जब हामी बेस्ट सेलर पुस्तकहरूको कुरा गर्छौँ, त्यसको अर्थ प्रायः बिक्री हुने पुस्तकहरूको तुलनामा अलि बढी नै किनिएको पुस्तक हो भनी बुझ्छौँ । एक समय यस्तो थियो, अवार्ड प्राप्त लेखक डोनाल रयानका पुस्तक तीन सय पुस्तक बिक्री हुँदा बेस्ट सेलरको सूचीमा पुस्तक उक्लिन्थ्यो । अहिले हरकोहीले सूचीमा पर्नका लागि गर्ने मरिहत्ते यसले दिने मौद्रिक मूल्य भन्दा पनि बढीभन्दा बढी हल्लाखल्लाको नै चासो हो । अधिकांश बेस्ट सेलरले सोचेजस्तो पैसा कमाएका हुँदैनन् । त्यसो त ह्यारी पोटर र द दा भिन्सी कोडजस्ता पुस्तक ब्लकबस्टर नभएका होइनन् । ती पुस्तक करोडौँ प्रति संसारभर प्रकाशकले पुर्याएकै हुन् । तर जेके रोलिङ र डन ब्राउनको भन्दा बढी पुस्तक त जोन ग्रिसमको थ्रिलर शृंखलाबाट जेम्स प्याटरसनले बेचेका छन् । बिक्रीका हिसाबले त उनी डन ब्राउन र जेके रोलिङभन्दा राम्रा साहित्यकारका रूपमा प्रख्यात हुनुपर्ने हो तर उनलाई केहीले त साहित्यकारसमेत मान्दैनन् ।

जेम्स प्याटरसन डेढ सयभन्दा बढी पुस्तक लेखेका छन्, तीमध्ये ११४ वटा पुस्तक त न्युयोर्क टाइम्सको बेस्ट सेलर्स सूचीमा नाम राखेका छन् । अतः उनीजस्तो लेखक विरलै पाइन्छन् तर उनलाई विलक्षण साहित्यिक अनुहार भन्दा पनि उपन्यासको फ्याक्ट्रीका रूपमा लिनेहरू बढी छन् । कारखानाबाट कुनै सामग्री निस्केजस्तै ह्वात्त ह्वात्त उनले उपन्यास लेख्ने र छाप्ने गर्छन् । त्यसमाथि आफूले नभ्याएर उनले नयाँ पुस्तालाई पनि लेख्न लगाउँछन् । अमेरिकी पुस्तक प्रकाशनमा उनी नै त्यस्ता लेखक हुन्, जसले अमेरिकी राष्ट्रपतिलाई उपन्यास लेखनमा समेत अघि सारेका छन् ।

हो, उनले अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको नामसमेत राखेर उपन्यास बेचेका छन् । रोचक त के छ भने त्यो उपन्यास पनि बेस्ट सेलरमा दर्ज हुन पुग्यो ।

प्याटर्सनको सफलता वास्तवमा अनौठो नै छ किनभने त्यत्तिका किताब बेस्ट सेलर भए पनि उनको नाम भने घरघरमा चिनिने नाम होइन । उनलाई केहीले हियाएर मास्टर अफ द एयरपोर्ट नोभेल (विमानस्थल-उपन्यासका मास्टर)समेत नाम राखिदिएका छन् । खासमा यात्रामा हिँडिरहन रूचाउनेले उनका उपन्यास भारीका भारी बोकेर लैजाने गरेका छन् । प्याटर्सन कस्ता लेखक हुन् भन्ने विषयमा प्रख्यात लेखकहरूबीच नै भिन्नता छ । जस्तो कि स्टेफन किङले उनको लेखनीलाई गज्जबको ठान्छन् भने समीक्षकहरू त्यसलाई समीक्षायोग्य नै ठान्दैनन् । अर्थात् कुनै साहित्यिक मूल्य नभएको पुस्तकका रूपमा लिन्छन् । यद्यपि उनले सन् २०१५ मा नेसनल बुक फाउन्डेसनको लिटररियन अवार्ड पाए । उनले अमेरिकीहरूको पठन संस्कृति बढाउन खेलेको भूमिकाका लागि यो पुरस्कार दिइएको थियो ।

