पूर्वकथन:
सम्झना रहने गरि गरिएको कामकुरोलाई हामी धादिङ्गेलीहरू ‘सम्झाउनी’ भन्छौँ । यो एउटा उपहार जस्तो हो । सम्झनका निम्ति दिइने अनेकन् चिजहरूको म असाध्यै ज्याद्रो सङ्कलक हो । म झल्कोमा बाच्ने मनुवा । बाडुल्की ओकलिरहन पर्ने मनुवा । स्मरणलाई दोहराइरहने प्राणी ! चिनोलाई जोगाउने आदती !.. स्मृतिप्रेमी ! सायद अतीतमुखी !.. अतीतकालीन स्याँस्याँको काँसो बोकिहिँड्ने एक ‘उप्स्याँसो’ !
र, यो लेख पनि सोही सम्झाउनी । एक अश्रुस्नान ! भिजेको छातीलाई पुनश्च: भिजाउने मेलोमेसो ! छातीको भारीपन हलुका गर्ने उपायज्ञ ! सायद छातीको भारीपन बिसाउने मेसो, एक उपायान्तर !
मलाई थाहा छैन, यसो गर्नुको उपादेय छ/छैन । तर, यतिबेला मलाई यही उपयुक्त लागिरहेछ ।
कथन:
हिजो अर्थात् विक्रमको २०८० संवत्को कार्तिक महिनाको १० गते अन्दाजी १० बजे काठमाडौं आउनका लागि धादिङवेशीमा थिएँ । ग्रामीण यातायातको टिकट लिएर म मैधीदेखि आइरहेको मेरो रुक्स्याक पर्खिरहेको थिएँ । यता, काठमाडौंका लागि छुट्ने गाडीले हिँड्ने तरखर गर्दै थियो, अर्कोतर्फ मेरो झोला लिएर आएको ‘सागर सेढाइ’ दाइको बुलेरो सदरमुकाम टेकेकै थिएन । बल्लतल्ल पाएको टिकट (बि,३) छुट्ने भयो क्यारे भन्ने मनोदशाले हतासिएको बखत थियो । र, नीलकण्ठ नगरपालिकाको डोजरले लगभग लुछिसकेको पुछारबजारको पिपलको सियाँलमा ओत लागेर समय कटानीका लागि फेसबुक खोलेको मात्रै के थिएँ, न्यूज फिडलाई छोइरहेको मेरो औँलाको टुप्पो टक्क रोकियो !.. र रोकिई नै रह्यो !
अकस्मात हृदयपक्ष साह्रो अत्तालियो । अचानक बुद्धिपक्षले काम गरेन । हठात् म झसङ्ग भएँ । ‘प्रचण्ड भास्कर रहेनन्’ भन्ने स्ट्याटसले प्रदान गरेको अत्यधिक पीडादायक व्यक्तिगत अतासले मलाई च्याप्पै पार्यो । मेरो एक थान जीवशास्त्रीय मुटुमा असीम खैलाबैला मच्चियो । एउटा असहज स्थितिले उमारेको एक प्रकारको निर्जिविताले घेर्यो मलाई ! घेरिरह्यो ! धादिङवेशीको त्यो भीडमा म एकदम चुप भएँ, एकदम चुप ! …
एउटा तीव्र पीडाको जन्म !..
एउटा वेगमय भयको प्रादुर्भाव !..
उमेरले मेरो दाइ तर मलाई ‘दाइ’ भनी सम्बोधन गर्ने; साहित्यको सत्य, शिव र सुन्दरको त्रिविध पक्षलाई सन्तुलनमा राखी निरन्तर काव्य चिन्तन गरिरहेका भास्कर रहेनन् । यस कुरा पत्याउन मलाई करै लाग्यो । त्यसअघि म…,एउटा ज्यादै भावुकतावादी जलवायुमा निकैबेर लुगलुग कामेँ..कामिरहेँ । र, त्यसपछि एउटा ‘सांसारिक नैसर्गिक क्रूरता (मृत्यु)’लाई सम्झिएर दाह्रा किटेँ र किट्दै रहेँ ।
हुँदो हो, त्यति नै बेला मेरो झोला आइपुगेको हुँदो हो, तर मैले चाल पाइनँ । वेग्र प्रतीक्षाको मेरो वस्तु (रुक्स्याक) मेरो हातमा झुन्डिरहेको थियो, तर म रित्तिएको थिएँ ।..एउटा ज्यादै ठुलो खालीपनले मलाई साह्रै गह्रौँ बनाइदियो !.. हजुरबुबापछि कसैको मृत्युले मलाई यो पीडा दियो ।..
ज्या..एउटा कस्तो असजिलो र भारी क्षणले मलाई क्वाप्पै निल्यो नि..!
ज्या.. एउटा तीव्र अन्धकारले मेरो सातो खायो !
ज्या.. एउटा फुत्काउन गाह्रो गाँठो मनमा कसियो !
कथनभूमि:
जीवन एउटा घनघोर दोसाँध । विविध बाध्यताको गठजोड ।
एकतमासका क्रिया र एकतमासका प्रतिक्रियाहरूको जन्म र मरण ।
पल प्रतिपलको रिमीझिमी र पल प्रतिपलको चकमन्नता ।
एउटा झर्कोलाग्दो छ्यासमिस !
एउटा पत्यारलाग्दो गाजलगुजल !
कुन्नि कस्तो कस्तो प्रस्तुतीकरण यसको, नव्य पनि र भव्य पनि ।
सर्वत्र जस्तो पनि, पत्रपत्र जस्तो पनि !
जान्दछु/जान्दैछु/जानिरहेको छु, जानेहरू वा गइसकेकाहरूको नाममा आँसु बगाएर हृदय नामको टुकी उज्यालो पार्नुको कुनै तुक छैन किनभने जानु असुन्दर कदाचित छैन । गएकाहरू सुन्दर छन् । आउनु जत्तिकै जानु पनि सार्वभौमिक हो । आउनु जत्तिकै जानुको पनि चौडाइ-लम्बाई र उचाइ बराबर छ । हाराहारीका हुन् यिनीहरू । व्यतीत हुनु, छुट्टिनु, बाहिरिनु पनि प्रस्थान गर्नु हो, अघि बढ्नु हो, उम्कनु हो । जानिफकारहरूको कथनले भन्छन् पनि, ‘एक ठाउँबाट अर्को ठाउँमा पुग्नु नै त जीवन हो ।’ तर, मन कहाँ मान्छ र ? मन भन्छ, “जानिफकारहरू दुष्कथन मलाई सुन्नु छैन । निकै छिटो जानेहरू साह्रा नजाती हुन् । भास्कर साह्रो नजाती मान्छे हो !…
’भास्कर साह्रो नजाती मान्छे हो !’,
मन दोहायाईरहन्छ..रहन्छ !
दोहायाईरहन्छ..रहन्छ, मन !
तर, मनलाई सम्झाउनुपर्छ, यसैले त ‘सम्झाउनी’हरू जोगाउन मन लाग्छ ।
र, यो अशान्त अक्षरहरू सोही सम्झाउनी ! सोही कतै केही नहुँदा ‘केही त हुन्छ कि’ भन्ने भावावेग !
