
घोडाशक्ति तरङ्गीत थिए । घोडाहरू हिन्हिनाई रहेका थिए । मानौँ, क्यानभासभित्र आवेगी देखिएका तिनका मनोभावनामा कुनै विस्फोट घटित् भइरहेको छ । वलिष्ठताले उधुम मच्चाएको छ । आक्रोस हो कि हर्ष ठम्याउन नसकिने क्यानभासे घोडामन चञ्चल उफ्रिएको छ । झट्ट हेर्दा लाग्छ, सायद सामाजिक ज्वार निलेका छन् तिनले । समाजिक कथा र व्यथा बोल्दै छन् तिनले ।
माथि उल्लेखित गरिएका यी लाइन न कथाको हो न कविताको अंश । यिनीहरू त कलाकार हरिजंग वम्जनको स्टुडियोमा थुप्रिएका घोडा विषयक क्यानभासको यथार्थता हो ।
केही दिनअधि म कलाकार वम्जनको कपनस्थित कला स्टुडियोमा गएको थिएँ, उनको सहृदयी निमन्त्रणालाई स्वीकार्दै । उनको नयाँ घोडा सिरिजका चित्रहरूले मलाई आकर्षित पारेको थियो । हरिजंगको अन्य विषय संरचनासंगसंगै घोडा परिकल्पना पनि प्रिय रहेछ । मैले देखेका ती क्यानभासे घोडाचित्रले नयाँ प्रयोग संगालेका रहेछन् ।
यसो भन्दै गर्दा वा घोडाकै कुरा गरिरहँदा, नेपालका वरिष्ठ चित्रकार शशिविक्रम शाहजस्तो उनी सधैँभरि घोडा बनाई रहने कलाकारको पंक्तिमा पर्दैनन् । यसपालिको उनको घोडा उनको परिस्थितिले बनेका रहेछन् भन्ने कुराको जानकारी उनी आफैँले मलाई सुनाए ।
उनले भने, ‘‘कलाको कलेक्टर, प्रमोटर भाव आर्ट ग्यालरीले घोडाहरू चाहियो भनेपछि यी घोडाहरू सृष्टि भएका हुन् ।’’
वास्तवमा वम्जन विषय छनोटका सन्दर्भमा स्वतन्त्रवादी कलाकार हुन् । र परिस्थितिअनुरुप चित्र कोर्नमा ज्यादै रुचि देखाउने प्रतिभा हुन् । उनी विषय भन्दा पनि विचार र प्रभावमा विश्वास र भरोसा राख्छन् । कलामा उनको आफ्नै सैद्धान्तिक सोच छ । मान्यता वा शैली छ । उनी प्रायः क्यानभासमा समाहित हुने तीन महत्त्वपूर्ण अंगलाई आफनो चित्रको जीवनको महत्त्वपूर्ण अंगको रुपमा मान्दछ । पहिलो विषय छनोट वा संरचना, दोस्रो विविध रङको प्रयोग र तेस्रो कोणीक आयाममय रेखाङ्कन ।
हुन त, सबै कलाकारको चित्रकलामा यी तीनै अंगहरू विद्यमानका नै हुन्छन् तर पनि उनको क्यानभासमा आबद्ध रहेका अंगहरू अलिक फरक ढंगका हुन्छन् । युनिक र मौलिक हुन्छन् ।
वम्जनको कृतिहरू सरसरती हेर्दा प्रभाववादसँगै कडा र गठिलो संरचनालाई आत्मासात गरेको पाइन्छ । बोल्ड रेखामा खिपिएका आयामिक आकारहरूले अभिव्यञ्जना र प्रभाववादको स्वाद दिन्छ । चित्र बोल्छ । मानौं चित्रले केही भन्न खोजिरहेको छ । पात्रको कुनै पीडा सुनाई रहेको छ । आवेग, वेदना र खुसीका उच्चाहट ओकल्नु उनको चित्र पात्रहरूको मूल चित्र विशेषता हो । तरङ्गित आकृति संरचनाको घर्म हो । अमिल्दा मोटा रेखाहरू र भद्दाजस्ता देखिने अलि अध्यारो र थोरै उज्यालो एल्लो ओकर रङले उनका चित्रको प्राण भर्ने गरेको छ र फरकखाले सुन्दरता पस्किरहेको छ । मौलिकताको खोजी गर्ने हो भने क्यानभासमा प्रयुक्त भएको उनको यो शैली र ब्रस स्ट्रोक आफैँमा लोभलाग्दो र मौलिक छन् भन्दा साँचो ठहरिन्छ होला । वम्जनको क्यानभासमा प्रायोगिक भएका लामो, मोटो, छोटो र अमिल्दोजस्तो देखिने शारीरिक अनुपातका चित्रहरूले एउटा सभ्यतालाई प्रतिनिधित्व गरेको देखिन्छ, जुन हाम्रो सिन्धु र हडप्पा सभ्यतामा पनि पाइने गरिन्थ्यो । यस अर्थमा उनका चित्रहरू हाम्रै सभ्यता वरिपरि धुमेका तारा मण्डल हुन् भन्दा हुन्छ । समग्रमा भन्नुपर्दा हरिजंग वम्जनका चित्रक्यानभासले सामाजिक जीवनको अभिव्यक्तिलाई सरल रुपमा प्रस्तुति गर्दै समाजभित्रका आवेगमय असन्तुलित तिक्ततालाई उद्घाटित गरेको हुन्छ । उनका ज्यामितीय मोटा रेखाहरूले प्राचीन भित्ते चित्रहरूको स्वाद पस्किएको हुन्छ ।
