कोरोनाभाइरसका कारण संसारभरिका विद्यालय बन्द छन् । ६ महिनाभन्दा बढी समय स्कुले पढाइ बन्द भएपछि बेलायती सरकारी विद्यालयका विद्यार्थीले कविता विधा नपढे पनि हुने निर्णय शिक्षा मन्त्रालयले गरेपछि त्यसले तीव्र प्रतिक्रिया जन्माएको छ ।

विद्यालयले पढाउने पाठहरूमध्ये विद्यार्थीले नचाहेको खण्डमा कविताका पाठहरू नपढे पनि हुने नियम बनाइएको हो । २०२१ को वार्षिक परीक्षामा कविताका प्रश्नहरू छाडे पनि हुने निर्णयपछि शिक्षकहरूले अन्य विधा पढाउन बढी समय पाउने अपेक्षाका साथ कवितालाई हटाइएको बताइएको छ ।

त्यसो त यसअघि इतिहासको कक्षामा पनि प्राचीन इतिहास यसरी नै कटौतीमा परेको थियो । यसबाट बेलायतका एक लाख ३८ हजार विद्यार्थीलाई सहयोग पुग्ने परीक्षा नियन्त्रक कार्यालयको भनाइ छ ।

तर यस निर्णयसँगै कवितामाथि अन्याय भएको र यतिबेला कविता अझ बढी प्रभावशाली तरिकाले पढाइनुपर्ने धारणा विज्ञहरूको छ ।

विज्ञहरूले कविता हटाउँदा विविध आवाजमा प्रतिबन्ध लाग्ने धारणा राखेका छन् । द पोएट्री सोसाइटीले यस कुराको विरोध गरेको छ । सोसाइटीका निर्देशक जुडिथ पाल्मरले भनिन्, ‘अहिलेसम्म काला जातिदेखि एसियाली लेखकसम्मका कविता विद्यार्थीले पढिरहेका छन् । जोन अगार्ड, इम्तियाज धारकर, रेमन्ड एन्ट्रोबस र जाफर कुनैल जस्ता कविको विविधतामा प्रतिबन्ध लाग्ने छ । यसो गर्नु हुँदैन ।’

कविताले चुनौतीपूर्ण विषयलाई सहज छलफल गराउन सक्ने भएकाले विद्यार्थीमा यो क्षमता कमजोर हुनसक्ने चेतावनी पाल्मर दिन्छिन् । ‘कोभिड १९ रोगले मानिसमा जुन मानसिक समस्या ल्याइरहेको छ, कविताले त्यसलाई सहज रूपमा अभिव्यक्तिको बाटो दिन्छ । विद्यार्थीलाई यतिबेला यसको बढी आवश्यकता छ । कविताले उत्तर दिँदैन, यसले प्रश्न गर्न सिकाउँछ, अप्ठेरासँग जुझ्न सिकाउँछ ।

यो निर्णय सुन्नेबित्तिकै स्कटल्यान्डकी कवि तथा शिक्षक केट क्लान्चीले युवा मनले बढी कविता कथ्ने हुनाले ती सबै युवाको भावनामा चोट पुर्याउने धारणा ट्वीटरमार्फत् व्यक्त गरेकी छन् । आफ्ना विद्यार्थीका लागि ट्वीटरमै कविता पोस्ट गरिरहने उनले भनेकी छन्, प्रत्येक वर्ष किशोरकिशोरीहरूले अन्य भन्दा बढी कविता नै लेख्छन् । यो ती युवाहरूको भाषा हो । त्यसैले युवाभाषालाई प्रतिबन्ध लगाइनु हुँदैन ।’

केटको भनाइ छ, ‘विद्यार्थीलाई भार कम गराउने अरू नै बाटा अवलम्बन गरिनु जरूरी छ, कविताको हत्या गरेर होइन ।’

अन्य विधाभन्दा कविता सशक्त विधा भएकाले यस्तो सशक्त विधा प्रतिबन्धित हुन नहुने कवि तथा लेखक एन्थोनी एनाक्सगोरोले टिप्पणी गरेका छन् ।

यसैगरी कविता पपुलर कल्चरको एउटा भाग भएकाले युवापुस्तालाई त्यो संस्कृतिबाट अलग गर्न नहुने केहीको धारणा छ ।

कविताले कोविद १९ बाट निम्तिने समस्यालाई न्यून गर्न भूमिका खेल्ने हुनाले पनि यसलाई अन्याय नगर्न केही कवि लेखकले आग्रह गरेका छन् ।

बेलायती स्कुले शिक्षामा कवितालाई सन् १७८९ बाट समावेश गर्न थालिएको हो ।