
आजभोलि वार्णिक छन्द अर्थात् संस्कृत शास्त्रीय छन्दमा कविता लेख्ने कविहरूको सङ्ख्या निकै बढेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमणको समयदेखि नेपाली काव्यका फाँटमा वार्णिक छन्द कवितामा पुनर्जागरण भएको मान्न सकिने अवस्था छ । जब कोरोनाले सताएको बेला देशमा लकडाउन सुरू भयो तब विद्युतीय प्रविधिमार्फत आफ्ना रचनाहरू स्वर–सङ्गीतका साथ फेसबुक, म्यासेन्जर, युट्युब आदिमा भिडियोका रुपमा पठाउने काममा कविहरू व्यस्त रहे । नेपालभित्रबाट मात्र नभएर नेपालबाहिर प्रवासबाट पनि उत्तिकै मात्रामा कविताका सस्वरवाचन गुन्जिए र गुन्जिरहेका छन् ।
शास्त्रीय छन्दमा कविता लेखनको परम्परा गण्डकीको सेरोफेरोमा ऐतिहासिक महत्वको रहेको छ । तनहुँका भानुभक्त आचार्य, कास्कीका लेखनाथ पौड्याल, लमजुङका माधव घिमिरेका कविताहरू वैचारिक रुपमा जेजस्ता भए पनि शास्त्रीय छन्दका क्षेत्रमा चाहिँ उनीहरूलाई कुशल शिल्पीका रुपमा लिन सकिन्छ । शास्त्रीय छन्दका कवितालेखनका सन्दर्भमा गण्डकी उर्वर क्षेत्र पनि हो । अहिले यस क्षेत्रमा शास्त्रीय छन्दमा कलम चलाउने प्रशस्त नयाँनयाँ प्रतिभाहरूको जन्म भइसकेको छ र क्रियाशील पनि छन् । यसै सन्दर्भमा कास्की जिल्लाको भुर्जुङखोलामा जन्मेका कवि छविलाल आचार्य (वि.सं. २००९) पनि आफ्नो रचना र वाचनलाई प्रकाशन र प्रविधिमार्फत अगाडि बढाउँदै विश्वयात्रा गरिरहेका छन् । उनका रचनाहरू साहित्यिक क्षेत्रका ख्यातिप्राप्त वाचकहरूले पनि गएका छन् ।

मालाकाे अपमान
कवि छविलाल आचार्य पोखरेली परिवेशमा वि.सं. २०६० पछि साहित्यिक अभियानमा क्रियाशील हुन आइपुगेका हुन् । यस क्षेत्रका प्रगतिशील प्रकृतिका विभिन्न साहित्यिक सङ्घसंस्थाहरूमा पनि उनको सक्रिय संलग्नता रहेको छ । शास्त्रीय छन्द र लोक छन्दमा कलम चलाउन मन पराउने आचार्यका यसपूर्व ‘बेमौसमी बाढी’ (२०७०), ‘बाटो र माटो’ (२०७२), ‘माटाको उद्घोष’ (२०७४) शीर्षकमा कवितासङ्ग्रहहरू प्रकाशित छन् । उनले ‘अमेरिका यात्राका अनुभूतिहरू’ (२०७६) शीर्षकको नियात्रा प्रकाशन गरेर गद्य विधामा पनि आफ्नो उपस्थिति जनाएका छन् भने यहाँ चर्चा गर्न खोजिएको कृति ‘मालाको अपमान’ (२०७८) कवितासङ्ग्रह प्रकाशनका दृष्टिले कवि आचार्यको पाँचौं कृति हो ।
