शान-शुले विरोध गर्दै भन्यो, “हामी दुवै एउटै बाबुका एकैसमानका छोरा हौँ, मलाई गल्लीको कुकुर किन भन्नुभयो ? तपाईँका रिससित कसैलाई वास्ता छैन । हामी आमाछोराको ज्यान लिएर जम्मै सम्पत्ति आफैँ गुटमुट्याउने दाउमा हुनुहुन्छ क्यारे !”

“अरे अभागी कुकर्मी, जोरी खोज्छस् ?” भनेर डुक्रँदै शान-चीले बाहुला समाती त्यस बालकलाई लछारपछार पार्‍यो । जताततै घाउ लागेर त्यसको टाउको सुनियो पनि । हा-हो आफूलाई फुस्काएर शान-शु त्यहाँबाट धुवाँको रेखाझैँ बेपत्ता भयो । त्यसले रुँदै आमाकहाँ पुगेर भएभरका सारा कुरा सुनायो ।

आमा चाहिँले त्यसलाई गाली गर्दै भनी, “टन्टा बेसाउन अघि नै नजाऊ बाबु भन्या होइन ? मानेनौ । पिटेछ, खुसी लाग्यो ।”

भन्न त त्यसले यति भनी, तर लुगाका फेरले छोराको टाउको पुछ्तै ऊ त्यसका आँसुमा आफ्ना अश्रुधारा पनि मिसाउन लागी ।

                                               विधवा, कलिलै उमेरकी

टुहुरो पुत्र फुल्याउँछे कठै ! 

                                               जब थोर छ अन्न वस्त्र नै 

सुविधा त्यो अरू पाउली कुन ? 

                                               नभएपछि पितृ आदर 

झगडा नै कति भाइमा हुने ! 

                                                बहु वृन्त छ वृक्ष एउटै 

किन एकै फल पुष्पवान् हुनु ?

बितेका घटनामा मेइले जतिजति विचार गरी, उतिउति त्यसलाई शान-चीको क्रोध सम्झेर डर लाग्दै आयो । त्यसले माफी माग्न भनी त्यसकहाँ आफ्नी केटी पठाई । त्यसका हात उसले भनिपठाई, “केही उँचनिच हुन गएको भए साह्रै अबोध बालक ठानी दाजुले माफ राख्नुपर्छ ।”

यतिले नै शान-चीको रिस कहाँ मर्दथ्यो ? भोलिपल्ट एकाबिहानै त्यसले आफ्ना नातागोताका धेरै मानिस जम्मा गरेर बाबु चाहिँले आफ्नै हातले लेखी दिएर गएको इच्छा पत्र देखायो । त्यो इच्छा पत्र उसले शान-शु र त्यसकी आमालाई पनि डाक्न पठाएर देखायो ।

त्यसले भन्यो,”तपाईंहरू जोठाबाठा र हाम्रा लागि आदरणीय हुनुहुन्छ । मैले शान-शु र त्यसकी आमाको भार पन्छाउन खोजेको होइन, उनीहरूलाई पाखाभित्ता लाउन खोजेको पनि होइन । हिजो शान-शु सम्पत्तिका कुरामा मसित झगडा गर्न आयो । अहिले नै ऊ यस्ता कुरा गर्छ भने भोलि ठुलो भएर त्यसले के-कतिसम्म गर्ला भन्ने कुरामा मलाई डर लाग्यो । तसर्थ पूर्व गाउँको अन्ठाउन्न मोउ जग्गा र बस्नलाई त्यहीँ भएको घर उनीहरूलाई आजैदेखि अंश छुट्ट्याइदिन्छु । स्वर्गीय पिताज्यूका यस्तै इच्छा भएकोले त्यसबाट रती पनि डग्ने साहस म गर्न सक्तिन । यहाँहरू सबै जना यहीँ हुनुहुन्छ, मेरा कुराको साक्षी भइदिनुहोला भन्ने बिन्ती छ ।”

भेला भएका सबै नाताकुटुम्बीलाई शान-चीको क्रोधी स्वभाव थाहा थियो । त्यसले भनेका सारा कुरा बुढाका आफ्नै हस्ताक्षरमा छँदै थिए । तसर्थ त्यसका डरले कसैले त्यसको विरोध गर्ने साहस गर्न सकेन, सबैले सहमति नै जनाए । केही खुसामदीले भने,”हजार टेल सुनले पनि मरिसकेका मानिसको लेखोट फेर्न नसक्ने हुँदा बुबाले लेखेरै अह्राएबमोजिम गरेका कुरामा कसैले तिमीलाई केही भन्ने ठाउँ नै छैन ।”

