प्रिय, प्रेम जीवनको एक भावनात्मक शब्द हो, तर यसलाई शब्दमा परिभाषित गर्न असम्भव छ । उचित पनि हुँदैन । जसरी हामीले हावामा उडिरहेका फूलहरूको सुगन्ध देख्न सक्दैनौँ तर अनुभव भने गर्न सक्छौँ, त्यस्तै प्रेम पनि त्यस्तै हो ।
विभिन्न वैज्ञानिक, दार्शनिक, उपन्यासकार, भिक्षु, मनोवैज्ञानिकहरूका अनुसार प्रेमको परिभाषा फरक फरक रहेको छ । तिमीलाई पनि थाहा नै होला, प्रेम आकाशजस्तै अनन्तः छ, जसको कुनै सीमा छैन । प्रेमका कुरा जो कसैले गर्छन् तर यसलाई बुझ्ने क्षमता कमैमा भेटिन्छन् ।
प्रिय, आज तिमीलाई दोस्रोपटक पत्र लेख्दै छु । तिम्रो प्रेम मैले बुझ्न सकेँ या सकिनँ ? त्यो मलाई थाहा भएन । प्रेम उमेरअनुसार फरक हुँदो रहेछ । तिम्रो प्रेम मलाई मदिराजस्तै लाग्यो । तिम्रो प्रेममा म लट्ठै भएँ । अर्धबेहोस । तिम्रै झ-झल्कोमा हराएर दुनियाँसँग बेखबर रहेँ । सोच त, के गरिनँ तिम्रो प्रेम पाउँदा ? मदिराभन्दा पनि कडा हुँदो रैछ प्रेमको मात । मदिरा त पिउन छोडेपछि लाग्दैन तर तिम्रो प्रेम त एकपटक खाएको थिएँ अनि अहिले छाडेपछि पनि बारम्बार तिम्रै याद बल्झाउँदो रहेछ ।
प्रेमलाई बन्धन पनि भन्ने गर्छन् । त्यसैले होला, मलाई तिम्रो प्रेमको बन्धनले बेला बेला बल्झाइरहन्छ । बन्धन भएर पनि प्रेम कति प्रिय अनि लोभलाग्दो ! मान्छे प्रेमको बाहेक सबै बन्धनबाट उम्कन चाहन्छ । जस्तो फूललाई जतिसुकै च्यातेर फाले पनि सुगन्ध चुँडाउन सकिँदैन, त्यस्तै प्रेम छुटे पनि प्रेमको अदृश्य बन्धन चुँडाउन नसकिने रहेछ ।
तिमीले हामी छुटिनुभन्दा १०/१५ दिन पहिले तिम्रै हातले चिठी लेखेर ‘अब हामी प्रेममा रहन सक्दैनौँ’ भन्दा मैले वि.स २०७२ सालको महाभूकम्पको जस्तो धक्का महसुस गरेको थिएँ । त्यसैले भन्ने गर्छु, तिम्रो प्रेम बुझ्न सकिनँ ।
तिम्रो प्रेममा म यति धेरै भिजेको थिएँ कि तिमी “तिमी” थिइनौ, मेरो प्रेम थियौ । प्रीतिले भनेजस्तै, मेरो नसा नसा रगतमा थियौ । तर जब तिमी गयौ, तिम्रो प्रेमसँगै म पनि सती गएँ । अथवा मेरो नसा नसा रगतमा तिम्रो प्रेम पुग्न सकेनँ । अनि भन्ने गर्छु, मदिराजस्तो तिम्रो प्रेम। तिम्रो प्रेमजस्तै मदिरा पनि । खाएपछि नसा नसामा पुग्छ। आखिर तिम्रो प्रेमको अर्को उपनाम यही मदिरा नै रैछ क्यारे ।
तिमी मेरो पहिलो प्रेम थियौ । म तिम्रो पहिलो दोस्रो कुन थिएँ, त्यो तिमीलाई नै थाहा होला । तिमी मेरो पहिलो प्रेम, तिमीसँगकाे प्रत्येक दिनलाई भ्यालेन्टाइन डेभन्दा बढी महत्त्व दिएको थिएँ । हिजो हामीले बिताएका रमाइला स्थान आज मरुभूमिझैँ निराश र उजाड बनेका छन् । मुटु फुटाउने, छाती भक्कानिने पलहरू बनेका छन् । प्रेमले भिज्ने आँखाहरू आज त्यही तिम्रो प्रेमको सम्झनामा रुने गरेका छन् । हिजो तिम्रो माया, साथ, सल्लाह र सेवन गरेका यी नसाहरूले आज प्रेमकै कारण मदिरा सेवन गरेका छन् । अनि भन्न बाध्य छु, मदिराजस्तो तिम्रो प्रेम ।