प्याटर्सनको अर्को गज्जबको काम भनेको उनले भर्खरका उदीयमान लेखकलाई आफ्नो नाम जोडेर उपन्यास लेख्न प्रेरित गर्छन् । यसो गर्दा नवलेखकले उनीजस्ता बेस्ट सेलरको नाउँसँग आफ्नो नाउँ जोड्ने अवसर पाउँछन् । यसबापत उनीहरूको नाम प्रचलित हुन्छ र भविष्यमा बेस्ट सेलर लेखकका रूपमा उदाउने अवसर पाउँछन् । यसका लागि उनले नवलेखकलाई आफ्नो लेखक शैली सिकाउँछन् । कथानक दिन्छन् र नवलेखकलाई लेख्न लगाउँछन् । यस क्रममा उनले नवलेखकले लेखेका सिर्जनालाई पुनःलेखन गर्छन् वा पुनर्लेखन गराउँछन् । उनले यसका लागि सातामा दुई दिन समय दिन्छन् । यसो गर्दा उनलाई थाहा छ, कस्तो लेखनी आफ्नो पाठकले रूचाइरहेका छन् । त्यसलाई कसरी मिलाएर लैजाने ताकि पाठक पनि नबिच्किऊन् र नवलेखक पनि स्थापित होस् भन्ने विशेष ख्याल राख्छन् । यसका लागि उनी पहिले नै आफ्ना प्रकाशक र विज्ञापन कार्यकारीसँग सल्लाह लिन्छन् । यस्तो प्रक्रियालाई उनले सहप्रकाशक हुनुका रूपमा अर्थ्याउने गरेका छन् । यसरी तयार भएका नवपुस्ताका उपन्यासमा लेखक प्याटर्सनको नाउँ ठूलो अक्षरमा हुन्छ ताकि उनको नामले पाठकले उपन्यास किनून् ।

यसरी लेखिने उपन्यासमा प्रायः स्टाइलोमेट्री अपनाइन्छ । स्टाइलोमेट्री भनेको पहिलेका वास्तविक लेखकले लेखेका उपन्यासमा पाइने खासखास शैलीलाई रिठ्ठो नबिराई अनुपालना गर्नु । जस्तो ह्यारी पोटर उपन्यासका मुख्यपात्रहरूको चरित्र, शैली, बोल्ने तौरतरिका के कस्तो छ, पछिका शृंखलामा पनि त्यसलाई जारी राख्ने । त्यसैले त जेके रोलिङले ह्यारी पोटरको अन्तिम शृंखला लेखिसकेपछि पनि अहिले नयाँ नयाँ शैली र स्वरूपमा ह्यारी पोटरका कथाहरू वा उपन्यासहरू आइरहेका छन् । ती सबैमा स्लाइलोमेट्रीको भूमिका प्रमुख हुन्छ ।

उसो भए प्याटर्सनको उपन्यासको स्टाइलोमेट्रिक उपायका बारेमा अध्ययन किन नगर्ने भनेर म र मेरो साथीले एउटा अध्ययन गर्यौं । सो अध्ययनमा उनका सयौँ उपन्यासलाई आधार बनायौँ । खासगरी उनीसँग सहकार्य गरी लेखिएका उपन्यासलाई हामीले अध्ययनको पाटो बनाएका थियौँ । अध्ययनले के देखायो भने प्याटर्सनको लेखनीमा स्टाइल (शैली) भन्दा पनि बढी घटनाक्रम हुँदा रहेछन् । घटनाक्रमले तपाईंलाई यति धेरै तान्छ कि तपाईंले लेखकको शैली बिर्सनुहुन्छ । कहिलेकाहीँ त प्याटर्सनको शैलीभन्दा नयाँ लेखकको शैली हावि भएको पनि पायौँ । यसले के देखायो भने उनका लागि प्लट ठूलो कुरा हो, शैली होइन । उनका लागि शैली ठूलो कुरा होइन भने कतिपय सिद्धान्तअनुसार उनी लेखक नै होइनन् ।

सतही रूपमा हेर्दा प्याटर्सनको अभ्यासले गज्जबको काम गरिरहेको छ । तर सँगैमा उनको यस किसिमको सहलेखनको कार्यले अथरसिप अर्थात् साहित्यकारिताको मूल मर्मलाई नै चुनौती दिइरहेको छ । जेम्स प्याटरसनको नामको त्यो के अर्थ, जबकि एक पटक पढिसकेपछि उपन्यासको ज्याकेटमा धुलो जम्छ ।

