नेपाली साहित्यले प्रतीभाशाली कवि प्रचण्ड भास्कारलाई गुमाएकाे धेरै भएकाे छैन । वा भनाैँ, नेपाली साहित्य क्षेत्रले उनको विछोडोको घाउ आलै बाेकिरहेकाे छ । सर्जकलाई आँसुले होइन, श्रद्धाले सम्झनु पर्छ । सिर्जनाले सम्झनुपर्छ । र, सम्झनुपर्छ विचारले पनि । दिवंगत भास्करलाई हामी उनका शब्द र सिर्जनाबाट निरन्तर सम्झिरहने छाैँ, र त्यही सम्झने क्रममा भास्कर अस्पतालमै रहेका बखत राजु झल्लु प्रसादले उनीसँग गरेको संवादलाई प्रस्तुत गरेका छाैँ ।
…
राजु झल्लु प्रसादः मैले कुन्नि कुन जोशमा उसलाई यी प्रश्नहरू म्यासेन्जरमा छाड्न पुगेको रहेछु । १० वटा प्रश्नको एउटा ठेली बनाएर करिब ३ महिनाअघि मैले करिब २५ जना कवि/लेखकहरूको म्यासेन्जरमा प्रश्न छोड्दै गर्दा उसलाई छुटाइनछु । ‘एक प्रश्न, एकाध उत्तर’ नाम दिउँ कि भनेर त्यसै बसिरहेको बखतमा असम्पादित त्यस अन्तर्वार्ता संग्रहबाट यो अन्तर्वार्ता उठाएको छु । जसले कवि प्रचण्ड भास्करको परिचय अझ तिखार्ने छ भन्ने विश्वास लिएको छु ।
अझ अलिकति,
मेरा प्रश्नहरू पाउनासाथ उसले दिल्लीबाट भनेको ताजै छ, “म त अनेकतिर मन डुल्ने भएर स्वाट्टै एकैचोटि लेख्न नसकेर मजाले लेखिराछु ।” मैले उसको स्वास्थ्यवस्थाको चिन्ता गर्दै भने, ‘समय लगाउनु, केही छैन ।”
फेरि २/३ दिनपश्चात् अर्को टेक्स्ट गर्यो, “लामो लेख्नै नसक्ने बानी भएर मुस्किलले यति लेख्न भ्याएँ दाइ । जाने जस्तो लागेका प्रश्नको उत्तर केरकार गरेको छु दाइ ।”
र, यही वाक्य नै हामीबिचको संवादको अन्तिम वाक्य भइदियो ।…!
र, आखिरी कथन अर्थात् भास्करले अस्पतालबाट दिएका अन्तर्वार्ता
राजु झल्लु प्रसाद: ‘कवित्वं तत्र दुर्लभम् ।’ यस जगतमा मानिस भएरै जन्मनु दुर्लभ प्राप्ति हो, त्यसमा पनि तपाईँ झैँ कवि हुनु झन् दुर्लभ हो । हाम्रा प्राचीन पुराणले भर्खरै तपाईँको खतरा तारिफ गर्यो नि, कस्तो लाग्यो ?
प्रचण्ड भास्कर: नेपाली साहित्य अन्तर्गत पड्किरहेका महफिल, मञ्चहरूको उधारो र पैँचोको तालीलाई अपवाद मान्ने हो भने पुराणले गरेको कविहरूको तारिफ तारिफयोग्य नै हो म मान्दछु । कवित्वलाई भलै तारिफको बाल मतलब होला तर कविलाई जस त दिनुपर्छ ।
अँ कवि तारिफको घाँटीमै झुण्डिरह्यो भने त बिचरो बडो छट्पटाउँछ । ऊ तारिफले नै मरे पनि उसको आत्माले पक्कै मुक्ति पाउँदैन, चाहे गुटका आफन्तले कति नै पिण्ड दिऊन् । उसो त अहिले साहित्यका तीर्थस्थलमा स्नान गर्नेहरूको घुइँचो नै लागेको देखिन्छ । अक्सर कविजनले प्रसादमा तारिफको चूर्ण नपाउने पनि होइनन् । आफूले पचाउन सकिने तारिफको चूर्ण जो ले पनि खान पायो । नछेर्ने सर्तमा !