र, यो त्यहीँ दुई दिनदेखि छाइरहेको मौनतालाई चिर्ने जमर्को ।
मृत्यु बोकेर गएको ‘प्रचण्ड भास्कर’लाई मुस्कान बाँडेर बिदा गर्ने आँट ।
…एउटा साह्रो दुखद कुरा ।
र, यो यस दुखाइको तीव्र स्पन्दनलाई छाम्ने र ग्रहण गर्ने यत्न । …
अलिकता मुखाले या तरुनो भावुकतासहित भन्ने हो उसले अब कविता लेख्नेछैन, उसले अब ‘दाइ, यस कविताबारे भन्नुस् है, दाइ म काठमाडौं आइपुगेँ नि’ भन्नेछैन भन्ने बोध हुनासाथ म साँच्चैमा ध्वारध्वार्ती रोएँ । वेदनाका स्वर-मुर्छनाहरू घाँटीबाट निस्कन मरे सकेनन् । यो भाव ‘करार सेवा’ जस्तो फुत्तै नहिँड्नाले मलाई भास्करसँगका ‘सम्झाउनी’हरू नखोतली अब धरै छैन ।
र, यो बाँकी सोही सुमसुम्याइ ! ..थुमथुम्याई !
एउटा चस्स् चस्स..!
प्रचण्ड भास्कर नामको सम्झाउनीका पोकोहरू खोल्दा:
मान्छे भन्नु आकार मात्रै हैन रहेछ नि, उसको हार्दिकता, करुणता, क्रूरता, सहनशीलता जस्ता अनेकन् भाव पुञ्जहरू पनि रहेछ ।
नत्र यतिबेलाको यो लेख्नका लागि शब्दहरू नपाइरहेको क्षण, ऊ किन मेरो स्मृति-संसारमा मैसँग छ ? मेरैछेउ छ ? मलाई कोट्याइरहेको छ ?
म उसको आभाको तातोपना महसुस गरिरहेको छु ?
नत्र किन हामी सँगै चिया पिइरहेका छौँ ? हामीसँगै कविता सुन्ने-सुनाउने गरिरहेका छौँ ?
र, जब म यो केटालाई याद गर्छु, मेरो स्मृति चित्रका प्रत्येक आकृतिहरूमा, हरेक रेखाङ्कनहरूमा ऊ ठमठमती मैछेउ उसैगरी मास्क लगाएर बसिरहेको हुन्छ, जसोरी सर्वनाम थिएटरमा ‘पृष्ठभूमिमा कविता’ नामको एउटा नवसाहित्यिक कार्यक्रम सम्झन्छु । निकैबेर हामीहरूको गन्थनमन्थन सुनिसकेपछि ऊ भन्छ, “दाजु, यो प्रयोगात्मक कार्यक्रम गजब रह्यो । मलाई धेरै बोल्न भएको छैन तर मैले आनन्द लुटे ।”
उसका यी आवाजहरू कानछेउ लगातार वर्षा भइरहेछन्, यतिबेला । र, यस क्रमलाई व्यवस्थित वा मर्यादित बनाउनका लागि मैले यसो गर्नैपरेको छ.., सम्झाउनीका पोकाहरू खोतलखाताल पार्नै परेको छ !
***
१. सम्झना अनेकन् छन् भास्करसँग मेरा । आधा दर्जन जति भेटहरू मात्रै होलान् हाम्रो तर, म्यासेन्जर च्याटमा लामो गफगाफ भएको छ । उसको अनुपस्थितिमा यी कुराहरू भन्नु असन्दर्भित नहोला भन्ने ठान्दछु ।
म सम्झिन्छु, हाम्रो प्रथम च्याटमा ऊ भन्थ्यो, “लगन जुरे कञ्चनपुरमा हजुर जस्तो सब्द प्रेमी लाई निमंत्रणा गर्छौ दाई”, उसले पहिलोपटक भनेको सम्झन्छु म । त्यतिबेला म रानीवन, काठमाडौं बस्दथेँ । व्याकरणीय अशुद्धतासहित उसले आफ्नो गृहजिल्लामा भव्य साहित्यिक कार्यक्रम गर्ने आफ्नो तीव्र इच्छा प्रकट गरेको थियो । र, यो काम उसको महाप्रस्थानपछि हामी निम्तालुहरूको दायित्व भएको छ ।
२. मैले पढेको उसको पहिलो कविता ‘कच्ची रोड सँगैका पक्की चोटहरू’ रहेको मेरो अनुमान छ, जसको भिडियो सम्पादन समेत गरेको मलाई याद छ ।
“तब गाउँमा अनौठो मुनाफा थियो
अहिले त गाउँमा अनौठा गुनासा मात्रै छन्”,
सो कविताको प्रथम पङ्क्तिहरू विस्मृत नहुने गरि मकन बसेका छन् । जसरी उसको अर्को प्रश्न मेरो हृदयमा वास गरेको छ, “राम्रो कविता कसरी बन्छ दाई ?” उसको यस प्रश्नमा मैले त्यतिबेला बडो फाल्तु उत्तर दिएको थिएँ, “यो फाल्तू प्रश्न भयो, अरू केही सोध यार ।” यसपछि ऊ हाँसेको थियो र लगत्तै आफ्नो स्पष्टीकरण दिँदै अर्को प्रश्न गरेको थियो, “मलाई कविता भनेको नै थाहा छैन दाई । यो कविता आखिर के हो ?”
