फ्रान्सेली उपन्यासकार र नाटककार अलेक्जान्डर डुमा २४ जुलाई १८०२ मा फ्रान्सको भिलर्स-कटरेट्स भन्ने ठाउँमा जन्मेका थिए । उनी मिलिटरी स्कुलमा शिक्षा प्राप्त गरी फ्रान्सेली सेनामा काम गर्थे । सन् १८२३ मा प्यारिस गई जीविकोपार्जनको निम्ति उनी नाटक लेख्न थाले । सन् १८२९ देखि नाट्यशालामा प्रदर्शित उनका नाटक सफल मानिए पछि सन् १८६० सम्म उनले धेरै नाटक लेखे । उनी गणतन्त्रवाद (Republicanism) प्रति उत्साहपूर्वक लागे र सन् १८४८ को फ्रान्सेली क्रान्तिलाई उनले पूर्णरूपले समर्थन गरे । उनी नेपोलियन विरुद्ध रहेकाले सन् १८५१ मा स्वेच्छापूर्वक निर्वासित भए। सन् १८६० मा उनी इटालियन स्वतन्त्रताको सङ्घर्षमा लागे । चार वर्षसम्म नेपल्स बसेपछि उनी फ्रान्स फिरे । त्यसपछि आयश्रोत केही नहुँदा उनी गहिरो ऋणमा डुबे ।

उनको प्रसिद्ध उपन्यास द थ्री मस्केटीअर्स (The Three Musketeers) १८४४ मा प्रकाशित भयो । उनको द काउण्ट अफ मोन्ते क्रिस्तो (The Count of Monte Cristo) १८४४-४५ मा अठार ठेलीमा प्रकाशित भयो र स्मृतिहरू (Memories) २२ ठेलीमा १८५२-५४ मा प्रकाशित भयो। उनका धेरै ऐतिहासिक साहसिक उपन्यास सुरुमा क्रमशः प्रकाशित भएका थिए । झण्डै २०० फिल्म उनका उपन्यासमा आधारित छन् । ड्युमाको अन्तिम उपन्यास द नाइट अफ सेन्त- हर्माइन (The Knight of Sainte Hermine) उनले पूरा गर्न सकेनन् । पछि क्लाउड सोप भन्ने लेखकले यसलाई पूरा गरे र २००५ मा यो प्रकाशित भयो। सन् २००८ मा यो The Last Cavalier नाउँबाट अङ्ग्रेजी भाषामा प्रकाशित भएको थियो । डुमाका धेरै युवतीसँग प्रेम सम्बन्ध थियो। उनका झण्डै चालिस प्रेमिका र सातवटा जति गैरकानुनी सन्तान थिए भनिन्छ ।

यी डुमाका विश्व प्रसिद्ध कृति हुन्ः

१. द थ्री मुस्केटर्स (The Three Musketeers, 1844), २ द काउण्ट अफ मोन्टे क्रिस्टो (The Count of Monte Cristo, 1844), ३. द ब्लाक तुलिप (The Black Tulip), 1850 ) ४ ट्वेण्टी इयर्स अफ्टर (Twenty Years after 1845)

डुमा स्वयं एक महान पात्र हुन्, जसको रोमाञ्चपूर्ण इतिहासले करोडौँ पाठकलाई चकित पारेको छ । डिसेम्बर ५, १८७० मा फ्रान्सको सेइन-मेरिटाइम (Seine- Maritime) मा उनको मृत्यु भयो ।