राजु झल्लु प्रसाद: ‘तपाईँ कविता पढ्ने मान्छे पनि हो । किन पढ्नुभाको ? तपाईँले पढेको पहिलो कविता कुन थियो ? कवितांश याद छ ? पछिल्लोपटक ‘तैट मुला’ भनेर मिल्काएको कविता कसको थियो ? नाम नभने नि गोत्र भन्नुस् न । सजिलोको लागि, प्रगतिशील, वामपन्थी, सांसारिक, महिलावादी, शून्यवादी, नूतनप्रेमी, लगायतका विश्लेषणहरू प्रयोग गर्न पाउनुभो, तर भन्दा राम्रो । भन्दिनुस् यार ।
प्रचण्ड भास्कर: कविता पढ्दा जस्तो आनन्द केही पढ्दा नआउने भएर म कविता पढ्न निकै रुचाउँछु । हृदय र मस्तिष्क भएका कविता मेरा प्रिय कविता हुन ।
म कविता पढिरहेको छु भन्ने भ्रम अलि बढी भएको थियो । यो भ्रम नेरु खर्च गरी कविता सङ्ग्रह भनेर किनिएका शब्द सङ्ग्रहबाट आएको हो । तर केही सङ्ग्रहहरूले हताश हुनबाट जोगाएका छन् । यसकारण बडो सरमले भन्नु पर्छ ‘म कविता सङ्ग्रह पढिरहेको छु ।’ यद्यपि सञ्जालमा बेला बेला सुन्दर फुटकर कविताहरू पढ्न पाउँदा राहत फतेह अलि खान भइदिन्छ मन ।
पाठशालाका दिनमा अनिवार्य नेपालीमा सरको डरले कनी कनी पढिएका कविताहरू त के सम्झिनु, उसो त याद पनि छैनन् । कवितांशको गुनासो नै रहने भए यसो गर्छु जिब्रोमा रहिरहेको किसानको रहर गाइदिन्छु, हेहे.. ।
सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान ।
बिहानीपख झुल्किन्छ घाम देउराली पाखामा
असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा ।
अँ कवि दैवज्ञराज न्यौपानेको नाम त गुगल नै गर्नुपर्ने भएछ । कवि हुनु त गुगल मै खोजिने खालको हुनु ! नत्र के कवि हुनु ? के को छवि हुनु ? भनेर कसैको आधुनिक युक्ति त छापिएको छैन कतै ? छापिएको नहोला भन्न पनि सकिन्न यो हाते छापाखानाको युगमा !
कविता भनेर ‘हावाकाल’मा लेखिएका आफ्ना धेरै निवर्तमान भडासलाई त वर्तमानमा ‘तैट मुला यस्तो पनि लेख्थिस्’ भनेर मिल्काइएको छ । भविष्यमा यो दोहोरिन, तेहरिन, फेरिन पनि सक्छ ।
हेर्दा जस्तासुकै नयाँ, आधुनिक, प्रगतिशील, बादी, पन्थी देखिए पनि मैले प्रेम गर्ने भनेको कविताको प्राणवायुलाई हो । मलाई कविताको पहिरन भन्दा वैचारिक गन्ध मन पर्छ । खुसीको कुरा के भन्देखिन सृजनाको सफा पोखरीमामा पौडी खेल्नेहरू देख्दा म आफै हौसिन्छु । र, उनीहरूलाई पनि रहरै रहरले यसरी फ्यात्त फुत्त गरौँ न भनिदिन्छु। आफैँ पौडी खेल्न सिकिरहेको बेला उसै पोखरीमा फ्यात्त फुत्त गरिरहेकालाई धेरै भन्न हुन्छ वा हुँदैन म जान्दिनँ । कुनै दिन नदीमै तर्ने आँट आए गजबै हुने थियो । त्यो बेला बरु यसरी पौडिनु पर्छ भनेर भन्न सकिन्छ कि ?
अहो.. म त कता कता अर्कै दिशामा बगिगएछु !
राजु झल्लु प्रसाद: ‘नेपालका दामी दामी कवि को हुन् ? दामी कविता र कविता सङ्ग्रह कुन कुन हुन् ? झारपटास कवि र कविताको नाम भन्नुहुन्छ भने पनि गजब भयो । नेपाली कविताको पाठकले ‘अ’ भन्दा आलंकार बुझ्ने हुनाले मन लागेका नामहरू लिन छुट छ है ! नेपालको नभन्ने भए ‘फरेन पोयट्स’को नाम लिनुस् ।
प्रचण्ड भास्कर: मेरो विचारमा दामी कवि उनै हुन् जसका कविताले हृदय र मस्तिष्क स्पर्श गर्छन् । बेथितिको, विकृति, कू काम गर्नेको घाँटी अँठ्याउने कविता मन पर्छन् । कसैका गोडा स्पर्श गर्ने, खल्ती मुसार्ने कविता पनि के कविता ?
