुभवमार्फत यो सपनाको दुनियाँतिर तानिँदै जान्छन् अनि यसलाई हिरोकै नजरले हेर्छन् । यो तरिकाले काफ्का आफ्ना पाठकहरूलाई आधुनिक पौराणिक परिदृश्यसम्म डोर्याउन सफल भएका छन् ।
कथा संरचना कसरी बनाउने ?
काफ्काको उपन्यास र कथाले पाठकलाई एलियनहरूको डरलाग्दो संसारमा लैजान्छ भन्ने त सबैलाई थाहै छ । तपाईंको कथानक पनि काफ्काको जस्तै छ भने तपाईंले उनको लेखनशैलीबाट धेरै कुरा सिक्न सक्नु हुन्छ । तर औंलामा गन्न सकिने लेखकहरूले मात्रै यो कुरा महसुस गरेका छन् । काफ्काको जस्तै कथा संरचना बनाउन हिरोलाई व्याकुलताको स्थितिमा राख्नु पर्यो, कुनै न कुनै तरिकाले ऊ व्यग्र हुनै पर्यो, अनौठो नयाँ भूगोलमा छिरेकै हुनै पर्यो अनि आफ्नो खोजको हरेक मोडमा ऊ निराश त अनिवार्य हुनु पर्यो । यो कुरा बेकेटले राम्रोसँग बुझेका छन् । फ्लानेरी ओ’कोनरको लेखाइ काफ्काको यस्तो नक्कल थियो कि उनको शैलीलाई ‘काफ्क्यास्क’ नै भनियो ।
जर्ज अर्वेलको ‘नाइन्टिन एटी फोर’ पनि कयौं तरिकामा काफ्काको जस्तै छ । काफ्काको जस्तै कथा संरचना कसरी बनाउने भनेर बुझ्ने हो भने अर्वेलियन र ‘काफ्क्यास्क’ दृष्टिकोणको तुलना गर्नुहोस् । दुवैमा हिरोलाई ऊ बाँचेको संसार र समाजको विरुद्धमा उभ्याइन्छ । एउटै फरक भने, अर्वेलले भाषालाई बटार्छन् । काफ्काले भने अँध्यारो र अर्को ग्रहको शहरजस्तो देखिने ठाउँमा कर्मचारीतन्त्रसँग मान्छेको संघर्षलाई देखाउँछन् । जसमा व्यक्तिको कुनै पहिचान नै हुन्न ।
यो अन्तरबाट तपाईंले के सिक्नु भयो ? काफ्काको जस्तै गरी कथानकको संरचना बनाउने हो भने मुख्य पात्रलाई ऊ बाँचेको समाजको विरुद्धमा उभ्याउनुस्, भयानक स्वप्नजस्तै ठाउँको सृजना गर्नुहोस्, जसले उसलाई अलमल्ल बनाइदेओस् वा यस्तै खालको असर सृजना गर्ने सरकारी वा सामाजिक नियमन भएको जटिल प्रणाली देखाइदिनुस् ।
मनोवैज्ञानिक घटनामा जोड
आधुनिक लेखकहरूले काफ्काको जस्तै कथानकमा लेखेका छन् त ? यसको उत्तरमा २० औं शताब्दीका फ्लेनरी ओ’कोनर, सल बेलो, फिलिप रथ, निल गाइम्यान आदिको नाम लिन सकिन्छ । कथानकमा काफ्काको जस्तै दृष्टिकोण अपनाउने समकालीन लेखकको सूची यतिमा मात्रै सीमित भने छैन । तर काफ्काले लेखेजस्तै गरी लेख्न खोज्ने हो भने काफ्काभन्दा उपयुक्त पात्र को नै होलान् र सिकाउनलाई ?
