– नाम के हो नि ?
“मेरो आफ्नो नाम छैन ।”
– नाम भन्न डर लाग्छ ?
“ साँच्चै के , मेरो नामै छैन ।”
– के भनेर बोलाऊँ त ?
“जे मन लाग्छ त्यै !”
– उसो भए सुन्तली है त !
“म सुन्तला जस्ती छु र ?”
– हेर्दा तेस्तै देखिन्छ । चाखेपछि थाहा हुन्छ ।
“ चाख्नेले त खुर्सानी जस्तो छु भन्छन् ।”
–भन्नाले तिमी जुठो खुर्सानी पो हौ ?
“किन ? जुठो चल्दैन र तपाईंलाई ?”
–चोखो खानुको छुट्टै मजा हुन्छ नि ! हाहा ।
“ यो ठाउँ नै यस्तो । अनि घरको नि जुठै त होला नि !”

– त्यही भएर त यता आको नि !
“ ल ल , अब गफ मात्र हो कि काम पनि ? तपाईंको त गफ मात्र त हो ! हाहा ।”

 

“आफ्नो पेशादेखि दिक्क मान्नु हुन्न । अँ , तपाईंको बिहे भयो ?”

सुन्तलीको पछिल्लो प्रश्नले एकछिन अप्ठ्यारोमा पार्यो मलाई । झ्वाट्ट जवाफ फुरेन । म अल्मलिएँ । बसेको दस मिनेट नहुँदै उनी हतारिइन् । बीस दिन पहिला आउँदा नि गफ मात्र भएको थियो । सुन्तला जस्तै मीठो गफ ! त्यसपछि त मोहनी लागेझैँ भयो । त्यतै मात्र तानिने मन ! मन बलियो हुँदै गए पछि शरिर कमजोर हुने रहेछ । मनले शरीरलाई डोर्याउने रहेछ र आज फेरि मेरो त्यही शक्तिशाली मनले शरीरलाई बसपार्क नजिकको “ रिफ्रेश होटल एण्ड लज” सम्म तानेर ल्याएको छ ।

म अल्मलिएको देखेर उनले नारायणीको प्रशोधित पानी जसलाई “ टुबोर्ग” नाम दिएको छ , टेबलमा भएको दुई रित्तो गिलासमा भरिदिइन् र मादकताले भरिएको नजरले हेर्यो मलाई ।

“कति वर्ष भयो? “ उनलाई हेर्दै प्रसङ्गविहीन एउटा प्रश्न राखेँ ।

“के ? म ?” पहिलाको जसरी नै हेर्दै मेरो प्रश्नको उत्तर प्रश्नमै भनिन् । अनि हाम्रो प्रश्नोत्तर सुरु भयो ।
हैन , यो पेशा अङ्गालेको !
“तीन वर्ष जति ! एसएलसी दिएपछि हो ।”
दिक्क लाग्दैन ?
“आफ्नो पेशादेखि दिक्क मान्नु हुन्न । अँ , तपाईंको बिहे भयो ?”
अँ , भैसक्यो !
–कति वर्ष भयो ?
तीन वर्ष !
–दिक्क लाग्दैन ?
त्यो मेरो पेशा हैन । आफ्नो पेशादेखी सन्तुष्ट छु ।
–के गर्नु हुन्छ नि , तपाईं ?

उनले मलाई फेरि थुनामा पारिन् । अघिसम्म जे जति भनेँ , सबै सत्य भनेँ । पेशाको कुरा ! भनौ कि नभनौ भयो । भनेँ भने हाम्रो बसाई यो भन्दा अघि बढ्दैन , यो थाहा छ । मैले प्रसङ्ग मोड्न चाहेँ ।

– कति पढेकी छौ ?
“बाह्रको जाँच देर बसेको ।”
– कुरा मीठो गर्छौ नि !
“ कुरा मात्रै ? म मान्छे नि मीठो छु ।”
खुर्सानी त पिरो पो हुन्छ ।
“ खुर्सानी जति पिरो , उत्ति मीठो । हाहा ।”

