‘बाबुको मन खुसी राख्ने नै सज्जन छोरो हो’- भन्ने उक्त्ति प्रसिद्धै छ । ठुलो भएपछि भाइलाई पैतृक सम्पत्तिमा अंश दिनुपर्ला भन्ने कुरो लोभी र पुतिशोध-बुद्धि भएको शान-ची चाहिँ सहनै सक्तैनथ्यो । यो मेरै भाइ हो भन्नु त कता-कता, ऊ त बरु पछि-परन्तु मौकामा ती आमाछोराको कुभलो गर्न अहिलेदेखि नै तिनका विरुद्ध नानावलीका दुष्टतापुर्ण हल्ला फिँजाउँदै पो हिँड्न लाग्यो ।
विद्बान् हुनुका साथै उच्च पदमा बसि पनि सकेका हनाले बडाहाकिम नी यी सब कुरा राम्ररी बुझ्दथे । बुढो भइसकेका हुनाले चुङ-याङ आफ्नै अगाडि समर्थवान् भइसक्ला भन्ने उनलाई उम्मिदै थिएन । यस अवस्थामा त्यो बालक छिटै दाजु चाहिँको दयाश्रित हुन जाने नै भयो । बुढालाई यसको फित्री थियो । किन्तु, शान-ची जङ्गिएला भन्ने डरले उनी आफ्ना मनका कुरा बलैसाथ मनैमा राख्तथे । कान्छो छोरोका कुरा सम्झनेबित्तिकै उनको मुटु चरक्क चिरिएझैँ हुन्थ्यो । कलिलै उमेरकी स्वास्नीप्रति पनि उनलाई असाध्यै दया लाग्दथ्यो । दुःखी मनले उनी प्रायशः तिनका सम्बन्धमा विचार गरि नै रहन्थे । आफूले गरिसकेका कामले उनलाई रही-रही पछुतो लाग्दथ्यो । तर अब पछुताएरै के हुन्थ्यो ?- हुनुहुनामी भइसकेकै थियो ।
चार वर्ष छिटै बिते । बालक अब पाँच वर्षको भइसकेको थियो । चलाख र फुर्तिलो भएकोले बाबुले स्कुलमा लेखाउने नाम राखी अब उसको पढ्ने बन्दोबस्त मिलाउने विचार गरे । दाजुको नाम शान-ची (गुण-रक्षित) भएको हुँदा भाइ चाहिँको नाम शान-शु (गुण-प्रकाश) राखियो । मिठाई र मदिराको उपहार ठिक पार्न लगाएर बडाहाकिम साहेबले असल साइत जुराई उसलाई गरुको दर्शन गराउन लगे । ती गुरुलाई उनैले नाति पढाउनुपर्छ भनी ल्याएर राखेका थिए । काका-भतिजा दुवैलाई उनैद्वारा पढाउन लगाएमा एकै प्रकारका शिक्षा-अर्ती पाई पछि ति दुवैको लाभ होला भन्ने उनको विचार थियो । तर, शान-चीले भने अर्कै कुराको विचार गर्यो- एक त भाइको नाम आफ्नै जस्तो राखिएकोले त्यसलाई त्यसै रिस उठेको थियो, दोस्रो झन् ती दुवै बालक साथै पढ्ने हुँदा अहिलेदेखि नै परेको बानीअनुसार पछि आफ्नो छोरोले ठुलो भएर पनि शान-शुलाई काकै भन्ने गर्ला र त्यसको धकसमेत मान्ने गर्ला भन्ने उसलाई डर थियो । तसर्थ उसले छोरोलाई त्यहाँबाट हटाई बेग्लै पढाउन अर्कै गुरुको बन्दोबस्त गर्यो । छोरोलाई त्यसै दिन कक्षाबाट डाकेर उसले बिरामीको नुहुँ गरी फेरि फर्केर जान दिएन । बडा हाकिमले पहिले त नाति साँच्चिकै बिरामी भयो होला भन्ठाने, तर केही दिनपछि गुरुले आई सबै वृत्तान्त सुनाउँदा उनले कुरोको मर्म बुझे ।