हिरोलाई विचित्र अनि अजीव खालको दुनियाँमा कसरी ठेल्ने भन्ने ‘द ट्रायल’बाट सिक्न सकिन्छ । नायकको त्यस्तो गति कसरी भयो ? ऊ फसेको संसारबाट उम्किन्छ कि उम्किदैन भन्ने प्रश्नको उत्तर पनि दिन सक्नुपर्छ । होइन भने तपाईंले पनि काफ्काले झैं कथाको अध्यारो संस्करण लेख्नु हुनेछ । अनि मुख्य पात्र सदाका लागि त्यो नयाँ विचित्रको संसारमा फस्नेछ । यस्तो कथा कसरी अन्त्य गर्ने त ? ‘द ट्रायल’को समापनमा केलाई फाँसी दिइन्छ । कथाको मुख्य पात्रलाई यस्तै खालको भयानक नियति दिने हो भने काफ्का प्रेरणादायक हुन सक्छन् ।
काफ्काको कमजोरी
लेखकको रुपमा काफ्काको पहिलो कमजोरी पात्रहरूको पृष्ठभूमि देखाउन नसक्नु हो । ‘द ट्रायल’मा जोसेफ के को हो ? भन्नेबारे हामीलाई खासै केही थाहा छैन । उनी आम मानिस हुन् । काफ्काको कृतिमा सबै वस्तु मुख्य पात्रअनुसार सृजित हुन्छ । व्यक्तिको विगत, वातावरण र मनोवैज्ञानिक तनाव यी सबै कुरा उनको कृतिमा पाइन्न । तर आधुनिक आख्यान लेखनमा यसको ठिक उल्टो हुन्छ । लेखकहरूलाई त झन् पात्र विकासको अभ्यास गर्न प्रेरित गरेको भेटिन्छ ।
काफ्काको अर्को कमजोरी भने प्रेमिल सम्बन्ध देखाउन नसक्नु हो । डि.एच. लरेन्स अनि जर्ज एलियटको कृतिमा पनि प्रेममा नडुबेका जोडी भेटिन्नन् । काफ्काले यस्तो खालको प्रणयलाई सानो ठाउँसमेत दिँदैनन् । मानवीय सम्बन्ध, विशेषगरी प्रेम सम्बन्ध काफ्काका कृतिमा भेटिन्नन् ।
उनको अर्को कमजोरी भन्नु, मुख्य र अन्य पात्रबीचको सेतुको अभाव हो । ‘द ट्रायल’मा जोसेफ केको एउटै पनि मित्र छैनन् । मुद्दामामिलामा उसलाई मद्दत गर्ने एक जना पनि देखिदैनन् । लेनीसँग ऊ जिस्किन्छ तर यो बोलचाल सतही छ । सम्बन्ध रित्तो छ, अगाडि नै बढ्दैन । लेनी अरु नै आरोपीसँग प्रेममा फँसेको कुरा केलाई भनिन्छ । मुद्दामामिलामा लड्न उसलाई कसैले सघाउँदैन ।
‘द क्यासल’मा पनि मुख्य पात्र एक्लै छ । उसका दुई सहयोगीको भूमिका नगन्य छ । के आफ्नै संसारमा बाँचिरहेको छ । ऊसँग न त कुनै अर्थपूर्ण सम्बन्ध छ, न त ऊ आफैंले पनि त्यस्तो सम्बन्ध बनाउन खोजेको हामी पाउँछौं । एउटी महिलासँग उसले सम्बन्ध राख्ने कोसिस गर्छ तर त्यो पनि उसले महलभित्र छिर्नका लागि गरेको हुन्छ । उसले भेटेको महिला यति झिनो मसिनो लक्ष्य प्राप्तिमा उसका लागि सहयोगी बन्छे । ‘द मेटामोर्फसिस’मा ग्रेगरको आफ्नै परिवारले उसलाई घृणा गर्छ । काफ्काका अधिकांश कृतिका मुख्य पात्रझैं ग्रेगरको निकटमा कोही पनि हुन्नन् । न त कसैसँग उसको अर्थपूर्ण समबन्ध छ । ऊ विशाल कीरा बनेपछि त झन् सबैले उसलाई घृणा गर्छन्, छिः छिः दूरदूर गर्छन्, कसैले पनि मन पराउँदैनन् । उसको निकट रहेकी एउटै बहिनीले पनि उसलाई हेयको दृष्टिले हेर्न थाल्छे ।
