मानव सभ्यताको विकास सँगसँगै कलाको पनि विकास भएको हो । सिर्जनाशक्ति हरेक मानवमा विधमान हुन्छ । पृथ्वीमा मानवको सृष्टि हुँदाको अवस्थादेखि नै उसभित्र प्रचुर प्रतिभाको खानी विधाताले भरिदिएको हुन्छ । त्यसैले एक मानिस जन्मैदेखि केही नै केही गर्ने जमर्को कसिरहन्छ । मानवलाई प्रकृतिले दिएको अलौकिक गुणका कारण नै समाजमा आज ठूला ठूला वैज्ञानिक, कवि, कलाकार, डाक्टर, इन्जिनियर, राजनेता, अनुसन्धानकर्मी लगायतका व्यक्तित्वहरूको जन्म हुन पुगेको हो । समाजले गुण सम्पन्न एउटा प्रतिभावान् व्यक्तिको पहिचान तब गर्न सक्छ, जब उसले समाजलाई केही सकारात्मक संदेश दिन सक्छ । र, आफ्नो प्रतिभाको बलबाट समाजलाई सन्तुष्ट तुल्याउँदै जान्छ । यस किसिमको उसको योगदानले मानव समाज कालान्तरसम्म लाभान्वित हुन सक्छ ।
वास्तवमा एउटा प्रतिभावान् व्यक्ति सतहमा हुनुको कारणमा प्रकृतिको नै योगदान तथा देन रहेको छ । स्थुल रुपमा वर्णन गर्ने हो भने, कुनै न कुनै किसिमको प्रतिभा जो कोही मानवमा विधमान रहेको हुन्छ । फरक यति मात्र हो कि उसले समाज सम्मुख प्राप्त प्रतिभालाई कसरी र कुन लयमा प्रकटीकरण गर्छ वा गर्न सक्दैन ? प्रकृतिले दिएको वरदान स्वरुपको एउटा प्रतिभाले समाजमा राम्रो अवसर र हौसला पायो भने अवश्य नै त्यसले समाजको निम्ति फाइदाजनक काम गर्न सक्छ र एउटा प्रतिभा आफू पहिचानको उत्कर्षमा पुग्न सक्छ । यदि उसले समाजबाट अवसर र हौसला पाएन भने प्राकृतिक रुपमा जड भएर बसेको त्यो मानवीय प्रतिभा मरेर जान्छ ।
यसै सन्दर्भमा मैले यहाँ वि.स. २०३३ सालदेखि धरानमा स्थायी बसोबास भएका तर आफ्नै गाउँ ठाउँमा पनि ओझेलिएका चित्रकार प्रतिभा सुवास चाम्लिङ राईको कलासंघर्षको कुरो उठाउन गइरहेको छु । उनलाई मैले धरान क्षेत्रमा भेट्न पाएँ । उनी राम्रा राम्रा चित्र बनाउँदा रहेछन् भन्ने कुरा देख्न र जान्न पाएँ । उनी प्रतिभासम्पन्न हुँदाहुँदै पनि धरानमा नै उनी र उनको कलाको बारेमा खासै कसैलाई जानकारी रहेनछ । उनी आफ्नै ठाउँमा एक चित्रकार भनेर चिनिएका रहेनछन् । वास्तवमा मैले पनि उनलाई राम्ररी चिन्न पाएको थिइनँ । अकस्मातको पहिलो भेटमा उनी पनि धरानकै चित्रकार रहेछन् भनेर चिन्न जान्न पाएँ । खासमा चित्रकार सुवास चाम्लिङ राई पेशाले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ टेक्निसियन कर्मचारी हुन् । खोटाङ मूल थलो भएका उनी ब्रिटिस आर्मी सरगजीत राई र माता जल शोभा राईका जेष्ठ सुपुत्र हुन् । उक्त भेटमा उनको जन्म सिंगापुरमा भएको उनले मलाई खुलाए । धरानमा ओझेलमा परेका तर धेरै राम्रा राम्रा चित्रहरू बनाउने उनै होनहार स्वअध्ययनी प्रतिभा सुवास चाम्लिङ राईको भनाइ उनकै शब्दमाः
