चाओ घरबाट हिँडेको दिन रक्सीका सुरमा त्यससित मेरो केही भनाभन पर्न गएको थियो । साह्रै रिस उठेकोले मैले त्यसलाई घरसम्म लखेटेतै लगेँ । त्यसका घरमा पसी केही मेच टेबुल भाँचकुँच पारिदिएको पनि साँचो हो । तर त्यत्तिकैले त्यसकी स्वास्नीले मलाई ज्यानमारा मुद्दा लाइदेली भन्ने सपनामा पनि देखेको थिइन । पहिलेका बडाहाकिम चीले त्यसका कुरा सुनेर मलाई ज्यान सजाय दिन ठहर्याएँ । टोलेहरूले मेरो खिलाफ केही नभनेका हुनाले उनले तिनीहरूलाई पनि मतियार भएको दोष लगाए । फिराद गर्न जाऊँ भने कहाँ जाऊँ ? तीन वर्ष झ्यालखानामै बित्यो । भाग्यले नयाँ बडाहाकिम तेङ आइपुग्नुभयो । हुन त उहाँले प्रादेशिक परिक्षा मात्र पास गर्नुभएको हो, तैपनि उहाँ ज्यादै बुद्धिमान् हुनुहुँदो रहेछ । मैले-ठुलो अन्यायमा परेँ भनी कराएँ । उहाँले मेरा कुरा केही पत्याएजस्तो लाग्यो । बडाहाकिम साहेबले भन्नुभयो, “रक्सीका सुरमा झगडा पर्दैमा कोही ज्यानै लिने शत्रु हुन्छ भन्न सकिन्न । साँच्ची नै, तैँले त्यसको ज्यानै लिने खण्ड केही थिएन ।”

“मुद्दा दोहोर्याइपाऊँ” – भनी मैले बिन्ती चढाउँदा उहाँले मन्जुर गरेर सारा साक्षीगुहाइहरू डाकिपठाउनुभयो । दमिनी हाजिर हुनासाथ त्यससित उहाँले ‘तैँले अर्को बिहे गरिस् कि गरेकी छैनस् ?’ भनी ठाडै सोधिहाल्नुभयो ।

त्यसले भनी,’अँ गरेँ हजुर । ज्यादै गरिब भएकीले एक्लै बस्न कसरी सक्दी हुँ ?’

“कोसित बिहे गरिस् ?”

“अर्को एउटा दमाईसितै गरेँ, हजुर । त्यसको नाम शेन पा-हान हो।”

“बडाहाकिम तेङले शेन पा-हानलाई हाजिर गर्न तुरुन्तै मानिस खटाई पठाउनुभयो । त्यो आइपुग्नासाथ उहाँले सोध्नुभयो, ‘यस आइमाईसित तैँले कहिले बिहे गरिस् ?”

“यसको लोग्ने मरेको महिनादिनपछि ।”

“लमी को थियो ? यसलाई के सरसौगात पठाएको थिइस् ?”

“चाओले मसित आठ टेलजति चाँदी ऋण लगेको थियो । ऊ मर्‍यो भन्ने सुनेर म आफ्ना पैसा माग्न त्यसका घर गएँ । त्यसकी स्वास्नीले ऋण तम तिर्न सक्तिन, बरु तिमीसित बिहे गर्न मन्जुर छु – भनी । तसर्थ लमी र सरसौगात पठाउने खण्डै परेन ।”

“सधैँ काम गरेर खानुपर्ने तँजस्ता मानिसले सातआठ टेल चाँदी अर्कालाई कसरी ऋण दिन सकिस् ?”

“श्रीमान् पटक पटक थोरथोरै गरी त्यति ऋण पुग्न गएको हो । एकमुस्ट त कहाँ पाएर दिँदो हुँ । छरछिमेकी, जातभाइको दुःखसुख पनि नहेरी नहुने !”

“बडाहाकिम साहेबले कागज र बुरुस दिएर हरेक बाजी कति कति दिएको होस् ?-ठिकठाक लेख् – भनी त्यसलाई अह्राउनुभयो । शेन पा-हानले चाओलाई चामल वा चाँदी नै गरी तेह्र पटकमा जम्माजम्मी सात टेल असी सेन्ट” चाँदी दिएको बेहोरा जाहेर गर्यो ।

“बडाहाकिमले त्यससित – अरू पनि कसैलाई ऋण सापटी दिएको छस् कि ? भनी सोध्दा उसले – अहँ, अरू कसैलाई त दिएको छैन भन्यो ।

“त्यस दिनको कारबाही त्यत्तिकैमा टुङ्ग्याई बडाहाकिम साहेबले भोलिपल्ट सबैलाई फेरि इजलासमा हाजिर गराउनुभयो । उहाँले शेन पा- हानलाई ऋणको बेहोरा फेरि लेख त भन्दा ऊ केही बेर अनकनायो । तर,  हाकिमका अगाडि उसको के चल्दथ्यो-उसले लेख्नै पर्‍यो ।

“दुवै फेहरिस्त भिडाएर हेर्नासाथ बडाहाकिमले एक्कासि तैँले नै चाओलाई मारेको होस्, अनाकह बेकसुरलाई फसाउने पाजी ! भनेर – त्यसलाई झम्टिहाल्नुभयो ।

