रातको दुई बजेको छ । भित्र-बाहिर जतासुकै सुनसान, अँध्यारो छाएको छ । दुईचार कुकुर गल्लीमा भुकिरहेका छन् । अँधेरो कोठामा अमन छ, रक्सीको नशामा, मस्त निद्रामा । छेउमा निदाउने प्रयास गरिरहेकी उसकी पत्नी हसेलीको हसिलो अनुहारमा उदासीको छाया छाएको छ । कुनै कुराको पिरमा उनी छटपटाइरहेकी छिन् । घाइते चराजस्तै यताउता कोल्टे फेरिरहेकी छिन् । उनको निद्रा हराएको छ । नयनबाट आँसुको धारा लगातार झरीजस्तै झरिरहेका छन् ।
महेन्द्रनगर बजारको गर्मी, पङ्खा जति छिटो चले पनि सुस्त चलेझैँ लाग्छ । दुबै लोग्ने-स्वास्नीको शरीर र बेडसिट पानीमा भिजेजस्तै पसिनाले निथ्रुक्क बनेकाे छ । हसेली अमनको अनुहार एकोहोरो हेरेर सोचिरहेकी छिन्, आफूलाई नै सयौँ प्रश्न गर्दै ।
अमन ! तिम्रो जीवनमा आएर मैले के बिगारेँ ? गल्ती के गरेँ ? आज तिमीसँग बिहे गरेको, नातासम्बन्ध जोडेको पाँच वर्ष भयो । आजसम्म तिमीले उपहार के दियौ ? तिमीले उपहारस्वरूप मलाई केवल पीडा नै पीडा, चोटै चोट दिएका छौ । म पीडा मात्रै सहने आचानो पो रहेछु । यो कुन जन्ममा गरेको पापको फल मिलिरहेको छ ? हे भगवान् ! यो पापी जीवनबाट मलाई मुक्ति देऊ ।
बिहेको दिन, सात फेरासँगै खाएका सातै बाचाकसम कसरी भुल्न सक्छौ ? मैले त्यो दिन मेरो सबैथोक, पुरै जिन्दगी नै तिमीलाई उपहार दिएकी थिएँ ।तिमी नै हौ मेरो संसार भनेकी थिएँ । आफन्त, आफ्नै जन्मदाता भन्दा पनि ज्यादा माया र विश्वास गरेकी थिएँ । तैपनि तिमीले अहिलेसम्म पनि आफ्नो पत्नी मानेनौ, एउटा खेलौनाझैँ प्रयोग गरिरहेका छौ । यो घरको बुहारी होइन नोकर पो रहेछु म त । किनेर राखेको मसिनजस्तै … ।
तिम्रो मुटुमा अरुकै तस्बिर थियो भने मसँग बिहेको नाटक किन गरेको ? मेरो जिन्दगी घर न घाटाको किन बनाएको ? मेरा सबै सपना जलाई खरानी किन बनाएयो ? मेरो दोष के थियो ? आजसम्म यो घरमा अनगिन्ती यातना र पीडा सहेर बाचिरहेकी छु । मसँग अब कुनै सपना छैन । म सपना देख्नै नसक्ने बनेकी छु, केवल मुत्यलाई पर्खेर बसेकी छु । बस्, गरिब आमाबुबाको वचन पूरा गरिरहेकी छु ।
सासू-ससुरा, बजारमा घर, आफ्नै व्यवसाय, सबैथोक छ तर दुवै असन्तुष्ट छन् । परिवारमा प्रसन्नता र आनन्द छैन । आफ्नो भाग्य सम्झेर सँगै बसेर विरहका गीत गाउँछन् । तिनीहरूका पनि सपना थिए होलान् । आबारा छोराले घरजम, परिवार तथा व्यवसाय समालेको, स-साना नातिनातिनाहरूसँग बालकझैँ रमाउने र हास्ने रहरपूर्ण सपनाहरू थिए होलान् । परन्तु, उनीहरूका सबै प्यारा सपना अधुरै छन् ।
तिमी राम्रो, नशा मुक्त मान्छे भएको भए मजस्ती पहाडी गरिबकी चेलीसँग पक्कै बिहे गर्दैन थियौ । सासू र ससुराबाले पनि आफ्नो घरकी बुहारी मलाई चुन्दैनथे होलान् । मेरो भाग्य यस्तै रहेछ । सासूआमा-ससुराबा, मलाई माफ गर्नु एउटी असल बुहारीले दिने सुख, धर्म र कर्तव्य पूरा गर्न सकिनँ । हजुरको छोरालाई आफ्नो बनाउन सकिनँ ।
अमन, यसरी रातभरि तिमीसँग हजारौँ प्रश्न गर्न चाहन्छु । तिमी हरेक दिन एक दुई बजे रक्सीको नशामा नाच्दा नाच्दै आउँछौ ? आफ्नो तिर्खा मेटाएर पानीको खाली बोतलझैँ मलाई फ्याँकिदिन्छौ । सँगै सुत्न, सहवास गर्न किन्तु सन्तान चाहिँदैन । आफ्नो पत्नी मान्न/भन्न लाज लाग्छ ! मेरो तन-मनभरि नदेखिने हजारौँ चोटहरू छन् । हे भगवान् ! कुन ठाउँ, कुन अस्पताल, कुन औषधी खाएर म यो रोगबाट मुक्ति पाउन सक्छु ?