उनले मलाई फेरि अलमलमा पारिन् । हुन पनि हो , पिरो नहुने खुर्सानी के खुर्सानी ? खुर्सानीको आफ्नो धर्म भन्नू नै पिरो हुनु न हो ! के भनौं के भएँ , म । यतिबेला सम्ममा हामीले दुई बोतल बियर रित्याई सकेका थियौँ । त्यसपछि मेरो आँखा हो कि मन हो अलि अलि घुम्न थाल्यो । रमरम , झमझम भयो मन । म उनलाई एक तमास हेर्न थालेँ । उनी बेडबाट जुरुक्क उठिन् र लगाइरहेको जिन्सको निलो ज्याकेट खोलिन् र म नजिकको चेयरलाई लगाई दिइन् । जिन्सको बाक्लो आवरण फालेपछि उनी देखा परिन् ( भित्री पातलो सेतो आवरणमा ! देखेपछि उनको त्यो रुप एक झट्का सानो विद्युतीय तरङ्ग मभित्र सल्बलायो । मलाई चलाएर गयो । एक्कासी वैशालीकी नगर वधु आम्रपालीको याद आयो । लाग्यो, उनी पनि यस्तै त थिइन् होला , जसले देख्यो मन र शरीरमाथि नियन्त्रण लिन नसक्ने भयो ! म झनै हेर्न थालेँ उनलाई । हेरिरहेँ , उनलाई । उनी अर्को बेडमा गएर बसिन् । म एक्लो भएँ । अघि सम्म सङ्गै थियौँ, एउटै बेडमा । बस्ने बित्तिकै उनी फेरि उठिन् र ज्याकेट भएको ठाउँमा आइन् , पकेटबाट चुरोट निकालिन् , एस्ट्रे नजिकको लाइटर उठाइन् र बालिन् सूर्य चुरोट । मलाई चूरोट मन पर्दैन । चुरोट तान्ने मान्छे त झनै मन पर्दैन । उनले चुरोट स्वाट्ट तानिन् र “ तान्नु न तपाईं नि !”, भन्दै म तिर चुरोट बढाइन् ।

“ भो चुरोट त कैले नि खान्नँ !”, यो भन्दै म झ्यालतिर गएँ । उनी पुनः पल्लो बेडमा बसिन् । झ्या लको पर्दा हल्लेको हो कि मन ? मन हल्लेको हो कि तन ? तन हल्लेको हो कि मात्तेको ? झ्यालको नजिक पुगेर बिस्तारै हल्लेको पर्दा एक कुनामा जम्मा पारेर बाहिर हेरेँ । बस , ट्याक्सी , बाइकको चाप बिस्तारै कम हुँदै रहेछ । यति बेलासम्ममा म कोठा बाहिरको वातावरणदेखि अनविज्ञ थिएँ , यद्यपि ट्याक्सी , बाइक तथा बसहरूको आवाज भने सुनिरहेकै थिएँ । छेउछाउका पसल र दोहोरी साँझमा बजेका विभिन्न हिन्दी र नेपाली गीतहरू पनि मसम्म आउँदै थिए । कोठा बाहिरबाट मैले आफूलाई कोठाभित्र ल्याएँ । कोठा अनि आफैलाई नियालेँ । म , उनी , रित्तो बियरका बोतल , रित्तो प्लेट , एस्ट्रे , चुरोटको ठूटो , दुईवटा रित्तो बेड, भित्ताको एक कुनामा चुपचाप सङ्ग बसेको टिभी सेट अनि भित्तामा विपाशा र जोन अब्राहमको एउट ठूलो आकर्षक अनि कामुक तस्बिर ! तस्बिर हेर्न थालेँ । हेरिरहेँ ,एकछिनसम्म ।

 

“ तिमी आफ्नो पेशा प्रती सन्तुष्ट छौ ?”

