‘मेरो कुरा सुन,’ शैतानले मेरो शिरमा हात राख्दै भन्यो, ‘म जुन ठाउँको कुरा गरिरहेको छु, त्यो लिबियाको निर्जन क्षेत्र हो, जेअर नदीको तट छेउछाउतिरको । त्यो ठाउँमा न त शान्ति नै छ न त मौनता । नदीको पानी मटमैलो छ । त्यो पानी सागरतर्फ बहँदैन बरू सूर्यको रातो आँखाको तल एकै ठाउँमा उम्लिरहन्छ । नदीको कोमल तटहरूमा दूरसम्म पहेँलो कमलका मरूभूमि फैलिएको छ- यी कमल दैत्याकारका छन् । ती त्यस एकाकीपनमा एकअर्कासँग झुलेर निःस्वास फ्याँक्ने गर्छन् र आफ्नो लामो र भूतहरूको झैँ गर्धन आकाशतर्फ फैलाइरहेका हुन्छन् अनि शिर हल्लाइरहेका हुन्छन् । तिनको हल्लाईले एक मद्धिमझैँ ध्वनि बरोबर आइरहेको हुन्छ ।’
‘तर तिनको राज्यको पनि सीमा छ, अँधेरो, भयवाह, अग्लाअग्ला जंगलका सीमा । त्यहाँ साना बिरूवा सधैँ हल्लिरहेका हुन्छन् । तर पूरा स्वर्गमा हावा चल्दैन । अनि, अग्ला आदिम रूख तीखा आवाजहरू निकाल्दै यताउता झुमिरहेका हुन्छन् र तिनको ठूलो-अग्लो हाँगाबााट चिरन्तन चिसो कणको थोपाथोपा तप्किरहन्छन् । जराका छेउमा अनौठो विषाक्त फूल कष्टमय निद्रामा चित्कार्छन् । अनि, माथि खैरो बादल, तीखो स्वरका साथ सधैँ पश्चिमतर्फ भागिरहन्छन् । तर पनि पूरा स्वर्गमा हावा चल्दैन ।’
‘रात र वर्षा । परिरहेको बेला पानी थियो, झरिसकेकोपछि रगत । अनि म ठूलो कमलका बीचमा उभिएको थिएँ र झरी मेरो शिरमा परिरहेको थियो । र, निर्जनतामा कमलले पीडायुक्त आवाज निकालिरहेको थियो ।’
‘अनि अचानक ओसिलो कुहिरोबाट चन्द्रमा निस्कियो- रातो रातो चन्द्रमा । मेरो आँखा झट्ट नदीको किनारामा रहेको एउटा खैरो, ठूलो चट्टानमा पर्यो । त्यसको अगाडिको भागमा केही अक्षर कुँदिएको थियो । म कमलहरूको बीचमा हिँड्न थालेँ र किनारा नजिक आएँ । तर मैले अक्षर भने पढ्न सकिनँ । म पुनः फर्किदै गर्दा चन्द्रमा पूरा लालिमाका साथ चम्कियो । मैले चट्टानमा लेखिएको देखेँ र पढ्न सकेँ । लेखिएको थियोः निर्जनता ।’
‘त्यसपछि मैले माथितिर हेरेँ । चट्टानको शिखरमा एउटा मानिस उभिएको थियो । त्यसले के चैँ गर्दोरहेछ भनेर मैले आफूलाई कमलको झाडीका बीचमा लुकेँ । त्यो मानिस निकै अग्लो कदकाठीको थियो र काँधदेखि पाउसम्म रोमन पहिरनमा थियो । उसका अंगका रेखा अस्पष्ट थिए तर उसको अनुहार कुनै दैवी पुरूषको झैँ थियो । उसको निधार चौडा थियो, उसको आँखामा चिन्ता देखिन्थ्यो । उसका खुम्चिएका गालाका अनेकन् रेखाले नै मलाई अनेक गाथाहरू सुनाए कि वास्तवमा ऊ बेचैन र एकान्त चाहिरहेको थियो ।
‘त्यसपछि उसले आकाशबाट आफ्नो नजर हटायो र मरूभूमिको नदी जेअर र त्यसको पहेँलो पानीलाई हेर्यो । फेरि उसले ओइलाएको कमलका विस्तारमा आँखा डुलायो । त्यसपछि कमलहरूको रोदनतर्फ कान लग्यो । लुकी-लुकी मैले ती सबै हेरिरहेको थिएँ ।
