
आजभन्दा ठ्याक्कै २० वर्ष अगाडी किनेको साइकल, मसँग अहिलेसम्म छ । कहिले टायर पंक्चर हुन्छ । कहिले जन्जिर फुस्किन्छ । कहिले घण्टी बज्दैन अनि कहिले सिट फुस्किन्छ । हेर्दा अस्थिपञ्जर मात्र बाँकी रहेको देखिने मेरो साइकल एक मात्र साधन हो मलाई घरबाट अफिस लैजाने अनि अफिसबाट घर फर्काउने । मेरो साइकलको रूपरेखासँग मेरो अफिसको बडो तालमेल छ । त्यहाँ पनि बस्ने मेचको खुट्टा भाँचिएको छ । काम गर्ने टेबुलको बिचमा ठुलो भ्वाङ परेको छ । सेतो भित्तामा सेतो रङ कहीँ पनि देखिँदैन ।
मेरो साइकल जस्तै २० वर्ष देखि थुप्रिएका फाइलहरू जीर्ण बनिसकेका छन् तर अझै अर्को २० वर्षसम्म तिनीहरूको टुङ्गो लाग्ने छाँटकाँट छैन । अहिलेको कम्प्युटर युगमा पनि पुरानै कागजी फाइलहरूको धुलो फुक्दै बस्नु पर्ने मेरो भाग्य मेरो अफिस र साइकल जस्तै दयनीय बनिरहेछ दिन प्रति दिन ।
एउटा भित्तामा देशको नक्सा टाँसिएको छ भने अर्को तिर क्यालेन्डर झुन्ड्याइएको छ । एउटा भएको झ्याल पनि सँगैको लमतन्ने बिल्डिङले छेकिदिँदा सधैँ रात परिरहने मेरो अफिस वास्तवमै बडो गजबको छ । घडी छ जसले समय कहिल्यै ठिक देखाउँदैन, फोन छ जुन कहिल्यै बज्दैन, सिलिङमा भएको पङ्खा चल्दा बिग्रेको मोटरसाइकल झैँ कराउँछ । अनि कुनामा थन्किएको टाइपराइटरको प्रयोग हुन छाडेको वर्षौं भइसक्यो ।
धुलोले ढाकिएका फाइलहरूलाई एउटा कुनाबाट अर्को कुनामा ओसारपसार गर्दै आधा दिन जाने मेरो अफिसको दैनिकी अक्सर दराजमा कोचिएको जीर्ण फाइल झैँ अर्थहीन बन्दै गुज्रिरहेछन् । यी सबैका बाबजुद आफूलाई निष्ठावान्, मेहनती, स्वाभिमानी, स्वावलम्बी कर्मचारी ठान्दै म हरेक दिन आफ्नो साइकलमा अफिस पुग्छु । समयमै पुग्छु । अफिस पुग्ने बित्तिकै क्यान्टिनको भाइले लेराइदिएको चिया सँगै सुरु हुन्छ मेरो अफिसको काम । फाइलहरूमा टल्किएको धुलो पुछ्दै र फुक्दै । हाकिमको कोठाबाट बोलावट आउनु र थप फाइलहरू प्राप्त हुनु पनि रोजमर्राकै काममा पर्छन् । अनि नयाँ ग्राहकको नयाँ फाइल र पुरानो ग्राहकको पुरानो फाइल गर्दा गर्दै कति खेर घर फर्किने बेला भइसक्छ पत्तो पाइँदैन ।
००००
हाकिम साहेब
“कसैले भेट्न आए मिटिङमा छु भन्दिनु” भन्दै घाम ताप्न कौसीतिर उक्लिने हाकिमको कुरा गरेर साध्य छैन । सधैँ कालो चस्मा लगाएर आफूलाई सिनेमाको हिरोसँग तुलना गर्ने हाकिम साहेबको औसत समय रिसेप्सनिस्टको अगाडी बसेर उसको किबोर्डमा नाचिरहेका औला हेर्दै बित्छन् । अफिसमा भएको कलम कापी लगायत राम्रा फर्निचरहरू ससुरालीबाट आएको दाइजो सरि घर ओसार्ने उनको