मेइले सुँक्क सुँक्क गर्दै भनी, “हुन त मर्जी भएको ठिकै हो, तर जतातिरका भए पनि बाबुका निमित्त सबै छोराछोरी समानै हुन्छन् – भन्ने पनि त छ । एकातिर माथैमाथ अर्कातिर पुर्पुरामा हात गराइदिनु पनि त दुनिया हँसाउने कुरो हो । ”

बुढाले भने, “अर्को उपाय छैन । तिमी अहिले केटाकेटी नै छौ । त्यसैले बच्चालाई शान-चीका जिम्मा लगाउनुपर्‍यो । त्यसो गर्दा वर्ष छ महिनापछि अर्को घरजम गरी सुबिस्तासाथ जिन्दगी बिताउन तिमीलाई पनि सजिलो होला । दिनरातको दुर्व्यवहार मात्र सहन यस घरमा नबसे ।”

डाँको छोडेर रुँदै मेइले भनी, “किन यस्ता कुरा मर्जी भएको ? म पनि कुलघरानकै छोरी हुँ । बाबुबाजे पण्डित-विद्वान् नै थिए । पतिव्रताको महिमा नजानेकी होइन । छोरो पनि छँदै छ । त्यसलाई समेत छोडेर जा भन्ने कसरी मर्जी भएको होला ! जस्तोसुकै आइपरोस् – यो घर छोडेर कतै जान्नँ । छोराका साथ बसी त्यसैको मुख हेरेर प्राण धान्छु ।”

बुढाले सोधे, “त्यसै गर्ने विचार गर्छ्यौ त ? पछि पछुतो त नलाग्ला ?”

विह्वल भएर मेइले असाध्य ठुलो किरिया हाली ।

बुढाले भने, “उसो भए तिमीलाई कुनै कुराको खाँचो नहोस् भन्ने उपाय गरेरै जान्छु ।”

यति भनेर उनले तकियामन्तिरबाट कुनै कुरो झिकेर स्वास्नीका हातमा राखिदिए । पहिले त त्यसले सम्पत्तिको यो अर्को कुनै तपसिल-बही होला भन्ठानी, तर पछि हेर्दा त्यो त एक फुट चौडाइ, तीन फिट लमाइ भएको एउटा पौबा पो रहेछ । त्यसले सोधी, “यो क्या हो ?”

बडाहाकिम साहेबले बताए, “यो मेरो तस्बिर हो । यसमा एउटा गुप्ती कुरा छ, राम्ररी लुकाएर राख्नू, कसैलाई नदेखाउनू । शान-शु ठुलो भएपछि पनि दाजु चाहिँले त्यसलाई केही गरेन भने मैले भनेका यी कुरा सम्झिराखे-जिल्लामा कुनै बुद्धिमान् र हकी बडाहाकिम नआएसम्म त्यसै चुपचाप बसिरहनू । त्यस्तै कुनै बडाहाकिम आयो भने मेरो यो तस्बिर लगेर त्यसलाई दिनू र मेरा यी आखिरी कुरा पनि भनेर त्यसकहाँ उजुर गर्नू । तस्विर राम्ररी हेरेर त्यसले तिमी र छोराको राम्ररी नै गुज्रान हुन सक्ने बन्दोबस्त गरिदेला ।”

मेइले सावधानीसाथ त्यो पौवा एकातिर लगेर राखी । बडाहाकिम बुढा दुईचार दिन अझै बाँचे। एक रात उनले सास फेर्न छोडे, बोलाउँदा बोल्दा पनि बोलेनन् – उनी परलोक भइसकेका रहेछन् । त्यस बखत उनको उमेर चौरासी पुगिसकेको थियो ।

  सास छँदा सब थोक छ जनको, 

आँखा चिम्ल्यो – मनमै मनको । 

                                            जानै पर्ने भैकन रित्तै, 

घोटिन्छस् कि लोभी सित्तै ?

सम्पत्तिको तपसिल-बही र सारा भण्डारका साँचामुचा भेट्टाउनासाथ शान-ची धनमालको हरहिसाब गर्नतिरै लाग्यो, त्यसले बुबालाई कस्तो छ ?-भनेर एक वचन सोधिटोपल्ने फुर्सतसमेत पाएन – बुढा मरिसकेको दुःखद समाचारसमेत कान्छी आमाले नै एउटी कमारीका हातमा पठाउनुपर्‍यो । अनि बल्ल ती जोईपोइ हस्याङफस्याङ गर्दै बुढाका नाममा आँसु तुर्क्याउन आइपुगे । एक घण्टा जति पनि त्यहाँ नबसी तिनीहरू भर्खरै विधवा भएकी बिचरी मेइलाई नै लास कुर्न लगाएर गइ पनि हाले ।