मलाई दामी लागेका कविहरू:
भूपी शेरचन, हरिभक्त कटुवाल, मौन आवाज , महेश पौड्याल, भूपिन खड्का, श्रवण मुकारुङ, रावत, चन्द्र गुरुङ, मनु मञ्जिल, उपेन्द्र सुब्बा, आर्यश शर्मा घिमिरे, कल्पना जोशी, खेम बतास , कृष्ण कञ्चन , सुरेश चन्द ठकुरी सहयात्री, हिरा भट्ट, नरेश सक्सेना (भारत), प्रशान्त सागर (भारत), बाबुषा कोहली (भारत), गीत चतुर्वेदी (भारत), मानव कौल (भारत),सबिर हाका (इरान)। मेरो स्मरण शक्ति निकै कमजोर भएकोले केही कविजनका नाम सम्झिन नसकेकोमा माफी माग्दछु । आफैसँग माफी ।
मैले रुचाएका केही कविता सङ्ग्रहहरू:
घुम्ने मेचमाथि अन्धो मान्छे, राजधानी मास्तिरको राजधानी , बिसे नगर्चीको बयान, ल्यापमपोस्टबाट खसेको जुन, कविता ने कहा , फफूंद , जब एउटा मान्छे हराउँछ, कुँवर नारायणका चुनिन्दा कविता, पाशका चुनिन्दा कविता, ठीक तुम्हारे पीछे ।
आफूलाई मन नपरेका कविता अरू कसैलाई मन परेका पनि होलान् भनेर गाली नै गर्ने आँट गर्दिनँ । मन परेका कविता पढ्न त मुड चाहिन्छ भने मन नपरेका कविता की बात के नै गर्नु !
राजु झल्लु प्रसाद: ‘तपाईँ कविता लेख्ने, पढ्ने, बुझ्ने कविता मर्मज्ञ भएकाले मन लागेको, आफ्ना असफलता, व्यर्थता, र जीवनको क्षणभङ्गुरता वा निस्सारताको बोधलाई खुरुरु लेख्न कत्तिको सकिने रहेछ ? अर्काको असफलता आदिआदि पढ्न नि ? कविता लेख्न सजिलो कि पढ्न हँ ? कि पुरस्कृत भइखान ? अरू मसलाहरू पनि छन् भने थप्नुस् यार..!
प्रचण्ड भास्कर: भाग्यवश कवितामा साक्षर हुन खोजिरहेको एक प्रौढ बेचैनी ममा छ ।
दुर्भाग्यवश म निकै अल्छी छु । मेरो मुड त झन् महाको अल्छी छ । उसले कविता पढ्न पनि एउटा स्थिति कुरिरहन्छ । लेख्न त उसलाई बडो सकस छ । यो मामिलामा औँला निकै टाइट छन् भनौँ न !
कविता बुझ्ने म नाथे को नै हुँ र ? यो जिम्मा मैले हृदयलाई दिएको छु, यसमा उसकै मर्जी चल्छ । उसले आफू छुँदो गरिरहेछ भनेर खुसी हुनु बाहेक मसँग कुनै विकल्प छैन ।
तुलनात्मक हिसाबले हेर्दा लेख्नुभन्दा पढ्नु सजिलो छ । रमाइलो छ, छरितो छ, अँ महँगो पनि छ। झन्झटिलो पनि छ त्यसैले झन्झटिलो कुरा किन पढ्नु भनेर म सधैँ छोडिदिन्छु । लेखन आफैँमा एउटा अस्थायी स्थिति हो भन्छन् केही जान्नेहरू । सुखद अनुभूति हुन् वा दु:खद अनुभूति यी लेख्न पनि एउटा दिव्य, अलौकिक सामर्थ्य चाहिँदो रहेछ । लेख्नेहरू सबैका आ-आफ्नै तरिका होलान्, दायरा होलान्, क्षमता होलान् । कोही सफलता लेखेर खुसी भइरहेका होलान्, कोही असफलता लेखेर दुःख घटाउन खोजिरहेका होलान् । आफ्नो जीवनमा कहिले अरूको सफलताले प्रभाव पार्ला, कहिले असफलताले । त्यसैले दुवै थरीलाई पढ्न त पर्छ नै भन्ने मेरो निजी जिकिर हो । फरक फरक परिवेशका मेरो स्वाद मिल्ने कविता भेटिए म त निकै खुसी हुन्छु ।
कविता लेखनमा कुरा गर्दा- केही प्रमाणपत्रको लोभले पनि प्रायः लेखिरहेका देखिन्छन् सञ्जालमा । मैले पनि यसरी लोभमा एकदुई पटक लेखेँ । यसरी लेखिरहेका वा भनौँ लोभिएकाहरूको साहित्यमा योगदान त कस्तो होला बरै तर प्रमाणपत्र र खादा व्यापारीको भने व्यापार बढाइदिएर गुण लगाएका छन् । गुण लगाउनु भन्दा ठूलो कुरो केही छैन भन्नुहोला । भन्दिनुस् । ती गुणीले सुने दुआ दिनेछन् । भौतिकवादी भए बेग्लै कुरा !