एकछिन घरबाहिर, बजारमा तरकारी, समान किन्न निस्कँदा मान्छे सयौं प्रश्न गर्छन् । सल्लाहसुझाव दिन्छन् । पाँच वर्षसम्म एउटा पनि सन्तान भएन किन ? उसको चक्कर अरुसँगै छ ! हरेक दिन उसलाई मोटरसाइकलमा यताउता घुमाउँछ । तिमी त्यसलाई छोडेर जाऊ । पढिलेखेकी भएर पनि त्यति यातना सहनु किन परेको ? तिमी मान्छे हौ कि गोरु ? – यस्ता कुरा सुन्दा पनि मसँग कुनै जबाफ हुँदैन । मेरो अभागी जिन्दगी, मेरो चोखो प्रेम पनि अभागी नै रहेछ ।
जब आफूसँग अध्ययन गर्ने साथीको सुखीखुसी वैवाहिक जीवन तथा सानासाना बाबुनानी स्कुल आउँदा जाँदाको मनमोहक दुश्य देख्छु तब मेरो मुटुमा विस्फोट हुन्छ । चारैतर्फ धुवाँधुवाँ, आँखाअगाडि अनघोर अन्धकारमात्रै देखिन्छ । अनि सोच्छु, यो धर्तीको सबैभन्दा अभागी र कमजोर नारी म नै रहेछु।
हाम्रो बिहे भएको दुई महिनापछि थाहा पाएकी थिएँ अमन, तिम्रो मुटुमा अरूकै तस्बिर छ । जब तिम्रो मोबाइलमा उसका तस्बिर र मेसेज देखेँ तब सोचेँ – पछि सबै ठिक हुन्छ । अवश्य, तिम्रो मन बदलिने छ । उसलाई भुल्ने छौ । तर त्यस्तो भएन । परन्तु, आज पाँच वर्ष हुँदा पनि ती भिडियो, अडियो तथा फोटोहरू मेरो दिमागमा उस्तै छन् । तीमध्ये २ मेसेज थिए –
‘तिमीलाई मेरो कुरामा विश्वास हुँदैन । मलाई थाहा छ । तर म साँचो भनिरहेको छु । तिमी नै हौ मेरो संसार, मेरो पहिलो माया । यो कुरा सत्य हो, मैले सिउँदोमा सिन्दूर अरूकै सजायौ किन्तु यो मुटुमा तिम्रै तस्बिर छ । मेरो मनमुटु जतासुकै तिमी नै तिमी छौ । म यता जिउँदो लास मात्रै छु। तर मेरो आत्मा तिमीसँगै छ । सदैव तिमीसँगै रहेने छ। जबसम्म मेरो मुटुमा धड्कन धड्किरहन्छ ।’
‘तिमी मबाट जति टाढा भए पनि हरेक पल तिम्रै याद आउँछ । मेरा नयनका अगाडि तिम्रो तस्बिर ऐनाझैँ टल्किरहन्छ । झल्किरहन्छ । मेरी प्यारी झुमा, मेरो मुटुको धड्कन, मेरो संसार ! प्यारी झुमा, तिम्रो सिउँदोमा सिन्दूर सजाउन सकिनँ, तिम्रो बन्न सकिनँ, तैपनि यो धड्कन त केवल तिम्रै लागि धड्किन्छ । तिमीबिना मेरो जिन्दगी सुगन्धविहीन फूलझैँ भएको छ । तिमीसँग बिताएका हरेक क्षण समम्झेर बाँचिरहेको छु । मलाई माफी देऊ, मैले तिम्रो सिउँदोमा सिन्दूर सजाउन सकिनँ । सिउँदोमा सिन्दूर अरुकै सजाए तर यो मुटुमा, तिम्रै तस्बिर छ । केवल तिम्रो फोटो …. ।’
मैले यदि मेरो पीडा, वेदना तथा व्यथा लेख्ने गरेकी भएँ एउटा ठुलो उपन्यास नै हुन्थ्यो होला ।
त्यतिकैमा गेटबाहिरबाट आवाज आयो, ‘दूध आयो, दूध आयो ।’
हसेली मनमनै भन्न थालिन्, ‘हे भगवान् ! सोच्दा सोच्दै बिहान पो भए छ ।’
अनि हसेली ओच्छयानबाट जुरुक्क उठेर आँखा मिच्दै दूध लिन गेटबाहिर गइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।