बर्षौँ पहिलेको होइन, हिजैको कुरा हो । हाम्रो समयको बेजोड क्रान्तिकारी थियो ऊ । वचनले जुरेली खसाल्न सक्ने विलक्षण प्रतिभा उसले लामो सङ्घर्षशील जीवनपश्चात् विकसित गरेको थियो । ऊ सर्वाङ्ग उभिँदा धर्ती उसकै तलुवामा हुन्थ्यो । आकाश उसकै तालुमा सजिन्थ्यो । यस्तै थियो ऊ । चट्टानजस्तो । भीमकाय स्वरूपमा आफ्नो ज्योतिस्वरूपको दर्शन दिन्थ्यो।
अहिले पनि ऊ कमको भने छैन । प्रायः ऊ मसँगै हुन्छ । ऊ र म सँगसँगै यात्रा गर्छौँ । हामी कहिलेदेखि सँगै छौँ, न उसलाई हेक्का छ न मलाई । यत्रो समयका बाबजुद ऊ मसँग बात मार्न त्यति रुचिकर मान्दैन, र पनि म उसकै सान्निध्य रहेको छु । कुनै कुलीन चाकरीबाज जस्तो !
अक्सर हामी भरतमिलाप मात्र गर्छौँ । बाँकी समय ऊ मेरा लागि छुट्टाउँदैन। र पनि म उसलाई पछ्याउँछु । ऊ एक योद्धा हो । आफ्नो वीरताले उसले प्रशस्त प्रशंसक कमाएको छ । असङ्ख्ये शत्रु बनाएको छ । मलाई ऊ शत्रुको नजरले हेर्छ । एउटा यस्तो शत्रु – जसले उसको प्रत्येक मौनतामा प्रहार गर्दछ । ऊ मलाई यसै भन्ने गर्दछ ।
यति निर्मम ! यति चोटिलो ! ऊ छटपटाउँछ र अर्को युद्धको तयारी गर्दछ। उसले तिखारेको वाण ताँदोमा चढाउँछ । कानसम्म खिच्छ र सुइया- छोड्छ । शत्रुले पानीसम्म भन्न पाउँदैन । उसका मित्रहरू उसकाे तारिफ गर्छन् ।
यौवन कालका दिनहरूमा म उसको आह्रिस गरेर थाक्दिनथेँ । म उसको एकछेउ पनि कहाँ थिएँ र ! कैँचीजस्तो चलेको उसको वचनको खच खच आवाज सुन्नेबाहेक मेरो केही काम हुँदैन थियो ।
फ्याट्ट फ्याट्ट जवाफ फर्काउँथ्यो ऊ । अलिकति पनि सहन सक्दैन थियो । वादविवाद र प्रतिवाद त उसले गनी नसक्ने गर्यो । लाञ्छनाका झडपहरूमा ऊ कैयौँपटक सहिद भयो तर उसले बोल्न छोडेन । अरूले बर्साएका शब्दहरूलाई ऊ मुख्य अभियुक्त बनाएर हिरासतमा लिई हाल्थ्यो । अनि कड्केर केरकार गर्थ्यो ।
तर आज बिस्तारै समय फेरिँदै गएको हो कि झैँ लाग्छ । ऊ बोल्न छोडेर बरबराउन थालेको छ ।
हिजो जस्तै ऊ मलाई वास्ता गर्दैन । तर पनि उसको एकाङ्कीमा म उसको अन्तर्मनको कुनाबाट नचिहाइरहन सक्दिनँ ।
अचेल उसका केही गिनेचुनेका साथीहरू मात्र बाँकी छन् । उनीहरू पनि बरबराउँछन् । ऊ उनीहरूको बेहोरा त बुझ्दछ तर उसलाई फिटिक्कै चित्त बुझिरहेको छैन । ऊ चाहन्छ उनीहरू पनि ऊ जतिकै बोलुन् । धाराप्रवाह । तर ऊ सधैँ उनीहरूलाई उछिन्छ । खराब समयमा पनि ऊ हितैषीहरूलाई उछिन्ने दम राख्दछ । उनीहरू ऊ जतिको हुन सकेनन् ! कस्तो विडम्बना !
