१. नेपाली साहित्यमा सबैभन्दा धेरै कथा लेख्ने को हो ?

रोशन थापा ‘नीरव’

रोशन थापा ‘नीरव’

एकपटक सोच्नुहोस् त, नेपाली साहित्यमा सबैभन्दा धेरै कथा लेख्ने कथाकार को होलान् ? गोपालप्रसाद रिमाल, विश्वश्वेरप्रसाद कोइराला, भीमनिधि तिवारी, ध्रुवचन्द्र गौतम वा मनु ब्राजाकी ? पारिजात, माया ठकुरी वा नीलम कार्की निहारिका ? अथवा अरु नै कोही ?

सोच्नुहोस् ! हो, दिमागलाई बल दिएर एकछिन् सोच्नुहोस् । मलाई पनि थोरै सोच्ने समय चाहिएको छ के !

ए, अँ ! कुरो भीमनिधि तिवारीबाट सुरु गरौँ । कृतिको कुरा गर्दा काव्य, कथा, नाटक, उपन्यास र निबन्ध गरी ४५ वटा कृतिहरु प्रकाशित छन् । तर हामी कथाको कुरा गर्दै छौँ । कथाको कुरा गर्दा उनका १० थान सङ्ग्रह प्रकाशित छन् – नेपाली समाजिक कहानी ‘जेठोदेखि मन्तरेसम्म’ । प्रत्येक कथासङ्ग्रहमा १६ थान कथाहरु सङ्ग्रहित छन् जुन सङ्ख्याको हिसाबमा जम्मा १६० हुन आउँछ । सङ्ग्रहमा नअटाएका, फुटकररुपमा प्रकाशित तथा अप्रकाशित पनि खोज्नतिर लाग्ने हो भने यो सङ्ख्या अझ बढ्ने पक्का छ ।

अब कुरा गरौँ सर्वप्रिय आख्यानकार, आख्यान–पुरुष ध्रुवचन्द्र गौतमको । कथा, उपन्यास, नियात्रा तथा अनुवादसमेत गर्दा गौतमको कृति सङ्ख्या (४२) तिवारीको भन्दा धेरै टाढा छैन । कथाकै कुरा गर्दा पनि उनका ८ मैलिक कथाकृतिहरु प्रकाशित छन् । पछिल्लो समय प्रकाशनमा आएको गौतमको ‘समग्र’ कथामा १४४ कथाहरु सङ्ग्रहित छन् । आफ्ना सम्पूर्ण कथाहरुलाई एउटै सङ्ग्रहमा, कथाको सबैभन्दा मोटो किताबका रुपमा प्रकाशनमा ल्याउने चाहिँ गौतम नै हुन् । यसरी हेर्दा, गौतमका कथाको सङ्ख्या तिवारीको भन्दा धेरै टाढा छैन ।

भीमनिधि तिवारी

सबैभन्दा धेरै कथा लेख्ने दौडमा रहेका अर्का लेखक हुन् गोविन्द गिरी ‘प्रेरणा’ । उनका करिब १४० थान कथाहरु प्रकाशित भइसकेका छन् ।

यसरी हेर्दा, अहिलेसम्म प्रकाशित कथाहरुलाई आधार मान्दा तिवारीलाई सबैभन्दा धेरै कथा लेख्ने कथाकारको रुपमा लिइने गरिन्छ । तर वर्तमानमा समय बदलिएको छ । भीमनिधि तिवारीको कथा–सङ्ख्यालाई उछिन्न आइपुगेका छन् कथाकार – रोशन थापा ‘नीरव’ ।

हालसम्म आधिकारिक रुपमा बढी कथा लेख्ने कथाकारका रुपमा तिवारीकै नाम लिने अगाडि आउने भए तापनि थोरै जागर देखाएर खोज्ने हो भने नीरव धेरै अगाडि पुगिसकेका छन् । फरक के छ भने, तिवारीका कथाहरु समष्टि रुपमा सङ्ग्रहमा रहेका छन् भने नीरवका कथाहरु धेरैतिर छरिएर रहेका छन् ।

ल, अरु सबै कुराहरु ठिक छ कि, तर नीरवले चाहिँ कति कथा लेखेका छन् त ! पख्नुस्, म भन्दै छु ।

नीरवको एउटै कथासङ्ग्रह ‘कोष्ठकभित्रको हाँसो’मा ३५ थान कथाहरु सङ्ग्रहित छन् । त्यस्तै, कथासङ्ग्रह ‘अन्त्यहीन युद्ध’मा १०, ‘तेस्रो विश्वयुद्ध’मा १५ र ‘असह्य’मा ३० वटा छन् । समग्रमा, चार कथासङ्ग्रहमा उनका ९० थान कथाहरु सङ्ग्रहित छन् । तर यतिमै कुरा सकिँदैन ।

