अहिले नेपाली साहित्यमा पछिल्लो समय थला परेको विधा खोज्दै जाने हो भने धेरैको जवाफ आउँछ– व्यंग्य लेखन । कुनैबेला अखबार, मञ्च, महोत्सव तथा साहित्य सबैतिर सर्वाधिक छाएको यो विधा पछिल्लो समय केही मुर्झाएको देखिन्छ । व्यंग्यमा कलम चलाउनेहरूको संख्या घट्दा तथा स्तरिय व्यंग्य लेखकको अभाव हुँदा यस समृद्ध विधा कमजोर बन्न पुगेको जानकारहरूले बताएका छन् । डिजिटल माध्यम, प्रहसन वा कमेडीको रुपमा व्यंग्य बढे पनि सृजनात्मक लेखनमा यो विधामा धेरै कम लेखक सक्रिय देखिन्छन् ।

व्यंग्य विधाका सशक्त हस्ताक्षर रामकुमार पाँडे, लक्ष्मण गाम्नागे, चट्याङ मास्टर, विमल निभा आदिको भनाइलाई एकमुष्ट रुपमा बुझ्ने हो भने ‘कुनै बेलाको झरिलो व्यंग्य लेखन अहिले कुनै रापताप छैन ।’

यद्यपि केही लेखकहरूको निरन्तरको लेखन तथा साधनाले यो विधा अगाडि बढिरहेको छ । तिनैमध्ये पछिल्ला वर्षहरूमा व्यंग्य लेखनमा रुचाइएका लेखक हुन्, उमेश रेग्मी । उनले व्यंग्यलाई कोरा राजनीतिसँग मात्र नजोडी परिवार, समाज र मानवीय सम्बन्धमाथि निबन्ध लेख्ने गर्छन् । रेग्मीका व्यंग्यमा सरल भाषा र सबैले बुझ्ने दृष्टान्तहरू दिएको पाइन्छ ।

उमेश रेग्मी

यसको अर्थ उमेश रेग्मीमात्र व्यंग्य लेखनको केन्द्र हुन् भन्ने तात्पर्य कदापि होइन । यो विधामा लेख्नेको संख्या र स्तरिय लेखनको कमी भएको बेला रेग्मीले निरन्तर उत्कृष्ट व्यंग्य लेखिरहन प्रयत्न गरेको देखिएकालाई उनलाई एउटा अग्ररेखाको प्रतिनिधि मान्न सकिन्छ । प्राय: नेपालका मूलधारका अनलाइनहरूमा रेग्मीका व्यंग्यलेख साप्ताहिकजसो प्रकाशित भइरहेका हुन्छन् । ती लेख सान्दर्भीक एवं घतलाग्दो छन् ।

यहाँ रेग्मीका दर्जनौं व्यंग्य लेखमध्ये साहित्यपोस्टमा प्रकाशित तीनवटा लेखलाई लिएर उनको समग्र लेखनको चिरफार गरिएको छ ।

१. सुकेको मेरो भुँडी : मूलत: अठार पुराण लेखिसके पनि एउटा पुराण लेख्न छुटेको भनेर भैरव अर्यालले पाँच दशकअगाडि नै आफ्नो कालजयी निबन्ध ‘जय भुँडी’मा भनेका छन् । अझै यसभन्दा परको दृश्य खोतल्दै उमेश रेग्मीले यो निबन्धमा ‘सुकेको भुँडी र फुकेको भुँडी’को अर्को आधुनिक पुराण लेख्नुपर्ने बताएका छन् । मानिसको लालच स्वभावलाई जति पेट भरे पनि नपुग्ने दृष्टान्त दिँदै उनले अनुचित तरिकाले भुँडी भर्नेहरूमाथि तीव्र व्यंग्य गरेका छन् । यद्यपि आफ्नो श्रम, सीप र इमानले भुँडी भर्नेहरू नै यो संसारका सर्वाधिक सुन्दर मानिस हुन् भन्ने कुरा यस व्यंग्यको अन्तर्यमा पाइन्छ ।

के कुरा कसरी खाने भन्ने सन्दर्भमा उनी लेख्छन्– ‘खाने कला कस्तो हुनु पर्छ ? कसरी खाने त ?’ एकदिन मेरो यस्तो प्रश्नको उत्तरमा साथीले भने, ‘अवस्था र समयअनुसार, सम्झाएर खानुपर्छ, अथ्र्याएर खानुपर्छ, लुकाएर खानुपर्छ, कहिलेकहीँ तर्साएर खानुपर्छ अनि झुक्याएर पनि खानुपर्छ !’