तै भाग्यले लासलाई फेराउने लुगाफाटा र लास हाली गाड्ने बाकसको बन्दोबस्त मिलाइराखिएको रहेछ, चाहिने अरू सरसामान पनि तयारै रहेछन् । त्यसो हुँदा शान-चीले आएर हाइँफाइँ गर्ने पाएन । लुगाफाटा फेराई लासलाई बाकसमा राखेपछि मेइका आमाछोरा दिनरात त्यसैका नजिक बसी रुँदै त्यसलाई कुर्दथे । त्यहाँबाट उनीहरू एक डेग कतै चल्दैनथे । शान ची चाहिँ आउने जानेको सत्कारमै लागिरहन्थ्यो । त्यसको अनुहारमा दुःखको चिह्नसम्म भेटिन्नथ्यो । दस्तुरबमोजिमका सात हप्ता नपुग्दै त्यसले लासलाई चिहानमा पुर्ने दिन पनि ठिक पारिहाल्यो । त्यो काम सिद्धिएकै साँझ बुढाले केही धनमाल राख्न दिएर गएका छन् कि भनी खोज्न त्यसले कान्छी आमाका कोठामा उधिन-पाधिन मचायो । लोग्नेले दिएर गएको पौवा त्यसका हातमा पर्ला भन्ने डरले मेइले पहिलेबाटै एउटा उपाय रचिसकेकी थिई दाइजोमा आफ्ना साथै ल्याएका दुइटा बाकसमा त्यसले झुत्राझाम्रा लुगाफाटा कोची त्यो पौवा पनि त्यसैमा राखेकी थिई। शान ची र त्यसकी स्वास्नीलाई उसले ती बाकस पनि हेर्न भनी आफैँ अघि सरेर हेर्न लगाएका बाकसमा के होला र ? – भन्ठानी शान चीले तिनलाई खोतलेर हेर्न तकलिफै गरेन । सारा कोठा उधिनेर ती जोईपोइ त्यसै फर्केर गए। अनि पो बल्ल बिचरी मेइले हिक्का छोडेर रोई । मनको दुःख पोख्ने फुर्सत पाई। अबोध छोरो पनि आमाले त्यसरी रोएको देखेर सहानुभूतिमा त्यसैका साथ रुन लाग्यो ।

माटाको मूर्ति, ढलौटे सालिक 

नजिकै जे होला 

                                                      दुःखमा ‘कठै बिचरा !’ भनी 

तुरुक्कै रोइदेला ।

छोरोको बिहेका लागि कोठा ठिक पारिराख्नुपर्‍यो भन्ने निहुँ गरी शान- चीले भोलिपल्ट बिहानै कालिगडहरूलाई आमाछोरा बसेका कोठामा डाकेर ल्यायो । तिनीहरूलाई त्यसले घरका पछाडिपट्टिका आँगनमा भएका तीनवटा कोठामा सर्न लगायो । तिनीहरूले एउटा सानो खाट र केही थोत्रामोत्रा टेबल त्रिपाईहरू मात्र पाए, तिनमा गतिलो भनेको त एउटा पनि थिएन । काम गर्ने दुइटी केटीहरूमध्ये ठुलीचाहिँलाई झिकी बाह्र पनि नपुगेकी एउटी सानी ठिटी मात्र तिनका काममा छोडिई । साँझ बिहान तिनको भात शान-चीकै भान्साबाट जान्थ्यो, तिहुन तरकारीको कुरै थिएन । लाचार भएर मेइले बरु आफै पकाई खान चामलै मागी । तिहुन तरकारी र दिनहुँ नभई नहुने अरू कुराका लागि त्यसले बिहान बेलुका सिलाई बुनाइको काम गर्नुपर्‍यो । छोराले अब पढ्नका लागि एक जना छिमेकीका घरमा जानुपर्‍यो ।

शान चीले मेइलाई अर्को घरजम गर्न फकाउनका लागि स्वास्नी चाहिँलाई बारम्बार पठायो । लमी काम गरी हिँड्ने कैयौँलाई पनि त्यसले अनेक मानिसका कुरा चलाउन मेइकहाँ पठाउन बाँकी राखेन । तर, त्यसले किरिया हाले बरु प्राणै दिउँला, अर्को बिहे गरी नयाँ घरजम गर्ने कुरै सुन्दिन भनेर खरखरा जवाफ दिई । आखिर तिनीहरूले त्यसको पिछा लाग्न छोडे । ऊ ज्यादै सुशील र कुनै कुराको विरोध नगर्ने स्वभावकी हुनाले झडङ्गी मिजासको हुँदाहुँदै पनि शान- चीले ती आमाछोराको वास्तै गर्न छोड्यो ।