मलाई अहिले बोध हुन्छ, तत् समयमा ऊ कविता लेख्दै त थियो नै, बरोबर आफूले कविता लेखिरहँदा उत्पन्न प्रश्नवाचक विचारहरूलाई पूर्णविराम लगाउने जमर्को पनि गरिरहेको थियो । सायद यो हामी सबै गर्छौँ । म पनि गर्छु । ८/१० वर्षदेखि करिब १०० थान कविता लेखिसक्दा पनि ‘यो कविता आखिर के हो’ भन्ने अक्करे प्रश्नले मलाई ङ्याक्न छाडेको छैन । भास्कर आफ्नै प्रश्नहरूको उत्तर खोज्दै थियो, निकै छिटो ऊ निकै पर हुत्तियो र हामीलाई आफ्नो कविता सँगसँगै यियस्ता अनेकन् प्रश्नहरू छाडेर गयो । उसका कविता पढिरहँदा हामीले उसले सोधेको यीयस्ता प्रश्नहरूको उत्तर खोज्नु अब हाम्रो उसप्रतिको वास्तविक श्रद्धा भएको छ ।
३. म त्यतिबेला ‘नेपालपाटी’ नामको अनलाइनमा जागिरे थिएँ, जहाँ फलानोको तीन कविता भन्ने धारावाहिक शृङ्खला गर्ने गर्दथेँ । तत् बेला मलाई अग्रजका भन्दा आफ्ना समकालीनका कविता पोस्टाउन र आफ्नो दक्षअनुसारको प्रश्न तेर्साउन रुचिकर लाग्थ्यो । सो बानी यद्यपि गएको छैन, तर पछिल्ला वर्षहरू पातलिएका भने जरुर छन् ।
खैर, हामी हाम्रो मूल पाठमा आऔँ ।
त, सो समयमा मैले भास्करको ‘ए जिन्दगी’, ‘बेरोजगार’ र ‘कच्ची रोड सँगैका पक्की चोटहरू’ नामको तीन कविता राखेको थिएँ, ऊसँग सो समयमा प्रश्न गर्न छुटेको थिएँ (जो हालसालै गर्न सकेँ, जसको तल चर्चा हुनेछ, सम्भवतः यो उसको अन्तिम अप्रकाशित अन्तर्वार्ता हुनुपर्छ) ।
मैले उसलाई आफ्नो परिचय खुलाउन भनेको थिएँ, र उसले परिचयमा बडो गजबको कुरा गरेको थियो ।
“मेरो नाम प्रचण्ड भास्कर कलौनी (उपनाम: गुणाकर), जन्ममिति: २०५१-०९-१० जन्मस्थान: शर्माली, बैतडी हाल: मझगाउँ, कञ्चनपुर अध्ययन: BBA Far western University कार्यक्षेत्र: अलपत्र ?” किन अलपत्र भनेर मैले सोधेपछि उसले भनेको थियो, “म अहिले Hero Showroom मा काम गर्छु । मनमा लागेको जिज्ञासाको उत्तर खोज्दै हिँड्छु । लेख्न सकिने भाव लेख्ने प्रयास गर्ने एक यायावर हुँ दाई म ।”
‘लेख्न सकिने भाव लेख्ने प्रयास गर्ने एक यायावर’ भनेर उसले जसप्रकार आफ्नो कवि परिचयसँग मकन साटेको थियो, त्यसपश्चात् ऊसँग मेरा विषय विविध कुराकानीहरू हुन् थाले । र, अहिले ऊ ‘लेख्न नसकिने भाव’ बनी मेरो हृदयको कुन्नि कहाँकहाँ बसेको छ ।.. र, सधैँ बसिरहनेछ ।
हाय..एक बिडम्बित सत्यता !
४. अलिपछि म सोही अनलाइनका लागि ‘साहित्यिक चोरी’ विषयक आर्टिकल लेख्दै थिएँ, जसबारे उसलाई केही प्रश्नहरू गरेको थिएँ । “बौद्धिक लेख रचना एवम् आख्यानहरू स्रोत नखुलाई आफ्नो बौद्धिकता देखाउन लालायित हुनेहरूको नाममा केही भन्नु छ ?”
मेरो यस प्रश्नमा उसको जवाफ थियो, “साहित्य चोरी हुँदा आफ्नो बारीको काँक्रो चोरिएको जस्तै अनुभूति हुन्छ दाई । चोर्नु त अनैतिक नै भयो । सुरु सुरुमा मैले पनि साहित्य नक्कल गरेर यो मार्गमा पाइला टेके, अनि बिस्तारै किन अरूको नक्कल गर्ने वा चोर्ने भन्ने लाग्यो र आफै लेख्नुपर्छ, आफ्नो भित्री लागेको कुरा भनेर फेरी कलम चलाइयो । आफूलाई जस्तो लाग्छ जे आउँछ, त्यो लेख्दै गएँ । अन्ततः अनन्त आनन्द महसुस गर्न थालेँ ।” उसले प्रतिउत्तरमा अझ थपेको थियो, “प्रायः विषयवस्तु दोहोरिन सक्छन् तर हुबहु कदापि हुन सक्दैन । संस्कृति, प्रकृति,जीवनशैली, जीवनस्थिती आदिले थोरै प्रभाव त पार्छ नै तर हुबहु लेख्नु त अनैतिक चोरी हो जस्तो लाग्छ । आफ्नो मौलिकता भनेको नै आफ्नो सम्पत्ति हो ।”
एकपछि अर्को गरेर ऊसँग कुराकानीलाई उधिन्नुको मेरो प्रयास यति मात्रै हो कि भास्कर कविताबाट मात्रै हैन, गफगाफमा पनि बडो मुखर हुन्थ्यो । ऊ लागेको कुरा पाटपुट बोलिदिन्थ्यो । मलाई बेलामौका ‘दाजु कविता खै’ भनिरह्न्थ्यो । उसले एकपटक मेरो ‘झरी परेको दिनको सूर्यमुखी फूल’ नामको कथा मागेको अहिले याद आइरहेछ ।
सम्झनाको रेसा-केस्राहरू केलाईरहँदा म पाउँछु, निर्मला हत्याकाण्डको समयमा र पछिपछि नारी संवेदना र सामाजिक-राजनैतिक विकृतिविरुद्ध ऊ कुर्लिएको मलाई याद छ । यसैले त, उसको बातचितको तौरतरिका मलाई सधैँ रुचिकर लाग्थ्यो । र, ऊसँग विषय विविधमा रही गफिन पाउँदा म खुसी हुन्थेँ ।
र, अब उसको महाप्रस्थानसँगै त्यो क्रम रोकिएको छ तर, फेरी ऊ कवितामार्फत भनिरहेकै छ नि;
“..
स्वतन्त्रता कुनै जेलमा
कैदी बनी रोइरहेको छ,
न्यायको तराजूको
सन्तुलन बिग्रिसकेको छ,
संविधानका पंक्तिहरु
धरहरा सँगै उजाड भैसकेका छन,
चामल पाक्ने कैयौ कुकरहरु
प्रेसरमा पड़कीरहेका छन,
असंख्य निर्दोषहरु
गुहार मागिरहेका छन,
गुहार्दै यायावर झै
भट्कीरहेका छन,
देशको दशाको दशै सर्बत्र देखिन्छ….