“ तपार्इँ घरमा नि यस्तै स्लो हो ?”, एक्कासि प्रश्न गरिन् उनले । म उनीतिर फर्केँ । जुस पिउँदै रहेछ । यो पटक त झन् घाँटी मै समाते जस्तो लाग्यो । म केही बोलिनँ । म फेरि भाग्न चाहेँ ।

“ तिमी आफ्नो पेशा प्रती सन्तुष्ट छौ ?”, म उनको नजिकै गएर सोधेँ ।
“ अघि नै भनिसकेँ नि ! “ निर्धक्क हुँदै भनिन् । “बरु एउटा यो मगाम् है !” मीट आइटमको माग गरिन् , त्यसपछि उनले । मैले “हुन्छ” भनेँ ।

“ तर ,समाजले त तिम्रो पेशालाई घृणा गर्छन् नि !”, यो पटक उनलाई भित्रबाटै चलाउन खोजेँ ।
“ साला यो समाज नि अचम्म कै छ । मलाई स्वीकार्छ , मेरो पेशालाई स्वीकार्दैन । मलाई उपभोग गर्छ , आनन्द र सन्तुष्टि लिन्छ तर यो पेशालाई घृणा गर्छ । पाखण्डी समाज भनेको यही त हो । ह्या, “छोड्दे यस्ता समाज ! गोली मार ! माई लाईफ माई च्वाईस !”, उनी रुष्ट देखिइन् । समाज प्रति ।

“ अनि , कस्ता कस्ता मान्छे आउँछ त तिमीलाई भेट्न ?”, यो प्रश्नको उत्तर पाउने आशा थिएन तर उनले मलाई गलत बनाइदिइन् ।
उनले भनिन् ,“ कस्तो मान्छे चाहियो तपाईँलाई ? सबै खाले आउँछन् । व्यापारी , विद्यार्थी , सभासद , मन्त्री , डाक्टर , पत्रकार सबै आउँछन् । साला, अस्ति एउटा सभासद रातभर बसेर भोलिपल्ट यही पेशाबारे नाना थरी भन्दै थियो । पत्रपत्रिका , एफ एम , सामाजिक सञ्जाल सबैतिर त्यसकै चर्चा ! उनलाई उक्त सभासददेखि अलि बढी नै रीस उठेको रहेछ । करिब पाँच मिनेट जति लाग्यो , त्यो टपिकबाट बाहिर आउन ।

त्यसपछि उनी बेडबाट उठिन् । नजिकैको टावल कम्मरमा बेरिन् र पेन्ट खोलिन् । म चाहिँ देखे नि नदेखे झँै गरि बसेँ । एक्कासी पछाडिबाट उनको हात मेरो कपालमा सल्बलाउन आइपुग्यो । कस्तो अप्ठ्यारो लाग्यो । थाहा छैन किन ! सायद म शारीरिक अनि मानसिक रुपले तयार थिइनँ । म तात्न सकिरहेको थिइनँ । उनी भने मलाई उक्साइरहेकी थिइन् । एकपटक मेरो नजर फेरि भित्ताको विपाशा ,जोनमा गएर अडियो । दुबैले मलाई गिज्याएको जस्तो लाग्यो । आफ्नो यस्तो अवस्था देखेर आफैलाई लाज लाग्न थाल्यो । पहिलो पटक हुँदै थियो यस्तो ।

“ नट नाऊ !” एक्कासि मेरो मुखबाट यो शब्द हामफाल्यो ।
“ देन ह्वेन ?“ उनको प्रश्न आयो ।
“ ह्वेन द होल सिटी स्लीप्स !” मेरो उत्तर ।
“ यु आर अ कोल्ड गाय ?” उनको प्रतिक्रिया ।

 

थाहा छैन मैले यत्रो रकम किन लगानी गरे ,उनको शरीरमाथि ! मेरो शरीरको तृष्णा मेटाउन ? खै त मेटिएको ? कहिलेसम्म उठ्छ शारीरिक तृष्णाको छाल ?