अनेक यातना दिँदा पनि शेन कायल नभएको देखेर बडाहाकिम साहेबले त्यसलाई इजलासमै पेस गरेर भन्नुभयो, ‘तेरा अपराधका प्रशस्त सबुत छन्, कायल नभई के गर्छस् ? एक त तेरो हैसियत अर्कालाई त्यतिका ऋण दिन सक्ने छँदै छैन । दोस्रो, तेजारथ गर्ने भए अरूसित पनि तेरो केही न केही कारोबार अवश्य हुने थियो । तेस्रो, तैँले पेस गरेका दुइटा फेहरिस्तमा आनका तान फरक छ । तसर्थ ती जाली हुन् भन्ने ठहर्दछ । चौथो, चाओ र चेङ-ताको झगडा भएको र त्यसै दिनदेखि चाओ बेपत्ता भएको जुन उजुरी पत्र चाओकी स्वास्नीले ल्याई त्यो तेरै हातले लेखेको रहेछ । तसर्थ चाओको हत्यामा तँ निर्दोषै छस्, र त्यसकी स्वास्नीलाई त्यसबारे केही थाहै छैन भन्न  किमार्थ सकिन्न ।

“त्यसपछि बडाहाकिम साहेबले चाओकी स्वास्नीका बुडिऔँला किचेर कबुल गराउने आज्ञा दिनुभयो । सारा कुरा छर्लङ्गै भइसकेको जस्तै लागेको हुनाले अझै कायल भइन भने पछि के के पो आइपर्ने हो ? भन्ने डरले त्यस आइमाइले बुढी औँला किच्ने यन्त्र लाउनासाथ सारा कुरा ओकलिहाली । शेन पा-हानले पनि लुकाउने छिपाउने अवस्था रहेन । त्यसले चाओकी स्वास्नी ल्याउन खोजेको रहेछ । त्यसका घरमा आवतजावत गर्न सजिलो होला भनी खरखाँचामा ऊ चाओलाई थोरबहुत दिने पनि गर्दो रहेछ । एक दिन उसले चाओलाई रक्सी खुवाएर नदी किनारमा लगी मार्ने सुर कस्यो । दैवात् म पनि त्यहीँ बसी रक्सी खाइरहेको थिए। चाओसित मेरो कलह पर्न गयो । झन् असल मौका आइपरेको देखेर शेन पा दङ्ग पयो । त्यसले चाओलाई कुनै निहुँ गरी नदी किनारका एकान्तमा लगेर ढुङ्गाले टाउको थिलथिला पारी मार्‍यो, र त्यसकी स्वास्नीलाई मेरा नाममा मुद्दा हाल्न लगायो । कसैले शङ्का नगरोस् भन्ने कारणले केही दिन पर्खेर मात्र त्यसले चाओकी स्वास्नीसित बिहे गर्‍यो । स्वास्नीचाहिँले पहिले त मैलाई शङ्का गरी, तर पछि सारा भेद खुल्दा पनि त्यसले चुपै लागेर बस्नुपर्‍यो, किनभने त्यस बखतसम्म त्यसले शेनसित बिहे गरिसकेकी थिई ।

“साबिती बयान भइसकेकाले बडाहाकिम साहेबले साँच्चिका अपराधीहरूलाई दण्ड दिनुभयो, र मैले चाहिँ फुर्सत पाएँ । त्यसैले मेरा नातादार र छिमेकीहरूले पैसा उठाएर पूजाको यो बन्दोबस्त गरेका हुन् । बुढा बा, लौ भन्नुहोस् त यस्तो अर्को मुद्दा कुनै सुन्नुभएको थियो ?”

बुढोले भन्यो, “यस्ता इमानदार र बुद्धिमान् बडाहाकिम त बिरलै होलान् । जिल्लामा यस्ता हाकिम आइपुग्नु तिमीहरूको अहोभाग्य हो ।” तिनका कुरा सुनेर शान-शु पनि खुसी हुँदै सरासर घर फर्केर आयो । आमा चाहिँलाई सबै कुरा सुनाएर त्यसले भन्यो, “हाम्रा भाग्यले खोजे जस्तै हाकिम आइपुगेका हुनाले अब त्यो तस्बिर लगेर बिन्ती पत्र हाले भइहाल्यो । अब केलाई पर्खनुपर्‍यो ?”

बडाहाकिमकहाँ बिन्ती पत्र लिइने दिन पत्ता लगाई उनीहरू तस्बिर लिएर झिसमिसेमै अड्डाखानातिर हिँडिहाले । तिनीहरूले कराएको सुनेर बडाहाकिमले तिनलाई डाकी कुरा बुझे । फिराद पत्रका सट्टा ती त एउटा सानो पौवा पो लिएर आएको देख्ता बडाहाकिम छक्कै परे । सोधपुछ गर्दा मेइले शान-चीका अचाक्ली र मर्ने बखतमा आफ्ना लोग्नेले भनेर गएका सारा कुरा सुनाई। बडाहाकिमले फुर्सतका बखत राम्ररी हेरुँला भनी त्यो पौबा लिएर तिनीहरूलाई बिदा गरे ।

धनी हुन्थे कुरा जाने पौबामा जो सुरक्षित ।

उकासे ती दुवैलाई गुह्य हाकिमले बुझी ॥

त्यस दिन अर्को मुद्दा नभएको हुनाले बडाहाकिम तेङ राम्ररी हेर्न भनी त्यो तीन फिट लमाइ र एक फुट चौडाइको पौबा साथै लिई घर फर्के । खुब विचार गरेर हेर्दा पनि त्यस तस्बिरमा बडाहाकिम नि काखमा एउटा बच्चा लिएर मेचमा बसी भुईँतिर देखाइरहेको दृश्यबाहेक अर्को कुनै कुरो देखिएन ।