मीना म्यामको मधुर आवाज कानमा पर्यो । आँखा खुले । पहिलो नजर भित्ताको ठूलो घडीमा पर्यो । घडीले म्याडमको भनाइलाई पुष्टि गर्यो । बाथरुमभित्र पसेर निस्कँदा, कपडा फेर्दा, जुत्ता मोजा लगाएर बरन्डामा पुग्दा छ बज्न ५ मिनेट बाँकी थियो । गोलो टेबलमा तातो पानी भएको जग र गिलास मेरो प्रतीक्षामा थिए । तीन गिलास पिएँ । पहिलो खेपमा सधैँ पिउने त्यति नै हो । पानी पिएर तयार हुँदा च्यानल गेटमा ताला मारेर म्याम पनि निस्किसक्नुभएको थियो । ‘हिँड्नुस्’ उहाँले भन्नुभयो । अनि म खुसी खुसी  उहाँको पछिपछि हिँड्न थालें, सधैं झैं ।

दैनिकीको पहिलो स्टेपपछि दोस्रो स्टेप मर्निंङ् वाकमा लाग्यौं । यस पटक म्यामले कैलाशनगर मावितिर लानुभयो । २०२३ सालमा स्थापित हाम्रो गाउँको यो प्रावि २०६५ पछि  मावि बनेको छ । साल २०२३ मेरो जीवनमा विशेष महत्व राख्छ । यो मैले भारतबाट एसएलसी पास  गरेको वर्ष हो । हामी भारतबाट सदाका लागि नेपाल सरुवा भएर आएको वर्ष हो । म पटिहानी नजिक धनौजी स्कुलमा प्रावीको शिक्षकमा भर्ती भएको वर्ष पनि २०२३ नै  हो । पछिका दिनहरूमा उमेरको एक दशकभन्दा बढी समय भारतीय सेनामा खर्चेको भए पनि शिक्षकबाटै मेरो पेसा प्रारम्भ भएको थियो र सेवा निवृत्त पनि शिक्षकबाटै भएकोमा  गौरवान्वित छु ।

टाढैबाट स्वर्ण जयन्तीको अवसरमा रङ्गिएका विद्यालयका पहेँला भित्ता देखा परे । पहेँला भित्ताले चार वर्षअघि सम्पन्न विद्यालयको स्वर्ण जयन्तीको सम्झना गरायो । अँ साँच्चै  धेरै महत्त्वपूर्ण काम थियो कैलाशनगर स्वर्ण स्मारिका प्रकाशन । विभिन्न समितिहरू गठन हुँदै गर्दा कसको सम्पादनमा स्वर्ण स्मारिका प्रकाशन हुँदै छ भन्ने बारे मलाई कुनै आभास थिएन । मलाई साहित्य विभाग हेर्न र कार्यक्रमको तर्जुमा गर्ने जिम्मा दिइएको थियो । मैले सहर्ष मेरो  स्वीकृति जनाएको थिएँ ।

केही दिनपछि विद्यालयका प्रधानाध्यापक रामजी अधिकारी मेरो निवासमा आएर अनुरोध गरे, ‘सर ! स्वर्ण जयन्ती पत्रिकाको प्रधान सम्पादकको जिम्मेवारी पनि हजुरले नै लिनु पर्यो । हजुरबाहेक यो काम अरूबाट सम्भव छैन ।’

पछिल्लो वाक्य उनले मलाई खुसी  पार्न   थपेका थिए वा वास्तविकता थियो म त्यसमा गइन । यस अनुरोधको मलाई प्रतीक्षा थियो किनकि म इच्छुक थिएँ । स्वर्ण पत्रिका सम्पादन चुनौतीपूर्ण हुन्छ भन्ने सबैलाई थाहा थियो । मलाई चुनौतीहरूसँग खेल्दा भिन्दै आनन्दानुभूति हुन्छ  त्यो मलाई मात्र थाहा थियो । उहाँको अनुरोध सहर्ष स्विकारेको थिएँ र सम्पादनको जिम्मेवारी पूरा पनि गरेको थिएँ । कैलाशनगर प्राविलाई निमावि बनाउन र २०६५ सालमा निमाविबाट मावि बनाउन मेरो अहम् भूमिका थियो । विद्यालयको सङ्क्षिप्त इतिहास लेख्ने क्रममा पृष्ठ ४५ मा लेखेकै छन् –