शान-शु र त्यसकी आमाप्रति मनमा केही सहानुभूति भएकाहरूले पनि यसभन्दा बढी भन्ने कुनै ठाउँ पाएनन्- “विवेकी पुरुष बाबु बराजुकै सम्पत्तिले पालिन्नन्, विवेकी आइमाई बिहेमा ल्याएकै लुगा लगाएर जुनी बिताउन्नन् । फुट्टी केही नभएकाहरूले त पछि अदाच्छे कमाउँछन् भने तिमीहरूले त एउटा घर र यति खेतसम्म पायौ । अब त्यसैलाई लाख ठानेर उन्नति गर्दै जानुपर्‍यो । थोरै छ भन्ठान्नु हुन्न, त्यत्तिकै मेहनतसाथ काम गर्नुपर्‍यो । हात पाखुरा चलाएरै मानिस पुर्पुरो सपार्छन् ।”

मेइले पनि सधैँ यसै घरका पछिल्ला खण्डमा बसेर जिन्दगी गुजार्न सकिने होइन भन्ने देखिसकेकी थिई । तसर्थ ऊ खुसीसाथ छोरालाई लिएर पाएका घरमा जान राजी भई । नातादारहरूलाई धन्यवाद दिएर कुलदेवताको दर्शन गरी शान-शु र त्यसकी आमा शान-चीका लोग्नेस्वास्नीसित बिदा भए ।

आफ्ना थोत्राथाम्रा त्रिपाई, टेबुल, खाटहरू र दाइजो ल्याएका आफ्ना दुइटा बाकस लैजान केही मानिस खोजखाज गरी मेइ भाडाका सवारीको बन्दोबस्त गरेर छोराका साथ पूर्वेगाउँतिर लागी । त्यहाँ उसले पाएको जग्गा घाँसपातले ढकमक्कै ढाकिएको रहेछ । झिँगटी खसेर बेपत्ता भइसकेकाले छानो चुहिने र भुईँ चिसो भएको देख्ता धेरै वर्षदेखि त्यस घरले मर्मतको मुखै देखेको रहेनछ भन्ने स्पष्टै हुन्थ्यो । त्यसैमा गुजारा गर्नुपर्ने पिरले त्यसलाई सतायो । तैपनि एकदुई कोठा बढारकुँडार गरेर त्यसले आफूसित भएका खाट, गुन्टाहरू हुली । खेतमा काम गर्ने एक जनालाई डाकेर सोधपुछ गर्दा उसले त्यो अन्ठाउन्न मोउ जग्गाको भन्दा खराब माटो विरलै अरू कतै भेट्टाइएला – भन्यो । साह्रै राम्रो पानी परेका वर्षमा त्यसमा हा- हो आधाजति बाली भइहाल्छ, पानी नपरेका वर्षमा त लगाएको बिउसमेत नोक्सान भएर जान्छ भन्ने सुनेर आमा चाहिँ आफ्ना कर्मलाई धिक्कार्न लागी, छोरोले भने बुद्धि खियाउन थाल्यो ।

त्यसले भन्यो, “म र दाजु हामी दुवै भाइ बुबाका एक आँतका सन्तान हौँ । यस्तो अन्यायपूर्ण अंशबन्डामा कुनै कारण अवश्यै होला । कतै त्यो इच्छापत्र किर्ते त होइन ? आहानै छ, “अंश दिँदा कुन बुढा, कुन तरुना ! शान-चीका नाममा मुद्दा किन हाल्नुहुन्न, आमा ? बाँड्दाखेरि मनासिब- बेमनासिब के भएको हो ? हाकिमले नै छुट्ट्याओस् । त्यसपछि म किमार्थ चित्त दुखाउने छैन ।”

त्यसका कुराले आमा चाहिँ झल्याँस्स भई । दश वर्षजति आफ्ना मनको मनै राखिछोडेका गुप्ती कुरा उसले छोरोलाई सुनाई ।

उसले भनी, “छोरा, त्यो इच्छापत्र त खास तिम्रै बुबाका हातले लेखिएको हो, त्यसमा शङ्का नलेऊ । तिमी सानै भएकाले दाजुले तिमीलाई केही नराम्रो गरिहाल्ला कि भन्ने डरले त्यसको चित्त बुझाउन उहाँले सारा सम्पत्ति उसैलाई गरिबक्सिएको हो । तर, स्वर्गे हुनुअघि आफ्नो एउटा तस्बिर मलाई दिएर त्यसमा एउटा गुप्ती रहस्य होस् भनी त्यसकहाँ पठाइदिनू; त्यसो गर्‍यो भने आफ्ना हकका कुरा पाउला र कुनै कुराको दुःख नहोला भन्ने पनि राम्ररी बुझाएर मर्जी भएको थियो ।”

शान-शुले झोक्किएर भन्यो, “पहिले नै यो कुरा मलाई किन भन्नुभएन त ? खोइ हेरूँ त त्यो तस्बिर कहाँ छ ?”