बानीको तारिफ नगरी बस्न सकिँदैन । अफिसलाई अनावश्यक भएको भन्दै समान घरतिर ओसार्नुलाई उनी ‘अफिसको भलो’ गरेको संज्ञा दिन्छन् । सधैँ एक घण्टा ढिलो आउनु अनि एक घण्टा छिटो अफिस छोड्नु पर्ने उनको बाध्यता VIP हरूसँगको मिटिङको प्रतिफल भएको बखान गर्छन् हाकिम साहेब । घरमा रहेकी उनकी श्रीमती आफूलाई हाकिमनी भन्दै हामी कर्मचारी माथि आफ्नो घरको कामहरू थोपार्नबाट चुक्दिनन् ।
हरेको विषयमा आफूलाई महान् भन्न बाट नथाक्ने हाम्रो हाकिम साहेब लेनिन, मण्डेला, गान्धी र मुसोलिनिका कुराहरूको खिचडी दिनहुँ पकाउँछन् अनि हामी जस्ता सीमित ज्ञान भएका मान्छेहरूको टाउको खान्छन् ।
देशमा रहेको वर्तमान व्यवस्थादेखि इतिहास बनिसकेका सबै व्यवस्थासम्म उनको नजरमा वाहियात हो । देशको मुहार बदल्न उनको जस्तो सोच र कार्यशैलीको जरुरत भएको भन्दै कुर्लिने हाम्रो हाकिम साहेब हरेक १५ मिनेटमा चुरोट सल्काउन बाहिर पुग्छन् । “फाइलको काम आजै सकाउनु पर्छ भनेर कहीँ लेखेको छ ?” भन्दै आएका ग्राहकहरूलाई भोलि आउनुहोस् भन्ने हाकिम साहेबको कार्यशैलीले देशको मुहार बदलिने कुरामा रिसेप्सनिस्टलाई समेत विश्वास छैन । तिनै रिसेप्सनिस्ट जसको तारिफ गरेर हाकिम साहेब कहिल्यै थाकेनन् । उनलाई नजिकबाट चिन्नेहरू उनको श्रीमतीसँग बल्ने परालको आगोमा तिनै रिसेप्सनिस्टले पानी हाली निभाउने गरेको कनाफुसी गर्दै हिँड्छन ।
यस्ता हावादारी हाकिम मुनि बसेर काम गर्दा मेरो हालत आफ्नै साइकल जस्तो नभएर कस्तो हुनु अनि । आफ्नो विडम्बना आफैलाई सुनाउँदै साइकल दौडाउँदै मेरो घर फर्किने तरिका पहिले जस्तो थियो अहिले सम्म उस्तै छ ।
००००
अफिसका साथी
अफिसमा सँगै काम गर्ने साथीहरू पनि ताल न बेतालका छन् । म प्राय आफ्नै साइकलसँग दाँज्न पुग्छु उनीहरूलाई पनि । कोही पाङ्ग्रा पंक्चर भएको जस्तो खाली टाउको लिएर अफिस आउँछन्, मानौँ त्यो टाउकोमा पम्पुलाई हावा भर्नु पर्ने जस्तो, नत्र त्यो टाउकोले कामै गर्दैन । कसै कसैलाई १०० रुपैयाँको पम्पु लगाए पुग्छ भने कसैलाई हजारौँले पनि पुग्दैन । ठुलै भ्वाङ परेको सङ्केत मिल्छ । अर्का थरी साइकलको जन्जिर फुस्किए झैँ थोते मुख कसैले देख्ला भन्ने डरले लुकेर बस्छन् । अस्थिपञ्जर मात्र बाँकी रहेको मेरो साइकल जस्तो देखिन थालिसकेका छन् केही बुढाहरू । गरिबीको चुटाइमा परेकालाई हाकिमको हप्काइले सधैँ हल्लाइरहन्छ । त्यसैले होला यिनीहरूको हिँडाइ र मेरो साइकलको दौडाइ उस्तै हुन्छ, सबैतिर बाट आवाज आउने अनि छिन छिनमा बिग्रने ।
