आजभन्दा ८० वर्ष पहिले, हजुर’बाको पालामा, मिति नै तोकेर भन्नु पर्दा विक्रम संवत् २००२ सालताका विश्वविद्यालय तहमा नेपाली विषय अध्ययनका लागि उपयुक्त पुस्तक प्रकाशन गर्ने क्रममा नेपाली भाषा प्रकाशन समितिले गोपालप्रसाद रिमाललाई एउटा नाटक लेखाइमाग्यो । आफू नेपाली भाषा अनुवाद परिषद्मा जागिरे रहँदै गर्दा उनले एउटा नाटक लेखे, र संयोग भनूँ कि उनको खुबी, त्यही एउटा नाटक लेखेको भरमा उनको सर्वत्र वाहीवाही भयो । विभिन्न पुरस्कारहरू पनि प्राप्त गरे । त्यसपछि त उनको परिचय नै बद्लियो । उनी नेपाली भाषा साहित्यका विद्यार्थी मात्र होइनन् नाटकको पारख गर्नेहरूमाझ “मसान” नाटकको लेखक भनेर चिनिन थाले ।

एउटै नाटक, त्यो पनि करिब करिब एक बसाइमा पढिसकिने नाटक लेखेर ख्याति कमाएको भनेपछि त नाटक पनि त खास हुनु पर्‍यो भन्ने लागिरह्यो । जब नाटक पढेर सकेँ, मथिङ्गलमा एउटै कुरा घुमिरह्यो, “प्रेम यति तुच्छ र लाचार हुन सक्छ ? के कसैलाई माया गरेरै उसको हत्या गर्न सकिन्छ ? पुरुष हुनु भनेको स्त्रीलाई भोग्नु मात्र हो त ?” –  म आश्चर्यमा परेँ ।

मसानयो नाटक मुख्य त तीन पात्रहरू कृष्ण, युवती (हेलन) अर्थात् कृष्णको जेठी श्रीमती र दुलही अर्थात् कान्छी श्रीमतीको वरपर घुम्दछ भने बाग्मती अर्थात् नोकर्नी, भोटु कृष्णको भानिज, कृष्णका बाबुआमा र दुई नोकरहरू सहयोगी भूमिकामा रहेका छन् । यो नाटकलाई दुई खण्डमा लेखिएको छ र हरेक खण्डमा पाँच-पाँचवटा दृश्यहरू रहेका छन् । यस नाटकको पूरा सेटिङ राजधानीको एक शिक्षित ब्राह्मण परिवारको घरमा रहेको छ ।

विवाहको लामो समयसम्म पनि हेलनबाट कुनै सन्तान नभएपछि उनीहरूले भोटुलाई धर्मपुत्रको रूपमा पाल्छन् । हेलेन अर्थात् युवती बेला बेला मुर्छा पर्ने, छटपटाउने अनि बेहोस हुने रोगले ग्रसित हुन्छिन्, जसको एक मात्र कारण आफ्नो कोखबाट कुनै सन्तान नहुनुको मानसिक पिडा नै हो भन्ने कुरा पाठकले पहिलो दृश्यमै बुझ्न सक्छन् । युवती भन्छिन्, “मलाई त नगरी नसकिने माया चाहिएको छ । मलाई त यस्तो माया चाहिरहेछ जसले मलाई सुकाओस्, जलाओस्, रित्याओस् ।”

कृष्णलाई पनि सन्तानको चाहना नभएको भने होइन तर ऊ आफ्नी जेठी श्रीमतीको माया कान्छीसँग बाँड्न चाहँदैन । फेरि आफ्नो भान्जा भोटुलाई  छोरासमान पाल्छु भनेर ल्याएको छ, उसलाई त्यतिकै छाड्न पनि त भएन । तर युवतीको जिद्दीको अघि उसको केही लाग्दैन, ऊ युवतीको प्रेममा लिप्त । युवतीसँगको अन्धो प्रेमका अघि आफ्नो सुन्दर परिवार “मसान” बन्दै छ भन्ने उसले कल्पनासम्म पनि गर्न सक्दैन र युवतीले आफ्नै राजीखुसी, आफैँले रोजेर आफैँमाथि सौता हाल्छिन् ।

