ग्याब्रिएल गार्सिया मार्खेज

सोमबारको तातो बिहानी वर्षा बिना नै शुरू भयो । सखारै निद्राबाट जाग्ने बानीको आदी ओरेलियो एस्कोबार पनि ६ बजे नै उठेर आफ्नो अफिस खोल्यो र कोठाभित्र छिर्‍यो । औपचारिक शिक्षा नलिएको भए पनि दाँत निकाल्नु उसको पेशा थियो ।

उसले सिसाको दराजबाट प्लास्टिकको नक्कली दाँतको ढाँचा निकाल्यो र मुठ्ठीभर केही औजारहरूसँगै मेचमा राख्यो । ओरेलियो एस्कोबारले बिना कलरको कमिज पहिरिएको थियो, जसको गला सुनको टाँकले बन्द गरिएको थियो । अनि उसको पेन्ट लामो रबरको पेटीले नियन्त्रित गरिएको थियो ।

शारीरिक रूपमा ऊ दुब्लो-पातलो मानिस थियो, जो अक्सर सिधा उभिएको हुन्थ्यो र लाटो-बहिरोका अनुहारमा जस्तो हुने गर्छ उसको अनुहारमा सधैँ यस्तो भाव हुन्थ्यो । हुन त ती भावहरूको वास्तविक अवस्थासँग कुनै तालमेल थिएन ।

ती औजारहरूलाई मेचमा मज्जाले सजाएर, ऊ दाँत सफा गर्ने मेसिनलाई आफूतिर तान्दै कुर्सीमा बस्यो र नक्कली दाँतलाई चम्काउन थाल्यो । त्यो बेला उसको दिमाग खाली थियो र पूरै ध्यानपूर्वक मेसिनको पाइडल (पाउदान) खुट्टाले चलाउँदै दाँतलाइ चम्काइरह्यो । आठ बजेतिर ऊ झ्यालको सामुन्ने उभिएर आकाशलाई नियाल्न थाल्यो । छिमेकीको घरको छतको पर्खालमा चिलको जोडी बसेको थियो । घामको प्रकाशमा उनीहरुले आफ्नो प्वाँख सुकाइरहेका थिए । यो देखेर उसले अन्दाज लगायो कि दिउँसो पक्कै पानी पर्छ । ऊ फेरि आफ्नो कोठामा फर्किएर आयो र चम्काउने काममा मग्न भयो । त्यही बेला ११ वर्षे छोराको आवाज उसको कानमा पर्‍यो ।

‘बाबा ।’

‘हँ !’

‘बाहिर गाउँको मुखिया (गाउँपालिका अध्यक्ष) आ’ छन् । उहाँको दाँत निकालिदिनु रे !’

‘म घरमा छैन भन्दे,’ यति भनिसकेपछि ऊ फेरि आनन्दसँग आफ्नो सुनको दाँत चम्काउन व्यस्त भयो । एउटा हातमा सुनको दाँत राखेर उसले एक आँखा बन्द गरेर हेर्दै थियो, त्यही बेला फेरि उसको छोराको आवाज आयो ।

‘बाबा, मुखिया बाले तपाईंको आवाज सुनिसक्नु भा’छ । तपाईँ घरमै हुनुहुन्छ किन ढाँट्या भनेर भन्दैछन् ।’

ऊ दाँत हेर्नमै व्यस्त भयो र केही समयपछि आफूले सफा गरेका दाँत अन्य दाँतसँगै टेबलमा राख्यो ।

‘बाबा, तपाईंले मुखियाको दाँत निकाल्नु भएन भने मुखिया बाले तपाईंलाई गोली हान्नुहुन्छ रे !’