‘त्यसपछि म कमलहरूको बीच, तल लुकेर नदेखिने गरी हिँड्न थालेँ र कमलहरूको त्यस जंगलमा अघि बढ्दै गएँ । मैले त्यहाँ बस्ने हिप्पो पोटामसहरूलाई बोलाएँ । तिनले मेरो आवाज सुने र आए । चन्द्रकोको तल तीखो आवाजमा ती गर्जिन थाले… त्यो दैवी पुरूष अझै चट्टानमा बसिरहेको थियो… एकान्तमा काँप्दै ।’
‘त्यसपछि मैले पञ्चतत्त्वलाई आँधि आओस् भनी श्राप दिएँ । जहाँ पहिले हावा पनि चल्दैन थियो, अब आँधिका लागि हावा एकत्रित हुन थाल्यो । आकाश आँधिका हावाले हहर्राउन थाल्यो । त्यस पुरूषको शिरमा वर्षाका बुँदहरू झर्न थाल्यो । अनि, नदीमा बाढी आउन थाल्यो । नदीमा फिँज बन्न थाल्यो । अनि, कमल ठूल्ठूलो स्वरमा चिच्याउन थाले । हावाको तीव्र गतिका अगाडि जंगल धराशायी हुन थाले । आँधि बढ्दै जान थाल्यो । चट्याङ पर्न र बिजुली चम्कन थाल्यो । चट्टानको फेदसमेत हल्लिन थाल्यो । म लुकीलुकी त्यस पुरूषलाई हेरिरहेँ । ऊ एकान्तमा अझै पनि काँपिरहेको थियो । रात पर्न थाल्यो, गहिरिन थाल्यो । ऊ चट्टानबाट टसको मस भएन, बसिरह्यो ।’
‘त्यसपछि मलाई निकै रिस उठ्यो र मैले फेरि श्राप दिएँ- नदीलाई, कमललाई, हावालाई, जंगललाई, आकाश, आँधि र कमलको चिच्याहट सबैसबैलाई । मौनताको श्राप दिएँ मैले । ती अभिशप्त भए र मौन रहे । चन्द्रमाले आकाशमाथि चढ्न छाड्यो, आँधि मर्यो, बिजुली थामियो, बादल अड्किरहे । पानी जमिनमुनि सोसिन थाल्यो र बाँकी पनि त्यहीँ रोकियो । रूखहरू हल्लिन छाडे, कमलको चिच्याहट रोकियो, तिनको आवाज पनि मर्यो । अनि, त्यस अनन्त मरूस्थलमा कुनै छायाँको कुनै आवाज बाँकी रहेन । मैले चट्टानमा कुँदिएका अक्षरलाई देखेँ । ती अक्षर परिवर्तन भएका थिए । अब ती बद्लिएका अक्षर थिए- मौनता ।
‘त्यसपछि मेरो नजर पुरूषको अनुहारमा पुग्यो । उसको अनुहारमा भयको छाया थियो । चाँडै नै उसले आफ्नो हातबाट शिर उठायो र चट्टानमा उभियो र सुन्न थाल्यो । तर पूरा अनन्त विस्तारमा कुनै स्वर थिएन । चट्टानमा कुँदिएका अक्षर अर्कै थियो- मौनता । पुरूष डरले काँप्न थाल्यो । उसले टाउको घुमायो र तीव्रतापूर्वक त्यहाँबाट भाग्यो । त्यसपछि मैले त्यहाँ उसलाई देखेको छैन ।’
चिहानको छेउमा बसेर शैतानले त्यस दिन जुन कथा मलाई सुनाएको थियो, त्यसलाई म सबैभन्दा आश्चर्यजनक कथा नै ठान्छु । कथाको अन्त्य हुँनेबित्तिकै शैतान चिहानभित्र गएर सुत्यो र हाँस्न थाल्यो तर म शैतानका साथमा हाँस्न भने सकिनँ । म हाँस्न नसकेकै कारण उसले मलाई श्राप दियो ।
(सन् १८३८ मा प्रकाशित एडगर एलन पोको ‘साइलेन्स- अ फेबल’ को अच्युत कोइरालाको भावानुवाद ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।