आमा चाहिँले बाकसबाट कपडाको एउटा पोको झिकेर फुकाली। त्यसमा मैन-कागजमा बेरेको एउटा मुठ्ठा रहेछ । छाप फोरेर हेर्दा त्यो तीन फिट लमाइ, एक फुट चौडाइको एउटा सानो पौबा रहेछ । तिनीहरूले त्यसलाई एउटा मेचमा झुन्ड्याए। दुवै आमाछोरा त्यसका अगाडि भक्तिपूर्वक घुँडा मारेर बसे ।

विधवा आमाले तस्बिरलाई बडा भक्तिसाथ ढोगेर भनी, “पूजा गरूँ भने यस गाउँमा धूप र मैनबत्तीसम्म किन्न पाइन्न ! यस त्रुटिमा क्षमा रहोस् ।”
बाबुको तस्बिरलाई भक्तिभावना चढाइसकेर शान-शु त्यसलाई राम्ररी हेर्न जाँच्न उभियो। त्यो तस्बिर आश्चर्यजनक किसिमले दुरुस्त अनुहार मिलाएर बनाइएको रहेछ । बडाहाकिम साहेब सेतै फुलेका शिरमा आफ्ना ओहदाको टोपी लाएर मेचमा बसेका रहेछन् । देब्रे हातले सानो छोरोलाई काखमा समातेर दाहिने हातले उनी भुईँतिर देखाइरहेका थिए । आमाछोराले केही बेर त्यसलाई खुब विचार गरेर हेरे, तर पत्तो केही लागेन । आखिर केही नलागेर त्यसलाई लपेटीवरी एकातिर लगेर थन्क्याइए । पहिले जेजति थाहा थियो, अहिले पनि त्यसभन्दा बढी केही थाहा भएन ।

त्यसबारे कसैले केही कुरो बुझाउन सक्ला कि ? भन्ने खोजीमा शान- शु एक दिन छिमेकी गाउँतिर गइरहेको थियो । भैरव (युद्धदेवता) का थाननजिकै पुग्दा त्यसले एक हुल गाउँलेहरूलाई सुँगुर, भेडा र पूजाका अरू समान पनि लिएर बलि चढाउन आइरहेको देख्यो । रमिता हेर्न ऊ अलि बेर त्यहीँ अलमलियो । एउटा बुढो पनि यो भिडभाड क्या हो ? भनी हेर्न सडक नाघेर बाँसको लाठो टेकी त्यहीँ उभिन आयो । गाउँलेहरूमध्ये एउटासित त्यसले सोध्यो, “बलि चढाउन आज किन आयौ ?”

गाउँलेले भन्यो, “अनाहकमा हामीलाई मुद्दा लागेको थियो । भाग्यले नयाँ बडाहाकिम साहेब असाध्यै बुद्धिमान् हुनुहुँदो रहेछ । उहाँबाट निसाफ पायौँ । भाकल थियो । त्यसैले आजै पूजा गर्न आएका ।”

“के अन्याय परेको थियो, र कस्तो निसाफ पायौ ?”

अर्को एउटा गाउँलेले भन्यो, “म दश घरको एउटा टोलको मुखिया हुँ । मेरो नाम चेङ-ता हो । हाम्रा टोलमा चाओ नामको एउटा खुबै सिपालु दमाई थियो । कहिलेकाहीँ बिस्टकै घरमा काम गर्दागर्दै ऊ त्यहीँ रात पनि बिताउँथ्यो । कैयौँ दिन घरै पनि फर्कन्नथ्यो । एक दिन ऊ गएको गयै भयो, फर्केर आएन । महिनादिन भइसकेपछि लोग्नेको खोजखबर लिन त्यसकी स्वास्नीले चारैतिर मानिस दौडाई । तर, पत्तो कतै लागेन । त्यसका केही दिनपछि बेसरी टाउको किचिएको मानिसको एउटा लास नदीमा कतै टाढा भेटियो । त्यताका मानिसले अधिकारीहरूलाई खबर पुऱ्याए । फौजदारी जाँचबुझ गर्दा त्यसका लुगा देखेर एउटाले चाओलाई चिनिहाल्यो ।