‘घोस्ट राइटिङ लघुकथा प्रतियोगिता’अन्तर्गत उत्कृष्ट २५ लघुकथा छनौट गरिएको छ । यसअघि ‘उत्कृष्ट ५०’मा रहेका लघुकथाहरूमध्येबाट उत्कृष्ट २५ लघुकथाको छनौट गरिएको हो ।
घोस्ट राइटिङ नेपालसँगको सहकार्यमा चालिस शृङ्खलासम्म साहित्यपोस्टमा सञ्चालित लघुकथा प्रतियोगिताबाट १ सय १८ लघुकथाहरू छानिएका थिए । यसअघि सोही १ सय १८ लघुकथाबाट उत्कृष्ट ५० को छनौट गरिएको थियो ।
साहित्यकारहरू खेमराज पोखरेल, लक्ष्मण अर्याल तथा सुमन सौरभ सम्मिलित तीन सदस्यीय छनौट समितिले ‘उत्कृष्ट ५०’ लघुकथाबाट ‘उत्कृष्ट २५’को छनौट गरेको हो । कथावस्तु, रूपविधान, संरचना, विषयवस्तुको नवीनता, भाषिक प्रवाह, विषयको सर्वकालिकता, कथावस्तुले उत्पन्न गराउने कुतूहलता, विचार तथा सामाजिक पक्षका आधारमा उत्कृष्ट ठहरिएका लघुकथाहरूलाई ‘उत्कृष्ट २५’ मा समेटिएको निर्णायकहरूले बताएका छन् ।
पहिलो चरणमा उत्कृष्ट ठहरिएका ५० लघुकथा तीन निर्णायकलाई जिम्मा लगाई ‘उत्कृष्ट २५’को छनौट गरिएको प्रतियोगिताका प्रमुख निर्णायक श्रीओम श्रेष्ठ ‘रोदन’ले बताएका छन् । उनका अनुसार थप तीन जना लघुकथाका ज्ञाताहरूलाई उत्कृष्ट २५ लघुकथा जिम्मा लगाइने छ, र तेस्रो चरणमा उत्कृष्ट १० लघुकथाको सूची सार्वजनिक गरिने छ । त्यस्तै, उक्त १० लघुकथाबाट विशेष निर्णायक समितिले ‘वर्षका सर्वोत्कृष्ट तीन लघुकथा’को घोषणा गर्ने छ ।
४० सातासम्म चलेको प्रतियोगितामा हरेक साता छानिएका उत्कृष्ट कथाहरूलाई सङ्ग्रहको रूप दिएर सर्वोत्कृष्ट तीनको घोषणासँगै ‘वर्षका उत्कृष्ट लघुकथा’ प्रकाशन गरिने साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालले जनाएका छन् । कोइराला भन्छन्, “प्रत्येक साता छानिएका उत्कृष्ट लघुकथाहरूलाई कृतिका रुपमा घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ । साथै, प्रत्येक साता छानिएका उत्कृष्ट लघुकथामध्येबाट पनि ‘वर्षका सर्वोत्कृष्ट तीन लघुकथा’का स्रष्टाहरूलाई क्रमशः नगद ३० हजार, २० हजार र १० हजारका साथमा १०–१० थान चर्चित आख्यानका कृतिहरू उपहार दिइनेछ ।”
साहित्यपोस्टमा सञ्चालन भएको लघुकथा प्रतियोगिताको प्रायोजन घोस्ट राइटिङ् नेपालले गरेको हो । साहित्यलाई व्यावसायिक बनाउने हेतुले सुरु भएको घोस्ट राइटिङ् प्रा.लिले हालसम्म दुई सय बढी पुस्तक प्रकाशन गरिसकेको छ । उक्त संस्थाले नेपाली साहित्य पढ्न चाहनेहरूका लागि सिर्जनात्मक कक्षाहरू पनि सञ्चालन गरिरहेको छ ।
लघुकथा प्रतियोगितामा छानिएका उत्कृष्ट २५ लघुकथा तथा स्रष्टाहरूको नामावली (शृङ्खला–क्रमअनुसार) यस प्रकार छन् –
१. यायावर – धवन्तरी मिश्र ‘कात्यायन’
२. मायाको रुख – लता केसी
३. नवदुर्गा – दिव्य गिरी
४. बौद्धिक चोरी – मनीषकुमार शर्मा ‘समित’
५. मेरो बैँस – रचना शर्मा
६. उमङ्ग – ममता मृदुल
७. मान्छे मरेछ – अवतार ढकाल
८. खुसी – किशन पौडेल
९. खुसी – अनु विज्ञाति
१०. सरोगेट मदर – इन्दिरा चापागाईँ
११. मनसुन – जीवन दाहाल
१२. कुरो अर्कै रहेछ – मित्र उराठी गौतम
१३. सपथ – अङ्कुर चन्द
१४. अनुमति – शोभा पोखरेल
१५. धर्म र संस्कार – आचार्य प्रभा
१६. देवता: एक खोज – हिरा लामा
१७. प्रतिप्रश्न – शुभ शर्मा
१८. युवा सहभागिता – ढाकामोहन बराल
१९. जुत्ता संवाद – नरेश अमात्य
२०. माछेस्तम्भ र स्थानीय सरकार – कृष्ण ढुङ्गेल
२१. पूजा – दीप मङ्ग्राती ‘निरीह’
२२. बाआमाको बिहे – राम्जी रानाभाट
२३. जिन्दगीको क्यानभास – डा. टिकाराम पोखरेल
२४. सडकको निसाफ – हरि आत्रेय
२५. स्वतन्त्रता – विष्णु एस राई
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।