राजु झल्लु प्रसाद: ‘समाज र मानवताप्रतिको न्यूनतम दायित्व निर्वाह सबैले गर्छन् । तपाईँले कविता लेखेर सोहीप्रकारको न्यूनतम दायित्व निर्वाह गरेको कि अझ अरू केही बढी ? कवि र कविताको संवाद कत्तिको हुन्छ भन्ने जिज्ञासाले कुत्कुताएर सोधेको, आजको नेपाली कविताको सामाजिक संरचना (हालत) कस्तो पाउनुहुन्छ ? एउटाले, ‘नेपाली कविताले आफू सुतेको ओछ्यान मिलाउन छाड्यो’ भन्दैथ्यो । त्यो ‘मै’ हो, मलाई के भन्नुहुन्छ ?
प्रचण्ड भास्कर: म आफ्नै गैरजिम्मेवार मान्छे भएपनि समाज र मानवताप्रति संवेदनशील छु जस्तो लाग्छ । गलतको विरुद्धमा कवितालाई उभ्याउन कोसिस गरिरहन्छु । म मान्दछु कि कवि र कविताको संवाद नै भएन भने त उनीहरूको छिट्टै ब्रेकअप भइजाँदो हो । कविले बाँठो भएर कहिल्यै पनि कवितासँग बढ्ता बोल्ने हुनुहुन्न भन्छु म त । बरु उसले कवितालाई बोल्न दिओस् । कविताले आफ्नो कुरा राख्न जानिन् भने गजबै भइगयो । लाटी कविता भयो भने त बर्बादै हुन्छ । हेहे..!
तपाईँले भनिहाल्नुभयो ‘नेपाली कविताले आफू सुतेको ओछ्यान मिलाउन छाड्यो !’ तपाईँलाई हाईफाई गरियो ।
म अल्छीको पनि यसमा केही किलोको वा ग्रामको हात पक्कै छ, त्यसैले तपाईँको यो कथनमा दुई चोटि तलमाथि टाउको हल्लाएर ओरालो झरेँ ।
राजु झल्लु प्रसाद: ‘कविता नछाप्ने, छापे पनि लेखकसँगै पैसा असुल्ने अनि ‘म त खतरा हो, बबाल हो’ भन्ने तोरीलाहुरे प्रकाशकहरूलाई केही भन्नु छ ? प्रश्नमै सबै भनिएछ ! उत्तर नदिने भए थप प्रश्नहरू नै गरिदिनुस् ।
प्रचण्ड भास्कर: हुन त यी छाप्ने व्यापारीले पैसो नै छाप्ने हुन अझ भनौँ रुपैयाँ नै छाप्न खोज्छन् । उनीहरूलाई चाहिने भनेकै फाइदो हो ।
हाम्रो पठन संस्कृति पहिला त काव्य पढ्नै नमान्ने, मुस्किलले माने पनि खर्च गर्नै नसक्ने, खर्च गर्न गर्न खोजे पनि खल्ती नै प्वाल परेको हुने भएर पनि यी प्रकाशनहरू कवितालाई विश्वास नगर्ने र कविलाई धोका दिन खोज्ने गर्दा हुन् । कोही पत्याइहाल्छ कि भनेर आफ्नो पेट फुलाउन आफूलाई खतरा, बबाल भनिरहेका होलान्। खैर भन्नेले भन्दैमा मानिहाल्नलाई यो कुनै सत्ययुग पनि होइन । नवकवि, लेखकहरूलाई मौका दिनेलाई बहुत बहुत धन्यवाद भन्न चाहन्छु ।
राजु झल्लु प्रसाद: ‘नेपाली भाषी कविताको वंशाणुगत गुणहरूबारे चर्चा गर्दा कस्तो होला ? तपाईँले नेपाली कविताका सामाजिक, प्राकृतिक, जैविक, शारीरिक, विविधताहरू औंल्याउनुभाछ ? हेर्नुस्, यो प्रश्नले तपाईँलाई भर्खरै समीक्षक बनाइदिने भयो ! मौका नगुमाउनुस् है त ! हाउ, त्यसो भए नेपाली कविताको समीक्षकको कुरा काटम न त । लु सुरु गर्नुस् !