एक पात्रलाई लिएर फरक विषय र परिवेशमा नीरवले ५० वटा कथा लेखेका छन् । पुस्तकमा सङ्ग्रहित ९० मा ५० थप्ला नीरवका प्रकाशित कथाहरुको सङ्ख्या १४० पुग्छ । तर कुरा यतिमा पनि रोकिँदैन । यहाँ आइपुग्दा बुझ्नु पर्ने कुरा के छ भने, फुटकररुपमा सबैभन्दा कथाहरु प्रकाशित भएका लेखकमध्ये एक नीरव हुन् । सङ्ग्रहमा नअटाएका विभिन्न पत्रपत्रिकामा प्रकाशित उनका कथाहरुको सङ्ख्या पनि १ सयभन्दा कम छैन । यसरी हेर्दा, फुटकररुपमा प्रकाशित सबै कथाहरुको खोजी तथा सङ्कलन गर्ने हो भने नीरवको कथा–सङ्ख्या २ सय ५० कै हाराहारीमा पुग्छ ।

अत: निष्कर्षमा के भन्न सकिन्छ भने, अब ‘सबैभन्दा धेरै कथा लेख्ने कथाकार’का रुपमा रोशन थापा ‘नीरव’लाई सम्झनुपर्ने हुन्छ ।

===

२. लेख्नु पनि थेरापी हो !

कट्रिन जेकोब्सडट्रिर

कट्रिन जेकोब्सडट्रिर

‘उपन्यासकार प्रधानमन्त्री’ भन्दा वा सुन्दा कसलाई सम्झनु हुन्छ तपाईँ कसलाई सम्झनु हुन्छ ? – विश्वेश्वरप्रसाद कोइराला ! पक्कै पनि । तर कुरोको चुरो अलि अर्कै छ ।

कुरो के भने, साहित्य भनेपछि हुरुक्क हुनेहरु धेरै छन् । साहित्य तथा कलाको भोक विश्वमा मुकुल चलाउनेहरुमा पनि कम छैन । नेपालका पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद हुन् या बेलायतका बोरिस जोन्सन – उनीहरुको परिचय राजनीतिक रुपमा अति अग्लो छ, साहित्यिक रुपमा पनि कमको छैन ।

अँ, कुरो उपन्यासकार प्रधानमन्त्रीको । ए, होइन होइन । कुरो हो प्रधानमन्त्री रहँदै उपन्याससमेत लेख्न भ्याउने उपन्यासकारको । हो, कुरो हो – पदमै रहँदा उपन्यास लेख्ने आइसल्याण्डकी महिला प्रधानमन्त्री कट्रिन जेकोब्सडट्रिरको ।

उसो त, आख्यान लेख्नमा आइसल्याण्डवासीलाई कस्तो पो सक्छ र ! पदमै रहँदा पनि पुस्तक लेख्ने पहिलो प्रधानमन्त्री भने कट्रिन होइनन् । उनी अघि नै प्रधानमन्त्री पदमै रहँदा डेभिड ओडसनले दुईवटा छोटाकथाहरुको सङ्ग्रह प्रकाशनमा ल्याएका थिए । तर कुरो के चाहिँ हो भने, जम्मा चार लाखमात्र जनसङ्ख्या भएको आइसल्याण्डमा प्रधानमन्त्री कार्यालयमा रहँदै उपन्यास लेख्ने पहिलो महिला बन्न पुगेकी छन् कट्रिन । उनको ‘नीच जङ्गल’ शीर्षकको थ्रिलर उपन्यास केही समयअघि मात्र बजारमा आएको छ ।

सन् २०१७ मा आइसल्याण्डको प्रधानमन्त्री बनेकी कट्रिनलाई उपन्यास लेख्ने अक्कल कोभिडको बन्दाबन्दीको बेला सुझोको थियो । देशको प्रधानमन्त्री, ११ देखि १७ वर्ष उमेर समूहका तीन सन्तानकी आमा उनले कोभिडकालमै उपन्यास लेखेकी हुन् ।

