कृष्णे ! म यसै भनेर बोलाउँछु है, अन्यथा नसम्झेस्, भन्दिया छु । तँ–तिमीले सम्बोधित हुँदाको आनन्द बुझिस्, गंगा स्नानभन्दा निर्मल हुन्छ र अलौकिक । आहा ! यहाँ न देखावटी अश्लीलता छ, न एउटै देशलाई छुट्ट्याउने युद्धको खत बोकेको कोरियाली प्यारालल । जसलाई योगीहरू ब्रह्मानन्द भन्छन् नि ! हो त्यस्तो, प्रपञ्चहरूबाट विमुक्त, एकदम निरापद र अद्वैत ।

यसलाई हामीभित्रको विच्छिन्न दूरस्थताको समाप्तिको घोषणा भन्छु ।

तँलाई थाहा होला, साथीहरूमा घनिष्ठता बढ्दै जाँदा, नजिकिँदै जाने हाम्रा सम्बन्धहरू र त्यस्तै गहिरिँदै चुलिने प्रेमको उत्सर्गमा, झन् तँ हामी कति पारदर्शी भइदिन्छौँ ? त्यति बेला कौनै कुराको संकोच रहँदैन । हटलाइन सुरु हुन्छ । आडम्बर र आवरणका सिमानाहरू भत्किन्छन्, गोप्यता रहँदैन । नजिकिएर तँ–तिमीमा झछौैँ, एकदम निर्वस्त्र । तपाईं–हजुरले छुट्ट्याएका दूरीहरू स्वतः मेटिन्छन् । मात्रै तँ हुन्छस्, तिमी हुन्छौ, मान्छे हुन्छ हामीहरूमाझ ।

व्याकरणले छुट्ट्याएको यो विभेद देख्दा हाम्रो संस्कार, परम्परा नै भनूँ, आलोकतान्त्रिक रहेछ भन्ने निष्कर्षमा पुग्छु— खाँटी सामन्त लाग्यो । यसको शोधकार्य हुनुपर्छ । सानैदेखि यही बोल्न सिकाइयो—सिकेँ, घोक्न लगाइयो—घोकेँ ।

यसैबाट सञ्चालित नसाहरूमा दगुर्ने रगत, त्यसको छिर्काछिर्काले तरंगित हुने मुटु–मस्तिष्क अनि यसैबाट निर्मित संस्कारका हामी कहाँ प्रजातन्त्रवादी हुनसक्यौँ, बातबातमा ‘हजुर’ ‘आइस्योस्’, ‘खाइस्योस्’, ‘भनिस्योस्’ शब्दहरूको झरी लागिरहेको देख्दा लक्ष्मीनिवास वा नारायणहिटी राजदरबारमै छौँ कि भन्ने पो लाग्छ ।

व्याकरणका पाणिनीहरू पनि शाही सरकारका मन्त्रीले जस्तै हुकुम गर्छन् बोल्नेहरूलाई । ‘फुट डालो, शासन करो’ भनेझैँ भाषाले पनि हामीलाई उच्च, उच्चमध्यम, मध्यम र निम्न वर्गजस्ता ठूला–साना वर्गहरूमा विभाजित गरी त्यहीअनुसार बोल्न लगाउँछ । त्यस्तै तालिम पाएको जिब्रो लाख कोसिस गर्दा पनि अहँ, मनाउन सकेको पनि होइन, कजाउन सकेको पनि होइन । हत्तपत्त अघि सर्छ र ‘हजुर !’ भन्दै यति लामो लेग्रो तानेर आफ्नो उपस्थितिको सन्देश दिइहाल्छ ।

तल्लो तह, सानो जात, उपेक्षित मान्छे, ठूलो वर्गका निम्ति भिन्ना–भिन्नै व्यवस्था गरिएको भाषा र त्यसका सर्वनाम हौँ हामी । हामी वर्गविभक्त छौँ । यसको संरचना गर्ने नेपाली व्याकरण हो । यो लोकतन्त्रमा अनुकूल छँदै छैन । जातमा अछूत र व्याकरणको तँ–तिमी एउटै श्रेणीका हुन् ।

दक्षिण अफ्रिकामा अंग्रेजको बेलामा गोरा कालाहरूका लागि हिँड्ने बाटा बेग्लै हुन्थे, पढ्ने स्कुल छुट्टै, खाने रेस्टुराँ–होटेल अलग्गै । त्यस्तै लाग्यो हाम्रो यो व्याकरण अर्थात् अंग्रेजको रंगभेदजस्तो ।

यो भाषा बोलेर बराबरीको सम्बन्ध जोर्नु त गाह्रै पर्ला । त्यसैले होला, देशमा पटक–पटक प्रजातन्त्र आए पनि टिक्न सकेन । टिक्नै दिइएन भनूँ । कहिले नजरबन्दमा पर्छ प्रजातन्त्र, कहिले खोसुवा पुर्जी पाउँछ यसले, कहिले अराष्ट्रिय तत्व भई देशै छाड्नुपर्यो ।