“विद्यालयमा जसरी पनि एसएलसीसम्मको शिक्षा ल्याउनुपर्छ भन्ने सोचको विकास २०६० देखि भए तापनि २०६२ देखि निरन्तर अभिभावक भेला गर्दै सोही विषयमा लामो बहस गर्दा पनि निष्कर्षमा पुग्न असहज नै रह्यो । कक्षा ९ सञ्चालन गर्न हम्मे हम्मे परेको बेला सोही प्रयोजनका लागि विसं २०६५ चैत्र २९ गते शनिवार बिहान ७ बजे बसेको बैठकमा वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा शिक्षाविद् एल बी क्षेत्रीको अहम् भूमिका रह्यो । उहाँले बैठकमा उपस्थित सबैलाई आफ्ना विमति हटाएर एकजुट हुन् र जसरी पनि कक्षा ९ सञ्चालन गर्न आह्वान गर्दा कैलाशनगरका सम्पूर्ण अभिभावक तथा शिक्षाप्रेमीको  ऐक्यबद्धता र सहयोग रह्यो ।”

मर्निङ् वाकमा शीतल वायुको आनन्द त लिई  नै रहेका थियौं त्यसमाथि विद्यालयका पहेँला भित्ताले स्मृतिमा रहेका स्वर्ण जयन्तीका कुरा पुनः स्मरण गराउँदा थप खुसी प्राप्त भयो ।

प्रसन्न मुद्रामा घर फर्केर तेस्रो स्टेपमा मैले ४५ मिनेट थेरापी गरें । अस्ट्रेलियामा हुँदा यस वर्ष दुवै घुँडाको शल्यक्रिया गरेर  पाङ्ग्रा फेरेको थिएँ । दुखाइबाट राहत त धेरै नै  भएको छ तर थेरापी सधैँ गर्नुपर्ने रहेछ ।

मेरो दैनिकीको चौथो स्टेप थप पानी पिउने – एक गिलास घिउकुमारी पानी, एक गिलास बेसार पानी र अन्त्यमा एक गिलास मह-कागती पानी । त्यसपछि म पढ्न थाल्छु । लगभग नौ साढे नौ बजेसम्म पढ्छु । कसै कसैको सोच छ पुस्तक किन्नेले मात्र पढ्छन् उपहारमा पाएकाले पढ्दैनन् । यो सरासर गलत हो । पुस्तक राम्रो हुनुपर्छ पढ्नेले पढ्छन् । मेरा कतिपय किनेका पुस्तक थन्किएर बसेका छन् तर उपहारमा प्राप्त पुस्तक मज्जाले पढेको छु । मैले उपहारमा इल्या भट्टराईको ‘मिसर’ पाएको थिएँ । एकएक शब्द पढेँ । विवेक ओझाको  ‘ऐँठन’ उपहारमा पाएको हो । एकएक पङ्‌क्ति पढेँ । मैले लोकराज भट्टको छाईल किनेर पढेको हो कवि डाँडा आख्यान पुरस्कार-२०७८ नै पायो । पठन संस्कृतिसँग अपरिचितहरूले अनर्गल र अनावश्यक कुरा धेरै गर्छन् ।

अक्षरशः

अक्षरशः

अहिले म भुवन ढुङ्गाना म्यामबाट उपहारमा प्राप्त पुस्तक ‘अक्षरशः’ पढ्दै छु । ‘अक्षरशः’ तीन परिच्छेदमा विभाजित छ । परिच्छेद एकमा समसामयिक निबन्ध छन् भने परिच्छेद दुईमा केही दिवङ्गत आफ्ना निकटतमहरूको सम्झनामा निबन्धात्मक शब्द श्रद्धाञ्जली लेख्नुभएको छ । तेस्रो परिच्छेद ‘प्रतीति’ लगभग सय पृष्ठको उहाँको राजनीतिक र  साहित्यिक अनुभूति भन्दा ठीक होला ।