२. म्यारिज : लेखकले यस व्यंग्य निबन्धमा आफू तास खेल्न नजान्ने भएपनि म्यारिज खेलबारे धेरै कुरा थाहा पाएको बताएका छन् । विगतमा पप्लु भनिने यस खेलको नाम अचेल म्यारिज भएको छ । यस खेलमा दाउ हात पार्न तास खेलाडले केकसरी बुद्धि लगाउँछन्, दाउ हेर्छन् भन्ने कुरालाई राजनीति गर्नेले आफ्नो स्वार्थ पुरा गर्न कसरी दाउ हेर्न अघि बढ्छन् भन्ने बताइएको छ ।

निबन्धमा रेग्मी लेख्छन्– ‘यस खेलमा माहिर बुद्धिजीवीहरू सिक्वेन्स र मालहरूको तालमेल भएको खण्डमा समाजवाद भित्रिने र देशले काँचुली फेर्ने कुरा गर्छन् । अझ थप्छन् उनीहरू, म्यारिजले दल, वर्ग, रङ, जात केही भन्दैन ।’ यसरी लेखकले म्यारिज खेलको सेरोफेरोमा नेपाली समाजको द्वैत चरित्रमाथि प्रहार गरेका छन् ।

३. गोरु पुराण : लेखकले उनी सानो छँदा उनका पिताले हकारेर ‘ए गोरु !’ भन्ने गरेको सन्दर्भलाई समाएर यस व्यंग्यमा गोरुको वृत्तान्त कहेका छन् । आजको यान्त्रिक दुनियाँमा आफ्ना इच्छा र परिवारको अनुचित इच्छा पुरा गर्न मानिस गोरु बन्नुपरेको कुरा उनले बताएका छन् । फेरि गोरु भनेको शान्त हुने तर साँढे वा बहर उग्र हुने कुरा उठाएर छलकपट नगरी निरन्तर आफ्नो बाटो हिँडिरहने एकोहोरो स्वभावका मानिसलाई ‘असल गोरु’को अर्थ दिएका छन् । यसैगरी, गोरुकै जिन्दगी भएपनि कहाँ सप्रने र कहाँ घस्रने जान्यो भने जोतेर वा जोतिएरै मालामाल हुने समय आएको कुरा उनले बताएका छन् । यसरी जोतिन नजान्ने गोरुले सधैं दु:ख पाउँछ । जिन्दगीलाई गोरु र कर्मलाई खेत जोताइसँग तुलना गर्दै उनले आम मानिसको नियतिमाथि व्यंग्य गरेका छन् ।

त्रिकोणात्मक आयाममा तीन निबन्ध : माथिका तीन निबन्धलाई सूक्ष्म रुपमा केलाउँदा उमेश रेग्मीको समग्र व्यंग्य लेखनको प्रवृत्ति बुझ्न सकिन्छ । कुनै ठूलो ठानिएको वा सबैको आँखा गएको विषयभन्दा पर लुकेको वा लुकाइन खोजेको विषयमा उनको दृष्टी परेको देखन्छ । विषय सानो भएपनि त्यसले मानिसको जीवन, समाज र संसारलाई पारेको प्रभावमाथि उनी चिन्तित देखिन्छन् । तर त्यो चिन्तालाई समेत रमाइलो, घतलाग्दो, झरिलो शैलीले व्याख्या गर्छन् । अनि कतैकतै आफूलाई समेत व्यंग्य–वाण प्रहार गर्न उनी चुक्दैनन् । आफ्नो मुख्र्याइँ, लोभ, अहंकार एवं अज्ञानलाई यसरी देखाउन सक्नु उनको लेखनको बलियो पक्ष मान्न सकिन्छ । कतैकतै नेपाली समाजको पछिल्लो आयाम र परिवर्तन बुझ्न नसक्दा भने उनको उदाहरणहरू लेखनमा उपयुक्त देखिँदैन । कतिपय उदाहरण उनीभन्दा अगाडिका लेखकहरूले प्रयोग गरिसकेकाले पहिलोपटक सुने वा पढेजस्तो तीक्ष्णता पाइँदैन । तर विश्वका अरु देश वा समाजसँग जोडेर हेर्दा त्यो कुरा सान्दर्भीक नै देखिन्छ ।

निष्कर्ष : उमेश रेग्मीका माथिका तीन व्यंग्य निबन्ध हेर्दा तीनवटै एक–अर्कासँग अन्तरसम्बन्धीत पाइन्छन् । नकारात्मक पक्षलाई अँगालेर सफल वा सुखी भएको कल्पना गर्नुभन्दा तीतो सत्यलाई स्वीकारेर बाँच्न यी निबन्धले सुझाएका छन् । आफ्नो भुँडी भर्ने, तासमा जस्तै जता पनि दाउ छोप्ने अनि गोरु जस्तै घोटिँदा पनि श्रमको मूल्य नपाएको कुरा यी तीनवटा निबन्धको मुख्य विषय हो । समग्रमा भन्दा, श्रमभन्दा बढी मूल्य खोज्ने, मिहिनेतभन्दा ज्यादा फल खोज्ने र अरुलाई तल पारेर आफू माथि उठ्ने तर देखिँदा सत्य–युधिष्ठिर वा बुद्धजस्तो देखिनुपर्ने आजको मानिसको (–द्वैत) चरित्र र चेतनामाथि उमेश रेग्मीको व्यंग्य निबन्धले दरिलो झापड दिएको पाइन्छ ।