सर वाल्टर रेलिग बेलायती इतिहासमा एउटा स्मरणीय पात्रका रूपमा रहेका छन् । हाम्रा लागि उनी भने एउटा लेखकका रूपमा यादगार पात्र हुन् । एलिजाबेथ प्रथमको शासनकालका प्रमुख पात्र उनले उत्तरी अमेरिकालाई बेलायती अधिनमा ल्याउन खेलेको भूमिकाका कारण निकै चर्चित रहे । त्यस्तै आयरल्यान्डको विद्रोह दबाउन पनि उनले भूमिका खेलेका थिए । त्यसैले उनले दरबारमा राम्रै स्थान जमाएका थिए । तर राजनीतिक कारणले उनको टाउको काटियो ।
हिजो त्यसरी उनको टाउको काटिएको ४०५ वर्ष पूरा भएको अवसरमा हामी उनका बारेमा चर्चा गर्नेछौँ ।
त्यो बेला दरबारमा स्थान पाउनका लागि धर्मको भूमिका ठूलो हुन्थ्यो । शाही धर्म क्रिश्चियन थियो भने प्रोटेस्टेन्टलाई उनीहरूले शुद्ध धर्मका रूपमा मान्थे । उनका आफन्तको अवस्था पनि दरबारमा निकै राम्रो थियो । कतिसम्म भने उनका दुई जना दाजुभाइ पर्नेहरूले पनि दरबारबाट सर को उपाधि पाएका थिए ।
उनको बाल्यकाल कस्तो थियो भन्नेबारेमा त्यति खुल्दैन । उनको बेलामा पनि फ्रान्स निकै सुसभ्य र नयाँ कुरा सिक्ने ठाउँका रूपमा विकसित भइसकेको थियो । यसको कारण चाहिँ, फ्रान्सको सम्बन्ध मध्यपूर्व र चीनसम्म फैलिएको थियो । त्यहाँका नयाँ कुरा चाँडै नै फ्रान्सले अँगाल्थ्यो । फ्रान्सले अँगालेका नयाँ कुरामा बेलायती तथा उत्तरी युरोपेली मुलुकहरू लोभिन्थे । त्यो बेला फ्रान्सले पनि आफूलाई सभ्यताको केन्द्र ठान्थ्यो । त्यसैले संसारभरका धनीमानीहरू त्यहाँ पुग्थे, केही नयाँ सिक्थे ।
बेलायत र फ्रान्सबीच बेलाबेलामा लडाइँ चलिरहन्थ्यो । एक पटकको लडाइँमा रेलिग फ्रान्समा युद्ध गर्न पुगे । उनको क्षमताका कारण आयरल्यान्डको युगल क्षेत्रको मेयरसमेत बनाइयो ।
सन् १५८५ मा उनलाई महारानी एलिजाबेथले नाइटहूड प्रदान गरिन् । र, पछि उनले अमेरिकाको भर्जिनियामा बस्ती बसाउने जिम्मा पाए ।
सन् १५९१ मा उनले महारानीकी सुसारे एलिजाबेथ थ्रोकमर्टनसँग गुप्त रूपमा बिहे गरे । त्यो बेला सुसारेसँग बिहे गर्न महारानीको स्वीकृति चाहिन्थ्यो । नपाइएला भनेर गुपचुप गरेका थिए तर त्यसको खुलासा भएपछि दुवैलाई महारानीले टावर अफ लन्डनमा पठाइयो । सजाय दिने यो एउटा तरिका थियो त्यसबेला ।
सजाय सकिएपछि १५९४ मा उनी सुनखानीको खोजीमा दक्षिणी अमेरिकाको यात्रामा लागे । त्यहाँको यात्राका बारेमा उनको अनुभूतिलाई पछि एल डोराडो नामक पुस्तकमा बढाइचढाइ वर्णन गरिएको थियो ।
१६०३ मा महारानीको निधनपछि उनलाई टावरमा पुनः बन्दी बनाइयो । यस पटक राजा जेम्सको हत्याको योजना बनाएको आरोपमा बन्दी बनाइएको थियो । तर पछि पुष्टि नभएपछि १६१६ मा उनी रिहा भए ।
यसपछि उनी दक्षिण अमेरिकाको यात्रामा पुनः निस्किए । यहाँ स्पेनीहरूको कब्जा भएको जमिनमा उनले आँखा गाढेको भन्दै स्पेनीहरूले आक्रमण गरे । सन् १६०४ मा स्पेनसँग एउटा शान्ति सम्झौता भयो । सम्झौतापछि उनी बेलायत फर्कंदा उनको टाउको गिँडेर हत्या गरियो । त्यो दिन थियो १६१८ को अक्टोबर २९ ।
उनी कवि तथा लेखक थिए । उनले अंग्रेजी कवितामा सनेट (१६ अक्षरे कविता)लाई परिचित बनाएको श्रेय दिइन्छ । उनका प्रख्यात सनेटहरूमा द लाइ, ह्वाट इज आवर लाइफ, द डिस्कभरी अफ गिनी र द हिस्टी अफ द वर्ल्ड रहेका छन् ।
उनको लेखनीले उनको बौद्धिकता पस्कने गरेको छ । उनको मृत्युपछि उनका सिर्जनाहरू ध्वस्त पारिएको विश्वास गरिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।