यस स्तरका पुस्तक पढ्नु पुस्तकभन्दा बढी लेखकलाई पढ्नुहुन्छ । उनको विचार मात्र नभएर उनको मनोभाव पढ्नु हो । अनुभव मात्र नभएर परिपक्वता पढ्नु हो । नारीवादबारे केही लेखक र लेखिकाका पुस्तक पढेको छु, पढ्ने गर्छु । ती पुस्तकहरूमा कतिपय नारीवादको अवधारणालाई छोपछाप गरिएका टीठलाग्दा वाक्यहरूसँग भिडन्त हुन्छ । ‘श्रीमान् लाई चिया खुवाउनपर्छ’, ‘जीवनमा टाँस्सिएर बसेको जुका हो’ ‘उसको जम्मा एउटा लोग्ने मरेको त हो नि’ आदिआदि । नारीवादको युद्ध अहिलेको खाँचो हो यस अभिव्यक्तिमा सहमत छु तर नारीवादको पक्षमा गरिने वास्तविक युद्धका लागि यी र यस्ता सतही वाक्य निकै कमजोर पर्छन । अर्कोतिर, नारीवादकै प्रसङ्गमा भुवन ढुङ्गानाको भिन्दै प्रस्तुति हुन्छ । ‘अक्षरशः’ को पृष्ठ ९ मा भुवन ढुङ्गाना लेख्नुहुन्छ –

“जीवनको उत्तरार्धमा ‘मी टू’ले मलाई के राहत दिन्छ ?” यो त गाडेको मुर्दालाई उखेल्ने काम गरेको जस्तै हो । पुरुषजस्तै नाङ्गो छाती देखाउन पाउनुपर्छ भन्ने अमेरिकी महिलाहरूको आन्दोलनको  समर्थनमा मेरो हात उठ्दैन भने के म पुरातनवादी  रूढिग्रस्त विचारधाराकी भएँ ? छाती छोप्नु मेरो लागि सौन्दर्यको अभिव्यक्ति हो । पुरुष कामोत्तेजनाका लागि छेकबार हो ।”

‘अक्षरशः’ उहाँद्वारा विगतमा लेखिएका र प्रकाशित निबन्धहरूको सङ्ग्रह रहेछ । ‘गरिमा’ २०५५ मा प्रकाशित ‘म र शताब्दी’ पढ्दै गर्दा निकै मार्मिक अनुच्छेदसँग भेट भयो ।

“यो समर्पणको रूपभन्दा भिन्न मलाई बारम्बार बिथोलिरहने प्रश्न छन्,…के म स्वास्नीमान्छे आधुनिक हुँ ? के म मोनिका(लेविन्स्की) हुँ ?”

मेरो यस निबन्धका पाठकलाई अनुरोध छ ‘अक्षरशः’ पृष्ठ २१ को यो अभिव्यक्ति पूरै पढ्नु होला । मथिङ्गल हल्लाउने प्रश्नहरू छन् । र अन्तिम प्रश्न(के म मोनिका(लेविन्स्की) हुँ” ) त नारीवाद आन्दोलनको परिभाषाको खोजीमा रहनेहरूका लागि चुनौतीपूर्ण नै छ जस्तो (मलाई) लाग्छ ।

परिच्छेद एक र दुईका सबै निबन्ध पढिसकेपछि भन्न रुचाएँ यी निबन्धहरू नारी भावनाका प्रस्तुति हुन् तर सबै नारीवादलाई टेवा दिने निबन्ध होइनन् । तीन चारवटा नारीवादका  मुद्दालाई लक्षित गरेर लेखिएका निबन्धमा उहाँ प्रस्ट रूपमा आफू छर्लङ्ग देखिने गरी  निर्भीक उभिनुभएको छ । अन्य निबन्ध धेरै जसो समसामयिक विषयमा छन् जस्तै, मानव जीवनको सङ्घर्षमाया यात्रा, युद्धको कथा, आख्यानको यात्रा आदि आदि । परिच्छेद तीनमा लेखकले आफूभित्रका असन्तुष्टिका झिल्का (विशेषतः राजनीतिमा संलग्न र आफूलाई  बौद्धिक ठान्ने विरुद्ध) विभिन्न कविहरूका अभिव्यक्तिसँगै उजागर गर्नु भएको छ । साथै ठाउँ ठाउँमा महिलाको विषय र नारीवादको समस्याबारे पनि आफ्नो निष्पक्ष धारणा राख्नु भएको छ । पृष्ठ १३९ मा उहाँ लेख्नुहुन्छ –

“यस पटक थपमा महिलाहरूले वडा सदस्यमा बस्ने एउटा छुट्टै कोठा पाएका छन् । अछुत होइनन तिनीहरू । एउटा प्रश्नचिन्ह छ, के स्वतन्त्र र सक्षम हुन् सक्छन् उनीहरू? सायद  सम्भव छ । मौका पाउनु राम्रै कुरा हो । समयले बताउने छ । यस्तैमा हठात् अमेरिकन कवि रेनर भ्यारिया रिल्केको एउटा कविता सम्झिन्छु –

काे हाे त्याे मान्छे ?