उनको पछिल्लो लाइनले मलाई फेरि हान्यो भित्र कतै ड्याम्म ! मैले आफैंलाई चिमोटेर हेरेँ । दाहिने हात छातीको देब्रे कुनामा थुपुक्क राखेर हेरेँ । म ठिकै भएको थाहा पाएँ । मैले घर सम्झेँ । घरको रातहरू सम्झेँ । हिजोसम्म बिताएका यस्तै होटलका रातहरू सम्झेँ । तैपनी तात्न सकिनँ । त्यसपछि म फेरि उनलाई अन्तै डुलाउन चाहेँ र भनेँ , “ घर कहाँ हो नि ? अनि घरमा को को छ त ?”
“ तपाईं पत्रकार हो कि ग्राहक ? कति केरकार हो ?”, उनी झर्केजस्तो लाग्यो मलाई यो पटक । “ ह्या , यस्तै हो भने जान्छु म !” यति भनेर उनी अर्को बेडतिर लागिन् । अनि मलाई हेर्न थालिन् ।

उनले जान्छु भने पनि उनी जाँदैन । यो मलाई थाहा थियो । किनभने यो उनको धन्दा हो र धन्दामा बेइमानी गर्दैनन् उनीहरू र अर्को कुरा उनले ५ जनाबाट पाउने रकम म एक्लैले लगानी गरेको थिएँ ! थाहा छैन मैले यत्रो रकम किन लगानी गरे ,उनको शरीरमाथि ! मेरो शरीरको तृष्णा मेटाउन ? खै त मेटिएको ? कहिलेसम्म उठ्छ शारीरिक तृष्णाको छाल ? विगत ५ वर्षदेखि यसरी नै म मेट्न खोज्दैछु थुप्रै थुप्रै सुन्तलीहरूसँग , साटेर मेरो शरीर ! खै त तृष्णाको यो छाल कम भएको ?

“ म दुबै हुँ !” म अचानक चिप्लिएँ । चिप्लिए पछि थाहा भयो भन्न नहुने कुरा भनेछु भनेर । अघि सम्म मलाई हेरेर बसेको मान्छे मेरो उत्तर सुनेपछि घोप्टो पर्यो । केही बोलेन ।

 

एघार क्लासको बीच तिर हो , द्वन्दकालको कुरालाई लिएर बुवाको झगडा भएछ । अनि बुवाको कम्मर भन्दा तलको भाग नचल्ने भएछ ।

करीब पाँच मिनेट पछि उनी बिस्तारै बोल्न थाली, “ तपाईं केलाई घर भन्नुहुन्छ ? ढुङ्गा , सिमेन्ट , रड , बालुवा , काठले बनेको भौतिक संरचनालाई घर भन्नुहुन्छ भने त्यो घर मेरो पनि छ । त्यो घरमा बा छ । आमा छ । भाइ पनि छ । बहिनी पनि छ । तर घर भएर पनि घर विहीन मान्छे हुँ । सबै भएर पनि एक्लो मान्छे हुँ । अचेल घर भन्न पनि मलाई डर लाग्छ । बुवा भन्न पनि घृणा लाग्छ । आठ कक्षामा पढ्दै थिएँ , म आफ्नै बुवाबाट यौन हिंसाको सिकार भएको , आफ्नै घरमा । बुवाले मलाई पहिला त कुरा बाहिर ल्याइस् भने मार्छु भनेर डर देखाउनु भो , पछि चाहिँ मैले जे भन्यो त्यही पूरा गर्दिनु भो । बिस्तारै ममा पनि लत बस्यो । एसएलसी दिने बित्तिकै मेरो विवाह भयो तर बुवाको लत छुटेन । एक न एक बहाना बनाएर हरेक महिना मलाई लिन आउनु हुन्थ्यो । यही बीचमा बस दुर्घटनामा बूढाको मृत्यु भयो । त्यसपछि माइतमै बास धेरै भयो । घरसङ्गको नाता तोडिदिएँ । छुट्न छुट्न लागेको पढाइ सुरु गर्छु भनेँ । बुवाले मान्नु भो । अनि म काठमाडौँमा कोठा लिएर पढ्न थालेँ ।

एघार क्लासको बीच तिर हो , द्वन्दकालको कुरालाई लिएर बुवाको झगडा भएछ । अनि बुवाको कम्मर भन्दा तलको भाग नचल्ने भएछ ।

त्यसपछि ….
“ सुन्तली ! “ म अचानक बोल्न पुगेछु ।
“ सुन्तली हैन , नवीना हो , मेरो नाम !” भुइँतिर हेर्दै उनले आफ्नो नाम बताइन् । केही बेर अघिसम्म प्यार प्यार बोलिरहने , जिस्की रहने मान्छे एकाएक शान्त र गम्भीर भयो ।