विवाह गरेको दिनदेखि नै नवदुलहीलाई सासूससुराबाट छिटो सन्तानको मुख देख्न पाइयोस् भन्ने एक प्रकारको मानसिक दबाब आउँछ तर यता कृष्णले भने उसलाई फर्केर पनि हेरको छैन । किनकि ऊ आफ्नी जेठी श्रीमतीको मोहमायाबाट बाहिर उम्कन सकेकै छैन । यसरी नै यो सम्बन्ध रहिरह्यो भने युवतीको आमा बन्ने (सौतेनी आमा नै सही) रहर पूरा हुँदैनथ्यो, त्यसैले उनको बेचैनी झन् बढेर जान्छ । उनी कृष्णलाई पति धर्म निभाउन कर गर्छिन्, आफू घरपरिवार छोडेर माइत गइदिने घुर्की लगाउँछिन् ।  दुलहीलाई कसरी हुन्छ आकर्षक बनाउने र पतिको कृपादृष्टि पारेर आफ्नो मातृत्वको भोक पूरा गर्न हरसम्भव कोसिस गर्छिन् । तर कृष्ण भने आफ्नो पहिलो श्रीमतीको प्रेममा यसरी चुर्लुम्म डुबेको छ कि उसलाई आफूले दोस्रो बिहे गरेको, कान्छी श्रीमती पनि भएकोसम्म ख्याल छैन । अरू त अरू, उसले दोस्रो बिहे गर्नुको कारण पनि बिर्सिसकेको छ ।

कृष्णले वास्ता नगरे पनि युवती भने दुलहीलाई बिझ्ने गरी माया गर्छे, घरको भान्साको काममा सिन्कोसम्म उठाउन दिन्नन् । बरु दिनभरि सिँगार गरेर मात्र बस्न लगाउँछिन्  । कसरी हुन्छ दुलहीलाई कृष्णको काखमा सुम्पिदिने र आफू “आधाबाट भरी” हुने ध्याउन्नमा रहन्छिन् । र, अन्त्यमा कृष्ण र दुलहीलाई एउटै ओछ्यानमा ल्याएरै छोड्छिन् । यसरी पहिलो भागको अन्त्य हुन्छ ।

===

दोस्रो भागको सुरुमा हामी कृष्णको घरमा कान्छी श्रीमतीलाई बेथा लागेको र उनीबाट सन्तान भएको कुरा थाहा पाउन सक्छौँ । छोरा त दुलहीले पाएकी हो तर सन्तान पाउँदाको पीडा होस् या खुसी, दुवै युवतीले छिनिदिन्छिन् । त्यही पलबाट दुलहीको मनले भन्छ – अब मेरो काम सकियो, यो घरलाई मेरो आवश्यकता सकियो । म छोरी भएर जन्मिनुको, यस घरमा कान्छी बुहारी भएर भित्रिनुको औचित्य सकियो । योभन्दा पीडादायक चोट अरू के हुन सक्छ एक नवविवाहितता र भर्खरै आमा बनेकी महिलाका लागी ?

पतिको प्रेम त पहिल्यै भाग लागिसकेको थियो, अब सन्तानको सुख पनि खोसियो । त्यसपछि उनको मन झन् मुर्झाउन थाल्छ, शरीर सुक्न थाल्छ र बाँच्ने आशा पनि निख्रिएर जान्छ । आफ्नो अन्तिम साससम्ममा त उनी छोरालाई दूध चुसाएर भए पनि आफ्नो आँत भिजाउने र मातृत्वको भार बिसाउने झिनो सपना पनि खोसिन्छ, छोरालाई दूध खुवाउन अर्कै धाईमा राखेपछि त उनको बाँच्ने घिट्को यत्तिकै सकिएर जान्छ ।