तर,
कानूनको
आँखा,
कान,
नाकले
शून्य महसूस गरेपछि,
अन्ततः
लेखकले कलम छोड़ी
बन्दूक उठाउने निर्णय गर्छ ।।
(|| कानो(बहिरो) कानून || प्रचण्ड भाष्कार, कवितांश, २०१९, नेपालपाटीमा प्रकाशित)”
५. कोरोनाकालीन समयमा ‘मझेरी: द पोयट्री शो’ कुन्नि कसले गरिरहेका थिए, त्यसमा ‘कविता पठाउनु है दाइ’ भन्दै एकदिन ऊ च्याट बक्समा झुल्किएको याद आउँछ मलाई । त्यतिबेला ऊ हिन्दीमा च्याट गर्थ्यो । पछि चाल पाएँ, उसले हिन्दी कविता र उर्दू गजल खुब सुन्न थालेछ । र, लगत्तै लेख्न पनि थालिहाल्यो ।
(ए अँ, मैले मझेरीमा कविता पठाउन भुलेँ झैँ लाग्छ ।जे होस्, उसले चाहिँ ‘क्रान्ति’ शीर्षकको कविता पठाएको थियो ।)
यसपछिका दिनहरूमा उसले लगातार भिडियो कविता बनाउने र छोटा कविताहरू पनि लेख्न गर्न थाल्यो । जसमध्ये एउटा कविता:
में
चुमना
चाहता हुँ
उन कानों को
जो
दिनरात
तुम्हारीं
खामोशी सुनते हैं ।
(शीर्षक उसले राखेको थिएन)
भास्करको कवि चेत र काव्यिक गुणका बारेमा चर्चा गर्ने हालतमा म छैन यतिबेला । यद्यपि काबु क्रियशनले थालेको ‘प्रचण्ड भास्करका कविताहरू (नेपाली र हिन्दी)’मा यो काम हुनेछ भन्ने आश गरेको छु । र, उनको देहावसान भएकै दिन यसप्रकारको कामको थालनी हुनु पनि शुभ मानेको छु, साथीहरूलाई मनग्ये शुभकामना छँदैछ । सँगै, भूपी सरोवर सहितका अन्य साथीहरूले अक्षय कोष स्थापनासहित ‘प्रचण्ड युवा साहित्य पुरस्कार’ घोषणा गर्न पाए हुने भन्ने इच्छा राख्नुभएको छ, यसमा पूर्णत एक्येबद्धता जनाउँदै उँधो झर्छु ।
६. जीवनधाराका मोड-उपमोड र घटनाहरूबारे लेखिरहने भास्कर काठमाडौं आएको मौका छोपेर बिचमा ऊसँग भेट पनि भयो । भेटमा हामी कविताकै विषयमा गफ्फीयौं । उसका कविता निकै सुधारिएका थिए त्यतिबेला ! र, ऊ हिन्दी-उर्दू कविता-गजल पढिरहेको बताउँथ्यो । पछि, यस कुराको प्रमाणस्वरूप उसले निकै कविता हिन्दी-उर्दुमा लेख्यो पनि ।
एउटा अलिक काव्यिक लम्बाई भएको हिन्दी कविता यहाँ राख्नु प्रासंगिक हुन्छ:
【 कास कि सपने सच होते 】
मेरे पास कुछ नहीं था
मैं सुन्न था मैं शून्य था ।
अचानक से तुम आएथे
इस शून्य के आगे एक बनकर
और लग्ने लगा था सब दस – दस जैसा ।
तुम्हारे साथ गुजारें छोटे लम्हें भी
कई गुना बड़े, लम्बे देखाई पड़ते ।
तुम्हारे साथ
बैठ कर पीईगयी
गर्म दिनों की चाय
सायद ही कभी गरम रही हो ।
इतने ठन्डे होगये थे हम
सायद तापक्रम -१०°
या उससे भी ज्यादा
जो भी सामने था
सब असामान्य था ।
ऐसा कभी नहीं देखा कही नहीं देखा
पहली बार आंखों में दिल धड़क रहा था
तुम आयी तो लगा
कोई बहुत बड़े वक्त से
बेताबी से किया गया
बेहिसाब इंतज़ार खत्म हुवा हो
जैसे किसी स्कूल का कोई बच्चा
क्लास की चौथी पीरियड को
बेचैनी से इंटरवल की
घण्टीका इंतज़ार करता
और फिर इंटरवल में झूम जाता
तुम्हारे आते ही
मेरा हर मौसम बदलगया था
मैं बदल गया था ।
इतने बदलाव न मुझ में कभी थे
न ही सासों में वो एहसास था पहले ।
लगता
किसी रेतीले रेगिस्तान में
किसीने अचानक से
गज्जब की
भांग की फसल उगाई हो ।
रेत के
कण कण में
नसा छाया हो जैसे
सब झूम रहे थे
सूफियों की तरह
प्रतीत होता
कृष्ण की सारी
लीलाएं वहीं हुयीं हो जैसे
विज्ञान के सारे रहस्य
उसी रेत में छुपे हो जैसे
महसूस होरहा था
आनंद से ज्यादा
परमानंद से ज्यादा
चरमानंद से ज्यादा
बहुत ज्यादा घना आनंद….
और फिर अचानक से
जोरों की बारिश हुयी मुझपर
मैं चौक उठा। देखा तो
सामने कमबख़्त दोस्त खड़ा था
पानी की बाल्टी हातों में लिए हुये । (प्रचण्ड भास्कर)
७. प्रचण्डसँगका अतीतका मृदु-झङ्कारहरू, र उसका अप्रत्याशित कविताहरूलाई सम्झिरहँदा हृदय निकै खुश भइरहेछ यतिबेला । लागिरहेछ उहीँसँग छु, उसैका कविता र भिडियोहरू सुन्दै छु । लागिरहेछ- उसले कुन बेला फ्याट्टै भन्दिन्छ, “Dai ki xan halkhabar,Miss you myaan”. तर, जान्दछु ऊ एक आत्मानुभूतिमा छचल्किन पुगेको छ । र, छचल्किरहनेछ.. ।
यस्तै छचल्काइहरूमध्ये एक हो, साझाको पुस्तक प्रदर्शनी । २०७९ सालको अघिल्लो चाहिँ प्रदर्शनीमा मैले निकै कवि-साहित्यकारहरूलाई साझादेखि पुस्तकहरू किनेर बसपार्कदेखि गाडी चढाइदिने उद्यम गरेँ । त्यो किन गरेँ, मैँलाई थाहा छैन । यस्तै उद्यम मैले भास्करलाई पनि गरिदिएको थिएँ ।
“केही माया केही परिधि, एक स्रोत तीन धारा, आन्दोलन पूर्वका बन्द अभिव्यक्तिहरू, माटोका केही बुँदाहरू, कविताको आत्मकथा , गामबेसीका गीत, अराजक अक्षर, अन्यथा, दाजै कविता गाउँमै छ, खैरेनीघाट, छाप, कठघरामा उभिएर, कर्णाली लोकसंस्कृति, नवपल्लव, सृजना विधाका परिधिभित्र धुव्रचन्द्र गौतम, स्रष्टा र साहित्य, एउटा अर्को बुइगल, पञ्चायत आज, उनी देवता हुन्, अभिज्ञान शाकुन्तल, आमाको सपना, पुराना कवि र कविता, बाबु आमा र छोरा, कविता ६४” जस्ता पुस्तकहरू मैले उसका लागि छनौट गरि पठाएको थिएँ । ऊ साह्रो खुसी भएको थियो, म झन् बढी । यसमा उसले रिमाल, भूपी, कटुवाल, भैरव आदिका पुस्तकहरू पनि थप्न भन्यो र म पुनः साझा पुगेर त्यो काम गरेँ । थपिएका पुस्तकहरूमा “पल्लोघरको झ्याल, कारागार, अलिखित, देहमुक्त, आमाको सपना, नरेन्द्र दाइ, सुन्तली, प्रसिद्ध प्रबन्धसंग्रह, मञ्जु काँचुलीका कथा, लीला प्रस्तावना, तीन बास, भतेर र आँखाहरू, व्याकरणको दन्त्यकथा, मेरो चेतनाको अन्तरयात्रा, कौतुकमय डोल्पो, विश्वेश्वर प्रसादका कविता’ आदि रहेका थिए । उमेशजी मार्फत यी पुस्तकहरू पाइसकेपश्चात् ऊ भन्थ्यो, “आफूसँग अलिकता बजेट भइदिएको भए स्कुललाई हेल्प गर्ने प्लान पनि थियो ।”
