
जानुपर्ने ठाउँमा गएन
भत्काउनु पर्ने भ्रष्टहरूलाई भत्काएन !
गुण्डागर्दी शैलीमा आएर भूकम्पले पनि अन्याय गर्यो !
यो देश बेच्ने दलालको अन्त्य गर्न आएन
जनतामाथि शोषण गर्ने सामन्तीहरूलाई आएन
भूकम्प त केवल !
उहीँ गरिबको छाप्रोमा आयो
जसलाई एक छाक टार्न धौधौ परेको थियो !
भूकम्प त्यहीँ परदेशीको घरमा आयो
जसलाई आफ्ना नाबालकको पेट भर्न,
खाडी जानुपरेको थियो ।
भूकम्प त्यसैको घरमा आयो
जसले आफ्नो घर बैङ्कको लिलाममा राखेर छोराछोरी पढाइरहेको थियो !
आउनु पर्ने ठाउँमा आउँदै आएन
जानुपर्ने ठाउँमा जाँदै गएन
बरु बलात्कारीको अन्त्य गर्न आएन भूकम्प !
चुनाव जितेर कहिल्यै गाउँ नफर्केकाको लागि आएन भूकम्प !
भूकम्प आयो केवल !
उहीँ सोझो जनताको घरमा
उहीँ दुखियाको घरमा
उहीँ बेरोजगारको घरमा
कत्रो अन्याय गर्न सकेको भूकम्पले पनि !
पेटमै हुर्किंदै गरेकालाई टुहुरा बनाइदियो !
वृद्ध भएका बा-आमालाई बुढेसकालमा एक्लो बनाइदियो !
यो भूकम्पले पनि अन्याय गर्यो !
कसैको घर भत्कायो त
कसैको सब परिवारको ज्यान लिएर घर नै चिहान ! बनाइदियो भूकम्पले !
रोग, भोग, शोकले सधैँ पिछडिएको बस्तीलाई रुवाएर
यो भूकम्पले जनताका आँसुलाई भेरी बनाइदियो फेरि !
आएन चोरहरूको साम्राज्यमा भूकम्प !
पुर्याएन क्षति जहाँ जनता लुट्ने बैठक हुन्छ हर साँझ !
भत्काउनु पर्ने त अपराधीलाई हो !
अस्मिता लुट्नेलाई हो !
यो देश बेच्ने दलाललाई हो !
गण्डक बेच्ने दलाललाई हो !
महाकाली बेच्ने दलाललाई हो !
तर यो भूकम्पले पनि अन्याय गर्यो !
एक छाक टार्न मुस्किल हुनेको
सपनाहरू भत्कायो
सानातिना पलाएका रहरहरू भत्कायो
बा-आमालाई ढलायो
भर्खर जन्मेका सन्तान ढलायो
खुसी खोसेर लग्यो
दुखी बनाएर गयो
साँच्चै भूकम्पले पनि अन्याय गर्यो!
उहीँ गरिब जनतामाथि !
जुम्ला



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