प्रचण्ड भास्कर: नेपाली साहित्यमा स्नातकोत्तरमै नसोधिएको प्रश्न सोध्नुभयो । मुस्किलले कविता पढ्न सुरु गरेको यो १०+२ वाला मनुवालाई गाह्रो पार्दिनुभएछ । एउटा प्रश्न कम्तीमा वैकल्पिक हुनुपर्ने ।
यति भनेर म उम्किएँ । म जान्दिनँ भन्न के लाज मान्नु !
राजु झल्लु प्रसाद: ‘आजको मान्छेले आर्थिक रूपमा बलियो हुन् आफूलाई बहुल क्षेत्रमा लगानी गरिरहेको छ । साहरुख खान क्रिकेट कम्पनी चलाइराछन् । यस्तै यस्तै । तपाईँको कविता बाहेक अर्को लगानीको क्षेत्र कुन हो ? व्यापक मानवीय संवेदनासहित भन्नुभएछ है, तपाईँ कवि हो यो छुट तपाईँलाई छ ।
प्रचण्ड भास्कर: मेरो कविता सृजनाको सिलसिला सुरु भएको लगभग ५ वर्ष हुन लाग्यो । चरम बेरोजगारीको अवस्थाबाट सुरु भएको यो सृजनात्मक काम अहिले पनि परजीवी भएर नै श्वास फेरिरहेको छु । अनेक कारणवश मैले आफ्नो कम्फर्ट जोनलाई अहिलेसम्म छोड्न नसकेको हुनाले लगानीवाला विषयमा ग्लानि महसुस गर्दैछु । आफूलाई बहुल क्षेत्रमा लगानी गरिरहेकाहरूप्रति मेरो असीम कदर छ । बाँच्नु भनेकै यसरी हो। ( मैले भन्न मिल्छ वा मिल्दैन कुन्नि ?)
राजु झल्लु प्रसाद: ‘जेजे भने पनि ‘कविता गन्थन होइन’ । यसैले तपाईँको एउटा कविता सुनौँ । १
प्रचण्ड भास्कर: कविता भनेर मैले यस्तो पो लेखेको छु:
【 मुक्ति 】
अघोरीहरूको घनघोर ताण्डव
हुँदै गरेको एक समय
संसद नजिकै
महामृत्युञ्जयको
महामन्त्रोच्चारण गर्दै गरेको
मार्च पासको दृश्य
कुनै दुतावासको भव्य भेटघाटको
झल्को दिइरहेको थियो ।
उत्सव भैरहेथ्यो नटराजहरूको
अनिष्टलाई स्वागत गर्न
उनीहरू पटक्कै चाहँदैनथे
कसैको जीवन,
न त मोक्ष प्राप्ति नै ।
मंत्रोच्चारण हुँदै थिए केवल
आफ्नै जीवनको लागि
उदण्ड मचाइरहेथे
आआफ्नै जटा निमोठेर
कपालको लामो आयुको लागि
प्रस्ट देखिन्थ्यो
उनीहरूको
काया माथि देशको खरानी
अघोरीहरू अवगत थिए
देशको स्वामी ‘रुद्र’
यतिबेला
स्वयं विषाक्त भएर छट्पटाइरहेछ,
सिँहदरवारको कुनै कैलाश कोठा भित्र
आफ्नो अन्तिम संसारिक श्वासमा
उसले फेरिरहेछ विषालु आश्वासनका
मिति पूरा भइसकेका
देशै खाने अर्ती उपदेशहरू
कुनै निश्चित चुनावी एजेन्डा जस्तै
औपचारिकता निभाइरहेछ,
आफ्ना अन्धा र बहिरा भक्तहरूलाई
उनीहरुले मात्र बुझ्ने लिपिमा
कसरी थाहा पाउँछन् अघोरीहरूले
कसैको मृत्युको साइत ?
किन खाइदिन्छन् अघोरीहरूले
आफ्नै प्रजातिको मांस ?
देखिन्छन् किन अघोरीहरू
मात्र
कुम्भ र महाकुम्भमा ?
राहदानी विभाग बाहिरको भिड जस्तै
जिज्ञासाले काैतूहल बनेका नजरहरू
अपवित्र बनेर फर्किए,
जीर्ण र रुग्ण देखिन्थे अघोरीहरू
मुक्ति खोजिरहेका थिए
घाँटीमा झुण्ड्याइएकाे पार्टीको कंकालबाट !
राजु झल्लु प्रसाद: ‘केही छुट्यो र ?
प्रचण्ड भास्कर: छुट्नु भनेको गुडिरहनु पनि हो । छुटेको हरेक तत्त्वलाई शुभयात्रा भन्दै म पनि छुटे । जय कविता !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।