काे हाे त्याे मान्छे ?

“तिमीलाई स्वागत छ
किनभने, मेरो आत्माले देख्न सक्नेछ
कि तिमी पाकेकी छौ र तरुनी छौ
तिमी विशाल द्वार हौ कि
कुनै दिन
खुल्न सक्छ हार्माे असलको लागि
के म मात्र जङ्गलभित्रको
एउटा मन्द हावा हुन् महिला,
तिमी रूख हौ महिला तिमी रुख हौ ।”

भाद्र ९ गतेका दिन आदरणीय ढुङ्गाना म्यामले मेरो कवितासङ्ग्रह ‘को हो त्यो मान्छे ?’को विमोचनमा वक्ताको रूपमा प्रज्ञा-प्रतिष्ठानको हलमा बोल्नुभएको थियो । सारगर्भित  बोल्नुभएको थियो र मेरो शीर्षक कविताको प्रशंसा गर्नुभएको थियो । मैले मेरो कवितामा एउटा पात्रलाई चण्डीभन्ज्याङको उकालोमा  काँधमा बाकस र काखीमा कुम्लो बोकेर उक्लिरहेको चित्रण गरेको छु ।

‘अभ्यस्त छन्  मेरा यी आँखा

त्यो मान्छेलाई

चण्डीभन्ज्याङको उकालोमा   

काँधमा बाकस र काखीमा कुम्लो बोकेर

अभिशप्त  उक्लिरहेको

र,
प्रसन्न ओर्लिरहेको देख्न 

तर चिन्न सकेको छैन अझै पनि

कालान्तरदेखि यसरी नै उक्लिरहने र ओर्लिरहने

त्यो मान्छेलाई   

त्यसैले म चिन्न चाहन्छु
ऊ को हो ?
को हो त्यो मान्छे?”

मेरो कविताको त्यो मान्छेलाई चिन्न उहाँलाई गारो भएन । मेरो यात्रुको समर्थनमा हर्षित भावले नै समर्थन गर्नु भएको थियो – ‘हामी सबै आधुनिक सिसिफस नै त हौँ ।’ तर, उहाँको समीक्षात्मक मन्तव्य सुन्दै गर्दा मलाई लागेको थियो उहाँले कविताको मेरो पात्रलाई –

“अभिशप्त  उक्लिरहेको

र,

प्रसन्न ओर्लिरहेको”

देख्दा यसको रहस्यबारे अवश्य सोध्नुहुने छ वा बोल्नुहुने छ । तर, त्यसो भएन । वास्तवमा मैले मेरो यस कवितामा सिसिफसको सङ्घर्ष र कामुको दर्शन प्रस्तुत गर्न खोजेको छु ।

“यो युगौंदेखिको खेल हो
उसले भाग्यलाई स्विकारेको छ
ऊ भाग्यका अघि नतमस्तक बनेको छ
उसले आफूलाई भाग्यको भरिया ठानेको छ”

‘अक्षरशः’ का निबन्धहरू पढ्ने क्रममा थाहा लाग्यो उहाँ पनि सिसिफसको कथाबाट निकै प्रभावित हुनुहुँदो रहेछ । उहाँ लेख्नुहुन्छ –

“ढुङ्गालाई पहाडको टुप्पासम्म पुर्याउन निरर्थक प्रयास गरिरहने सिसिफसको कथा लेखकको कथा भएको छ । सिसिफसको कथा दु:खान्त छ भने यसको कारण उसको नियति नै हो । २१औ शताब्दीका हामी सबै सिसिफस हौँ ।”  ‘युद्ध र द्वन्द्वका कथा’ पृष्ठ – ३२