चियाको चुस्कीमा उनका कलाहरू सरसरर्ती हेर्नेक्रममा मैले देखेँ, उनको कलामा विश्व प्रसिद्ध कलाकारको छाप र प्रभाव प्रशस्तै छ । पिकासो, डाली, एडभटजस्ता विश्व प्रशिद्ध कलाकारको चित्र छाप उनका चित्रमा भेटिनुले उनी र उनको कलाको स्थुलता विश्वकलामञ्चसम्म फैलिएको भन्ने अर्थमा बुझ्न सकिन्छ ।
वम्जनको चित्रमा नारी, पुरुष, प्रकृति, यौनजस्ता शासत्व तत्त्वहरु विधमान रहेका हुन्छन् । पुरुष र नारी बीचको शारीरिक तथा मानसिक अन्तरसम्बन्ध, दुईको मनोविज्ञान र सहकार्यलाई मैले चित्रमा बुझेँ । समाजमा जडीयरुपमा घुलित देखिएका अनुभूति र भाव रसहरूलाई क्यानभासले प्रश्रय दिनु र महिलाहरूमा देखिने वेदना, भय, करुणा, धृणा, प्रेम र स्नेहको रुप कलामा पाइनुले वमजनमा सीपभन्दा पनि अभिव्यक्ति र विचारको भण्डार प्रचुर रहेको आंकलन गर्न सकिन्छ । भावना र संवेदनाबाट कलाको जडसौन्दर्यको आभाष यिनको कलाले दिन्छ ।
सन् १९७२ मा जन्मेका वम्जन कलामा क्रिएटिभ आर्ट एकेडेमी, कलकत्ताबाट सन् १९९८मा डिप्लोमा अध्ययन सकेर फर्किएका प्रतिभा हुन् । उनका कलाहरू धेरै चोटी स्वदेश र विदेशमा प्रदर्शनी भइसकेका छन् । नेपाल, भारत, कोरिया, बाङ्गलादेश लगायत अन्य मुलुकमा उनका कलाको दर्जनौँ समुहगत प्रदर्शनीहरू भइसकेको कुराकुराको जानकारी उनको कला बायोग्राफीबाट मिल्छ । यसका साथै कलाका विविध संघसंस्थाहरूमा पनि उनको सक्रिय उत्तिनै बाक्लो देखिने गरिन्छ ।
मनका ज्यादै सफा, सोझो व्यक्तित्व भए पनि काममा ज्यादै विद्रोही र क्रान्तिकारी वम्जनको जीवनमा धेरै उतारचढाव आएको रहेछ । एकसमयमा नेपालमै बसेर कलामा जीवन गुजारा हुन नसक्ने अनुभव बटुलेपछि विदेश पलायन हुने मनस्थिति पनि उनमा नउम्रेको होइन रहेछ । विदेश जाने मुढ्को सिलसिलामा अगाडि बढ्दै जाँदा पैसा अरुले नै खाइदिएको दुखद् घट्नाका कथा पनि उनमा जोडिएको रहेछ । उनले दुःख गरेर काठमाडौमा आर्जेको जग्गा पनि अर्कैले मासिदिएका रहेछन् । यद्यपि भौतिक धन खाइदिए पनि सीप र प्रतिभा अर्काले खाने सक्ने कुरै भएन । क्षमता मासिने र नासिने वस्तु होइन । अहिले आफूमा भएको प्रतिभाले उनलाई समाजले चिनिरहेको छ । उनको कला आयको भरपर्दो स्रोत बनिरहेको छ । नेपालमा अहिले कलाको बजार बन्दै गएको र चित्रको बिक्री पनि राम्रै चलेकाले उनी ढुक्क छन् । एउटा कलाकारको सिर्जनाको माग बढ्नु भनेको कलाले बजार पाउनुको मापडण्ड हो । कलाकृति वा सिर्जनाको बिक्री हुनु वा समाजले खोजी गर्न थाल्नु भनेको एउटा कलाकार सफल हुनुको प्रतिविम्व हो । यसमानेमा हरिजंग वम्जन अहिले सफल नेपाली कलाकार रुपमा दरिएका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