एउटी भएकी रिसेप्सनिस्ट पनि हाकिम साहेबतिर सल्किसकेकी छ । बाँकी सबै सद्देहरू मौका छोपी साथी वर्ष बनिदिन्छन् । तलब थापेको भोलिपल्ट नै अत्यन्त नजिकको मित्र बनिदिन्छन् कोही सापटी माग्दै । कोही हरेक दिन खाजा खाने बेलामा साथी बन्न आइपुग्छन् । खाजा सकिन्छ अनि मित्रता पनि सकिन्छ । कोही अप्ठ्यारा फाइलहरू म तिर तेर्साउँदै मेरो काविलियतको प्रशंसा गर्न थाल्छन् र म जस्तो मित्र पाएकोमा गौरवान्वित बन्छन् ।
अफिसभरि मलाई साथी ठान्ने भेटिन्छन् समय र अवस्थाअनुसार तर म सधैँ एक्लो नै पाउँछु आफूलाई । अचम्म लाग्छ । म मा नै केही कमजोरी होला त भन्दै चित्त बुझाउनु बाहेक अरू विकल्प भेट्दिन मैले । शायद त्यसैले होला हाकिमको हप्काइमा परेकाहरूको झोँक बिसाउने थलो म नै हुन पुग्छु । त्यो झोँक घर पुग्दा सम्म साउँमा व्याज थपेको जस्तो बढेर ठुलो बनिसक्छ अनि श्रीमती माथि बिसाउन पुग्दा अक्सर चुलो बल्दैन । भोलि पल्ट खाली पेटमा साइकल दौडाउँदै फाइलको धुलो पुछ्ने यथार्थसँग कोल्टे फेर्दै आत्मसात् गर्न पुगिन्छ रातभर ।
००००
ग्राहक
रातभरको छटपटाहटबाट उम्केर अफिस पुग्दा ग्राहकहरूले पनि सुख सँग बस्न दिँदैनन् । हुन त सबै ग्राहक कहाँ सजिला हुन्छन् र । विभिन्न रूप रङ्ग र साइजका ग्राहक छन् हाम्रो अफिसमा । कोही फाइल हरायो भन्दै आउँछन्, कोही फाइल खोज्न आउँछन्, कोही फाइल रोज्न आउँछन्, कोही फाइल बनाउन आउँछन् अनि कोही फाइल मेटाउन आउँछन् । कोही मेरो जस्तै साइकल गुडाउँदै आउँछन्, कोही पैदल, कोही मोटर साइकल त कोही सरकारी गाडी लिएर आइपुग्छन् । ट्याम्पो र बसमा गुन्द्रुक झैँ कोचिएर आउनेको जत्था पनि ठुलै हुन्छ ।
फाइल बनाउन भेटी लिएर आउने देखि केटी लिएर आउनेको सधैँ भिड भइरहन्छ । सेटिङ् मिलाएर आउने अनि डेटिङ् छोडेर आउनेहरूको छुट्टै नखरा सहनु पर्छ हामी कर्मचारीहरूले । कोही नेताको मान्छे, कोही मन्त्रीको मान्छे अनि कोही गुण्डाको, सबै ग्राहक; कसको काम गर्ने, कसको काम नगर्ने ? कोही ससुरालीबाट आइपुग्छन् त कोही गोरु बेचेको साइनो लगाउँदै आइपुग्छन् । उनीहरूको काम पनि गरिदिनु नै पर्यो । यिनीहरूको काम गर्न थाल्यो, “आफ्नो मान्छेहरूको मात्र काम गर्ने” भन्ने लाञ्छना लाग्न पुग्छ । जे गरे पनि सुख छैन । आज भोलि त अवकाश लिनु पर्यो कि भनेर सोच्दै छु ।
अवकाश पश्चात् फाइलहरूको धुलोबाट फोक्सोलाई मुक्ति मिल्ने । त्यसैगरी फाइलहरू भित्र भेटिने अनगिन्ती जोड घटाउबाट पनि विश्राम पाइने । अनि बल्ल सुरु हुनेछ मेरा सुखका दिनहरू ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