परिवारको सबै सदस्यको ध्यान कि युवतीको खुसीमा भुलेको छ कि त नयाँ सन्तानमा अड्किएको छ तर उसकै आमाको भने कसैलाई ख्याल छैन । दुलही नबाँच्ने पक्का भएपछि कृष्ण युवती र छोरालाई लिएर टाढा कतै जान चाहन्छ, सब कुरा बिर्सेर ऊ खुसी जीवन बिताउन चाहन्छ । तर युवती भने यो घर, त्यहाँका यादहरू छोडेर जान मान्दिनँ । उसको लोग्ने स्वार्थी हुन सक्छ आफ्नो श्रीमतीसँग तर एउटी आमा अर्की आमाप्रति निर्दयी कदापि हुन सक्दिन । युवतीले नजाने ढिपी गर्छिन् ।

अन्ततः केही सिप नलागेपछि कृष्णले आफ्नो वास्तविकता खोल्छ, आफ्नो कुकर्म युवतीलाई सुनाएर आफू पापबाट मुक्त हुन चाहन्छ । उसले युवती आमा नबनोस् भनेर आफूले नियमित रूपमा सन्तान नहुने औषधी सेवन गरेको सुनाउँछ । युवतीलाई थाहै नदिई उसले यो सब गरेको हुन्छ । किनकि ऊ युवतीलाई बेपर्बाह प्रेम गर्छ । उक्त रहस्य सुनेपछि युवतीलाई आफूले टेकेको जमिन खसेजस्तो लाग्छ । आजसम्म जसलाई यति बिघ्न मायाप्रेम गर्‍यो त्यही मान्छे राक्षसजस्तो लाग्छ । कुरूप लाग्छ । भद्दा लाग्छ । त्यसपछि त उनलाई यो घर, परिवार, सन्तान कसैको पनि वास्ता हुँदैन । उनी यो सब छोडेर जान चाहन्छिन् । दुलहीको यस्तो हालत आफूले उनको काखबाट छोरा खोसेर भएको हो भन्ने पनि बुझ्छिन् र दुलहीलाई वास्तविक कुरा सुनाउन उनको कोठामा पुग्छिन् ।

दुलही आज अरू दिनभन्दा फरक, उज्याली देखिएकी छिन् । उनलाई चकचक गर्न मन लाग्छ । खुल्ला आकाशमा उड्न मन लाग्छ । उनलाई देख्दा यस्तो भान हुन्छ कि उनको सारा रोग निको भएको छ तर यो निभ्न लागेको दियो भरभराए जस्तो मात्र हो भन्ने पाठकलाई बुझ्न बेर लाग्दैन । दुलही आफ्नो सम्पूर्ण अतीत बिर्सन चाहन्छे । आफू आमा बनेको, कसैको घरको बुहारी, श्रीमती वा सौता बनेको पनि बिर्सन चाहन्छे । बरू ऊ त आफ्नो बालापनमा फर्कन चाहन्छे । ऊ फेरि एकपटक गट्टा खेल्न चाहन्छे । दुलही आफ्नो नोकर्नी बाग्मतीलाई भन्छे, “हामी बिहेको यो खेलदेखि अघायौँ, तल बारीमा दर्शन ढुङ्गाहरू छन् हैन ? बरु जा न लिएर आ । गट्टा खेलौँ ।” (पृ ५६) ।

युवती आफ्नो मनको व्यथा सुनाउन दुलहीको कोठामा पुग्छे, जबकि दुलहीको बेथा सदियौँदेखि त्यो घर बेखबर थियो । मानिस कतिसम्म स्वार्थी हुन सक्छ ? जसलाई आफ्नो कारणले जिन्दगीभर दुःख तनाव दियो आज आफूलाई दुःख पर्दा उसैको काखमा शिर राख्न पुग्छ । युवतीले आफ्नो कुरा सुनाउन खोज्दा पनि दुलहीलाई आफ्नै घाउ गिजोल्न आएजस्तो लाग्छ । अति भएपछि दुलहीले आफ्नो मनमा साँचेर राखेको कुण्ठा याटम बम विस्फोट भए जसरी पड्किन्छ । आफ्ना सारा कुण्ठा, गुनासा, अपेक्षा, रिस, वेदनाहरू एकै सासमा भनी सक्छिन् र हलुका हुन्छिन् । तर जब वास्तविकता सुन्ने पालो आउँछ उनले सास छोडिसकेकी हुन्छिन् । हेर्दा हेर्दै घर “मसान-घाट”मा परिवर्तन भइसकेको हुन्छ । त्यसपछि त युवती पनि कृष्ण, छोरा र घरपरिवार छोडेर पतिको लाख बिन्ती गर्दा पनि सबै कुरालाई छोडेर जान्छिन् । युवती जाँदै गर्दा कृष्ण आफ्नो हार स्विकारेर भन्छ, “पख, मेरो प्रार्थना सुनेर जाऊ । अर्को जन्ममा म तिम्रो छोरो भएर जन्मूँ ।”