यसपल्ट सर्वनामहरू धेरै नजिकिएका छन् । मनमा डर पालेर भए पनि हात मिलाउँछौँ । कसैका प्रति कोही ज्यानै दिने खालका छैनौँ र पनि साथ दिन्छौँ, साथ लिएका छौँ । अहिले हामी तँ–तिमीमा एकाकार हुँदै छौँ विलीन हुँदै गइरहेका छौँ, यस्तो लागिरहेछ ।

सामाजिक विभेदजस्तो यो व्याकरणिक सामन्ती प्रथा पनि रहनु हुँदैन । नियत र व्यवहारले भने खुलस्त छैनौँ । अन्योलमा सृष्टि हुने विभ्रम बाँचेर शंकालु हुन विवश छौँ । यो विवशता केही तँमा होला, केही ममा । निरापद कोही छैनौँ, निर्दोष पनि छैनौँ, निःशंक पनि भएनौँ ।

कसैका प्रति इमानदार नभएको परिप्रेक्ष्यमा ज–जसलाई विश्वास गरेर अघि लाग्छौँ, आफैँ पाखा लाग्नु परेको दृष्टान्तले त्रस्त मानसिकता व्यक्तिगत थिएन । यहाँ राजनीतिक, सामाजिक, आर्थिक, व्यावसायिक, देशीय, अन्तरदेशीय, व्यक्तिगत, सार्वजनिक सबैसित गाँसिएको घटना तटस्थ र निरपेक्षित नरहेको यथार्थप्रति इमानदार गुनासो सार्वजनिक भइसकेका छन् ।

कोही आफ्नो नभएजस्तै यहाँ कोही पराई छैन । ‘हिजो’ त हाम्रो भएन, ‘भोलि’ पनि आफ्नो नहुने डरले त्यतिकै चिन्तित र आतंकित छौँ हामी । वर्तमान त झन् एकलौटी बनाउने कोसिसमा लाग्नेहरूको दाउपेचजस्तो छ— समर्पित हुनेहरूको खेर गइरहेको आन्दोलनजस्तो पनि, ज्यान दिनेहरूको पछुतो लाग्ने क्रान्तिजस्तो पनि । संकट भने हरएक यामको मौसमी सागसब्जीजस्तो छ ।

मृत्युलाई तँ के भन्छस्, यो तैँले सोच्ने कुरा हो । अस्थिरता आफैँमा मृत्यु होइन । ठूलो परिवर्तनको सम्भाव्यता रहेको संक्रमणलाई जनाउने द्वन्द्व, द्वन्द्वभित्रको द्वन्द्व तीव्र, तीक्ष्ण, प्रखर । नपत्याउनेहरू जेमा पनि मृत्यु देख्छन् । मृत्यु त अकर्मण्यता होइन र ? रवीन्द्रनाथले यसलाई थकाइसँग गाँसेका छन् ।

खुसीको कुरा हो यो, थकाइ कसैमा देख्दिनँ । कसैलाई यो रोगले छोएको छैन । आन्दोलन–२ का योद्धाहरूमा पनि देखिनँ, आन्दोलनमा लाग्दै नलागेकाहरूमा पनि देखिनँ । जनआन्दोलन सकिएको यत्रो दिन बितिसक्दा पनि थामिने नामै लिँदैन । सडक मानिसमा होइन, जुलुसमा हिँडेको हिँड्यै छ । आकाश मेघमा होइन, नारामा थर्केको थर्क्यै छ ।

सिंहदरबार राज्य गर्नेहरूको थलो होइन, धर्ना बस्नेहरूको मन्दिर भइसकेछ । अरू देशहरू बाढी र समुद्री आँधीबेहरीले लथालिंग छन्, हामी भने आमरण अनशन, धर्ना, जुलुस, अपहरण, सडकजामजस्ता राजनीतिक रिटा, क्याट्रिना, आँधीले अस्तव्यस्त छौँ र आन्दोलित छौँ । सबै क्रान्तिकारी भन्ठानेको होइन रहेछ । राजनीतिमा लाग्दै नलागेकाहरु पनि आन्दोलनरत छन् । माग पूरा गराउने उपयुक्त अवसर यही ठानेर होला, सम्पूर्ण पेसाकर्मी, जातजाति, दलित वर्ग, कर्मचारी, सीटीभीटी, नागरिक समाज, माओ समर्थक, माओपीडित, राजा समर्थक, राजापीडितहरू एकैबाजि लयबद्ध हुन्छन् । उनीहरुको मार्चपासले सरकार हल्लिन थाल्छ ।

विद्यार्थीहरूको कुरै नगरूँ । दलहरू लोकतन्त्र ल्याउने नै भए । यति चर्को पहरा दिँदा पनि त मन्त्री, प्रधानमन्त्री, नेताहरू खस्याकखुसुक–सट्याकसुटुक के–के गर्छन् गर्छन् । कसको भरोसा छ र ? अगुल्टोले पोलेको कुकुर के भनेजस्तो शंका गर्ने नै भयो । मालिक हुनेहरूलाई मौका गुम्ने डर, अर्कोतिर लोकतन्त्र नै जोखिममा पर्ने आशंका । अपहृत हुन के बेर ?