“म सानैदेखि चित्र बनाउँथे, लगभग पाँच वर्षको उमेरदेखि नै मलाई चित्रकलामा रुचि जागेको अनुभव हुन्छ । चित्र जागृतिको शिलशिलामा मैले विभिन्न फोटो पोष्टरहरू हेरेर कपी गर्ने गर्थें । पेन्सिलबाट चित्र कोर्थें । र, २०३२ सालदेखि राम्रा राम्रा चित्र बनाउन थालेको थिएँ । बनेका राम्रा राम्रा चित्रहरुलाई गिफ्ट दिन थालेँ । उसबेला म पिताजीसँग तीन रुपियाँ मागेर मैन कलरका पेन्सिल कलर किन्थेँ । जब म १३, १४ वर्षको भएको थिएँ, तबदेखि मैले पेन्सिल स्केचमा कलर लाउन शुरु गरेको हुँ । वि.स. २०४४ सालताका खुब हिन्दी फिल्मका एक्टरहरूको चल्ती थियो । त्यो बेला म उनीहरूकै चित्र बनाउँथे । त्यो कला सिक्ने बेलाको स्थितिमा धरानमा चित्रकला पढिने विषय भन्नेकुराको हेक्का मलाई थिएन । २०५२ सालमा म प्राविधिक शिक्षालय जुन अहिलेको इन्जिनियर क्याम्पस छ, त्यहाँ प्राविधिक विषयको अध्ययन शुरु गरेँ र पढाइ सकेर केही समय विदेश गएँ । त्यहाँ रहदा बस्दा पनि म सधैँ फुर्सदमा चित्रै केरेरै बस्थेँ । पछि २०६१ सालमा वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मलाई जागीरका लागि बोलावट आयो । जागीर खाने त मन थिएन, त्यै पनि कतिपय घरायसी कारणले जागीर खाने बनायो । मेरो इच्छा विदेशै गएर उमेरमा नै केही कमाउने, जमाउने र भविष्यलाई सुनिश्चित पार्ने भन्ने इच्छा थियो । तर उसबेला मन मारेरै जागीरतिर होमिनु प-यो । विदेश जाने अन्तर्वार्तामा पास भएर पनि भाग्यले साथ दिएन । विदेश जान पाइनँ ।”
प्रतिभाशाली व्यक्तिहरूमा काम प्रतिको हुटहुटी ज्यादै हुन्छ भनेजस्तै उनीमा पनि काम र चित्रप्रतिको हुटहुटी ज्यादै रहेछ । त्यसैले चित्र बनाउने कामलाई जागीरले पनि रोक्न सकेन । जागीर खाँदै निरन्तर बेला मौकामा चित्र कोरिनैरहे । उनले कुनै बेला जलरंगमा पोट्रेट चित्र कोरे त कुनैबेला चारकोलको माध्यमले चित्र कोरी रहे । कुनैबेला जलरंग माध्यममा दृश्यचित्र कोरे । कुनैबेला पोट्रेट, ल्याण्डस्केप । उनी चित्र बनाउँदा ग्राफको सहारा लिने गर्दा रहेछन् । अस्ति भर्खरै खोटाङमा भएको अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा उनी पनि सहभागी भएका थिए । त्यहाँका मेयरले उनलाई निमन्त्रणा गरेपछि उनी सहभागी हुन पाएका हुन् । यदाकदा गिफ्ट आइटमका बाँसका सिल्पकलाहरू पनि बनाउने सुवास भन्छन्, “मलाई त्यो खोटाङको ग्रुप कार्यशालाबाट निकै हौसला मिलेको छ । अब म झन् धेरै चित्र सिर्जना गर्छु ।“
चित्रकलाको गणितीय अभ्यासबारे त्यति जानकारी नपाएका उनको चित्र हेर्दा चित्रकलाको विश्वविधालयबाट अध्ययन गरेकाको जस्तो परफेक्ट चित्र देखिन्छ । हुन त कलाकार हुन कलामा पढ्नै पर्छ भन्ने पनि हुँदैन् । विश्वका ठूल्ठूला कलाकारहरू पढेर भन्दा पनि सिर्जना गरेरै चित्रकार भएका थुप्रै उदाहरणहरू हामीकहाँ छन् । नेपालका कतिपय वरिष्ठ कलाकारहरू सिर्जना कर्मबाटै चर्चित कलाकार बनेका छन् । त्यसैले एउटा कलाकार हुन अध्ययन नै नैसर्गिक हुँदैन, निरन्तरको कलाकर्म नैसर्गिक हुन्छ । यसअर्थमा राई प्रकृतिका एक सच्चा सिर्जनाधर्मी हुन्। स्वअध्यन कलाकर्मी हुन् । उनलाई अझै धेरै हौसला, अवसर र प्रोत्साहनको खाँचो छ । उनी स्थानीयस्तरमा मात्र सीमित नभएर राष्ट्रियस्तरमा आउन र यसै क्षेत्रबाट पहिचान बनाउन जरुरी छ ।




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ कार्तिक २०८२, सोमबार 










