प्रसिद्ध नर्वेली उपन्यासकार सिग्रिद उन्दसेतको जन्म २० मे १८८२ मा डेन्मार्कको कलुन्दबोर्गमा भएको थियो । चार्लोट उन्दसेत र इङ्गभाल्ड मार्टिनका तिन छोरी मध्ये सिग्रिद जेठी थिइन् । उनी दुई वर्षकी हुँदा उनको परिवार नर्वे बसाइँ सरेको थियो । उनी नर्वेको राजधानी क्रिस्टियना (अचेलको ओस्लो) मा हुर्केको थिइन् । उनी ११ वर्षकी हुँदा उनका पिता प्रसिद्ध पुरातत्वविद् इङ्गभाल्ड मार्टिनको निधन भएको थियो । उनले क्रिस्टियानाको कमर्सियल स्कुलमा अध्ययन गरेकी थिइन् । परिवारको कमजोर आर्थिक अवस्थाले गर्दा उनले विश्वविद्यालयमा अध्ययन गर्नसक्ने स्थिति थिएन । त्यसकारण उनले एक वर्षे कम्पनी सेक्रेटरिएट कोर्ष पूरा गरिन् । १६ वर्षको उमेरमा क्रिस्टियानाको एउटा इञ्जिनीयरिङ कम्पनीमा उनी कम्पनी सचिवको पदमा नियुक्त भइन् । त्यस कम्पनीमा उनले दस वर्षसम्म काम गरिन् ।
उन्दसेत आफ्नो कार्यालयको काम गर्दै लेख्ने र पढ्ने गर्थिन् । २२ वर्षको उमेरमा उनले मध्ययुगीन डेनमार्कको पृष्ठभूमिमा एउटा ऐतिहासिक उपन्यास लेखिन् । उनले सो पुस्तक प्रकाशनको निम्ति प्रकाशकसँग सम्पर्क गरिन् तर कुनै पनि प्रकाशन गृहले त्यसलाई स्वीकार गरिन ।
दुई वर्षपछि उनले अर्को लघु उपन्यास लेखिन् । समकालीन क्रिस्टियानाका मध्यम वर्गीय महिलाको यथार्थ चित्रणमा आधारित यो उपन्यास शुरूमा प्रकाशकले अस्वीकार गरेता पनि पछि यसको प्रकाशन सम्भव भयो । त्यस उपन्यासको नाउँ Fru Marta Oulie अर्थात A Novel of Betryal (धोकाको कथा) थियो ।
तेस्रो पुस्तकको प्रकाशनपछि उनले कम्पनी सचिवको जागीर छोडिन् । उनी लेखनाथबाट प्राप्त आम्दानीबाट जीविकोपार्जन गर्नसक्ने भइन् । लेखकको विद्वत्वृत्तिको रकम उपलब्ध भएपछि उनी युरोपको भ्रमणमा निस्किइन् । केही समय डेनमार्क र जर्मनीमा बसेपछि उनी इटालीतर्फ लागिन् । सन् १९०९ मा उनी रोम पुगिन् । त्यहाँ उनी नौ महिना बसिन् । सन् १९१२ मा ए.सी. स्वार्सताद नाउँ गरेको आफूभन्दा ९ वर्ष जेठो एक चित्रकारसँग उनको विवाह भएको थियो । विवाहपछि ती दम्पत्ति लण्डन बसोबास गर्थे । उन्दसेतकी माइली छोरी मानसिक रूपमा कमजोर थिइन् । उता स्वार्सतादकी पूर्वपत्नीपट्टिको एउटा छोरो पनि त्यस्तै थियो । यो उनको निकै दुःखको समय थियो । उन्दसेत जर्मन आक्रमण र नाजी जर्मनीको विरुद्धमा उभिएकी हँदा सन् १९४० मा नर्वेबाट भागेर संयुक्त राज्य अमेरिका पुगिन् । दोस्रो विश्वयुद्ध समाप्त भएपछि उन्दसेत फेरि नर्वेको लिल्लेह्यामर नै फर्किन् ।
सन् १९१९ सम्ममा उनले समकालीन क्रिस्टियानाको पृष्ठभूमिमा धेरै उपन्यास लेखिन् । तिनमा किस्टियानाका तल्लो वर्गको श्रमजीवी, यहाँका जनजतिको पारिवारिक स्थिति, बाबु आमासँग बालबच्चाको सम्बन्ध तथा महिला र उनीहरूको प्रेम सम्बन्धका विषयवस्तु छन् ।
सन् १९११ मा लेखिएको उपन्यास जेनी (Jenney) एउटी महिला चित्रकारको कथा हो । आफ्नो रोमान्समा असफल भएपछि उसले आफ्नो जीवन बर्बाद भएको महसुस गर्छे र अन्त्यमा आत्महत्या गर्न पुग्छे । सन् १९१४ मा प्रकाशित उपन्यास वसन्त (Spring) ले एउटी विवाहित महिलाको कथा बोकेको छ । यसमा वैवाहिक जीवनको गम्भीर सङ्कटबाट आफू र आफ्नो प्रेमलाई बचाउन ऊ कसरी सफल हुन्छे र अन्त्यमा परिवारलाई कसरी सुरक्षित राख्छे भन्ने देखाइएको छ । तीन ठेलामा प्रकाशित उनको प्रसिद्ध उपन्यास क्रिस्टिन लाव्रनस्दत्तर (Kristin Lavransdatter) मा एउटी महिलाले नर्वेमा जन्मदेखि मृत्युसम्म भोग्नु परेको जीवनको अनुभवको चित्रण गरिएको छ । सन् १९२० देखि १९२२ सम्म यसका तीन ठेली प्रकाशित भएका थिए । उनका यी कृति पनि महत्त्वपूर्ण मानिन्छन्ः १) अपरिचित, २) आनन्दावस्था, ३) बुद्धिमानी कुमारी, ४) एउटी आइमाईको दृष्टिबिन्दु, ५) हेस्टभिकेनको मालिक, ६ बञ्चरो र ७) सर्पको दुलो ।
उन्दसेतले आत्मसंस्मरण र जीवनी पनि लेखेकी छन् । उनले सन् १९२८ को साहित्यतर्फको नोवेल पुरस्कार प्राप्त गरेकी थिइन् । उनको मृत्यु १० जुन १९४९ मा ६७ वर्षको उमेरमा नर्वेको लिलेह्यामरमा भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।