‘मालाको अपमान’ कवितासङ्ग्रहमा रहेका एक वा दुई श्लोकका टुक्रे कविता तथा मुक्तकहरूलाई नगन्दा जम्मा एकचालीसवटा कविता सङ्कलित छन् । विभिन्न गोष्ठी तथा सभासमारोहमा वाचन गरिएका एवं फेसबुक, युट्युब आदिमा राखिएका-सुनाइएका कविताहरू यसमा बढी छन् । यस सङ्ग्रहका कवितामा कवि आचार्यले दिक्पाल, शार्दूलविक्रीडित, भुजङ्गप्रयात, अनुष्टुप्, उपजाति, मन्दाक्रान्ता, पञ्चचामर, स्रग्धरा, स्वागता, शिखरिणी, वसन्ततिलका, मालिनी, तोटकजस्ता संस्कृत छन्दको प्रयोग गरेका छन् । केही कविता भने लोकछन्द अर्थात् झ्याउरेमा पनि सिर्जित छन् ।
कवि आचार्यले यस सङ्ग्रहका कविताहरूमार्फत समसामयिक विश्वपरिवेशलाई निकै नजिकबाट नियालेका छन् । कोभिड १९ को महामारी र यसले उत्पन्न गराएको भयावह परिवेश, नेपालले हालै प्रकाशनमा ल्याएको नयाँ नक्सा, राजनीतिक क्षेत्रको प्रतिगमन, भारतले नेपाली भूमि लिम्पियाधुरामा निर्माण गर्दै गरेको सडक लगायतका विषयहरूमा कवि संवेदनशील देखापर्छन् । यस सङ्ग्रहमा सङ्कलित अधिकांश कवितामा राष्ट्रियताको भावना एवम् जन्मभूमिप्रतिको स्नेह प्रबल देखापर्छ । यसै गरी नेपालको परिवेशमा पछिल्लो समयमा नेताहरूको कुर्सीमोहका कारण देशको राजनीतिक र सामाजिक अवस्था भताभुङ्ग तथा लथालिङ्ग भएकामा कवि आचार्यले यस सङ्ग्रहका कविताहरूमार्फत चिन्ता व्यक्त गरेका छन् । नेपालीहरूमा उद्यमीपन, नव सिर्जना, वीरता तथा साहसजस्ता पक्षहरू कमजोर हुँदै गएकामा पनि उनलाई चिन्ता छ । अब हामी हात बाँधेर बस्नु हुँदैन, भारतीय अतिक्रमणका विरुद्धमा जुर्मुराउनुपर्छ भन्दै उनले ‘लड्न होऔँ तयार’ शीर्षकको कवितामा चुनौतीका साथ लेखेका छन्ः
हाम्रा धेरै सपुतहरू छन् विश्वमा चुक्नु पर्ला
तिम्रो ठाडो शिर तल गरी व्यर्थमा झुक्नुपर्ला
सम्झी सानो नगर लफडा हेप्दछौ बारबार
नालापानी सरह अघि झैँ लड्न होऔं तयार । (पृ. २५)
सङ्ग्रहभित्रका कतिपय कवितामा कविले क्रान्तिको मसाल बालेका छन् भने कतिपयमा शान्तिको खोजी गरेका छन् । विशेष गरी शासकहरूको असक्षमतामाथि नै उनले बढी प्रहार गरेका छन् । यसै सन्दर्भमा कोरोना महामारीमा राज्य जनतालाई समयमै सचेत गराउने र कोरोना विरुद्धको खोप लगाउने काम नगरेर सत्ताकै लुछाचुँडीमा व्यस्त रहेकामा कवि आक्रोशित छन् ‘मरेका मर्यै छन्’ कवितामा उनले लेखेका छन्ः
कतै स्वाब जाँच्ने भनी ठग्न खोज्छन्
उनै लास पुर्ने भनी लग्न खोज्छन्
न त्यो मापदण्ड सबै भागबण्डा
समाएर डण्डा चलाए वितण्डा । (पृ. ३१)