आइसल्याण्डमा कोभिडको समयमा पनि स्कुल तथा कलेजहरु खुल्लै थिए । संसारभर लासहरु व्यवस्थान गर्नसमेत सकस भइरहेको समयमा पनि उपन्यासकार प्रधानमन्त्रीको देशमा जम्मा ३३ जनाले मात्र ज्यान गुमाएका थिए । सर्वसाधरणको मृत्यु हुन थालेपछि कट्रिनले आफ्ना सम्पूर्ण सार्वजनिक कार्यक्रमहरु रद्द गरिन् । सम्पूर्ण सार्वजनिक कार्यक्रम रोकिएपछि उनी यति फुर्सदिली भइन् कि त्यति त प्रधानमन्त्री हुनुपूर्व पनि कहिल्यै थिइनन् । त्यस समय विश्वलाई आक्रान्त पारिरहेको काभिडले उनलाई पनि मानसिक रुपमा विक्षिप्त बनाए । उनलाई बहुलाउँछु झैँ लाग्यो । र, त्यसै समयमा उनलाई साथी र्‍याग्नर जोनासनले उपन्यास लेख्न सुझाए, जो आफैँ बेस्ट सेलर लेखक हुन् ।

अनि ? अनि त के थियो – कट्रिन आइसल्याण्डकै पदमै रहँदा उपन्यास लेख्ने पहिलो महिला प्रधानमन्त्री भइन् । उपन्यास प्रकाशनपश्चात् उनले भनेकी छिन् – लेख्नु पनि थेरापी हो भन्ने मैले यही उपन्यास लेख्दा थाहा पाएँ ।

===

३. … अनि क्षेत्रप्रताप अधिकारीले लेखे – माझी दाइले जुनीभरि डुङ्गा तारिरहे …

क्षेत्रप्रताप अधिकारी

कुरो हाम्रा गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारीको हो । ‘कि ठेस लागेपछि गीत आउँछ कि बेस लागेपछि’ यो उनै अधिकारीको गीतिसूत्र हो । र कुरा पनि गीतको नै हो । जुन गीत उनलाई एक माझीले लेखाएको थिए । तर कसरी ?

अधिकारीले लाठे भइसकेपछि गाउँ छोडेको थिए, १४–१५ वर्षको उमेरमा । त्यसबेला जवान भइसकेपछि गाउँ छोड्नुको एउटै उदेश्य हुन्थ्यो – इण्डियन लाहुरे । तर उनले लाहुरे हुन गाउँ छोडेका थिएनन् । काठमाडौँ आएपछि साझा बसको कनडक्टर भएको कुरा त तपाईँलाई थाहा छँदै छ । तर नबिर्सिनुस् । कुरा गीतको हो । गीत लेख्नुको कारणको हो ।

अँ, १० मोहर जति पैसा र तीन–चार दिनलाई पुग्ने रोटी बोकी अधिकारी मेलुङ– ४, बयापानी भन्ज्याङबाट राजधानीतिर हानिए । उनलाई काठमाडौँ आइपुग्न चार दिनको पैदल तय गर्नु थियो । आउनेक्रमको, गोर्खा नजिकको एक खोला तर्न माझीको सहायता अनिवार्य थियो । माझीको सहायता पाउने केही मोहर खर्च गर्नु पथ्र्यो । तर त्यो मोहर अधिकारीका लागि धेरै ठुलो रकम थियो ।

अनि ? अनि के त !

अनि, अधिकारीले आफ्नो यात्राको बेलीबिस्तार माझी केटोसामु लगाए । सबै कुरा सुनिसकेपछि माझीले बिना पैसा उनलाई खोला तारिदियो । अधिकारी काठमाडौँ आइपुगे ।

काठमाडौँ आइपुगेपछि अधिकारीको यात्रा रोकिएन, अघि बढेको बढ्यै रह्यो । कतिसम्म भने, उनी सहायक मन्त्रीसम्म बने । राजनीतिमा सक्रिय रहेका बेलामा उनी अक्सर गाउँमै रहन्थे । मन्त्री बनेपछि गाउँ र सहरको आउ–जाउ अझ बाक्लो बन्यो । त्यसैक्रममा, त्यही खोलामा पुगेपछि उनलाई काठमाडौँ पहिलोपटक आउँदा आफूलाई बिना पैसा खोला तारिदिने माझी केटोको सम्झना भयो । उनले एक बुढो माझीका अघि सबै कुराको बेलीबिस्तार लगाएर माझी केटोको बारेमा सोधिखोजी गरे । र, पत्तो लाग्यो – उनी जुन बुडो माझीसँग बाता मारिरहेका थिए, उनै थिए त्यो केटो माझी ।

त्यसपछि अधिकारीले गीत लेखे – माझी दाइले जुनीभरि डुङ्गा तारिरहे … आफूचाहिँ वारि रहे… । अब यो गीतका बारेमा त तपाईँलाई स्तम्भकारले थप भन्नै परोइन ।