आफ्नो मन्तव्यकै क्रममा उहाँले सुझाव दिनुभएको थियो ‘एलबी जीले राजनीतिको कविता नलेखेको भए हुने थियो ।’ उहाँको इशारा बुझ्न बेर लागेन । उहाँको भनाइ मेरो कविता ‘सोध्न मन लाग्छ’ तर्फ इङ्गित थियो । मैले राजा वीरेन्द्र र मदन भण्डारीको हत्याको प्रसङ्ग र यिनीहरूले न्याय नपाएको बारे कविताको माध्यमबाट बोलेको छु । साथै निर्मलाको पनि प्रसङ्ग जोडेको छु । मेरो साधारण प्रश्न मदन भण्डारी र राजा  वीरेन्द्रले न्याय नपाउने देशमा निर्मलाहरूले न्याय पाउने ठाउँ छ र ? नै हो ।

“निर्मला !
हामीले श्वास फेर्ने वायुमण्डलमा
अशान्त घुम्दै गरेको तिम्रो आत्माले सोधिरहन्छ
‘मैले न्याय कहिले पाउँछु होला ?’

खै ! कसले के जवाफ दियोस् तिमीलाई
अभ्यस्त भइसकेका छन्
तिमीले न्याय माग्नेहरू
यस्ता दृश्य हेर्न,
रमाउन
र,
मौन बस्न  

कालान्तरदेखि आफ्नो अस्तित्वलाई बन्धक राखेकाहरूसँग
के अपेक्षा गर्न सकिन्छ र निर्मला ?
यिनीहरू त
घरी करेसा बारीमा, घरी मकै बारीमा,
घरी गौचरनमा, घरी खुल्ला सडकमा
रमाउने पो गर्छन्
घट्दै गरेका यस्ता दृश्यहरूमा 
म स्वयम् यिनीहरू बीचकै एक प्रतिनिधि त हो
खै, के जवाफ खोजूँ म तिम्रो प्रश्नको  

भन न निर्मला !”

“भन न निर्मला’ पृष्ठ – ८९ (को हो त्यो मान्छे ?)

एउटा निष्पक्ष समीक्षकको रूपमा उहाँले आफ्नो विचार राख्नु स्वाभाविक हो । तर मेरो बुझाइमा कविताको धर्म नै सत्य निरूपण हो । मैले मदन भण्डारी र राजा वीरेन्द्रका हत्यारा पत्ता गर्न राज्य असफल भएको नै त भनेको छु –

“एक दिन उनकै अर्धाङ्गिनीको हातमा
देशको सम्पूर्ण कमान आइपुग्यो
देशका नवराजहरूलाई देशका हितमा काम गर्छु भनेर
शपथ खुवाइन्
तर अफसोस
आजसम्म
आफैँमाथि न्याय गर्न सकिनन्
आफ्नै सिन्दूरको लुटेरालाई
कठघरामा उभ्याउन सकिनन् ।”

कवितामा विचार हुन्छ र यो मेरो विचार हो । मेरो यो विचारसँग ढुङ्गाना म्यामको विमति रहेनछ तर । मैले कवितामा उठाएको यक्ष प्रश्न स्वयम् उहाँले पनि उठाउनुभएको रहेछ आफ्नो निबन्ध “आख्यान यात्रामा” :

“बाटोमा पर्ने दासढुङ्गाले मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय मरणको कथा सम्झायो । मृत्यु रहस्य एमाले सरकारमै भएकै बेला पनि उद्घाटित हुन् नसकेकोमा फिस्स हाँसो हाँस्न मन लाग्यो, नमीठो हाँसो ।” पृष्ठ – ४२

