‘जन्मदिनको शुभकामना बाबू, ठूलो-ठूलो हुनू, बलियो हुनू छोरा ।’ उसको घुम्रिएको कपाल भएको टाउकोलाई छातीमा टाँस्दै मैले भनेँ ।

बाल्यवस्थामा गर्ने गरेझैँ एल्जनले मलाई अँगालोमा बेर्यो । धनुषाकार आँखीभौँमुन्तिरका उसका दुई काला आँखा कालो जैतुनको फलझैँ टलक्क टल्किएका थिए । उसको डम्म परेका ओठ तन्किएर मुस्कानमा परिणत भए, जुँगा नै हल्लिने गरी ।

‘ठूलो भएस् ? पक्का हो आमा ?’

‘मेरो प्यारो बाबू ! मलाई त अहिलेसम्म पनि तिमी उही बेलाको फुच्चे जस्तै लाग्छ । होइन भने तिम्रो जन्मदिनमा त्यस्तो विशेष उपहार दिन्थेँ त म ?’

बालसुलभ उत्सुकताका साथ एल्जनले उपहारको पोको खोल्यो । उसले हतारमै त्यसभित्रका चीजबीज खोतल्यो र एउटा सानो प्याकेट भेटाउनेबित्तिकै त्यसलाई खोलेर हेर्यो । त्यसमा भएको एउटा सानो मिस्रीको डल्लो उसले बीस वर्षअघि गरेको जस्तै क्वाप्प मुखमा हालेर ठूलो आवाज निकाल्दै च्वापच्वाप चुस्न थाल्यो । मेरो खित्कै निस्कियो ।

उसका काला आँखा मसँगै हाँसे । हात माथि उचाल्दै उसले भन्यो, ‘तर त्यो डल्लो झन् गुलियो थियो ।’

अब म मिस्रीको डल्लोको कथा तपाईंलाई भन्दै छु ।

बीस वर्षअघिको कुरा हो । एकाबिहान म कार्यालय जान लागेको थिए । मैले एल्जनको कपाल सुमुसुम्याउँदै भनेँ, ‘तिमीलाई म के ल्याइदिऊँ बाबू ?’

आफ्नो न्यानो बिछ्यौनामा एल्जनले कोल्टे फेर्यो । निद्रालु हुँदै धेरैबेरसम्म चुप लागेर मतिर निर्निमेष हेरिरह्यो । मसँग के माग्ने भनेर उसले सोचिरहेको हुनुपर्छ सायद । त्यसपछि उसले मेरो घाँटीलाई आफ्नो अँगालोमा बेर्दै भन्यो, ‘मलाई एक डल्लो मिस्री ल्याइदिनुस् आमा ।’

‘ठीक छ ।’ मैले बाचा गरेँ । तर ल्याउँछु भनेकामा म दुखी भए किनभने एक टुक्रा पनि मिस्री पाउन म सक्तिनथेँ होला । त्यो युद्धको समय थियो । युद्धमैदानमा मानिसहरू मरिरहेका थिए । कहिले एउटा त कहिले अर्को ढोका ढकढकाउँदै मृत्यु सन्देशहरू घरघरमा आइपुगिरहेका थिए । केटाकेटीहरूलाई प्रायः भोकै सुताउनुपरिरहेको थियो । निदाउनुअगाडि आफ्ना आमाहरूसँग उनीहरूले सोध्ने एउटै कुरा त्यही हुन्थ्यो, ‘भोलि हामीलाई अलिकति रोटी ल्याइदिनुस् है आमा ?’ ‘भोलि मलाई एक डल्लो मिस्री ल्याइदिनुस् है आमा ?’

त्यो यस्तो समय थियो जुन बेला केटाकेटीको हृदयमा उम्रने सुखद र चम्किला सपनाहरू सानो टुक्रा रोटी र मिस्रीका डल्लाकै आकारमा फक्रन्थे ।

घाइते सेनाहरूले कहिलेकाहीँ आफ्नो रासनको केही भाग थप सुर्ती लिनका लागि बिच्ने गर्छन् भन्ने मलाई हेक्का थियो । त्यसै हुनाले त्यो साँझ घर फर्कंदा मैले सैनिक अस्पताल हुँदै निस्कने बाटो समातेँ ।

सुनसान बाटोमा एक्लै हिँडिरहेका मान्छेहरूको मुखभरि बालुवा छ्याप्तै चिसो उत्तरी हावा चलिरहेको थियो । पहेँलो सुनौलो कपाल भएको एक जना हबलदार अस्पतालको पर्खालको छेवैमा फलामे रेलिङमा अडेस लगाएर उभिरहेको थियो । उसको एउटा हातको बाहुला रित्तो थियो, उसको जीउमा निर्जीव झुन्डिरहेको । हावाको एक झोकाले हिर्काउँदाखेरि त्यो बाहुला रिसाउँदै कसैलाई धम्क्याएझैँ गरी स्वाट्ट माथि बत्तियो ।

म अलि नजिक गए । हबलदारले हातमा एउटा सानो प्याकेट समातेको थियो । त्यो हातमा पनि तीनवटा मात्रै औँला बाँकी थिए । प्याकेटतिर औँल्याउँदै मैले सोधेँ, ‘त्यो मिस्री हो भाइ ?’

