
अङ्ग्रेज कवि र सामाजिक विश्लेषक मेथ्यु आर्नोल्ड मिडल इङल्याण्डको लालेहाम भन्ने ठाउँमा डिसेम्बर २४, १८२२ मा जन्मेका थिए । उनी रुग्बी स्कुलका प्रसिद्ध प्रधानाध्यापक थोमस आर्नोल्डका छोरा थिए । उनका दुबै दाजुभाइ साहित्यकार नै थिए । आर्नोल्डले व्यालिअल कलेज, अक्सफोर्डबाट छात्रवृत्तिमा अध्ययन गरी दोस्रो श्रेणीमा अनर्स गरेका थिए । स्कुल सुपरिवेक्षक र अक्सफोर्ड ओरियल कलेजका सहचर (Fellow) समेत भएका आर्नोल्ड १८५७ देखि १८६७ सम्म अक्सफोर्ड विश्वविद्यालयमा पद्यतर्फका प्राध्यापक भए ।
मत्स्य पुरुष (The Forsaken Merman) र शोक्सपियरका बारे गीतहरू सहितको उनको पहिलो कविता सङ्ग्रह सन् १८४९ मा प्रकाशित भयो । सन् १८५० मा वितियम वर्डस्वर्थको देहान्त हुँदा उनको सम्झनामा आर्नोल्डले कविता प्रकाशन गराएका थिए । सन् १८५१ को अप्रिल महिनादेखि उनी बेलायत सरकारको स्कुल निरीक्षकको पदमा सेवा गर्न लागे । सरकारी स्कुलको निरीक्षणको क्रममा उनले बेलायतका धेरै ठाउँको निरन्तर भ्रमण गरे । यात्राको क्रममा उनले उराठलाग्दा रेल्वे प्रतीक्षालय, ससाना गञ्जागोल होटल, स्कुल केटाकेटीको पट्यारलाग्दो पाठ घोकाइ र तिनका बाबु आमाको सिकायतका अनेकौँ गनगनको अनुभव समेत प्राप्त गरे ।
सन् १८५२ मा आर्नोल्डको दोस्रो कविता सङ्ग्रह इम्पेडिक्लिज अन एटना, एण्ड अदर पोएम्स (Empedoclies on Etna, and Other Poems) प्रकाशित भयो । सन् १९५३ मा उनले पहिलो इम्पेडिक्लिज अन एटना शीर्षक कविता हटाएर सोहराब एण्ड रुस्तम र द स्कोलर एण्ड जिप्सी शीर्षक कविता थपी नयाँ सङ्ग्रह निकाले । १९५४ मा उनले बाइदर डेड (Baider Dead) शीर्षक कविता थप गरी त्यही सङ्ग्रहको तेस्रो संस्करण प्रकाशित गरे । सन् १८५७ मा उनी अक्सफोर्ड युनिभर्सिटीमा प्रोफेसर अफ पोएट्री नियुक्त भए । यसभन्दा अघिका प्रोफेसरले युनिभर्सिटीमा ल्याटिन भाषामा प्रवचन दिने गर्थे भने आर्नोल्डले अङ्ग्रेजी भाषामा प्रवचन दिन थाले ।
डोभर बीच (Dover Beach), द स्कलर जिप्सी (The Scholar Gipsy), सोहराब एण्ड रुस्तम(Sohrab and Rustum), मार्गेराइटतर्फः क्रमशः (To Marguerite: Continued), बाल्डर डेड (Balder Dead) उनका प्रसिद्ध कविता कृतिहरू हुन् । सन् १८५८ मा उनले एउटा त्रासदी नाटक पनि प्रकाशित गरे । आर्नोल्डको विचारमा मानविय कार्य वा साहसका कविता नै वास्तवमा महान कविता हुन् । यस अर्थमा उनको सोहराब र रुस्तम सबभन्दा ठुलो सफलता हो । यसै कविताबाट उनले आफ्नो इच्छा पूरा गरे । यो दशौँ शताब्दीका फारसी कवि फिर्दौसीले रचेको दुखान्त नाटकमा आधारित कृति हो ।
आफ्नो जीवनकालको अन्तिम समयमा उनी सामाजिक विश्लेषण गर्न, दर्शन, धर्म र सामाजिक नीति सम्बन्धी लेख लेख्न व्यस्त रहे । द पपुलर एजुकेशन अफ फ्रान्स (१८६१), थ्राइसिस् (१८६६), कल्चर एण्ड एनार्की (१८६९), लिटरेचर एण्ड डोग्मा (१८७३), डेमोक्रेसी (१८७९), र एस्सेज इन क्रिटिसिज्म (१८८८) उनका प्रसिद्ध कृति हुन् । आर्नोल्डले शिक्षा र प्रजातन्त्र बारे प्रवचन दिँदै संयुक्त राज्य अमेरिका र क्यानाडाको भ्रमण गरेका थिए । सन् १८८६ मा स्कुल निरीक्षकको पदबाट अवकाश लिएपछि उनी अमेरिकाको अर्को भ्रमणमा निस्के । सन् १९०० मा उनको मेथ्यु आर्नोल्डका कविताहरू नाउँको अर्को संस्करण प्रकाशित भयो ।
उनले एउटी अमेरिकी युवतीसँग विवाह गरेका थिए । तिनलाई भेट्न लिभरपुल जान भनी ट्रेन पकड्न दगुर्दै गर्दा अचानक हृदयघात भई १७ अप्रिल १८८८ का दिन उनको देहान्त भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