“ म नवीन , सिटी एक्स्प्रेस दैनिकको सम्पादक । तर विश्वास गर , म तिम्रो जीवनको यो पाटो सभासदले जस्तो बाहिर ल्याउने छैन तर एउटा शर्त छ !”, म नि अलि भावुक भएर भनेँ । मलाई थाहा छैन , नविनाको कथा कति साँचो हो , कति झुठो हो । उनी मेरो लागि नविना होला । अरुको लागि रविना अनि अर्कै अर्कोहरूको लागि सुविना , कविना आदि आदि तर पनि पत्याएँ , मैले उनको कथा ।
“ कस्तो शर्त हो ?” ,मलाई हेर्दै बोली नविना ।

“ आजबाट तिमी कसैको लागि यहाँ आउने छैनौ । ” म निक्कै भावुक हुँदै भनेँ । केही घन्टा अघि नविनाको शरीर किन्न आएको मान्छे म ! मैले त्यो कुरा भुलेछु । उसकै शरीरसङ्ग खेल्न आको मान्छे अब “नखेल यो घिन लाग्दो खेल ” भन्न थालेछु । विचारको कस्तो खेल हो यो ? विचारको यो तरलता ! विचारको यो द्वैधता ! विचारको यो परिवर्तनशीलता !

“ तर पेट मेरो मात्र छैन । बुवा प्यारालाइज भए पछी सबै लथालिङ्ग भयो । घरको पेट नि मैले नै हो हेर्ने ! यो पेशाबाट राम्ररी चल्दैछ , पेटहरू ! ”

म फेरि के भनुम के भयो । नविनाको कथा र व्यथा मैले हटाउन पनि त सक्दिनथेँ । म चुप लागेँ । बोल्ने कुरा नभए पछि मान्छे असाह्य हुने रहेछ । म नविनाको अगाडि त्यही बनेँ ।

“ हुन्छ , म प्रयास गर्छु ! आज कसैले यति भन्यो । सधैँको फलाम जस्तो गरुङ्गो मन आज कपास भयो ।”, नविनाको मधूरो आवाज सुनेँ । पुलुक्क हेरेँ उनलाई । कस्तो अप्ठ्यारो लाग्यो । उनले पनि मैले जसरी नै हेरिन् मलाई र बसेको ठाउँबाट उठेर आइन , हग गरिन् र भनिन् , “ सुत्ने हैन अब ?”
“ सुत्ने ?”, म आफैंसङ्ग कुरा गरेँ ।
“ हुन्छ ,सुतौ न त अब !”, मैले स्वीकृति दिएँ ।

“ यता कि उता ?“ दुबै बेड देखाउदै सोधिन् नविनाले । म एकछिन अक्मकिएँ । दुबै बेड हेरेँ र भने , “जता सुते नि हुन्छ । ठिकै छ ,तिमी यहाँ सुत ,म चाहिँ झ्यालतिरको बेडमा सुत्छु !”, यति भनेर म लागेँ पल्लो छेउको बेडमा र पल्टेँ । पल्टिएरै उनलाई हेरेँ । अचम्म मानेर हेर्न थालिन् । खै किन हो , मैले उनलाई हेर्न सकिनँ वा भनौं हेर्न चाहिनँ । त्यसपछि सिरक घम्लाङ्ग ओढेँ । सिरक ओढेपछि मैले नविना देखिनँ अनि नविनाले मलाई । सिरकभित्र पसेपछि ममा अर्को विचार आयो । मलाई लाग्यो नविनाको कथा फेक कथा हो । नविना आफ्नो वास्तविक जीवनलाई वनावटी कथाको आवरणले ढाक्दै छन् अनि सिरक भित्रबाट सायद भन्दै छिन् , “ क्या लम्फु पत्रकार रैछ यार ! गफ गरेको भरमा नि ५० हजार फाल्छ । हे प्रभू ! यस्तै ग्राहक दिनदिनै मिलाऊ ! ”