उसले यो गर्न भ्यायो कि भ्याएन कुन्नि तर, उसको यो काम पनि गर्नुपर्नेछ हामीले अब ।
८. अलिकपछि उसले तुलसी थापाका दाना कविताहरूको खोजी गरेको म चाल पाउँछु । पछि उसले थापाजीकै बाटो पछ्यायो । पछिल्लो वर्षमा साहित्यको अत्यन्त मधुर र संवेगयुक्त दुवै हामीमाझ रहेनन् । क्या नमज्जा नि ! जसरी थापाजीसँग छुस्स मकवानपुरमा भेट भयो र उहाँसँग अन्तिम अन्तर्वार्ता गर्न पाएँ, सायद भास्करसँग पनि त्यहीँ जुर्यो ।
भास्करसँगको यस अन्तर्वार्ताको उल्लेख गर्नुपूर्व थप एक दुई कुरा छन्, ती सक्दिहालौँ ।
९. ऊ काठमाडौं आइपुगेको थियो तर भेट भने भएको होइन । तर, उसले हिन्दी भाषाका पुस्तकहरू कहाँ पाइएला भनेर सोधेको थियो । मैले पिलग्रिम्स र एजुकेशनल बुक्स हाउसको नाम लिएको थिएँ । सो ऊ त्यहाँ पुग्यो पनि कि ।
पुस्तक भन्दा हुरुक्क हुने यो केटोले आफ्नो कविता तिर्खार्नका लागि केकस्ता कामहरू गर्यो होला, यसबारेमा गफिनै पाइएन । तमाम छुकछुकका बीच यो छुकछुक पनि रहिरहने भयो ।
१०. र, माथि पनि चर्चा गरियो । गत वैशाखमा ऊसँग सर्वनाम थिएटरमा अन्तिम भेट भयो । सो भेटमा उसले गालामा घाउ भएको बताएको थियो । पछि, थाहा हुँदै गयो, सुदूर पश्चिमेली भाषा तथा संस्कृतिलाई छोटा कवितामार्फत चर्चामा ल्याइरहेको, ‘रुल्ली’ नामको उपन्यास लेखिरहेको केटो घाँटीको क्यान्सरका कारण नयाँ दिल्लीस्थित श्री बालाजी एक्सन मेडिकल इन्स्टिच्युटमा उपचार गराइरहेको छ । यस खबरपश्चात् कवि सुस्मिता बानियाँको सक्रियता र तत्पश्चात् साहित्यपोस्ट एवं तमाम समकालीन समवयस्की साहित्यप्रेमी (दोस्ताज महेशको अडियो बुक सहित)हरूको सक्रियतामा उसको क्यान्सर उपचार सहयोगार्थ विभिन्न कार्यक्रमहरू हुँदै गएँ । दुर्भाग्य, मैले यसमा सहयोग गर्नै सकिनँ ।
एक महिना अघि मात्रै उसले स्वयं लेखेको थियो, “प्रिय शुभचिन्तकहरू यहाँहरूले देखाएको असीम प्रेम, सद्भाव र प्रार्थना देखेर ममा निकै ऊर्जा र खुसी थपिएको छ । मेरो यस विषम परिस्थितिमा मलाई आर्थिक एवं भावनात्मक सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू प्रति नतमस्तक छु । सबैमा मेरो असीम कदर छ । यहाँहरूले लगाएको यो अमूल्य गुणको म सधैँ ऋणी रहनेछु । साहित्यको औँला समाएर हिँड्न सिकिरहेको म एक बालकलाई यहाँहरूले गरेको अथाह प्रेमको अगाडि मेरो रोगले आफै घुँडा टेकेको छ । मलाई भरोसा छ म छिट्टै यो रोगलाई पूर्णतया हराएर विजयी हुनेछु । ”
तर, एउटा दुखद वास्तविकता कटु स्पर्शले हामीलाई छोयो । ऊ गयो ! काठजस्तै भाँचिएको, ऐना जस्तै टुक्रिएको यस शून्य समयमा मसँग अब वास्तवमै अगाडी बढ्ने आँट छैन । एउटा कठोर शून्य समय..टिक टिक चलिरहेकै छ !..चलिरहेकै छ !
ऊ आफैँ कवितामार्फत भन्छ;
【आकाशवाणी】
मैले भनेकै थिएँ
कसैको नभए सम्म म तिम्रो नै हुनेछु
मलाई अहिले पनि राम्ररी सम्झना छ
मैले पकाएकै थिएँ
अलिकति काँचो प्रेम
खाएकै थिएँ एक मिठो भरोसा
धोएकै थिएँ एक जुठो दुःख
र सुकाएकै थिएँ एक बाटा विगत
मलाई अहिले पनि राम्ररी सम्झना छ
मिलेकै थियो बेला बेला
हामी बिच छुट्टिने बहाना
कहिले म तिमीलाई सम्झिएर बिग्रिन्थे
कहिले म बिग्रिएर तिमीलाई सम्झिन्थे
बिग्रिनु र सम्झिनु बीच
मेरो एकोहोरो सम्बन्ध थियो
नियतिको आकाशवाणी उहिल्यै सुनिएको हो
मैले भनेकै थिएँ
कसैको नभए सम्म म तिम्रो नै हुनेछु
आज म अकस्मात!
गहिरो प्रेममा परेको छु
आफै सँग
यतिबेला
मलाई पटक्कै मन परेको छैन
अरू कसैले मेरो मलाई मन पराएको
अरू कसैले मेरो मनलाई मन पराएको
म आज घटाइरहेछु रफ्तारमा
हिजो म सँग बिस्तारै जोडिएका नामहरू
मलाई अब केवल प्रेम गर्नु छ
मैले वर्षौँ देखि धोका दिँदै आएको
मेरो एकमात्र साक्षीलाई
मेरो एकमात्र साथीलाई
मैले भनेकै थिएँ
म कसैको नभए सम्म तिम्रो नै हुनेछु।
टुङ्यौनी:
बारम्बारको विराम, अर्द्धविराम र पूर्णविरामको यो स्मृति यात्रा, उपयात्रामा आइसक्दा पनि केही भुल्काभुल्की अझै छन् । यिनैको भुत्ल्याई र टोकाइबिच म याद गर्दैछु, मैले कुन्नि कुन जोशमा उसलाई यी प्रश्नहरू म्यासेन्जरमा छाड्न पुगेको रहेछु । १० वटा प्रश्नको एउटा ठेली बनाएर करिब ३ महिनाअघि मैले करिब २५ जना कवि/लेखकहरूको म्यासेन्जरमा प्रश्न छोड्दै गर्दा उसलाई छुटाइनछु । ‘एक प्रश्न, एकाध उत्तर’ नाम दिउँ कि भनेर त्यसै बसिरहेको बखतमा असम्पादित त्यस अन्तर्वार्ता संग्रहबाट यो अन्तर्वार्ता उठाएको छु । जसले कवि प्रचण्ड भास्करको परिचय अझ तिखार्ने छ भन्ने विश्वास लिएको छु ।
अझ अलिकति,
मेरा प्रश्नहरू पाउनासाथ उसले दिल्लीबाट भनेको ताजै छ, “म त अनेकतिर मन डुल्ने भएर स्वाट्टै एकैचोटि लेख्न नसकेर मजाले लेखिराछु ।” मैले उसको स्वास्थ्यवस्थाको चिन्ता गर्दै भने, ‘समय लगाउनु, केही छैन ।”
फेरि २/३ दिनपश्चात् अर्को टेक्स्ट गर्यो, “लामो लेख्नै नसक्ने बानी भएर मुस्किलले यति लेख्न भ्याएँ दाइ । जाने जस्तो लागेका प्रश्नको उत्तर केरकार गरेको छु दाइ ।”
र, यही वाक्य नै हामीबिचको संवादको अन्तिम वाक्य भइदियो ।…!