समय बित्न कति बेर लाग्छ ? शान-शु अब चौध वर्षको भयो । अनजानमा बालकले कतै भनिहाल्यो भने फसाद आइपर्ला भन्ने डरले गर्दा मेइले मर्ने बखतमा बडाहाकिम साहेबले भनेर गएका कुराको एउटा शब्द पनि त्यसका अगाडि चुहाएकी थिइन । तर शान-शु अब आफैँ कुरा बुझ्ने भइसकेको थियो, त्यसलाई अन्धकारमा राखिछोड्नु अब असम्भव थियो । एक दिन त्यसले आमासित एउटा रेसमी अलखा हालिदिन अनुरोध गयो । आमा चाहिँले “बाबु, कहाँ पाएर हालिदिऊँ ?” भनी ।

छोरोले ढिपी गर्दै भन्यो, “बुबा बडाहाकिम हुनुहुन्थ्यो । हामी दुई भाइ उहाँकै छोरा हौं । दाजु भने ऐश गरी बस्ने, मैले भने एउटा अलखा पनि नपाउने ? हजुरसित पैसा छैन भने म गएर दाजुसित मागी ल्याउँछु ।”

यति भनी फरक्क फर्केर हिँडिहाल्न लाग्दा आमा चाहिँले त्यसलाई पक्रेर रोकी र हडबडाएर भनी, “छोरा, जाबो अलखाका लागि किन दाँत ङिच्च्याउन जान्छौ ? ‘अघि पर्खे पछि पाइन्छ’ भन्ने बुढापाकाको भनाइ नै छ अहिले सुती लगायौ भने पछि ठुलो भएर रेसमी लाउने छौ । तर, अहिले नै रेसमी लाइहाल्यौ भने पछि सुतीसम्म पनि नपाउने हुन सक्तछ । एकदुई वर्ष पर्ख । अलि लेखपढ गरिहाल । अनि आफू बेचिएर कसैको कमारी नै बन्नुपरे पनि तिम्रा लागि एउटा अलखा हालिदिउँला । तिम्रा दाजु यस्ता चानचुने कुराको वास्ता गर्ने मान्छे नै होइनन् ।”

शान-शुले आमा चाहिँलाई ‘हवस्’ त भन्यो, तर त्यसको चित्त भने बुझेन। त्यसले विचार गयो, “बुबा धनी नै हुनुहुन्थ्यो । हामी दुई भाइका लागि प्रशस्तै हुनुपर्ने हो । म कुनै परचक्री होइन, दाजुले मलाई केही गर्नुहुन्न । आमा जेसुकै भन्नुहोस्, एक थान रेसम माग्दा दाजुले के पो भनिहाल्नुहोला र ? मलाई एउटा अलखा हाल्न आमाले आफू बेचिइहाल्नुपर्ने कुरो किन गर्नुपरेको ? दाजु मान्छे खाने बाघ हुनुहुन्न क्यारे, उहाँसित किन डराऊँ ?”

त्यसले ठुला घरमा गएर दाजु चाहिँलाई प्रणाम गयो । शान-चीले त्यसलाई देखी झस्केर सोध्यो, “केलाई आइस् ?”
शान-शुले भन्यो, “बुबा पुगीसरी हुने इज्जतदार मानिस हुनुहुन्थ्यो । मैले यस्ता झुत्राझाम्रा लाएर हिँडेको देख्ता मानिस हाँस्तछन् । दाजुसित एउटा अलखा हाल्न पुग्ने अलिकति रेसम माग्न आएको ।”

शान चीले भन्यो, “लुगा चाहिने भए गएर आफ्नै आमासित माग् । “बुबाको सम्पत्तिको हेरविचार आमाले गर्नुभएको छैन, तपाईँले पो गर्नुभएको छ ।”

सम्पत्तिका कुरा सुन्ने बित्तिकै शान ची रिसले आगो भइहाल्यो । त्यसले चिच्याएर भन्यो, “तँलाई कसले मन्त्रेर पठायो ? अलखा माग्न आएको होस् कि मेरो सम्पत्तिमा अंशको दाबी गर्न आएको ?”
शान-शुले जवाफ दियो, “एक न एक दिन सम्पत्तिमा अंश त लाउनै पर्दछ, आज त म अलि काइदासाथ हिँड्न सकूँ भनेर एउटा अलखा मात्र माग्न आएको ।”

शान-ची झन् आगो भयो । त्यसले भन्यो, “तँ जस्ता गल्लीका कुकुरले काइदासाथ हिँड्नै केलाई परेको छ ? बुबाको सम्पत्ति त मेरो हो, तेरो यहाँ के छ ? पक्का पनि कसैले तँलाई उचालेर टन्टा मच्चाउन यहाँ पठाएको हो । अब अझै रिस नउठा, नत्र आमाछोराले ओत लाग्ने एउटा छाप्रोसम्म भेट्टाउने छैनौ ।”