यति ठूलो जागरण छ देशमा । मनहरू पहरा दिन्छन् । ज्यान दिनेहरू लामबद्ध छन् । आकाशझैँ व्याप्त हाम्रो हंस रातभरि सुराकी गरिरहन्छ । तँ थकाइको कुरा गर्छन्, मृत्युको कुरा गर्छस् ?

त्यस्तो दिन थियो हाम्रो आकाशमा पनि । लास भई बाँचेकाहरूको भिडमा मृत्युले त्यस बेला निकै छोपेको थियो, खुट्टा भए पनि हिँड्दैनथ्यो । मुख थियो बोल्न सक्तैन । भित्ताले सुन्ला भनी भागीभागी हिँड्ने मानिस थिए । देख्ला कि भनेर देख्दै नदेखे पनि देखिरहेको देख्ने आँखा थिए ।

त्यस्तो मृत्यु बोकेर हिँड्थ्यौँ, मृत्यु ओढेर सुत्दथ्यौँ, मृत्युसँगसँगै बिउँझन्थ्यौँ । ती दिनहरू मृत्युवत् थिए र भयावह लाग्नुपर्थ्यो, तर लागेन । मरिसकेकाहरूलाई केको मर्ने डर हुन्छ ? त्यसैले हिँड्ने खुट्टाले पनि यो अनुभव गर्नु परेन, सोच्ने मनले पनि, हेर्ने आँखा, सु्न्ने कान, जिउने रहर र बाँच्ने चेत कसैको पनि, किनभने ती सबै मरिसकेका थिए ।

इतिहासमा त्यस्तो मृत्यु पटक–पटक आएको थियो । व्यक्तिगत रूपमा कोही बाँचेनन् भन्दिनँ । तर, सामूहिक मृत्यु थियो दुर्घटनाजस्तो एक विपद् । आत्महत्यालाई जनाउने अकर्मण्य मृत्यु पनि सायद यस्तै हुन्छ । नचाहेरै स्वीकार्नुपर्ने । फेरि, यही मृत्यु मर्ने डरले होला, कसरी भयभीत छन् आजकाहरू ! निदाउनै छाडेर जागा छन् । सडक–सडकमा, फुटपाथमा, चोक, चउर, बस्ती, पहाड, गल्ली फाँटहरूमा पनि, घाममा पनि, पानीमा पनि ।

एउटा मृत्युको डरले अर्को मृत्युसँग लाप्पा खेल्ने साहसिकतालाई यसले सम्बोधन गर्छ । साथै तँ तैँ भएर, त्यो त्यै भएर, ऊ उही भएर, म मै भएर हल्ला गर्नेहरूको प्रदूषणले बिथोलिएको वातावरण कति सन्दिग्ध छ र अराजक ?

विभेदका सर्वनामले सम्बोधित भई सम्मानित–अपमानित हुन नचाहने संस्कारका हामी रहेनछौँ । त्यसैले यस्तो व्याकरण बनायौँ । आफ्नै गाह्रोसाह्रोमा देशलाई अल्झाइराख्न नचाहने पनि होइन रहेछौँ । त्यसैले आफ्नो हत्केलाको रेखासँग मिल्दो भई देश चलाइरह्यौँ ।

मानिसले देख्ने गरेको सपनाजस्तो उसको देश पनि भएन । देशले सोचेको परिकल्पनाका मानिसजस्तो उसका सन्तान पनि भएनछन् अर्थात् तँ पनि भइनस्, म पनि भइनछु ।

मानिस र देशबीच सधैँ एउटा तनाव छ । एउटा अर्कोबिना अस्तित्वहीन ठान्छ आफूलाई र बाँच्नै पनि सक्दैन । दुवैले दुवैलाई गाँजेर राख्ने अधीनताको मात छ उनीहरूमा र एक अर्कोमा भर परेर पनि दुवैले दुवैलाई धोका दिने गरेका छन् । देशको नाममा मानिसले देशलाई ठग्ने गर्छन् ।

जनताको नाममा देशले मानिसको बलि खोजिरहन्छ । यति हो, मानिसको बलिदानमा देशले स्वतन्त्रता गुमाउनु परेन । यति हो, देशको स्वतन्त्रतामा मानिसले बिनाराष्ट्रियता बाँच्नु परेन । यसैलाई उपलब्धि मानेर वञ्चित मनुष्यताका हामी मानिसहरू, तँ–तिमी, तपाईं–हजुरमा मात्रै नभई मानिसै देश हुन कहिले सक्नेछौँ होला ?

(‘कृष्णचन्द्रसिंहका निबन्ध’बाट ।)