जीवनमा खुसीको ठूलो महत्त्व हुन्छ । खुसी हुनुका अनेक बहाना हुन्छन् । अक्षरशः भित्रको एउटा लेख ‘आख्यान यात्रा’मा ढुङ्गाना म्याडमलाई निकै खुसी भएको पाएँ । यो लेख पढेर म पनि निकै खुसी  भएँ । लेखक र पाठक दुवै खुसी हुनुलाई सुखद संयोग भन्न मिल्छ तर हाम्रा कारण भिन्न छन् । भुवन म्याडम खुसी हुनुको कारण आख्यान पुरुष ध्रुवचन्द्र गौतमले उहाँलाई आफ्नो आमाबाका नाममा स्थापित दीप गोविन्द स्मृति सम्मानबाट सम्मानित गर्न बी वीरगन्ज लानुभएको रहेछ । आफ्नै गाडीमा । म खुसी हुनुको कारण यस निबन्धमा उहाँले ७ जना लेखकको नाम लिनुभएको छ । ती सात मध्ये एक बाहेक सबैसँग मेरो पनि राम्रो परिचय छ । अर्थात्, कोही दिग्गज लेखकहरूसँग यात्रा गर्न पाउँदा र आफ्नो लेखमा उहाँहरूको नाम उद्धृत गर्नमा खुसी प्राप्त हुन्छ भने कोही ती उद्धृत नामहरूसँग आफू परिचित भएकोमै खुसी हुँदा रहेछन् । अरू के गर्छन् तर म त खुसी  भएकै हो  र केही समय पूर्व स्मृतिमा हराएँ पनि । पृष्ठ ४६ मा भुवन म्याम लेख्नु हुन्छ –

“त्यो साँझ पनि ध्रुवचन्द्र हामीसँग रातिको खानामा सामेल भएनन् । उनको कोठामा पसेपछि देखेँ बेफिक्री गन्जी र लुङ्गी पहिरनमा उनी मासु र पेय पदार्थको चुस्की लिइरहेका थिए ।”

वाह ! ठ्याकै यस्तै भएको थियो आख्यान पुरुष ध्रुवचन्द्र गौतम कविडाँडामा आउँदा । त्यो रात धनराज गिरी, नगेन्द्रराज शर्मा, ध्रुब सापकोटा(अकल्पनीय) कविडाँडामा बस्नु भएको थियो र मजाले पिएका थियौं साथै थरी थरीका हिन्दी गीत गाएका थियौं । एउटा थियो …

‘दूर रहकर न करो बात करीब आ जाओ
याद रह जाएकी ये रात करीब आ जाओ’

स्वाभाविक हो विशेष व्यक्ति र व्यक्तित्वसँगको परिचयले खुसी दिन्छ । जीवा लामिछानेलाई   विश्वले चिन्दछ । मेरो खुसी केमा छ भने उहाँले मलाई पनि चिन्नुहुन्छ । दाइ भन्नुहुन्छ । खुसी चाहना पनि हो । खुसी चाहनेहरूका लागि धेरै ठूलो कारण पनि चाहिँदैन । मलाई प्रधानमन्त्रीले चिन्दैनन् । शेरबहादुर देउवाले चिन्दैनन् । नारायण काजीले चिन्दैनन् । म वहाँहरूलाई पदीय हिसाबले चिन्दछु मात्र बाकी मेरो मतलबको विषय होइन र छैन पनि । मलाई ध्रुबचन्द्र गौतमले चिन्दछन्, वैरागी काइँलाले चिन्दछन्, नारायण ढकालले चिन्दछन्, जीवा लामिछानेले चिन्दछन् पुग्यो त, सकिगो ।

मलाई थाहा छ भुवन ढुङ्गाना म्याडमले धेरै साहित्यकार, धेरै राजनीतिकार र धेरै विद्वतवर्गलाई, धेरै समाज चिन्तकलाई चिन्नुहुन्छ । ती परिचयले उहाँलाई खुसी बनाएकै हुनुपर्छ तर मेरो खुसी केमा छ भने म सुप्रसिद्ध लेखक साहित्यकार भुवन ढुङ्गानालाई चिन्दछु र उहाँले मलाई चिन्नु हुन्छ । कुनै बखत मैले उहाँलाई सम्मान गर्ने अवसर पाएको थिएँ । उहाँको उत्कृष्ट आख्यान कृति ‘परित्यक्ता’का लागि । नियतिले यसरी खुसी बटुल्न लगाउनु नै खुसी चाहनेहरूका लागि ठूलो उपलब्धि हो ।

मेरो कविताको सिसिफसले खुसी भएरै भन्छ ‘सब ठीक छ’, ढुङ्गाना म्यामले लेख्नु हुन्छ – ‘प्रियदाजु धरणीधरले भन्नु हुन्थो ‘कीप स्माइलिङ्’, “मानौँ यो जीवनको मूलमन्त्र हो र यसलाई सबैले जीवनपर्यन्त जपिरहनुपर्छ ।”

अक्षरशः ‘धरणीधर अर्थात् हजुरदाजु’- पृष्ट ९१

अस्तु !