प्याटर्सनका सिर्जना साहित्यिक समीक्षकहरूलाई थोरै मात्र हलचल गर्न पनि सफल नहुन सक्छ तर उनको उपन्यास पठनको लोकप्रियतालाई पुनः ठाउँमा ल्याउने लेखकका रूपमा भने मान्नै पर्ने हुन्छ । उनको साहित्यिक पुँजी एउटा लेखक र कारखाना, सर्जक र ट्रेडमार्क सबै सबैमा उत्तिकै महत्त्व छ । उनले कथा र अभिव्यक्तिको अटुट शृंखला चलाइरहेका छन् र पाठकलाई बाँध्छन्, बाँधिरहेका छन्, त्यसलाई भने नकार्न सकिन्न । आखिर १८ औँ शताब्दीपछि हामीले उपन्यास भन्नेबित्तिकै धेरैभन्दा धेरै पाठकले पढून्, यसको व्यापारिक महत्त्व छ भनेर स्वीकारिएकै पक्ष त हो ! समीक्षकहरूले संरचनाभन्दा शैलीलाई महत्त्व दिन्छन् तर सर्वसाधारणले भने संरचना ठूलो ठान्छन् । उसो भए के प्लटले लेखक बनाउँछ र शैलीले कलाकार ?

यहाँ म थकाउने किसिमको बहसमा उत्रन चाहन्न कि वास्तवमा कला उच्च हुन्छ कि निम्न वा के कुराले कुनै कला उच्च र कुनै निम्न कला हुन्छ । सिर्जनशील सम्भाव्यतामा संरचना भव्य हुन्छ र ‘हाइ मोर्डनिज्म’जस्ता उच्च शैलीका आन्दोलनहरूले कथानकलाई रद्दीको भाउमा पुर्याइसकेका छन् । पहिलेका उपन्यासका लागि कथानक आवश्यक थिए पनि तर पछि विशेषाधिकार प्राप्त शैलीका माध्यमबाट तिनलाई हटाउने प्रयास गरियो । सँगसँगै साहित्यमा समीक्षक, पाठकको भूमिका पनि बढ्दै जान थाल्यो । विविध किसिमले उपन्यासलाई मूल्याङ्कन, व्याख्या र संवाद गर्न थालियो ताकि उपन्यासभित्रका विविध ससाना कुराहरू पनि बहस र व्याख्याको विषय बनाउन सकियोस् । सबै किसिमका कथानक (प्लट)मा सोही किसिमका मूल्याङ्कन, व्याख्या र संवादको अवसरका रूपमा लिन थालियो ।

फिल्म र संगीत उद्योगमा सहभागिता सृजनलाई धेरैअघिदेखि ठाउँ दिइएको सबैका सामु छँदैछ । एउटा फिल्म वा एउटा गीति एल्बम बनाउन ठूलो समूहको सहयोग आवश्यक पर्छ । अब साहित्यमा भने त्यस किसिमको सहभागिता वा सहयोगलाई किन भाउ दिइँदैन, यो चाहिँ अचम्म छ भन्ने प्याटर्सनको भनाइ आफैँमा नराम्रो होइन । संयुक्त लेखनीमा जसरी प्याटरसनले काम गरिरहेका छन्, त्यस हिसाबले उनलाई साहित्यिक निर्देशक भन्न सकिन्छ वा तपाईंले साहित्यिक निर्माता भन्न सक्नुहोला । अथवा, प्याटर्सनले गोस्ट राइटिङ (गणेशलेखन) गराएको पनि हुनसक्छ ।

प्याटरसनको लेखनी भनेको कथानक मूल हो । कथावाचनको शैलीलाई उनले पैसा छाप्ने मेसिन बनाएका हुन् । उनी मात्र पहिलो र अन्तिम लेखक होइनन्, जसले लेखनीलाई पैसा छाप्ने मेसिन बनाएका होऊन् । स्टेफन किङ, जेके रोलिङ, स्टेफनी मेयर र अन्य लोकप्रिय लेखकभन्दा त उनले कम नै कमाएका छन् । अँ, फरक यत्ति हो कि तिनले कथानकभन्दा शैलीलाई बढी महत्त्व दिएका हुनाले बढी साहित्यिक लेखकका रूपमा गनिए । तर उनका समकालीन लेखकहरूका लागि भने प्याटर्सन आश्चर्यका पोका हुन् किनभने उनले यत्तिका उपन्यास, लेख्ने, ड्राफ्ट अध्ययन गर्ने, नयाँ पुस्तालाई हौस्याउने र तिनलाई अघि बढाउने काम चाहिँ कसरी गर्छन् ?

(लेखक युनिभर्सिटी अफ सेफिल्डमा डिजिटल ह्युमानिटिज् रिसर्च एसोसिएट्स छन् ।)

द कन्भरसेसनबाट अनूदित