यही कुरा उसलाई चित्त बुझिरहेको छैन ।
आधा रातसम्म मसँग बात मरेर ऊ सुत्दछ । ठसठस कन्दै दनादन कोल्टे फर्किन्छ र एक्लै सपनामा बरबराउँछ । सँगै सुतेकी स्वास्नीले घच्घचाउँदा मात्र ऊ झस्किन्छ । यस्तो उसको नित्य तालिका बनेको छ । ऊ आफ्नी स्वास्नीलाई घृणा गर्न थालेको छ । उसकी स्वास्नी उसको फिटिक्कै कुरा बुझ्दिन । यत्रो वर्ष ऊसँग टाँसिएर पनि ऊ लाटीजस्ती भएकी छे । दालभात र सँगै सुत्नुबाहेक ऊ स्वास्नीबाट निक्खर प्रतिक्रिया चाहन्छ, प्रोत्साहन चाहन्छ । तर उसकी स्वास्नी उसलाई यी चिजहरू दिन सक्दिन । ढुङ्गो बोल्ला उसकी स्वास्नी बोल्दिन ।
ऊ स्वास्नीको अनुहार हेरिरहन सक्दैन । ओछ्यान फेरेर मसँग सुत्न आइपुग्छ । त्यसपछि हामी घण्टौँ बात मार्छौँ ।
म उसको कुरा सुन्छु । ऊ एकोहरो बोलिरहन्छ । सत्तोसरापका बाबजुद ऊ कहिलेकाहीँ सद्भाव भने राख्दछ । तपाईँहरू पत्याउनु हुन्छ ? तर उसले मसँग खेद प्रकट गरेको छ । पश्चात्तापमा आँसु चुहाएको छ ।
मसानघाटमा विमति पोलेर आउने दिन पनि एकाध मिनेटको मौनता तोड्दै त्यस दिन पनि ऊ बेस्कन बोलेको थियो । उसले मलाई भनेको थियो । उसले त्यसको मृत्यु यस्तो होस भनेर कहिले चाहेन । तर भगवान्ले उसैको कुरा सुने ।
बोतलको पिँधमा भएको थोरै रक्सी गिलासमा तुर्काएर उसले मतिर सार्यो । अनि स्वाट्ट पार्यो । त्यस दिन उसले जोरदार रक्सी पियो । त्यस रक्सीले हामी दुवै मात्यौँ ।
हरेक दिन ऊ मलाई बताउँछ कि उसका शत्रुहरू ऊ विरुद्ध कस्ता षडयन्त्र गरिरहेका छन् । शत्रुहरू जाइलाग्दा ऊ आगो ओकल्छ । मित्रहरू नबोलिदिँदा भुत्भुतोमा ऊ रापिन्छ । हामी दुवै मित्र आज जुन समयमा टेकिरहेका छौँ, त्यहाँ उसले सङ्गिन आरोपको सामना गरिरहनु परेको छ ।अनाहकमा उसले बदनाम हुनुपरेको छ । यस धर्तीमा गरेको पाशविक सजायका लागि तथाकथित भगवान्ले गर्ने सबैभन्दा दण्डित कारबाहीभन्दा ठुलो ! निर्दोष भएर पनि भागिदार हुनुपरेको छ – उसले।
ऊ मलाई यस्तै बताउँछ ।
मेरा आँखाअगाडि झलझल आउँछन् । हजारौँ वाणले घायल भएको भीष्म जस्तो ऊ – योसँग पनि भिडेको छ, त्योसँग पनि भिडेको छ । उसका गिनेचुनेका सिपाहीहरू पहिलो घेरामै सहिद हुन्छन् । तर ऊ हारेको छैन ।
उसका त्यत्रा चेलाचपेटाहरू कहाँ गए ? ऊ मलाई प्रश्न गर्छ ।
आक्कलझुक्कल भेट हुँदा ऊ पुरानाहरूसँग तिक्खर टिप्पणीका अलावा व्याकुल भावले आँखा नझिम्काई आस गर्छ ।
तिमी पनि बोल न !