गुरुले भने,”तपाईंका सुपुत्रले छोरा पढाउन अर्कै गुरुको बन्दोबस्त गर्नुभयो । त्यसलाई बेग्लै पढाउन किन मन गर्नुभयो ? – मैले त केही बुझ्न सकिन ।”
बडाहाकिम साहेबलाई साह्रै रिस उठ्यो । उनले पहिले त शान-चीनलाई डाक्न पठाएर कति कारणले त्यसो गरिस् ? – भनी सोध्ने विचार गरे, तर पछि सोचेर हेर्दा खामोस खानै उनलाई ठिक लाग्यो । उनले विचार गरे, “त्यो त जन्मैदेखि मेरा कुरा नमान्ने हो । त्यस्तालाई के भन्नु ? भैगो, मन लाग्या गरोस् ।”
दुःखी मनले आफ्ना कोठातिर फर्केर जान लाग्दा सँघारमा ठेस लागेकोले उनी बेहोस भई त्यही भुईँमा ड्वाङ्गै लडे । स्वास्नी चाहिले हत्तपत्त आएर उनलाई कोचमा पल्टाई र तुरुन्तै वैद्य डाक्न पठाई। वैद्यले हेरी बडाहाकिम – साहेबलाई त पक्षघात पो भएछ भनी हत्तपत्त अदुवाको काँडा खुवाएर होस – आउनासाथ उनलाई पलङमा लगी सुताउन लाए। उनका हातगोडा चल्दै नचल्ने भएका थिए, तर मस्तिष्क भने केही भएको थिएन। स्वास्नी चाहिँ दिनरात उनको नजिक बसी खानेकुराका रस र ओखती तयार पार्दथी, र हातगोडाले भ्याएसम्म लोग्नेको सेवा सुश्रूषा गर्दथी। परन्तु ओखतीले हुँदै छोएन ।
वैद्यले भने, “अब त खालि बेला पर्खनु मात्र हो, निको हुने त कुरै रहेन ।”
अब त अन्त्य नजिकै आइपुग्यो भन्ने देखेर बुढाले शान-चीलाई डाक्न पठाई जग्गा जमिन, घरबार र नोकरचाकर सम्बन्धी सबै तपसिल भएको बही
उसलाई बुझाएर भने, “शान-शु भर्खर पाँच वर्षको भयो । त्यसकी आमा पनि अहिले केटाकेटी नै छ, सम्पत्तिको बन्दोबस्त कसरी गर्न सक्ली ? तसर्थ उसलाई अहिल्यै अंश छुट्ट्याएर दिनु खतराको कुरो हुन जानेछ । म सबै कुरा तिम्रै हातमा छोडेर जान्छु । शान-शु ठुलो भएपछि मेरो मुख हेरी त्यसको बिहे गरिदिए, एउटा सानो घर र दश एकड जति जमिन पनि दिए । त्यसले के लाऊँ, के खाऊँ भन्न नपरोस् । पछि अंश छुट्ट्याउनुपर्दा काम लाग्ला भनेर मैले यी सबै कुरा यसै बहीमा लेखिदिएको छु । कान्छीआमाले अर्को घरजम गर्न खोजी भने त्यसलाई नरोके । होइन, छोरोको हेरविचार गरेरै बस्न खोजी भने कर पनि नलगाए । मेरो शेषपछि सज्जन छोरो मेरा यी आदेश पालन गयौ भने परलोकमा म शान्तिपूर्वक विश्राम गर्न पाउनेछु ।”
बुढाले भने, “तिमीले बुझिनौ । शान-चीको विश्वासै छैन भन्ने कुरो मलाई राम्ररी थाहा छ । मैले अहिले नै अंशबन्डा गरिदिएको भए यस बच्चाको ज्यानसम्ममा खतरा आइपर्ने थियो । शान-चीलाई डाहा नहोस् भन्नाका लागि मैले सारा सम्पत्ति उसैलाई सुम्पी खुसी पार्नु बढिया हो ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।