हबलदारको अनुहार रातो भयो । उसले हातको प्याकेट मतिर बढाउँदै भन्यो, ‘होहो, लिनुस् ! मेरो सुर्ती सकिएको छ ।’ यति भनुन्जेल भुइँमै गाडिएका आफ्ना आँखा उसले एकपल्ट पनि माथि उठाएन । मैले मिस्रीतिर हेरेँ । खल्तीको तीन रुबल औँलाले छाम्दै त्यत्तिले पुग्दैन भन्ने जानेरै मैले भनेँ, ‘त्यति धेरै मलाई चाहिँदैन, एकदुई साना डल्ला भए पुग्छ ।’

हबलदार केही बोलेन । मैले सुस्केरा हाल्दै भनेछु, ‘आज मेरो छोराको जन्मदिन भएको हुनाले उसले उपहारस्वरूप एक डल्लो मिस्री चाहेको छ तर यति धेरै किन्न त मसँग पैसा छैन ।’

मलाई नजिकबाट नियाल्दै उसले गुम्म परेको स्वरमा भन्यो,’तपाईंको छोरा कति वर्ष पुग्यो ?’

‘तीन ।’ चर्किएको फुटपाथमा केही खोजेझैँ गरी उसले ट्वाल्ल परेर पुनः भुइँतिरै हेर्न थाल्यो । जान भनेर म फर्किनै लागेको बेलामा उसले, ‘पर्खनुस् ! यता आउनुस त !’ भन्दै बोलायो । आफ्ना तीनवटा औँलाले अप्ठ्यारो गरी पोको समाएर मलाई दिँदै उसले भन्यो, ‘लिनुस् छोरालाई लगिदिनुस् है ।’ दुई टुक्रा मिस्री हत्त न पत्त हटाउँदै मैले पैसा उसको खल्तीमै राखिदिएँ ।

हबलदारले टाउको छेउतिर घुमायो र कुहिनाले खल्तीतिर देखाउँदै भन्यो,’पैसा फिर्ता लानुस् ।’

उसको आग्रह वा अझ भन्नुपर्दा आदेशबमोजिमको मैले गरुँला भनेर उसले पर्खेर बसेन । उसले आफ्नो हात खल्तीभित्र छिराउँदै नोट बाहिर निकाल्यो र मेरो पर्समा कोचिदियो ।

मैले उसतिर पुलुक्क हेरेँ । एक्कासि ऊ बत्तिसी देखाएर हाँस्यो । उसको कठोर मुहारमा त्यो केटौले मुस्कान फिँजिनु एकदमै अनपेक्षित थियो ।

‘यो तपाईंको छोरालाई लगिदिनुस् । हबलदारले उसलाई दिएको उपहार भनेर सुनाइदिनुहोला ।’

‘अनि तपाईंको सुर्ती नि ?’

‘सुर्ती भन्ने चीजको कहिल्यै आविष्कारै नभएको भए हुन्थ्यो नि बरु । यसै पनि डक्टरहरूले मलाई चुरोट नखानू भन्ने गरेका छन् । खाएको थाहा पाए भने रौद्र रूप देखाउँछन् ।’

साँझमा हामी आमाछोरा चिया खाँदै  थियौँ । एल्जनले एक टुक्रा मिस्री मुखमा क्वाप्प हाल्यो । त्यसपछि उसले ठूलो आवाजमा च्वापच्वाप गरेर चुस्दै खायो ।

‘हबलदारको मिस्री सारै गुलियो छ ।’ उसले दोहोर्याई-तेहेर्याई यही वाक्य भन्याभन्यै गर्यो ।

त्यो घटना भएको बीस वर्ष बितिसक्यो । हरेक वर्ष एल्जनको जन्मदिनमा उसलाई जे उपहार दिए पनि त्यससँगै एउटा सानो पोकोमा मिस्रीको डल्लो पनि हालिदिन म कहिल्यै छुटाउँदिनँ । मिस्रीको बट्टा टेबलमै हुन्छ । तर एल्जनले सधैँ उपहारमा पाएको मिस्री खान्छ । खाएपछि भन्छ, ‘आहा ! तर त्यो मिस्री झन् गुलियो थियो ।’

अलेभिया बाबाएमा

जन्मः सन् १९२२, अजरबैजान, बाकु । विद्यार्थी जीवनदेखि नै लेखन प्रारम्भ । सन् १९५० मा पहिलो कथासङ्ग्रह प्रकाशित । प्रकाशित धेरै साहित्यिक कृतिमध्ये कथासङ्ग्रहको बाहुल्य । कथामा मनोविश्लेषणात्मक चरित्रचित्रण ।