उसले मेसिनको पाइडल घुमाउन बन्द गर्‍यो र बिस्तारै मेसिनलाई पर धकेल्यो । उसले बन्दुक राखिएको टेबलको ड्रअर खोल्यो ।

‘छोरा, उसलाई गोली हान्न भन्दे ।’

ऊ कुर्सीलाई ढोकातिर सार्दै थियो, त्यही बेला मुखिया कोठाभित्र पस्यो । उसको दाहिने गाला सुन्निएको थियो । त्यही कारण उसले पाँच दिनदेखि दाह्री काटेको थिएन । दाँतको डाक्टरले मुखियाको आँखामा निराशा र मजबुरी देख्यो । उसले ढोका बन्द गरेर मुखियालाई बस्न आग्रह गर्‍यो ।

‘सब ठीक छ नि ?’ डाक्टरले सोध्यो ।

ग्याब्रियल गार्सिया मार्खेज

दाँत निकाल्ने औजारहरु तातो पानीमा उम्लिरहेका थिए । मुखिया कुर्सीमा अडेस लाग्यो । उसलाई थोरै आराम महसुस भयो र उसले कोठाको चारैतिर नियालेर हेर्न थाल्यो । उसलाई आभास भयो, कोठा सामान्य र सुरक्षित छ । पुरानो काठको कुर्सी, पाइडल भएको मेसिन, सिसाको दराज…।

त्यही बेला डाक्टर उसको नजिक आयो । मुखियाले कुहिनाको बलले आफूलाई सम्हाल्दै मुख आँ गर्‍यो ।

ओरेलियो एस्कोबारले उसको मुख उज्यालोतिर फर्काउँदै मुखियाको दाँत हेर्न थाल्यो । उसले भन्यो, ‘तपाईंलाई बेहोस नबनाई म दाँत निकाल्न सक्दिनँ ।’

‘किन नि ?’ मुखियाले सोध्यो ।

‘किनभने दाँतको जरामा किरा लागेको छ ।’

मुखियाले डाक्टरको आँखामा हेर्दै ‘हुन्छ’ भन्यो ।

डाक्टरले उम्लिरहेका औजारहरुलाई बिना चिम्टा हातले निकालेर टेबलमा राख्यो र हात धोएर औजार राखेतिर फर्कियो ।

यसबीचमा उसले एक पटक पनि मुखियातिर हेरेन । मुखियाले भने एक सेकेन्डका लागि पनि डाक्टरको अनुहारबाट आफ्नो आँखा हटाउन सकेन । बिग्रेको दाँत वास्तवमा बुद्धि बंगारा थियो । डाक्टरले आफ्नै दाँत किट्दै औजारको सहायताले बिग्रेको दाँतलाई बलियोसँग च्याप्यो । त्यो समय मुखिया आफ्नो पूरै तागत लगाएर कुर्सीको दुई खुट्टा समाएर सिधा भएर बस्यो ।

डाक्टरले मुखियातिर हेर्दै भन्यो, ‘यो बेला तिमीले हाम्रा बीस जना साथीको हत्या गरेको हिसाब दिनुपर्छ ।’

दुखाइका कारण मुखियाको आँखाबाट आँसु झर्‍यो । उसले आफ्नो सास रोक्यो । जब उसले दाँत बाहिर निस्कदै गरेको देख्यो, त्यति बेला गएका पाँच रातका पीडा र दुखाई अनि त्यो बेलाको दुखाईसँग प्रतिस्पर्धा गर्न असफल रहेको पनि सम्झियो । मुखिया पसिनाले लपक्क भिजेको थियो भने डाक्टर उसतर्फ टाउको झुकाएर दाँत सफा गर्दै थियो । एउटा सफा कपडा मुखियातर्फ बढाउँदै भन्यो, ‘आँशु पुछ्नुस् मुखियाज्यू ।’

मुखियाको पूरा जिउ काँपिरहेको थियो । डाक्टरले उसलाई आराम गर्न सल्लाह दियो र नूनपानीले कुल्ला गर्न भन्यो । मुखिया उठ्यो र उसलाई फौजी तरिकाले सलाम गर्‍यो र बाहिर निस्कियो ।

जाँदाजाँदै मुखियाले भन्यो, ‘बिल पठाइदिनू है !’

‘कसको नाममा पठाऊँ ? तपाईंको नाममा कि गाउँ विकास समितिको नाममा ?’

मुखियाले डाक्टरतर्फ हेर्दै नहेरी क्लिनिकको ढोका बन्द गर्‍यो । जालीको ढोकाबाट, बाहिरतर्फ निस्कँदै गरेको मुखियाको आवाज सुनियो, ‘केही फरक पर्दैन, कुरा एउटै हो ।’