अङ्ग्रेजीका कवि, समालोचक र दार्शनिक स्यामुएल टेलर कलरिज २१ अक्टोबर १७७२ मा डेभोन्सायर, ओट्टेरी सेन्ट म्यारीको एउटा पादरीको घरमा जन्मेका थिए । स्यामुएलका पिता जोन कलरिज, राजा आठौँ हेनरीद्वारा स्थापित निःशुल्क किङ ग्रामर स्कुलका हेड मास्टर थिए । उनका दुइटी श्रीमती थिए । दोस्रो पत्नी आने बाउडेनपट्टिका दस सन्तान मध्ये स्यामुएल कान्छा थिए । पिताको देहान्तपछि स्यामुएललाई निःशुल्क क्राइस्ट हस्पिटलमा अध्ययनको निम्ति राखियो । उनी त्यही लेख्ने काम गर्थे ।
उनी युटोपियन कम्युनको उग्र राजनीति गर्थे । युटोपियन कम्युनमा नागरिकका सबै आवश्यक गुण विद्यमान भएको एक उच्च आदर्श समाजको परिकल्पना गरिन्थ्यो । सन् १७९५ देखि कवि वर्डस्वर्थसँग उनको गाढा मित्रता भयो र दुबै कवि करिब एक वर्षसम्म सोमरसेटको अल्फोक्सदेन र नेदर स्टोवी भन्ने ठाउँमा बसे । त्यसैबेला उनले क्रिस्टाबेल (Christabel) र कुब्ला खाँ (Kubla Khan) जस्ता प्रसिद्ध कविता लेखे । कलरिजको प्राचिन मल्लाह (Ancient Mariner) सहित दुबै कविता संयुक्त पुस्तक गाउँले गीतहरू (Lyrical Ballads) १७९८ मा प्रकाशित भयो । वर्डस्वर्थ र कलरिज दुबै बेलायतको रोमान्सेली आन्दोलनका अगुवा हुन् ।
कलरिज पत्रकार, प्राध्यापक र केही समय माल्टाको गभर्नरका सचिव पनि भए । खेद (Dejection) १८०२ मा लेखिएको थियो । सन् १८०४ तिर माल्टा र इटालीको भ्रमण गरी झन्डै दुई वर्षपछि फर्कंदा उनलाई अफिम खाने नराम्रो कुलत बस्यो र उनको स्वास्थ बिग्रियो । उनले आफ्ना धेरै समय मित्रका घरमा बिताए । सन् १८१६ पछि जेम्स गिल्मन भन्ने हाइगेटका एउटा स्नेही चिकित्सककहाँ उनी बस्न लागे । १८१७ तिर उनको साहित्यिक जीवनी (Biographia Literaria) प्रकाशित भयो । कलरिज रोमान्सेली युगका विख्यात कवि तथा कुशल समालोचक थिए । २५ जुलाई, १८३४ मा लण्डन नजिकेको हाइगेट भन्ने ठाउँमा ६१ वर्षको उमेरमा उनको मृत्यु भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।