छैन मुस्कान नयन लुला तिम्रो
पाक्दैन रहर बन्द चुल्हा तिम्रो

पीडाको बिस्कुन नफिँजाऊ कहिल्यै
गर सधैँ मन–मन्दिर खुल्ला तिम्रो

यदि खुशी र हर्षित हुन्छ्यौ भने
बरु हजार बातनै सहुँला तिम्रो


मलाई मात्र सदा पीडा पर्छ साथी
कोपिला नफक्रँदै सबै झर्छ साथी

गोडमेल र मलजल गरेकै थिएँ
फूल झरे पनि बोटनै मर्छ साथी

सकिन जोगाउन प्रयास गरेँ कति
मेरो मात्र रहर चटक्कै हर्छ साथी

उत्तरविहीन थिएँ पाएँ जानकारी
राम्रो बीउले मात्र समस्या टर्छ साथी


नशालु हेराइमा भएँ फिदा प्यारी
तृप्ति अधुरै राखी भएँ बिदा प्यारी

गोधुली साँझमा भेट हुन्थ्यौँ हामी
आँखाहरू छचल्किन्छन् सम्झिँदा प्यारी

बन्जरको धुपमा जति पिल्सिए नि
छहारी पाउँदथे समिपिँदा प्यारी

वाध्यताले दूरी जति बढे तापनि
तिम्रै तस्वीर हेर्छु विरक्तिँदा प्यारी

नागार्जुन–१०, स्युचाटार, काठमाडौँ