सम्बन्धको अभावका कारण काफ्काका उपन्यास विशृङ्खल देखिन्छन् । यी त्रुटिले कथा लेखनमा तपाईंलाई केही सघाउँला त ? उसो भए तपाईंको कथा लेखनको आशयमा भर पर्छ । हिरोमा मात्रै ध्यान केन्द्रित गर्न अन्य पात्रहरूको पृष्ठभूमि घटाउने, माया–प्रेमलाई राख्दै नराख्ने अनि हिरोको एक्लोपन देखाउन सम्बन्धहरूमा कैंची चलाउने आदि पनि गर्न सकिन्छ । ‘मोलोय’ (१९५१), ‘मेलोन डाइज’, ‘अननेमेबल’ (१९५३) मा स्यामुअल बेकेटले यो शैलीलाई सफलतापूर्वक देखाउन सकेका छन् । ‘साइनेस एन्ड डिग्निटी’मा ड्याग सोल्स्टाडले पनि यस्तै सफलता पाउन सकेका छन् । ‘द क्यासल’मा जेसेप केको एउटी केटीसँग चक्कर चलेको हुन्छ तर उसले अर्को केटीसँग पनि घुलमिल गर्छ । यो देखेर पहिलो केटी ईर्ष्याले जल्छे । दुवै केटीलाई उसले शान्त बनाउन खोज्छ, दुवैसँग चक्कर चलाउन खोज्छ तर यस्ता घटनाहरूले खासै कसैको ध्यान खिँच्दैन । पाठकहरुको सारा ध्यान कर्मचारीतन्त्रमै केन्द्रित हुने भएकाले पनि यतातिर कसैले पनि चासो दिएको भेटिदैन ।
काफ्काको अनुकरण गर्ने कि नगर्ने, उनले छुँदै नछोएका कुरालाई पनि लिने कि नलिने, दुस्वप्न जस्तो देखिने कथाहरूमा पनि काफ्का शैलीको प्रणयलाई थप्ने कि भन्ने चाहिँ लेखकको निजी विचार हो । न त बेकेट, न त डग सोल्स्टाडले नै यो लक्ष्यमा ठ्याक्कै काफ्काको नक्कल गरेका छन् । तर काफ्काले छोडेकै कुराहरू समातेर अरु कुनै लेखकले आफ्नो कथालाई नयाँ तरिकाले टुङ्ग्याउन सक्छ । काफ्काको अनुकरण गरेर आफूले प्रयोग गरेको विधिभन्दा एक चरण अगाडि जानु भन्नुको अर्थ पनि यही हो ।
डि.एच. लरेन्सले जर्ज एलियटको अनुकरण गरेका छन् । तर एक कदम अगाडि गएर उनले जोडीको आँखाको विवरणमा ध्यान दिएका छन् । तपाईंले पनि काफ्काको अनुकरण गर्न सक्नु हुन्छ तर प्रेमिल सम्बन्धलाई थप्न वा आफूलाई सान्दर्भिक लागेका अरु तत्त्वहरू हाल्न सक्नु हुन्छ । यो तरिका अपनाउँदा अनुकरण तपाईं र तपाईंको आदर्शबीच प्रतिस्पर्धा बन्न पुग्छ । यसरी तपाईंले आफूले अनुकरण गर्न लागेको लेखकको अनुसरण गर्न वा आफूलाई सुधार्न सक्नु हुन्छ ।
निष्कर्ष के भने, यति धेरै कुराहरू तपाईं काफ्कालाई पुनःलेखन गर्नुस् वा दासतापूर्ण शैलीमा उनको नक्कल गर्नुस् भनेर भनिएको होइन । यहाँ बताउन खोजिएको कुरा, तपाईंले अन्य लेखकहरूबाट पनि सिक्न सक्नु हुन्छ भन्ने मात्रै हो । जरुरी कुरा के हो भने, अनुकरण गरेर लेखकको कुनै राम्रो कुरा लिएर यसलाई बंग्याउन वा बाँकी कुरा तोडमोड गरेर लेख्न सकिन्छ ।
उत्कृष्ट लेखकहरूको अनुसरण सधैं गर्नुपर्छ भनेर क्विन्टिलियनहरूले विश्वास गर्नुको कारण पनि यही हो । कसैको अनुसरण गरेर आफूलाई सुधार्ने कोसिस गर्नुस् । सक्नुहुन्छ, आफ्नो खुबी निरन्तर तिर्खानुस् तर लाजै नमानी सिधा सिधा साभार गर्ने वा चोरी भने गर्नु हुन्न । हाम्रो अन्तिम प्रयास नै कसैको अनुसरण गरेर उसलाई उछिन्न खोज्ने हुनुपर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।