ऊ नबोल्नेलाई चिमोट्छ । बोल्दा ढङ्ग नपुराउनेलाई चिमोट्छ । बोल्न नजान्नेलाई चिमोट्छ । तर पनि नबोलेकाहरू बोलेका छैनन् । नजानेकाले जानेका छैनन् । केही बोलेकाहरूको आवाज ऊ जति कहिल्यै सुनिँदैन ।
किन ? ऊ मलाई प्रश्न गर्छ।
थपडी खाउन्जेल उसले कसैलाई बोल्न दिएन । थप्पडमा को बोल्छ ?
तिमी पनि बोल न !
ऊ भन्न छोड्दैन ।
ऊ सानो परिधिमा भुतभुताउँछ । ऊ थाक्दै गएको छ । तर हारेको छैन ।
आधा रातमा ऊ मसँग बात मार्न आयो । हो, बाहिरैबाट पिएर आएको छु । उसको लरबर बोलीबाट मात्र मैले चाल पाएँ । तर उसले अग्रिम जवाफ दियो । उसले पिएकोमा म कहिल्यै गुनासो गर्दिनँ । ऊ सधैँ जस्तो बरबरायो । लामो वाचनपश्चात् उसले मलाई सोध्यो । तिमी केही बोल्दैनौँ ? उसले दुःख बिसाउने भावले मतिर हेर् यो। मलाई साह्रो टिठ लागेर आयो ।
के बोलौँ म ? के भनौँ ?
मेरो बोलक्कड मित्र बोलिरहन्छ । उसले जानेको कुरा ऊ किन छोड्छ ? आज मात्र ऊ बोलेको हो र ! ऊ खेलाडी हो । जुनसुकै वल्कबाट पनि खेल्न सक्छ । जता पनि गोल गर्न सक्छ । उपाधि चुम्न सक्छ । पुछारमा परेर रेलिगेट हुनसक्छ । तर उसले मैदान छोड्दैन ।
स्मरण गरे हुन्छ – ऊ हिजोदेखि मिलिक्क अगाडिसम्म कति बोल्यो ! अन्यायमा बोल्यो – अत्याचारमा बोल्यो । प्रेममा बोल्यो – प्रशंसामा बोल्यो।आलोचनामा बोल्यो – अलमलमा बोल्यो । उकाली ओराली सबैमा बोल्यो । जीवनमा उसले खर्चेका शब्दहरू नै त छन् । हजारौँको मासमा ऊ बोलेको छ । सासमा ऊ बोलेको छ । ऊ सधैँ सत्य र न्यायका पक्षमा छ । कता कता प्रयोग गर्ने ! गर्नेले गरुन् ।
त्यो कालो रातमा हाई काढ्दै मैले उसका लागि कन्जुस्याइँका साथ यति नै शब्द खर्चिन भ्याएँ ।
मेरो मित्र । ऊ गतिशील छ । बग्दा बग्दै बहकिन्छ । यसमा उसको केही दोष छैन । भए पनि स्विकार्दैन ऊ । ऊ र म एउटै सैद्धान्तिक धारका हिमायती हौँ । हामीले एकअर्काको रक्षा गर्नु पर्छ । आफ्नै लागि ! आफ्नै अहम्को सन्तुष्टिका खातिर !
अहम् ब्रह्नास्मि !
म बोलेँ ।
उसले फ्याट्ट बन्द गर्यो । सिरानीभित्र घुसारो । उत्ताउलो भएर नाचिरहेको कलम त्यसैमा चेपियो ।
अनि ईथरले सारा प्रकाश आफ्नो गर्भमा खिचेर लियो । बिस्तारै मेरो अनुहार अँध्यारो भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।