र, आखिरी कथन अर्थात् भास्करले अस्पतालबाट दिएका अन्तर्वार्ता
राजु झल्लु प्रसाद: ‘कवित्वं तत्र दुर्लभम् ।’ यस जगतमा मानिस भएरै जन्मनु दुर्लभ प्राप्ति हो, त्यसमा पनि तपाईँ झैँ कवि हुनु झन् दुर्लभ हो । हाम्रा प्राचीन पुराणले भर्खरै तपाईँको खतरा तारिफ गर्यो नि, कस्तो लाग्यो ?
प्रचण्ड भास्कर: नेपाली साहित्य अन्तर्गत पड्किरहेका महफिल, मञ्चहरूको उधारो र पैँचोको तालीलाई अपवाद मान्ने हो भने पुराणले गरेको कविहरूको तारिफ तारिफयोग्य नै हो म मान्दछु । कवित्वलाई भलै तारिफको बाल मतलब होला तर कविलाई जस त दिनुपर्छ ।
अँ कवि तारिफको घाँटीमै झुण्डिरह्यो भने त बिचरो बडो छट्पटाउँछ । ऊ तारिफले नै मरे पनि उसको आत्माले पक्कै मुक्ति पाउँदैन, चाहे गुटका आफन्तले कति नै पिण्ड दिउन् । उसो त अहिले साहित्यका तीर्थस्थलमा स्नान गर्नेहरूको घुइँचो नै लागेको देखिन्छ । अक्सर कविजनले प्रसादमा तारिफको चूर्ण नपाउने पनि होइनन् । आफूले पचाउन सकिने तारिफको चूर्ण जो ले पनि खान पायो । नछेर्ने सर्तमा !
राजु झल्लु प्रसाद: ‘तपाईँ कविता पढ्ने मान्छे पनि हो । किन पढ्नुभाको ? तपाईँले पढेको पहिलो कविता कुन थियो ? कवितांश याद छ ? पछिल्लोपटक ‘तैट मुला’ भनेर मिल्काएको कविता कसको थियो ? नाम नभने नि गोत्र भन्नुस् न । सजिलोको लागि, प्रगतिशील, वामपन्थी, सांसारिक, महिलावादी, शून्यवादी, नूतनप्रेमी, लगायतका विश्लेषणहरू प्रयोग गर्न पाउनुभो, तर भन्दा राम्रो । भन्दिनुस् यार ।
प्रचण्ड भास्कर: कविता पढ्दा जस्तो आनन्द केही पढ्दा नआउने भएर म कविता पढ्न निकै रुचाउँछु । हृदय र मस्तिष्क भएका कविता मेरा प्रिय कविता हुन ।
म कविता पढिरहेको छु भन्ने भ्रम अलि बढी भएको थियो । यो भ्रम नेरु खर्च गरी कविता सङ्ग्रह भनेर किनिएका शब्द सङ्ग्रहबाट आएको हो । तर केही सङ्ग्रहहरूले हताश हुनबाट जोगाएका छन् । यसकारण बडो सरमले भन्नु पर्छ ‘म कविता सङ्ग्रह पढिरहेको छु ।’ यद्यपि सञ्जालमा बेला बेला सुन्दर फुटकर कविताहरू पढ्न पाउँदा राहत फतेह अलि खान भइदिन्छ मन ।
पाठशालाका दिनमा अनिवार्य नेपालीमा सरको डरले कनी कनी पढिएका कविताहरू त के सम्झिनु, उसो त याद पनि छैनन् । कवितांशको गुनासो नै रहने भए यसो गर्छु जिब्रोमा रहिरहेको किसानको रहर गाइदिन्छु, हेहे.. ।
सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान ।
बिहानीपख झुल्किन्छ घाम देउराली पाखामा
असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा ।
अँ कवि दैवज्ञराज न्यौपानेको नाम त गुगल नै गर्नुपर्ने भएछ । कवि हुनु त गुगल मै खोजिने खालको हुनु ! नत्र के कवि हुनु ? के को छवि हुनु ? भनेर कसैको आधुनिक युक्ति त छापिएको छैन कतै ? छापिएको नहोला भन्न पनि सकिन्न यो हाते छापाखानाको युगमा !
कविता भनेर ‘हावाकाल’मा लेखिएका आफ्ना धेरै निवर्तमान भडासलाई त वर्तमानमा ‘तैट मुला यस्तो पनि लेख्थिस्’ भनेर मिल्काइएको छ । भविष्यमा यो दोहोरिन, तेहरिन, फेरिन पनि सक्छ ।
हेर्दा जस्तासुकै नयाँ, आधुनिक, प्रगतिशील, बादी, पन्थी देखिए पनि मैले प्रेम गर्ने भनेको कविताको प्राणवायुलाई हो । मलाई कविताको पहिरन भन्दा वैचारिक गन्ध मन पर्छ । खुसीको कुरा के भन्देखिन सृजनाको सफा पोखरीमामा पौडी खेल्नेहरू देख्दा म आफै हौसिन्छु । र, उनीहरूलाई पनि रहरै रहरले यसरी फ्यात्त फुत्त गरौँ न भनिदिन्छु। आफैँ पौडी खेल्न सिकिरहेको बेला उसै पोखरीमा फ्यात्त फुत्त गरिरहेकालाई धेरै भन्न हुन्छ वा हुँदैन म जान्दिनँ । कुनै दिन नदीमै तर्ने आँट आए गजबै हुने थियो । त्यो बेला बरु यसरी पौडिनु पर्छ भनेर भन्न सकिन्छ कि ?
अहो.. म त कता कता अर्कै दिशामा बगिगएछु !
राजु झल्लु प्रसाद: ‘नेपालका दामी दामी कवि को हुन् ? दामी कविता र कविता सङ्ग्रह कुन कुन हुन् ? झारपटास कवि र कविताको नाम भन्नुहुन्छ भने पनि गजब भयो । नेपाली कविताको पाठकले ‘अ’ भन्दा आलंकार बुझ्ने हुनाले मन लागेका नामहरू लिन छुट छ है ! नेपालको नभन्ने भए ‘फरेन पोयट्स’को नाम लिनुस् ।
प्रचण्ड भास्कर: मेरो विचारमा दामी कवि उनै हुन् जसका कविताले हृदय र मस्तिष्क स्पर्श गर्छन् । बेथितिको, विकृति, कू काम गर्नेको घाँटी अँठ्याउने कविता मन पर्छन् । कसैका गोडा स्पर्श गर्ने, खल्ती मुसार्ने कविता पनि के कविता ?