ऋतुहरूपिच्छे प्रकृतिमा परिवर्तन आएजस्तै श्रमिक–मजदुरहरूको जीवनमा पनि परिवर्तन आउनुपर्छ भन्ने अपेक्षा कविको छ । हाम्रो राष्ट्रियतामाथि होली खेल्नेहरूलाई कविले औँलो ठड्याएका छन् । नेपालको नयाँ नक्सा प्रकाशन गर्दैमा मात्र कविको चित्त बुझेको छैन, उनी नेपाली भूमि फिर्ता ल्याएको देख्न चाहन्छन् । त्यस्तै उनले नेपालीहरूका लागि अपाच्य पश्चिमी छाडा संस्कृतिको विरोध गरेका छन् । आजको हाम्रो बेथितिमाथि उनी बढी नै आक्रोशित छन् । बुझेर पनि बुझ पचाउनेहरूका विरूद्ध लक्ष्यित ‘चाल देखिन्छ आज’ भन्ने कवितामा उनले लेखेका छन्ः
दिनप्रतिदिन चर्को माल देखिन्छ आज
घर हरपल रित्तो थाल देखिन्छ आज
किन पथ पथमा बेहाल देखिन्छ आज
बुझिकन नबुझे झैं चाल देखिन्छन् आज । (पृ. ३९)
सङ्ग्रहका कतिपय कवितामा नैतिक सन्देशका कुराहरू छन्; कतिपयमा समयसापेक्ष जीवनपद्धति अँगाल्नुपर्ने कुराहरू छन् । नैतिक आदर्शले युक्त समाज स्थापना गरिनुपर्छ भन्ने आशयका श्लोकहरू छन् । आमाप्रतिको सम्मान र बाबाप्रतिको श्रद्धाभाव व्यक्त गरिएका कविताहरू पनि यस सङ्ग्रहमा छन् । यद्यपि उनी यस देशको वर्तमान राजनीतिक विकृतिमाथि नै बढी आक्रोशित छन् । कुर्सीका लागि असमान सन्धिसम्झौता गर्ने नेताहरूप्रति आक्रोशको भाव व्यक्त गर्दै उनले ‘खिल्ली उडायौ किन ?’ कवितामा लेखेका छन्ः
कुर्सीमोह बढेर दिग्भ्रमित भै देशै हराए पनि
बस्तीभित्र पसेर सैन्य अरूको गर्जी कराए पनि
सुन्दैनौ किन हो ? भएर बहिरो बस्ती छुटायौ किन ?
सिल्ली हो ! किन स्वाभिमानपनको खिल्ली उडायौ किन ? (पृ. ४९)
सामाजिक कुसंस्कारका विरुद्धमा एकजुट हुनुपर्छ भन्ने आशयमा पनि कवि आचार्यका केही कविता यस सङ्ग्रहमा समेटिएका छन् । सङ्ग्रहका लागि नाम जुराइएको कविता ‘मालाको अपमान’मा माला भिरेर गजक्क परी मञ्चमा बस्ने ठालुहरूप्रति व्यङ्ग्य छ । जो भ्रष्टाचारी तथा दुराचारी छन्, जो नालायकहरू छन् तिनीहरूलाई माला भिरेर मञ्चमा राख्नु भनेको फूल र मालाकै अपमान गर्नु हो भन्ने कविको ठहर छ । त्यस्तै, कविले दलीय नेता तथा हनुमान-गणेश प्रवृत्तिका कार्यकर्ताहरूले देशमा वर्षैभरि गाईजात्रा मनाएको पनि राम्रो ठानेका छैनन् । ‘नाङ्गै बनेका क्षण’ भन्ने कवितामा कविले लेखेका छन्ः
कोही मस्त डकार्दछन् मनपरी हर्ता र कर्ता बनी
आफ्नै स्वार्थ पट्याउँछन् छिनछिनै अन्याय गर्दा पनि
लुट्नेकै हक लाग्छ यो मुलुकमा खै देशका रक्षक ?