नाटक पढिसक्दा लाग्यो, कृष्ण अर्थात् लोग्नेमान्छे भनिने जात कति निष्ठुर रहेछ, कति निरीह रहेछ । ऊ किन आफ्नो भावना, चाहना अरूलाई खुलस्त भन्न सक्दैन ? आफ्नो स्वार्थ पूर्तिका लागि के ऊ स्त्रीलाई कुनै बस्तुको रूपमा हेर्छ ?

एकचोटि कृष्णले सत्य कुरा बरबराएको हुन्छ, “मेरो त्यो उहिलेको बुद्धिको डोरेटोमा यो दुनियाँ हिँडेको भए सबको घर मसान बनिसक्थ्यो (पृ७) ।”

म अहिले सोचिरहेछु, त्योबेला पनि पुरुषमा बिहे गर्न रहर हुने तर सन्तान प्राप्तिका लागि यति धेरै वितृष्णा आखिर किन ? उनले यो कुरा किन पहिल्यै भनेन, र फेरि दोस्रो बिहे गर्न राजी भयो ? छोरा पनि पायो । यदि पाउनु थियो भने पहिलो श्रीमतीबाट नै किन पाएनन् ?

सायद युवती (हेलन) भोगविलासिताका लागि मात्र पो थिई कि ? अन्तिम पृष्ठमा युवतीले भन्छिन्, “एक किसिमले म तपाईँको बिहाईते पनि त हुन आइनँ । म त तपाईँको भोगिनी, रखौटी ।”

उसले भोगविलासीमा मात्र लिप्त भएर एउटा स्त्रीको आमा हुने अधिकारको घाँटी निमोठ्न सक्छ भन्ने कुरा पत्याउन गाह्रो हुनसक्छ वा एक स्त्री आमा बनेपछि पतिमाथिको प्रेम घट्छ भनेर त्यसो गरेको पनि हुन सक्छ । हुन त, अहिले पनि त समाजमा लिभिङ रेलेशनसिपको नाममा प्रेमी, शुभचिन्तकको नाममा पुरुषहरूले स्त्रीहरूलाई केवल यौवनको प्यास मेटाउन उपभोग गरिरहेका छन् अनि विवाहजस्तो तुच्छ बहानामा एउटै ओछ्यानमा सुतेर हरेक रात इज्जत लुटिरहेका छन् । मासु लुछिरहेका छन्, रगत चुसिरहेका छन् । त्यो प्रेम मात्र थिएन भन्ने कुरा नाटकको उपसंहारमा थाहा हुन्छ । किनकि यस घटनाबाट पनि कृष्णमा खासै परिवर्तन आएको छैन, बरु ऊ तेस्रो बिहेको तयारीमा रहेको छ ।

अरूले दिएको चोट त्यति ठुलो हुँदैन, जसलाई सजिलै भुलिन्छ तर आफ्नो प्रिय मान्छेले दिएको चोट जिन्दगीभर भुल्न सकिँदैन । कसले भन्छ, फूलले हिर्काउँदा दुख्दैन भनेर ? “मसान” नाटक पढेपछि लाग्यो, काँडाको चोट त के चोट, फूलले दिएको चोट पो ज्यानमारा हुने रहेछ । कसैलाई मार्नु नै छ भने उसलाई घृणा नगर बरू यति माया गर कि ऊ मर्न विवश होस् ।