मलाई दामी लागेका कविहरू:
भूपी शेरचन, हरिभक्त कटुवाल, मौन आवाज , महेश पौड्याल, भूपिन खड्का, श्रवण मुकारुङ, रावत, चन्द्र गुरुङ, मनु मञ्जिल, उपेन्द्र सुब्बा, आर्यश शर्मा घिमिरे, कल्पना जोशी, खेम बतास , कृष्ण कञ्चन , सुरेश चन्द ठकुरी सहयात्री, हिरा भट्ट, नरेश सक्सेना (भारत), प्रशान्त सागर (भारत), बाबुषा कोहली (भारत), गीत चतुर्वेदी (भारत), मानव कौल (भारत),सबिर हाका (इरान)। मेरो स्मरण शक्ति निकै कमजोर भएकोले केही कविजनका नाम सम्झिन नसकेकोमा माफी माग्दछु । आफैसँग माफी ।
मैले रुचाएका केही कविता सङ्ग्रहहरू:
घुम्ने मेचमाथि अन्धो मान्छे, राजधानी मास्तिरको राजधानी , बिसे नगर्चीको बयान, ल्यापमपोस्टबाट खसेको जुन, कविता ने कहा , फफूंद , जब एउटा मान्छे हराउँछ, कुँवर नारायणका चुनिन्दा कविता, पाशका चुनिन्दा कविता, ठीक तुम्हारे पीछे ।
आफूलाई मन नपरेका कविता अरू कसैलाई मन परेका पनि होलान् भनेर गाली नै गर्ने आँट गर्दिनँ । मन परेका कविता पढ्न त मुड चाहिन्छ भने मन नपरेका कविता की बात के नै गर्नु !
राजु झल्लु प्रसाद: ‘तपाईँ कविता लेख्ने, पढ्ने, बुझ्ने कविता मर्मज्ञ भएकाले मन लागेको, आफ्ना असफलता, व्यर्थता, र जीवनको क्षणभङ्गुरता वा निस्सारताको बोधलाई खुरुरु लेख्न कत्तिको सकिने रहेछ ? अर्काको असफलता आदिआदि पढ्न नि ? कविता लेख्न सजिलो कि पढ्न हँ ? कि पुरस्कृत भइखान ? अरू मसलाहरू पनि छन् भने थप्नुस् यार..!
प्रचण्ड भास्कर: भाग्यवश कवितामा साक्षर हुन खोजिरहेको एक प्रौढ बेचैनी ममा छ ।
दुर्भाग्यवश म निकै अल्छी छु । मेरो मुड त झन् महाको अल्छी छ । उसले कविता पढ्न पनि एउटा स्थिति कुरिरहन्छ । लेख्न त उसलाई बडो सकस छ । यो मामिलामा औँला निकै टाइट छन् भनौँ न !
कविता बुझ्ने म नाथे को नै हुँ र ? यो जिम्मा मैले हृदयलाई दिएको छु, यसमा उसकै मर्जी चल्छ । उसले आफू छुँदो गरिरहेछ भनेर खुसी हुनु बाहेक मसँग कुनै विकल्प छैन ।
तुलनात्मक हिसाबले हेर्दा लेख्नुभन्दा पढ्नु सजिलो छ । रमाइलो छ, छरितो छ, अँ महँगो पनि छ। झन्झटिलो पनि छ त्यसैले झन्झटिलो कुरा किन पढ्नु भनेर म सधैँ छोडिदिन्छु । लेखन आफैँमा एउटा अस्थायी स्थिति हो भन्छन् केही जान्नेहरू । सुखद अनुभूति हुन् वा दु:खद अनुभूति यी लेख्न पनि एउटा दिव्य, अलौकिक सामर्थ्य चाहिँदो रहेछ । लेख्नेहरू सबैका आ-आफ्नै तरिका होलान्, दायरा होलान्, क्षमता होलान् । कोही सफलता लेखेर खुसी भइरहेका होलान्, कोही असफलता लेखेर दुःख घटाउन खोजिरहेका होलान् । आफ्नो जीवनमा कहिले अरूको सफलताले प्रभाव पार्ला, कहिले असफलताले । त्यसैले दुवै थरीलाई पढ्न त पर्छ नै भन्ने मेरो निजी जिकिर हो । फरक फरक परिवेशका मेरो स्वाद मिल्ने कविता भेटिए म त निकै खुसी हुन्छु ।
कविता लेखनमा कुरा गर्दा- केही प्रमाणपत्रको लोभले पनि प्रायः लेखिरहेका देखिन्छन् सञ्जालमा । मैले पनि यसरी लोभमा एकदुई पटक लेखेँ । यसरी लेखिरहेका वा भनौँ लोभिएकाहरूको साहित्यमा योगदान त कस्तो होला बरै तर प्रमाणपत्र र खादा व्यापारीको भने व्यापार बढाइदिएर गुण लगाएका छन् । गुण लगाउनु भन्दा ठूलो कुरो केही छैन भन्नुहोला । भन्दिनुस् । ती गुणीले सुने दुआ दिनेछन् । भौतिकवादी भए बेग्लै कुरा !
राजु झल्लु प्रसाद: ‘समाज र मानवताप्रतिको न्यूनतम दायित्व निर्वाह सबैले गर्छन् । तपाईँले कविता लेखेर सोहीप्रकारको न्यूनतम दायित्व निर्वाह गरेको कि अझ अरू केही बढी ? कवि र कविताको संवाद कत्तिको हुन्छ भन्ने जिज्ञासाले कुत्कुताएर सोधेको, आजको नेपाली कविताको सामाजिक संरचना (हालत) कस्तो पाउनुहुन्छ ? एउटाले, ‘नेपाली कविताले आफू सुतेको ओछ्यान मिलाउन छाड्यो’ भन्दैथ्यो । त्यो ‘मै’ हो, मलाई के भन्नुहुन्छ ?
प्रचण्ड भास्कर: म आफ्नै गैरजिम्मेवार मान्छे भएपनि समाज र मानवताप्रति संवेदनशील छु जस्तो लाग्छ । गलतको विरुद्धमा कवितालाई उभ्याउन कोसिस गरिरहन्छु । म मान्दछु कि कवि र कविताको संवाद नै भएन भने त उनीहरूको छिट्टै ब्रेकअप भइजाँदो हो । कविले बाँठो भएर कहिल्यै पनि कवितासँग बढ्ता बोल्ने हुनुहुन्न भन्छु म त । बरु उसले कवितालाई बोल्न दिओस् । कविताले आफ्नो कुरा राख्न जानिन् भने गजबै भइगयो । लाटी कविता भयो भने त बर्बादै हुन्छ । हेहे..!