वास्ता छैन न लाज शर्म डरको बन्छन् यिनै भक्षक । (पृ. ६३)
राजनीतिक दल तथा गुट–उपगुटका नेताहरूमा मौलाएको स्वार्थी प्रवृत्तिको विरुद्धमा कविले यस सङ्ग्रहका विभिन्न कविताहरूमार्फत तीव्र प्रहार गरेका छन् । उनी कतै प्राकृतिक पर्यावरण बिग्रँदै गएकामा चिन्तित छन् भने कतै प्राकृतिक प्रकोपका कारण सिर्जित मानवीय पीडामा सहानुभूति व्यक्त गर्न पुग्छन् । यसै गरी हाम्रो समाजमा प्रचलित धार्मिक कुरीति, कुसंस्कार, रुढिवादी संस्कारादिको पनि उनले खुलेरै विरोध गरेका छन् । ‘प्रतिगमन’ शीर्षकको कवितामा प्रतिगमनकारीहरूप्रति उनी आक्रोशित छन् । यस कवितामा उनले जागरणको गीतसमेत गाएका छन्ः
जुट्नै पर्ने अबुझहररु हो ! देशको मामलामा
उठ्नै पर्ने नवनव कला, सिर्जना यो धरामा
लागौं लागौं, कलुषितपना, द्वेष सारा भगाई
जागौं जागौं सकल जन हो ! मुक्तिको गीत गाई । (पृ. ७२)
विदेशी भूमिमा पसिना बगाउने गरिब नेपाली कामदारहरूको पीडा राज्यले महसुस गर्न नसकेकाप्रति उनी चिन्तित छन् । ‘अरबको खाडीबाट’ कवितामा उनले नेपाली युवाहरू रोजीरोटीका लागि विदेशिनुपरेको र त्यहाँ पुगेर व्यहोर्नुपरेको सास्तीलाई विषय बनाएका छन् । कवि आचार्यले शासनसत्ता हातमा लिएर ठगी खान पल्केकाहरूलाई यस सङ्ग्रहका कविताहरूमार्फत औँलो ठड्याएका छन् । ‘देवकोटाको ईमेल’ कवितामा उनले मुनामदनकै लय अर्थात् झ्याउरेमा प्रश्न गरेका छन्ः
सानालाई ऐन ठुलालाई चैन हुन्छ कि हुँदैन ?
जनता रोए नेताको आत्मा रुन्छ कि रुँदैन ?
विधानभित्र समाजवाद अट्यो कि अटेन ?
विभेदकारी पद्धति हाम्रो हट्यो कि हटेन ? (पृ. ७८)
यस सङ्ग्रहमा मुक्तक आकारका टुक्रे कविताका साथमा केही मुक्तकहरूसमेत छन् । मुक्तकहरू पनि शास्त्रीय छन्दमै संरचित छन् । मुक्तकहरू चोटिला र व्यङ्ग्यमूलक छन् । आफ्ना मुक्तकहरूमार्फत पनि मुक्तककार अर्थात् कविले देशकै चिन्ता गरेका छन् । ‘एम.सी.सी.’ शीर्षकको उनको मुक्तक यस्तो छः
एमसीसी बमको गोला हो कि झोला विवेकको ?
नबगोस् अश्रुका धारा हाम्रा यी बुद्ध देवको
हे धृतराष्ट्र हो ! देश हस्तिनापुर बन्दछ
‘बलिको यज्ञमा हामी नचढौं’ देश भन्दछ । (पृ. ८०)
अन्त्यमा, कवि छविलाल आचार्यको यस सङ्ग्रहमा सङ्कलित कविताहरू देशप्रेममा आधारित छन् । राष्ट्र एवम् राष्ट्रियता उनका कवितामा पाइने मुख्य पक्ष हुन् । राष्ट्रप्रेमका साथमा यस सङ्ग्रहका कवितामा कविको विद्रोही चेतना पनि मुखरित छ । आफ्ना कवितामार्फत यिनले स्वार्थी शासकहरूमाथि प्रहार गरेका छन् । जनता नै सचेत हुनुपर्नेतर्फ उनी सजग छन् ।
अधिकांश कवितामा जागरणको स्वर छ । कविताहरू प्रगतिशील विचारले ओतप्रोत छन् । शिल्पसंरचनाभन्दा बढी भाव वा विचारका दृष्टिले यस सङ्ग्रहका कविताहरू वजनदार छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