तिमीले लेखेर दिएको प्रेम पत्र मैले आज पनि जतन साथ राखेको छु । तिम्रो सुन्दर, औँलाबाट कालो मसीले लेखेका ती अक्षरहरू समयको अन्तरालले फिक्का पारिदिए तापनि यादहरू भने गाढा छन् । हुन त, तिमीलाई मेरो माया नलाग्ने पनि होइन । मलाई तिम्रो माया नसा बनेर लाग्यो, तर मेरो माया तिमीलाई माया नै बनेर लाग्यो । समय र परिस्थितिले तिमीलाई त्यस्तै बनायो । परिवारको खुसीको लागि मलाई त्याग्नु पर्यो, तर पनि केही छैन ।
म त तिम्रो छायामा नै मेरो जिन्दगी समर्पित गर्न चाहन्थेँ । हाम्रो प्रेमको फूलबारी रङ्गीचङ्गी बनाउन चाहन्थेँ । प्रेमको फूलबारीमा भएका कोपिलाहरुको अनुराग फक्रियोस् र सर्वत्र अनुराग छरोस् भन्ने मेरो कामना थियो, तर आज यी सबै सपनाहरू बन्द कोठाभित्र छरपस्ट भएका छन्।
प्रिय, म जस्तो थिएँ त्यस्तै छु । तिमी जस्ती थियौ त्यस्ति रहिनछौ । यहाँ भनाइ र गराइमा फरक हुँदो रहेछ । हुन त मैले म जस्तो थिएँ त्यस्तै छु भन्दा तिमीलाई आफैँले आफैँलाई मपाईँ भनेको जस्तो लाग्ला, तर होइन । म त अझै पनि तिमीलाई तिमीले बुझ्न सक्ने जति, तिमीले लिन सक्ने जति, आफ्नो हृदयमा समेट्न सक्ने जति, मुहारमा मीठो मुस्कान फलाउन सक्ने जति प्रेम गर्छु । तिमीलाई हेरेर कहिल्यै नथाकेका यी निर्दोष नयनहरू तिम्रो स्पर्श बोकेर आउने बतासहरूलाई अझै पनि साँची राखेर भन्छु, तिम्रो जीवनमा हर्षउमङ्ग पोखेर म भित्री हृदयदेखि नै तिमीलाई निस्वार्थ प्रेम गर्छु ।
तानासाह हिटलरले भनेका छन्, प्रेम होइन युद्ध गर्नुहोस् । युद्धमा तपाईँ कि मर्नु हुन्छ कि बाँच्नु हुन्छ । तर प्रेममा तपाईँ न बाँच्नु हुन्छ न मर्नु हुन्छ । हो, त्यस्तै बनाइयो मलाई तिम्रो प्रेमले पनि । मन जोड्नेदेखि महल जोड्नेसम्मको सपना बोकेका हामी आज सम्बन्ध टुटाएर बसेका छौँ । सम्बन्ध मात्रै टुटेको होइन, मन पनि टुटेको छ । मुटु भक्कानिइरहेको छ । आँखा रसाएका छन् । जसरी देशबाट परदेश पठाउँदा बिदाइका हात हल्लाउँदा आँखा रसाउँछन्, ठ्याक्कै त्यस्तै भएको छ । मात्र वेदना र रोदन फरक हो ।
अहिले तिम्रो जीवनमा के कस्तो छ ? मलाई थाहा छैन । तर म भने विवश भएको छु, मनभरि पीडाको भारी बोक्न । तिमीले बेला बेला पठाएका पत्रहरू सँगालेर राखेको छु । आजकल त जीवनका पानाहरू पनि शून्य भएका छन् । रङ्गिन सपना देख्न छोडेको छु । हृदयमा तिमीलाई सजाउन त भाग्य चाहिँदो रहेछ । तर म अभागी न परेँ । हुन त एक भएकालाई समय चक्रले छुटाउँछ, मुनामदनलाई छुटाए जसरी । त्यसैले मेरो केही गुनासो छैन अनि केही दुःख पनि ।
प्रिय, आजकल मेरो जीवन जे जस्तो छ आनन्द र मुक्तिले भरिपूर्ण छ । तिमीले छाडे पनि बाआमाको काखमा छु । कुनै चिन्ता छैन । तनाव छैन । एक एक क्षण जीवनको गीत गाउन योग्य भएका छन् । मैले हिँडेको जीवनको बाटो भाग्यले कोरिदिएका छन् । ती भित्रका स-साना शब्द हाँसोको कारण बनेर म रमाएको छु ।
तिम्रो अभावमा मैले बिताएका रात, मेरा चिन्तन, मेरा विचार अनि मेरा भावना, समय मिल्यो भने अवश्य सुनाउँला। त्यो जिन्दगी तिमीले मलाई समर्पण गर्न नसके पनि अर्को जिन्दगी तिमीले भन्दा पहिला म तिमीलाई नै समर्पण गरुँला । प्रेमले मानिसलाई परिवर्तन गराउँछ ।
उहीँ तिम्रो
भूमिराज पौडेल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।