तपाईँले भनिहाल्नुभयो ‘नेपाली कविताले आफू सुतेको ओछ्यान मिलाउन छाड्यो !’ तपाईँलाई हाईफाई गरियो ।
म अल्छीको पनि यसमा केही किलोको वा ग्रामको हात पक्कै छ, त्यसैले तपाईँको यो कथनमा दुई चोटि तलमाथि टाउको हल्लाएर ओरालो झरेँ ।
राजु झल्लु प्रसाद: ‘कविता नछाप्ने, छापे पनि लेखकसँगै पैसा असुल्ने अनि ‘म त खतरा हो, बबाल हो’ भन्ने तोरीलाहुरे प्रकाशकहरूलाई केही भन्नु छ ? प्रश्नमै सबै भनिएछ ! उत्तर नदिने भए थप प्रश्नहरू नै गरिदिनुस् ।
प्रचण्ड भास्कर: हुन त यी छाप्ने व्यापारीले पैसो नै छाप्ने हुन अझ भनौँ रुपैयाँ नै छाप्न खोज्छन् । उनीहरूलाई चाहिने भनेकै फाइदो हो ।
हाम्रो पठन संस्कृति पहिला त काव्य पढ्नै नमान्ने, मुस्किलले माने पनि खर्च गर्नै नसक्ने, खर्च गर्न गर्न खोजे पनि खल्ती नै प्वाल परेको हुने भएर पनि यी प्रकाशनहरू कवितालाई विश्वास नगर्ने र कविलाई धोका दिन खोज्ने गर्दा हुन् । कोही पत्याइहाल्छ कि भनेर आफ्नो पेट फुलाउन आफूलाई खतरा, बबाल भनिरहेका होलान्। खैर भन्नेले भन्दैमा मानिहाल्नलाई यो कुनै सत्ययुग पनि होइन । नवकवि, लेखकहरूलाई मौका दिनेलाई बहुत बहुत धन्यवाद भन्न चाहन्छु ।
राजु झल्लु प्रसाद: ‘नेपाली भाषी कविताको वंशाणुगत गुणहरूबारे चर्चा गर्दा कस्तो होला ? तपाईँले नेपाली कविताका सामाजिक, प्राकृतिक, जैविक, शारीरिक, विविधताहरू औंल्याउनुभाछ ? हेर्नुस्, यो प्रश्नले तपाईँलाई भर्खरै समीक्षक बनाइदिने भयो ! मौका नगुमाउनुस् है त ! हाउ, त्यसो भए नेपाली कविताको समीक्षकको कुरा काटम न त । लु सुरु गर्नुस् !
प्रचण्ड भास्कर: नेपाली साहित्यमा स्नातकोत्तरमै नसोधिएको प्रश्न सोध्नुभयो । मुस्किलले कविता पढ्न सुरु गरेको यो १०+२ वाला मनुवालाई गाह्रो पार्दिनुभएछ । एउटा प्रश्न कम्तीमा वैकल्पिक हुनुपर्ने ।
यति भनेर म उम्किएँ । म जान्दिनँ भन्न के लाज मान्नु !
राजु झल्लु प्रसाद: ‘आजको मान्छेले आर्थिक रूपमा बलियो हुन् आफूलाई बहुल क्षेत्रमा लगानी गरिरहेको छ । साहरुख खान क्रिकेट कम्पनी चलाइराछन् । यस्तै यस्तै । तपाईँको कविता बाहेक अर्को लगानीको क्षेत्र कुन हो ? व्यापक मानवीय संवेदनासहित भन्नुभएछ है, तपाईँ कवि हो यो छुट तपाईँलाई छ ।
प्रचण्ड भास्कर: मेरो कविता सृजनाको सिलसिला सुरु भएको लगभग ५ वर्ष हुन लाग्यो । चरम बेरोजगारीको अवस्थाबाट सुरु भएको यो सृजनात्मक काम अहिले पनि परजीवी भएर नै श्वास फेरिरहेको छु । अनेक कारणवश मैले आफ्नो कम्फर्ट जोनलाई अहिलेसम्म छोड्न नसकेको हुनाले लगानीवाला विषयमा ग्लानि महसुस गर्दैछु । आफूलाई बहुल क्षेत्रमा लगानी गरिरहेकाहरूप्रति मेरो असीम कदर छ । बाँच्नु भनेकै यसरी हो। ( मैले भन्न मिल्छ वा मिल्दैन कुन्नि ?)
राजु झल्लु प्रसाद: ‘जेजे भने पनि ‘कविता गन्थन होइन’ । यसैले तपाईँको एउटा कविता सुनौँ । १
प्रचण्ड भास्कर: कविता भनेर मैले यस्तो पो लेखेको छु:
【 मुक्ति 】
अघोरीहरूको घनघोर ताण्डव
हुँदै गरेको एक समय
संसद नजिकै
महामृत्युञ्जयको
महामन्त्रोच्चारण गर्दै गरेको
मार्च पासको दृश्य
कुनै दुतावासको भव्य भेटघाटको
झल्को दिइरहेको थियो ।
उत्सव भैरहेथ्यो नटराजहरूको
अनिष्टलाई स्वागत गर्न
उनीहरू पटक्कै चाहँदैनथे
कसैको जीवन,
न त मोक्ष प्राप्ति नै ।
मंत्रोच्चारण हुँदै थिए केवल
आफ्नै जीवनको लागि
उदण्ड मचाइरहेथे
आआफ्नै जटा निमोठेर
कपालको लामो आयुको लागि
प्रस्ट देखिन्थ्यो
उनीहरूको
काया माथि देशको खरानी
अघोरीहरू अवगत थिए
देशको स्वामी ‘रुद्र’
यतिबेला
स्वयं विषाक्त भएर छट्पटाइरहेछ,
सिँहदरवारको कुनै कैलाश कोठा भित्र
आफ्नो अन्तिम संसारिक श्वासमा
उसले फेरिरहेछ विषालु आश्वासनका
मिति पूरा भइसकेका
देशै खाने अर्ती उपदेशहरू
कुनै निश्चित चुनावी एजेन्डा जस्तै
औपचारिकता निभाइरहेछ,
आफ्ना अन्धा र बहिरा भक्तहरूलाई
उनीहरुले मात्र बुझ्ने लिपिमा
कसरी थाहा पाउँछन् अघोरीहरूले
कसैको मृत्युको साइत ?
किन खाइदिन्छन् अघोरीहरूले
आफ्नै प्रजातिको मांस ?
देखिन्छन् किन अघोरीहरू
मात्र
कुम्भ र महाकुम्भमा ?
राहदानी विभाग बाहिरको भिड जस्तै
जिज्ञासाले काैतूहल बनेका नजरहरू
अपवित्र बनेर फर्किए,
जीर्ण र रुग्ण देखिन्थे अघोरीहरू
मुक्ति खोजिरहेका थिए
घाँटीमा झुण्ड्याइएकाे पार्टीको कंकालबाट !
राजु झल्लु प्रसाद: ‘केही छुट्यो र ?
प्रचण्ड भास्कर: छुट्नु भनेको गुडिरहनु पनि हो । छुटेको हरेक तत्त्वलाई शुभयात्रा भन्दै म पनि छुटे । जय कविता !
***
अस्तु !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।